Friday, July 31, 2026
Homeखेलकुदगौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा ढिलाइ : १० करोडभन्दा बढी बजेट फिर्ता, निर्माण...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा ढिलाइ : १० करोडभन्दा बढी बजेट फिर्ता, निर्माण प्रगति न्यून

चितवन — भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम समयमै सम्पन्न हुन नसक्दा संघीय तथा प्रदेश सरकारले निकासा गरेको रु १० करोडभन्दा बढी रकम फिर्ता भएको छ। भरतपुर महानगरपालिकाको समन्वयमा उपलब्ध बजेटको उपयोग हुन नसकेपछि उक्त रकम पुनः संघ र प्रदेश सरकारलाई फिर्ता गरिएको हो।

महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार संघीय सरकारले विनियोजन गरेको रु २५ करोडमध्ये रु १७ करोड ६५ लाख ६९ हजार ८३० खर्च गरिएको छ, भने बाँकी रु ७ करोड ३४ लाख ३० हजार १७० फिर्ता भएको हो। त्यस्तै, बागमती प्रदेश सरकारले दिएको रु १० करोडमध्ये रु ६ करोड ८० लाख मात्रै खर्च हुँदा रु ३ करोड २० लाख फिर्ता गरिएको छ।

रङ्गशाला निर्माणको जिम्मा लिएको हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्ट भेञ्चरसँग रु ७८ करोड ५० लाख ९१ हजारमा सम्झौता भएको हो। सम्झौताअनुसार रङ्गशाला आगामी २०८३ साल पुस २२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।

तर, गत आर्थिक वर्षअन्त्यसम्म ४० प्रतिशत काम सम्पन्न गर्नुपर्ने लक्ष्य रहेकोमा मात्र २.४९ प्रतिशत आर्थिक प्रगति देखिएको छ। यद्यपि हालसम्म भौतिक प्रगति ३० प्रतिशत पुगेको इञ्जिनियर आचार्यले जानकारी दिए।

हालसम्म पाँच हजार दर्शक क्षमताको प्याराफिट ढलान सम्पन्न भइसकेको छ। अर्को दुई हजार क्षमताको प्याराफिट निर्माण कार्य जारी छ। दुईवटा टावरमध्ये एकको भूइँतलाको ढलान सम्पन्न भएको र अर्कोको भूइँको काम भइरहेको छ। साथै, दुई सय मिटर नालीको ढक्कन, एक सय ५५ मिटर कम्पाउन्ड वाल र ५ सय किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ।

काममा ढिलाइ भएपछि दुई महिनाअघि महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित प्राविधिक टोलीले निर्माणस्थल पुगेर निर्माण कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरेको थियो।

भरतपुर महानगरपालिकाले रङ्गशालाका लागि छुट्याएको रु पाँच करोड बजेटसमेत फ्रिज भएको छ। निर्माण गति सुस्त हुँदा परियोजनामा थप ढिलाइ र आर्थिक अपव्ययको जोखिम देखिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका