टोकियो : ३२औं गृष्मकालिन ओलम्पिक सुरु हुन दुई महिना मात्रै समय बाँकी छ। कोरोना भाइरसको महामारीका कारण पूर्व निर्धारित समयमा टोकियो ओलम्पिक हुनेमा आशंका गर्न थालिएको छ। जापानमा पनि कोरोना भाइरसको महामारी बढेपछि ओलम्पिक खेलकुदको आयोजनामा फेरि प्रश्न उठाउन थालिएको छ। अहिले जापानमा कोरोना संक्रमणको दर दिनदिनै बढ्न थालेको छ। जापानी नागरिकहरू पनि सरकारले ओलम्पिकलाई भन्दा कोरोना नियन्त्रणका लागि पहल थाल्नुपर्ने भन्दै विरोधमा उत्रिएका छन्।
कोरोना भाइरसको महामारी बढेपछि जापानका प्रधानमन्त्री योसिहिदे सुगाले राजधानी टोकियोलगायत केही सहरमा एक महिनाअघि स्वास्थ्य संकटकाल लगाएका थिए। अहिले त्यो संकटकाल मे ३१ सम्म बढाइएको छ। स्वास्थ्य संकटकाल घोषणा गरेपछि कोरोना संक्रमणको दर विस्तारै घट्न थालेको छ। यहीबीचमा ओलम्पिकको तयारी भने तीव्र रूपमा भइरहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का उपाध्यक्ष जोन कोट्सले जापानका धेरै ठाउँमा संकटकाल लागु भए पनि ओलम्पिकको तयारी तीव्र रुपमा भइरहेको जानकारी दिएका छन्।
अघिल्लो वर्षका लागि तय भएको टोकियो ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको हो। प्रतियोगिता एक वर्ष पछाडि सार्दा समेत महामारी कायमै रहेकाले ओलम्पिक हुन्छ कि हुँदै भन्ने द्विविधाका बीच पनि तयारीले भने तीव्र पाएको छ। कोट्सले जापानमा संकटकाल रहे पनि ओलम्पिक खेलकुद भएरै छाड्ने र त्यसको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। ‘संकट कालकै अवस्थामा पनि हामीले पाँच वटा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सफल भयौं’, कोट्सले भने, ‘खेलाडी र जापानका नागरिकको सुरक्षाका लागि हामीले हरसम्भवका योजना बनाएका छौं। ती योजनालाई कडाईका साथ लागु पनि गछौं। तैपनि सबैको एउटै प्रश्न रहने गरेको छ, यस्तो अवस्थामा पनि ओलम्पिक हुन्छ ? बिल्कुलै हुन्छ। यसमा शंका नगरे हुन्छ।’
कोट्सले विश्व स्वास्थ्य संगठन र विभिन्न देशका वैज्ञानिकहरूको सल्लाह र सुझाव अनुसार तयार पारिएको सबै मापदण्ड स्वास्थ्यका हिसावले सुरक्षित रहेको दाबी पनि गरे। ‘विश्व स्वास्थ्य संगठन र वैज्ञानिकहरूको सल्लाहमा तयार पारिएको सबै मापदण्ड सुरक्षित छ। जापानमा संकटकाल भए पनि नभए पनि ओलम्पिक आयोजनामा त्यसले खासै अर्थ राख्दैन’, उनले भने।
जापानमा हालै गरिएको सर्वेक्षण अनुसार करिब ७० प्रतिशत नागरिक ओलम्पिक खेलकुदको विपक्षमा देखिएका छन्। केही समयअघि आयोजना गरिएको भर्चुअल प्रेस कन्फरेन्स पनि प्रदर्शनकारीले बाधा पुर्याएका थिए। एक प्रदर्शनकारीले कालो र सेतो ब्यानर बोकेर टोकियो ओलम्पिकको विरोध गरेका थिए। यस बाहेक पनि अहिले विभिन्न सहरमा टोकियो ओलम्पिकको विरोधमा प्रदर्शनहरू भइरहेका छन्। प्रदर्शनकारीले खेलकुदभन्दा मानिसको जीवन र स्वास्थ्य महत्वपूर्ण रहेको भन्दै ओलम्पिक रद्द गर्नुपर्ने आवाज बुलन्द गरिरहेका छन्।
तर, जापान सरकारले भने राष्ट्रिय गौरवसँग जोडिएको ओलम्पिक आयोजना गर्नुको विकल्प नरहेको बताउँदै आएको छ। गत वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक जुलाई २३ बाट सुरु हुने पूर्व निर्धारित कार्यक्रम छ। जापानको ठूलो जनमत ओलम्पिकको विपक्षमा रहेको विषयलाई आईओसीका उपाध्यक्ष कोट्सले भने सामान्य रुपमा हेर्नुपर्नेमा जोड दिए। ‘जापानका ठूलो संख्याले अहिलेसम्म कोरोनाविरुद्धको खोप पाउन सकेको छैन। त्यही कारण जनमत सर्वेक्षणमा धेरैले ओलम्पिक आयोजनाको विपक्षमा मत जाहेर गरेको हुनुपर्छ’, उनले भने, ‘कोरोनाविरुद्ध खोप लगाउनेको संख्या बढेसँगै ओलम्पिक आयोजनाको पक्षमा जनमत बढ्दै जानेछ। हाम्रो मुख्य जिम्मेवारी भनेको ओलम्पिकमा सहभागी खेलाडी, प्रशिक्षक, अफिसियल सबै सुरक्षित रहन्छन् र जापानी नागरिक पनि सुरक्षित छन् भनेर आश्वस्त पार्नु हो।’
आईओसीका प्रवक्ता मार्क एडम्सले जापानी जनताको राय सुने पनि निर्णय भने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले नै गर्ने बताए। ‘हामी जापानी नागरिकको राय सुन्छौं तर, निर्णय भने हामी आफै गछौं’, एडम्सले भने, ‘ओलम्पिक हुन्छ र भएरै छाड्छ। जापानी जनताको राय नकारात्मक हुँदैमा ओलम्पिक रोकिँदैन।’
जापानमा कोरोना महामारीका कारण संकटकाल घोषणा गरिए पनि कोरोनाविरुद्धको खोप लगाउने अभियानले भने तीव्रता पाउन सकेको छैन। अहिलेसम्म पाँच प्रतिशत वृद्धवृद्धाले मात्र खोपको पहिलो मात्रा लगाउन पाएका छन्। त्यसैले जुलाई २३ भित्र ३६ मिलियन सेवानिवृत्त नागरिकले खोप पाउनेमा शंका गरिन थालिएको छ।
यसैबीच बेलायती ओलम्पिक कमिटीले भने ओलम्पिक खेलकुदमा सहभागी हुन जापान जानुअघि सबै खेलाडी र सपोट स्टाफलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने जनाएको छ। अन्नपूर्णबाट