गोरखा। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै लगानी वृद्धि गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवसको समापन कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै उनले वर्तमान शैक्षिक गुणस्तर सुधारका लागि अहिलेको लगानी अपर्याप्त रहेको उल्लेख गरिन्।
शिक्षामा कुल बजेटको २० प्रतिशत लगानीको आवश्यकता
“हाल शिक्षामा कुल सरकारी लगानी १० प्रतिशत मात्र छ। यसलाई बढाएर कुल बजेटको २० प्रतिशत पुर्याउन संघीय सरकारले कदम चाल्नुपर्छ,” मन्त्री भट्टराईले भनिन्। साथै, संघीय, प्रदेश, र स्थानीय सरकारबाट शिक्षामा कति लगानी गर्ने भन्ने कुरा सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
सामुदायिक विद्यालयका लागि समुदायको भूमिका महत्वपूर्ण
सार्वजनिक विद्यालयको स्तरोन्नतिका लागि समुदायले सचेत र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले भनेकी छिन्, “सार्वजनिक विद्यालयमा राम्रो शिक्षा पाउने थुप्रै उदाहरण छन्। तर, समुदाय र सरकार दुबैको प्रयास अपर्याप्त भए सवैको खवरदारी आवश्यक छ।”
शिक्षामा अन्तर्राष्ट्रिय प्रतिबद्धता र संविधानको निर्देशन
मन्त्री भट्टराईले शिक्षामा लगानी बढाउने विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धता जनाएको र नेपालको संविधानले पनि यसलाई प्राथमिकता दिएको स्मरण गराइन्।
संस्थागत र सार्वजनिक विद्यालयबीचको भिन्नतामा सुधारको आवश्यकता
“संस्थागत विद्यालय राम्रो र सार्वजनिक विद्यालय कमजोर भन्ने सोचलाई परिवर्तन गर्न आवश्यक छ,” उनले भनिन्। ऐन, कानुन र नीतिमा भएका समस्याको समाधान गर्दै शिक्षा क्षेत्रको विकासका लागि सरकार अघि बढिरहेको उनले स्पष्ट गरिन्।
समारोहमा उनले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र आगामी दिनमा यस क्षेत्रको विकासका लागि ठोस योजना ल्याइने जानकारी गराइन्।