काठमाडौं । चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक वृद्धा महिलाले नदीमा डुबिरहेका एक युवकको ज्यान बचाएर असाधारण साहसको परिचय दिएकी छन्। ज्यानको जोखिम मोलेर गरिएको उनको उद्धार कार्यको चीनभर प्रशंसा भइरहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यसै महिनाको सुरुमा अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेकी थिइन्। त्यसक्रममा उनले एक युवक नदीमा डुब्न लागेको देखिन्। मौसमी बाढीका कारण नदीको गहिराइ करिब तीनदेखि चार मिटर पुगेको थियो।
युवकको अवस्था गम्भीर देखेपछि लिउले एकछिन पनि ढिला नगरी लाइफबोय लिएर नदीमा हाम फालिन्। उनले करिब आधा घण्टासम्म संघर्ष गर्दै युवकलाई किनारतर्फ ल्याइन्। त्यसपछि त्यहाँ रहेका अन्य व्यक्तिहरूको सहयोगमा युवकलाई सुरक्षित रूपमा बाहिर निकालियो।
उद्धार गरिएका युवकले आत्महत्याको प्रयास गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। लिउले आफ्नो ज्यानको पर्वाह नगरी उनको जीवन बचाउन सफल भएकी हुन्।
युवक सुरक्षित रहेको सुनिश्चित भएपछि लिउ भिजेकै लुगामा चुपचाप घर फर्किइन्। उनले आफूले गरेको कार्यलाई सामान्य मान्दै कुनै सम्मान वा प्रचारको अपेक्षा नगरेको बताइएको छ।
घटनाका प्रत्यक्षदर्शी वाङ हुइहुआले लिउको साहसको प्रशंसा गर्दै भने, “मैले घटनाको भिडियो बनाएर प्रहरीलाई देखाएँ। म उहाँको धेरै सम्मान गर्छु। म उहाँभन्दा कान्छो हुँ, तर मलाई पौडिन आउँदैन र पानीमा पस्न डर लाग्छ।”
घटनाको भोलिपल्ट प्रहरीले लिउको पहिचान गरी उनको घरमै पुगेर धन्यवाद दिएको थियो। त्यसपछि घटनास्थल पुगेकी लिउले आफूले त्यस बेला आफ्नो सुरक्षाभन्दा पनि डुबिरहेका व्यक्तिको ज्यान बचाउने सोच मात्रै राखेको बताइन्।
उनले भनिन्, “नदीमा मानिस डुबिरहेको देखेपछि मैले एक क्षण पनि ढिला गरिनँ। प्रत्येक सेकेन्ड महत्त्वपूर्ण थियो। जति छिटो उद्धार गर्न सकिन्छ, बाँच्ने सम्भावना त्यति नै बढी हुन्छ भन्ने लाग्यो। त्यस बेला मैले आफ्नो सुरक्षाबारे सोचिनँ, केवल उनको ज्यान बचाउने उद्देश्य थियो।”
७१ वर्षको उमेरमा पनि लिउले देखाएको साहस, मानवता र निस्वार्थ सेवाभावको अहिले चीनभर व्यापक प्रशंसा भइरहेको छ।


