काठमाडौं, १७ असार: मलेसियामा जारी एसिसी मेन्स यु–१६ क्रिकेट प्रतियोगितामा नेपालले भुटानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। मलेसियाको सिलेङगर ट्रफ क्लबमा मंगलबार भएको खेलमा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जित्दै पहिले ब्याटिङ रोजेका हुन्।
नेपाल प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान र तेस्रो खेलमा इन्डोनेसियालाई पराजित गर्दै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालसँगै सिंगापुरले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
त्यसैगरी भुटानले प्रतियोगितामा खेलेका तीनै खेलमा हार बेहोरेको छ। भुटान सिंगापुर, जापान र इन्डोनेसियासँग पराजित हुँदै समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ।
एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहेको छ। सहभागी टोलीहरू दुई समूहमा विभाजित गरिएको छ।
समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।
प्रत्येक समूहबाट शीर्ष दुई टोली (विजेता र उपविजेता) सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल असार २१ गते (जुलाई ५) मा हुने तय गरिएको छ।


