Saturday, January 18, 2025
Homeराजनीतिएमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ:P सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको प्रतिवेदन प्रस्तुत गर्नेछन्।

बैठकमा प्रतिवेदनसहित समसामयिक विषयमा प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिने व्यवस्था गरिएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, अघिल्ला सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको उनले बताए। बैठकमा ३५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चार ओटा केन्द्रीय आयोगका प्रमुख सहभागी हुनेछन्। बैठक दुई दिनभित्र सम्पन्न गर्ने योजना रहेको छ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प, आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकको शुरुवातमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्नेछन्, जसपछि प्रतिवेदनमाथि छलफल हुनेछ। बैठकमा ४०९ पूर्ण केन्द्रीय सदस्य, २०५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारीसहित १२५ जनाको सहभागिता रहनेछ।

यसअघि, केन्द्रीय समिति बैठक सञ्चालनको मोडालिटी टुङ्ग्याउन आज बिहान ८ बजे माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा दुवै दलको बैठकले संविधान संशोधनलगायत एजेन्डामा ठोस धारणा तय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका