Tuesday, May 20, 2025
Homeखेलकुदगणेश थापालाई एन्फाको साधारणसभामा प्रवेश गर्न रोक

गणेश थापालाई एन्फाको साधारणसभामा प्रवेश गर्न रोक

धुलिखेल: अदालतको आदेश अटेर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारण सभामा प्रवेश गर्न रोक लगाएको छ। धुलिखेलमा सुरू भएको एन्फाको साधारण सभामा भाग लिन पुगेका थापालाई सुरक्षाकर्मीमार्फत रोकिएको हो।

“बुवा यहीँ धुलिखेलमै हुनुहुन्छ, तर भित्र प्रवेश गर्न दिइएको छैन,” थापाका छोरा अभिषेकले जानकारी दिए, “हामीले अदालतको आदेश देखाउँदा पनि प्रवेश नदिइएको हो।”

पूर्वअध्यक्ष थापा आफ्ना समर्थकहरूसहित सभास्थल पुगेका थिए। प्रवेश नपाएपछि उनी सभास्थल बाहिरै बस्न बाध्य भएका छन्। फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि थापा पहिलो पटक एन्फाको साधारण सभामा सहभागी हुन गएका हुन्।

२१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा आदेश दिएको थियो। सोही आदेशअनुसार उनी आज एन्फाको साधारण सभामा सहभागी हुन धुलिखेल पुगेका हुन्।

गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा साधारण सभामा जान लागेका थिए। सो क्लबले वैशाख १५ गते थापालाई आधिकारिक प्रतिनिधि चयन गरेको थियो।

एन्फाले अदालतको आदेशको अवज्ञा गर्दै थापालाई रोक लगाएपछि सभास्थलमा केहीबेर तनाव पनि देखिएको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका