काँक्रेविहार (सुर्खेत) – कर्णाली प्रदेशका केही जिल्लामा पाँच दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ।
जाजरकोट, रुकुम पश्चिम र डोल्पाका विभिन्न स्थानमा सञ्चार सेवा ठप्प भएपछि नागरिकहरू दसैँको मुखमै आफन्तसँग सम्पर्क गर्न नसकेका छन्।
नलगाड नगरपालिका–१२ र १३, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४, ५ र ६ मा पूर्ण रूपमा सेवा अवरुद्ध भएको छ। यस्तै, बारेकोट गाउँपालिका–५ को रतनकोटस्थित टावरमा समस्या आएपछि गाउँपालिकाको अधिकांश क्षेत्रमा समेत सञ्चार सुविधा बन्द भएको छ।
रुकुम पश्चिमको गोतामकोट र जाजरकोटको नायकवाडा तनकोटस्थित टावर बिग्रिएपछि समस्या बढेको नलगाड नगरपालिका प्रमुख डम्मर रावतले बताए। “समस्या सम्बन्धित कार्यालयसम्म जानकारी पुगिसकेको छ तर समाधान हुन सकेको छैन,” उहाँले भन्नुभयो।
सोही टावरको सहायताले डोल्पाको मुडकेचुलामा रिले गर्ने भएकाले त्यहाँ पनि टेलिफोन सेवा प्रभावित भएको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।
नेपाल टेलिकम जाजरकोटका प्राविधिक प्रकाश उपाध्यायका अनुसार बिग्रिएको गोतामकोट टावर मर्मत भइरहेकाे छ र त्यसपछि नायकवाडा टावर मर्मत गरिनेछ।


