काठमाडौँ: देशभर विभिन्न कार्यक्रम गरी आज ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। गोरखापत्रको प्रकाशन प्रारम्भ भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरिन्छ।
२०७३ सालदेखि सरकारले यस दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रूपमा मान्यता दिएको हो। विसं १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा सुरु भएको गोरखापत्र नेपालको पत्रकारिता इतिहासको महत्वपूर्ण दस्तावेज बनेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौं पत्रकारिता दिवसले पत्रकारिता क्षेत्रलाई प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयो। उहाँले पत्रकारिता राज्यको चौथो अङ्ग भएको उल्लेख गर्दै यस क्षेत्रको विकासमा योगदान पु¥याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्ने कार्यले पत्रकारहरुलाई थप प्रेरणा दिने बताउनुभयो।
‘विश्वसनीय सूचनाको आधार: जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ मनाइँदै गरेको यस दिवसको अवसरमा देशभर विविध कार्यक्रम आयोजना भइरहेका छन्। मन्त्रालयको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह हुनेछ। उक्त अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्नुहुनेछ।
मन्त्रालयका अनुसार दुई जना पत्रकारलाई ‘वरिष्ठ पत्रकार सम्मान’ प्रदान गरिनेछ, जसमा रु दुई लाख नगद र कदरपत्र समावेश छ। साथै, छ जना पत्रकारलाई रु एक लाख नगद र कदरपत्रसहित ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ। निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारितामार्फत राष्ट्रहितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएका पत्रकार र सञ्चार संस्थाहरुलाई सरकारले हरेक वर्ष यस्ता पुरस्कारमार्फत कदर गर्दै आएको छ।
यसैबीच, गोरखापत्र संस्थानले ‘गोरखापत्र’ को १२५औँ वर्ष प्रवेश र संस्थानको ६३औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम आयोजना गर्दैछ।