कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ निवासी डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि हराएको छोराको खबरसँगै खुसी फर्किएको छ। रोजगारीका लागि भारत गएका उनका छोरा दीपक नेगी जीवितै रहेको जानकारी Facebook मार्फत प्राप्त भएपछि परिवार अहिले पुनर्मिलनको प्रतीक्षामा छ।
कमजोर आर्थिक अवस्थाका कारण १८ वर्षको उमेरमा भारतको हिमाञ्चल पुगेका दीपक बिरामी परेपछि अस्पताल जाने बहानामा सम्पर्कविहीन भएका थिए। लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवारले उनको आशा त्यागिसकेको थियो। तर, भारतको लेह–लद्दाख क्षेत्रमा चौँरीगोठमा कार्यरत एक नेपालीले दीपकसँग भेट गरी उनको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनको अवस्था सार्वजनिक भएको हो।
छोराको तस्बिर मोबाइलमा देख्दा भावुक बनेका बुबा डम्बरबहादुरले भने, “भगवान्ले नै खबर ल्याइदिएजस्तो लाग्यो। यति वर्षपछि छोराको समाचार पाउनु नयाँ जीवन पाएजस्तै हो।” आमा मानमती पनि छोरासँग छिट्टै भेट हुने आशामा भावुक बनेकी छन्।
प्राप्त जानकारीअनुसार दीपक हाल मानसिक रूपमा केही अस्वस्थ रहेका छन् र उनलाई काममा लगाउने साहुले नै उपचारको व्यवस्था गरिरहेको जनाइएको छ। परिवारले उनीसँग भिडियो कलमार्फत संवाद सुरु गरिसकेको छ।
हाल दिल्लीमा रहेका उनका दाजु र भाउजू आगामी वैशाख २० गते लद्दाख पुगेर दीपकलाई घर फर्काउने तयारीमा छन्।
वडा अध्यक्ष नवलसिंह रानाका अनुसार प्रहरीमार्फत सूचना प्राप्त भएपछि वडा कार्यालयले परिवारसँग समन्वय गरेको थियो। “सामाजिक सञ्जालको सकारात्मक प्रयोगका कारण वर्षौँदेखि हराएको व्यक्ति फेला पर्नु सुखद पक्ष हो,” उनले बताए।
नेगी परिवारका तीन छोरामध्ये माइला छोरा दीपक १८ वर्षअघि बेपत्ता भएका थिए।


