काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गरेको तीन दिने राष्ट्रिय भेला आजदेखि काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ।
दिउँसो १ बजे हुने उद्घाटन समारोहमा पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख अतिथिका रूपमा भेलाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।
लामो समय स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवा बिहीबार स्वदेश फर्किएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका थिए। स्वदेश फर्किएलगत्तै देउवा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्न लागेका हुन्।
इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पहिलो दिन उद्घाटन समारोह सम्पन्न भएपछि साउन ३० र ३१ गते बन्दसत्र सञ्चालन हुनेछ।
तीन दिनसम्म चल्ने भेलामा पार्टीको नयाँ नीति तथा कार्यक्रम तय गर्न करिब आधा दर्जन विषयगत प्रतिवेदनमाथि छलफल गरिनेछ। देशभरबाट करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ।
भेलाले पार्टीको आगामी राजनीतिक दिशा तय गर्नुका साथै संस्थापन पक्षसँगको शक्ति सन्तुलनका लागि महत्वपूर्ण रणनीति निर्माण गर्ने इतर समूहको दाबी छ।


