काठमाडौं । आज मंगलबार प्रतिनिधिसभा तथा राष्ट्रियसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक बस्दै छन्। कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्नेछ। बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको ‘A Brief Technical Report on Addressing Human–Wildlife Conflict in Nepal: A National Strategy for Conflict Management, Mitigation and Coexistence’ माथि छलफल हुने कार्यसूची छ।
त्यसैगरी, बिहान १० बजे पूर्वाधार विकास समितिको बैठक बस्नेछ। बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) र संस्थाले भोग्दै आएका समस्या तथा समाधानका उपायबारे छलफल हुने भएको छ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। बैठकमा मदन पुरस्कार गुठीको स्थलगत अवलोकन तथा विविध विषयमा छलफल हुने कार्यसूची रहेको छ।
यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा सरकारले नियुक्त गर्ने विभिन्न निकायका पदाधिकारीमा समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने विषयमा छलफल गरिनेछ।
विधायन व्यवस्थापन समितिको बैठक भने बिहान ११ः३० बजे बस्ने कार्यतालिका रहेको छ।


