Tuesday, August 18, 2026
Homeसामाचारएलपी ग्यासको आपूर्ति सहज हुँदै, उपभोक्तालाई अनावश्यक सञ्चय नगर्न निगमको आग्रह

एलपी ग्यासको आपूर्ति सहज हुँदै, उपभोक्तालाई अनावश्यक सञ्चय नगर्न निगमको आग्रह

काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमिक रूपमा सहज हुँदै गएको जनाएको छ। निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर सञ्चय नगर्न आग्रह गर्दै केही दिनभित्रै बजार पूर्णरूपमा सामान्य हुने जनाएको हो।

निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार काठमाडौं उपत्यकामा दैनिक औसत ३५ देखि ३७ हजार सिलिण्डर ग्यासको माग हुन्छ। तर, अहिले मागभन्दा ५ हजारदेखि ८ हजार सिलिण्डर बढी आपूर्ति भइरहेको छ।

निगमका अनुसार भदौ २ गते मात्रै उपत्यकाका २२ वटा ग्यास उद्योगले ४७ हजार ३८८ सिलिण्डर बिक्री गरेका थिए। त्यस्तै, भदौ १ गते ५२ हजार ५७६ सिलिण्डर बिक्री भएको थियो। यो उपत्यकाको दैनिक औसत मागभन्दा करिब १५ हजार सिलिण्डर बढी हो।

साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म उपत्यकामा कुल ३ लाख ९ हजार ५५३ सिलिण्डर बिक्री भएको निगमले जनाएको छ। उक्त अवधिमा दैनिक औसत ४४ हजारभन्दा बढी सिलिण्डर बिक्री भएको थियो।

उद्योगी व्यवसायीका अनुसार पछिल्लो समय देखिएको ग्यास अभावको मुख्य कारण अहिलेको आपूर्तिमा आएको कमीभन्दा पनि विगतको आपूर्ति समस्यापछि सिर्जित मनोवैज्ञानिक प्रभाव हो। गत फागुनमा बाह्य कारणले ग्यास आयातमा कमी आएपछि सरकारले समस्या समाधानका लागि आधा भरिएका सिलिण्डरसमेत बिक्री गर्ने व्यवस्था गरेको थियो।

एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले डिलरमार्फत नियमित रूपमा ग्यास बिक्री सुरु भएसँगै बजारको अवस्था धेरै सुधार भएको बताए। उनका अनुसार अबको एक साताभित्र ग्यासको वितरण प्रणाली पूर्णरूपमा सामान्य हुने अपेक्षा गरिएको छ।

साउनमा ४० लाखभन्दा बढी सिलिण्डर बिक्री

निगमका अनुसार सामान्य अवस्थामा देशभर दैनिक करिब १ लाख १० हजार सिलिण्डर ग्यास बिक्री हुने गरेको छ। तर, चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन अर्थात् ४० लाख ३६ हजार ३६४ सिलिण्डर एलपी ग्यास बिक्री भएको छ।

यो गत आर्थिक वर्ष २०८२/८३ को साउनको तुलनामा २९.३ प्रतिशत बढी हो। गत आवको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिक टन अर्थात् ३१ लाख २० हजार ९८६ सिलिण्डर ग्यास बिक्री भएको थियो। त्यसभन्दा अघिल्लो आव २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ सिलिण्डर बिक्री भएको थियो।

पछिल्ला महिनामा आयातमा उतारचढाव

निगमका अनुसार गत चैतमा ३८ हजार ८०० मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। सो अवधिमा विभिन्न उद्योगमार्फत ५४ लाख ६४ हजार ७८९ थान आधा भरिएका सिलिण्डर बिक्री भएका थिए। २०८१ सालको चैतमा भने ४८ हजार ३२७ मेट्रिक टन ग्यास आयात हुँदा ३४ लाख ३ हजार ३१० वटा पूरा भरिएका सिलिण्डर बिक्री भएका थिए।

गत वैशाखमा ३२ हजार ५६ मेट्रिक टन, जेठमा ३३ हजार ८४२ मेट्रिक टन र असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ४६ हजार ५०३, ४९ हजार ८१६ र ४७ हजार ९३३ मेट्रिक टन ग्यास आयात भएको थियो।

निगमले पछिल्लो समय आपूर्ति मागभन्दा बढी रहेकाले उपभोक्ताले आत्तिएर आवश्यकताभन्दा बढी सिलिण्डर सञ्चय नगर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका