काठमाडौं । लन्डनको प्रसिद्ध ह्याटन गार्डन क्षेत्रमा भएको एक अनौठो चोरीको घटनाले प्रहरी र सर्वसाधारणलाई चकित बनाएको छ। पक्राउ पर्ने डरले एक शातिर चोरले करिब ३५ हजार पाउन्ड (झण्डै ७० लाख नेपाली रुपैयाँ) मूल्यको हीराको औँठी निलेपछि घटना चर्चामा आएको हो।
चोरी भएको औँठी प्लाटिनमबाट बनेको थियो, जसमा ठूलो ‘प्रिन्सेस–कट’ हीरासहित अन्य बहुमूल्य हीराहरू जडान गरिएका थिए। ज्वेलरी पसलमा ग्राहक बनेर पुगेका ती व्यक्तिले मौका पाउँदै औँठी मुखमा हालेर निलेका थिए।
औँठी हराएको थाहा पाएपछि उनले आफू निर्दोष रहेको देखाउन पसलमै नाटक गरे। उनले आफ्नै गोजी जाँच गर्न प्रस्ताव गर्दै पसलेहरूको शंका हटाउने प्रयास गरेका थिए। तर पसलमा जडान गरिएको सीसीटीभी क्यामेराले उनको सबै गतिविधि रेकर्ड गरिसकेको थियो।
फुटेजमा औँठी निलेको दृश्य देखिएपछि पसल सञ्चालकहरूले प्रहरीलाई खबर गर्ने तयारी गरे। आफू पक्राउ पर्ने निश्चित देखेपछि ती व्यक्तिले अन्ततः गलामा औँला हालेर उल्टी गरे र निलेको औँठी बाहिर निकालेर फिर्ता गर्न बाध्य भए।
पसलका मालिक जुनैद हसनका अनुसार आरोपी कुनै सामान्य चोर नभई पेशेवर अपराधी थिए। समातिएमा सहयोग लिनका लागि उनले मोबाइलमा एकजना साथीको नम्बर समेत तयार राखेका थिए।
हसनले बिना पानी यति ठूलो र धारिलो हीराको औँठी निल्नु अत्यन्त जोखिमपूर्ण कार्य भएको भन्दै यस्तो काम पेशेवर अपराधीले मात्र गर्न सक्ने बताए। सामाजिक सञ्जालमा भाइरल बनेको यो घटनाले ज्वेलरी व्यवसायीहरूलाई सुरक्षा सतर्कता अझ कडा बनाउनुपर्ने सन्देश दिएको छ।


