काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको आधिकारिक नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले बिहीबार सामाजिक सञ्जालमार्फत महाधिवेशनको प्रचार सामग्रीका रूपमा नारा र लोगो सार्वजनिक गरेको हो।
कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने मूल नारा तय गरेको छ।
सार्वजनिक गरिएको लोगोमा पार्टीका संस्थापक तथा पूर्वसभापतिहरूको तस्बिर समावेश गरिएको छ। लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको तस्बिर राखिएको छ।
कांग्रेसको कार्यतालिकाअनुसार १५औँ केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ। पार्टीले महाधिवेशनअन्तर्गतका विभिन्न तहका अधिवेशनसमेत अघि बढाइरहेको छ।


