काठमाडौँ । युवा व्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
करिब दुई दशकदेखि नेदरल्याण्डबाट विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा समितिमा बर्ष २०२१–२३ का लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सन् २०११ देखि एनआरएनएको बिभिन्न समितिमा रहेर काम गरेको अनुभव सँगालेका गुरुङले अबको एनआरएनएको नेतृत्वमा युवा पुस्ता भन्ने नारासहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय संघको अभियानमा आवद्ध रहेका गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुदै २०१५–१७ मा अध्यक्ष बनेका थिए ।
त्यस्तै, २०१७–१९ मा एनआरएनए आइसिसी सदस्य हुँदै उनले वर्तमान कार्यकाल २०१९–२१ मा युवा समितीको संयोजक जस्तो महत्वपूर्ण पद सम्हालेका छन् । संघका हरेक समिती, गतिविधि र अभियानहरूलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले विश्वभरका युवा एनआरएनए माझ लोकप्रिय छवि बनाएका छन् ।
कास्की जिल्ला स्थित पोखरा महानगरपालिका २७ रिठ्ठेपानी घर भएका उनले उम्मेदवारी घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशप्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिकृया दिए ।


