काठमाडौं । बैंकिङ कसुरसम्बन्धी ४२ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको मुद्दामा व्यवसायी दीपक भट्ट, शङ्करलाल अग्रवालसहितका प्रतिवादीहरूको उच्च अदालत पाटनमा बयान सुरु भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा प्रतिवादीहरूको बयान भइरहेको छ।
यस मुद्दामा इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शङ्करलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ। उनीहरूविरुद्ध गत जेठ २८ गते बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो।
उच्च सरकारी वकिल कार्यालयले बैंकबाट लिएको कर्जा प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर गरेको हो। अभियोगपत्रअनुसार जगदम्बा स्टिल्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’ दीपक भट्ट र शङ्करलाल अग्रवालको मिलेमतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गर्न तथा जग्गा खरिदका लागि बैना रकमका रूपमा प्रयोग गरिएको आरोप छ।
मुद्दा दर्ता हुँदा फरार रहेका शङ्करलाल अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पक्राउ गरी उच्च अदालत पाटनमा उपस्थित गराएको थियो। हाल उनको बयान जारी छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआई बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंकलगायत वित्तीय संस्थाबाट चालु पुँजी (वर्किङ क्यापिटल) तथा छोटो अवधिको कर्जा लिएको थियो।
औद्योगिक कच्चापदार्थ खरिद र उद्योग सञ्चालनका लागि लिइएको उक्त कर्जा जगदम्बा स्टिल्सले दीपक भट्टको सिद्धार्थ बैंकस्थित व्यक्तिगत खातामा स्थानान्तरण गरेको तथा त्यसै रकम हिमालयन रि–इन्स्योरेन्सको संस्थापक सेयर खरिद र व्यक्तिगत लाभका लागि प्रयोग गरिएको अभियोग लगाइएको छ। सोही आधारमा प्रतिवादीहरूमाथि बैंकिङ कसुरमा सजायको माग गरिएको छ।


