काठमाडौं: अनिल तामाङले आरएनजिसी वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा आयोजित प्रतियोगितामा उनले कुल ११३ स्कोर गर्दै उपाधि हात पार्न सफल भए। उनले रोहित आचार्यलाई ३ स्ट्रोकको अन्तरले पछि पार्दै उपाधिसँगै नगद रु २१,००० प्राप्त गरे।
रोहित आचार्यले ११६ स्कोरसहित दोस्रो स्थान हासिल गर्दै रु १६,००० जिते। वीर बहादुर तामाङ ११९ स्कोरसहित तेस्रो भए भने कृष्ण नेपाल र दिपेश श्रेष्ठ क्रमशः चौथो र पाँचौं स्थानमा रहे।
महिला वर्गतर्फ पार्वती सुबेदिले ९३ स्कोरसहित उपाधि जित्दै रु १०,५०० प्राप्त गरिन्। गीता तामाङ ९९ स्कोरसहित दोस्रो र सुभानी भट्ट १०८ स्कोरसहित तेस्रो स्थानमा रहिन्। यस्तै, छैटौं होलमा ‘होल-इन-वन’ को सफलता प्राप्त गरेकी संगीता बलम्पिकालाई रु ५,००० पुरस्कार प्रदान गरियो।
अन्य उपाधितर्फ, विदुर तामाङले दुई बर्डीसहित “मोस्ट बर्डिज” को उपाधि जिते, कृष्ण सिंहले “लङ्गेस्ट ड्राइभ” र विजय तामाङले “क्लोजेस्ट टु द पिन” उपाधि जिते।
दुई दिनसम्म चलेको प्रतियोगिता स्ट्रोक प्ले फर्म्याटअन्तर्गत स्क्र्याच ह्यान्डिक्यापमा खेलाइएको थियो। प्रारम्भिक १८ होलपछि कट लागू गरी उत्कृष्ट १७ क्याडीले अन्तिम ९ होल खेल्ने अवसर पाएका थिए। प्रतियोगितामा कुल रु १,४३,५०० नगद पुरस्कार वितरण गरिएको थियो।
विजेताहरूलाई आरएनजिसी अध्यक्ष मधुकर याकतुम्बा, क्लब क्याप्टेन मिथुन राई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, महासचिव दीपक आचार्य, पूर्व पीजीए नेपाल अध्यक्ष घनश्याम थापा तथा महिला गल्फर गीता गुरुङले पुरस्कार वितरण गरेका थिए।


