भक्तपुर: देशभरका परीक्षा केन्द्रबाट आज शनिबारदेखि कक्षा १२ को परीक्षा एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि सुरु भई ११ः०० बजेसम्म सञ्चालन हुनेछ।
बोर्डले आगामी जेठ २ गतेसम्म सञ्चालन हुने यस परीक्षाका लागि देशभर एक हजार ५९० तथा जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र तोकेको छ। तीमध्ये सबैभन्दा धेरै काठमाडौँमा एक सय ६२ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र तोकिएको छ।
परीक्षा सञ्चालनका लागि त्यति नै सङ्ख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष खटाइएका छन्। विद्यार्थी सङ्ख्याका आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी तथा करिब २० हजार सुरक्षाकर्मी परिचालन गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो।
परीक्षामा नियमिततर्फ ५ हजार २०२ विद्यालयका एक लाख ९८ हजार ८७५ छात्र र एक लाख ९७ हजार १३ छात्रा गरी कुल ३ लाख ९५ हजार ९०८ विद्यार्थी सहभागी छन्। आंशिक परीक्षार्थीको सङ्ख्या एक लाख १५ हजार ६१७ रहेको छ। यसरी नियमित र आंशिक गरेर कुल परीक्षार्थी संख्या ५ लाख ११ हजार ५२५ पुगेको छ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अन्य प्रकारका अपाङ्गता भएका परीक्षार्थीका लागि विशेष व्यवस्था गरिएको छ। त्यस्तै, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिन सक्ने व्यवस्था गरिएको छ।
जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना कसैलाई पनि परीक्षा केन्द्रमा प्रवेश गर्न नदिइने व्यवस्था गरिएको छ। परीक्षा मर्यादाको उल्लंघन गर्ने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षकलाई तुरुन्तै परिवर्तन गर्न सकिने प्रावधान रहेको बोर्डले जनाएको छ।
परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैलाई मोबाइल फोन केन्द्रभित्र लैजान निषेध गरिएको छ। परीक्षार्थीलाई मोबाइल फोन, स्मार्ट घडी वा अन्य इलेक्ट्रोनिक उपकरण (लोडेड कागजात नभएको क्याल्कुलेटरबाहेक) ल्याउन अनुमति दिइने छैन।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, तथा उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन भइरहेको छ।