काठमाडौँ। अबदेखि कक्षा ९ मा मात्रै रजिस्ट्रेसन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि कक्षा ९ र कक्षा ११ मा गरी दुई पटक रजिस्ट्रेसन फाराम भर्ने बाध्यता थियो। यो प्रणाली अन्त्य गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी वर्षदेखि कक्षा ९ मा मात्रै फाराम भर्ने व्यवस्था लागू गर्ने तयारी गरेको हो।
शिक्षा पत्रकार सञ्जाल (इजोन) द्वारा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा शिक्षामन्त्री विद्या भट्टराईले दुई पटक रजिस्ट्रेसन फाराम भर्ने बाध्यता हटाइएको जानकारी दिइन्।
उनका अनुसार, अब रजिस्ट्रेसन फाराम निःशुल्क रूपमा भर्ने व्यवस्था हुनेछ। यसअघि राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक प्रमाणपत्र तयार पार्दा र कक्षा ९ तथा ११ का रजिस्ट्रेसनको नाममा समेत शुल्क लिँदै आएको थियो। त्यसबाट नेपाल सरकारले राजस्व संकलन गर्ने गरेको तथ्य पनि बाहिर आएको थियो।
‘विद्यार्थीबाट रजिस्ट्रेसन शुल्क उठाइ राजस्वमा जाने व्यवस्था रोक्न मैले पहल गरेकी हुँ,’ मन्त्री भट्टराईले भनिन्, ‘अब कक्षा ९ मा मात्रै रजिस्ट्रेसन शुल्क लिने, त्यो पनि राजस्वमा नजाने गरी अर्थ मन्त्रालयसँग सहमति भएको छ। यसबारेमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिमा एजेन्डा लगेर पारित गराएका छौँ।’
मन्त्री भट्टराईका अनुसार, यो निर्णय आगामी आर्थिक वर्षको बजेटबाट कार्यान्वयनमा आउनेछ। उनले निःशुल्क तथा अनिवार्य शिक्षाको सुरुवात यही निर्णयबाट भएको दाबी गरिन्। साथै, फाराम भर्दा विलम्ब शुल्क लिने प्रथा पनि अन्त्य गरिएको छ। अबदेखि विलम्ब शुल्कका नाममा विद्यार्थीबाट थप रकम असुल्न पाइनेछैन।
त्यस्तै, शैक्षिक प्रमाणपत्रमा त्रुटि सच्याउने नाममा लिने शुल्क हटाउने विषयमा पनि छलफल अगाडि बढाइएको मन्त्री भट्टराईले बताइन्।


