गण्डकी: नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन तथा सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले केसीलाई सम्मानित गर्नुभयो।
पूर्व ओलम्पियन केसीको नाम अवार्ड छनोट समितिले सिफारिस गरेको थियो। नेपाल सुटिङ सङ्घकी उपाध्यक्ष समेत रहनुभएकी केसीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा उल्लेखनीय उपलब्धि हासिल गर्दै विभिन्न पदक जित्नुभएको छ।
बागलुङ निवासी केसीले सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा आयोजित २७औँ ओलम्पिक खेलकुदमा नेपालका तर्फबाट भाग लिँदै राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। यसअघि सन् १९९५ मा इन्डोनेसियामा सम्पन्न आठौँ एसियन सुटिङ च्याम्पियनसिप, भारतको मद्रासमा भएको सातौँ साफ गेम, सन् १९९७ मा नयाँ दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिप, बैंककमा सम्पन्न १३औँ एसियन गेम, सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ साफ गेम, सन् २००० मा पाकिस्तानमा सम्पन्न नवौँ साउथ एसियन सुटिङ च्याम्पियनसिप तथा सन् २००६ को कोलम्बो साफ गेममा समेत उहाँको सहभागिता रहेको थियो।
केसीले नवौँ राष्ट्रिय महिला सुटिङ प्रतियोगिता, शुभजन्मोत्सव आठौँ सुटिङ प्रतियोगिता (२०५१), १२औँ राष्ट्रिय सुटिङ प्रतियोगिता (२०५३), प्रथम खुला सुटिङ प्रतियोगिता (२०५१), चौथौँ राष्ट्रिय खेलकुद प्रतियोगिता (२०५५) मा प्रथम स्थान हासिल गर्नुभएको थियो भने पाँचौँ राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्नुभएको थियो।
२०५७ सालमा गोरखा दक्षिण बाहुबाट सम्मानित केसीलाई सरकारले २०६३ सालमा ‘उत्कृष्ट खेलाडी’ को उपाधि प्रदान गरेको थियो।
लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेपछि केसीले खेलकुदमा बिताएको जीवनप्रति गौरव महसुस भएको प्रतिक्रिया दिनुभयो। उहाँले आफूले खेलकुदमार्फत देशको नाम चिनाउन सक्दो योगदान गरेको बताउँदै, उपयुक्त प्रशिक्षण र अनुकूल वातावरण प्राप्त भएमा नेपाली खेलाडीहरूले सुटिङमा अन्तरराष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना प्रबल रहेको धारणा व्यक्त गर्नुभयो।