Sunday, May 10, 2026
Home Blog Page 92

रास्वपामाथि आचारसंहिता उल्लंघनको आरोप, आयोगको ध्यानाकर्षण

0

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्वनि प्रदूषण हुनेगरी घण्टी बजाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्।

प्रवक्ता श्रेष्ठले जारी गरेको वक्तव्यमा रास्वपाले विभिन्न स्थानमा घण्टी बजाएर ध्वनि प्रदूषण गराएको दाबी गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्। साथै उनले राजा वीरेन्द्रको शालिकमाथि चढेर झण्डा जलाउनेजस्ता गतिविधिप्रति आपत्ति जनाएका छन्।

वक्तव्यमा भनिएको छ, “निर्वाचन आचारसंहिताको पालना गर्ने र गराउने सवालमा आयोग गम्भीर हुनुपर्छ। घण्टी चिन्ह भएको दलले ध्वनि प्रदूषण हुने गरी देशव्यापी रूपमा घण्टी बजाउँदै आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गर्नु विडम्बनापूर्ण छ।”

उनले उदाहरण दिँदै प्रश्न गरेका छन्, “यदि खुकुरी चिन्ह भएको दलले खुकुरी नचाउँदै हिँड्ने, वा डोजर चिन्ह भएको दलले सडक अवरुद्ध हुने गरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो भने आयोगका लागि त्यो पनि स्वीकार्य हुन्छ?”

प्रवक्ता श्रेष्ठले रास्वपाले गरेका भनिएका दुव्र्यवहार, झण्डा जलाउने र शालिकमाथि चढ्ने गतिविधिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसमेत गरेका छन्।

निर्वाचन आयुक्त सगुन शमशेर जबराको परिवार ठगी प्रकरणमा मुद्दा दायर

0

काठमाडौँ । निर्वाचन आयोगका आयुक्त सगुन शमशेर जबराको परिवार ठगीको शिकार भएको छ। राम्रो जग्गा सस्तो मूल्यमा उपलब्ध गराइदिने प्रलोभनमा पर्दा आयुक्तकी श्रीमती सीमा राणा ठगिएकी हुन्।

सीमा राणालाई सस्तोमा जग्गा मिलाइदिने आश्वासन दिई १८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा सिन्धुली निवासी ४० वर्षीय मधु कार्कीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

अभियोगपत्रअनुसार प्रतिवादी कार्कीले सीमा राणाका श्रीमान् (निर्वाचन आयुक्त) विदेश गएको मौकामा आफूलाई ‘दिदी’ नाता लगाई विश्वासमा पारेका थिए। उनले ‘एक स्थानमा अत्यन्त राम्रो र सस्तो जग्गा छ, तुरुन्त बैना नगरे अरूले लैजान्छन्’ भन्दै प्रलोभन देखाएका थिए। कार्कीको कुरामा विश्वास गरी राणाले जग्गाको बैनाबापत पटक–पटक गरी जम्मा २५ लाख रुपैयाँ तथा आफ्नो नागरिकताको प्रतिलिपि बुझाएकी थिइन्। तर रकम बुझेपछि कार्कीले न त जग्गा पास गरिदिए, न बैना कागज नै उपलब्ध गराए।

ठगिएको आशंका भएपछि राणाले रकम फिर्ता माग्दा कार्कीले ६ लाख ५० हजार रुपैयाँ मात्र फिर्ता गरेका थिए। बाँकी १८ लाख ५० हजार रुपैयाँ नफिर्ता गरी उनी लामो समयदेखि सम्पर्कविहीन रहेको अभियोगमा उल्लेख छ।

यस घटनामा निर्वाचन आयुक्तका सवारी चालक बलराम भुजेल र स्वकीय सचिव समीर भट्टराईले साक्षीका रूपमा बयान दिएका छन्। उनीहरूका अनुसार प्रतिवादी कार्कीले ‘दिदी’ नाता लगाएर घनिष्ठता बढाउँदै विश्वासघात गरेका थिए।

सङ्घीयताको रक्षा मधेसको जागरणमा निर्भर : उपेन्द्र यादव

0

सप्तरी । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको संरक्षण मधेसको बलियो उपस्थिति र निरन्तर खबरदारीमा निर्भर रहेको बताएका छन्।

सप्तरीमा आयोजित चुनावी सभालाई आइतबार सम्बोधन गर्दै उनले सङ्घीयताको स्थापना मधेसको सङ्घर्ष, बलिदान र आन्दोलनकै परिणाम भएको स्मरण गराए। “सङ्घीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रीकृत शासनतर्फ फर्काउने प्रयास भइरहेका छन्,” उनले भने, “तर मधेस जागरूक रहँदा त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन्।”

सप्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले सङ्घीय व्यवस्थामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले केही शक्तिहरू सङ्घीयतालाई कमजोर पार्दै अन्ततः समाप्त गर्ने दिशामा लागेको आरोप लगाए।

“मधेस प्रदेशको दृढ अडानकै कारण मुलुकमा सङ्घीयता धानिएको छ। मधेसले आवाज उठाउन छाड्यो भने सङ्घीयता कागजमा मात्र सीमित हुनेछ,” उनले बताए। अधिकारको संरक्षणका लागि मधेस सधैँ अग्रपंक्तिमा उभिएको दाबी गर्दै उनले मधेसलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा सुदृढ बनाउनु अपरिहार्य रहेको उल्लेख गरे।

सभामा उनले सङ्घीयताको रक्षा, अधिकार सुनिश्चितता र स्वाभिमानको संरक्षणका लागि मतदानमार्फत जसपा नेपाललाई बलियो बनाउन मतदातासँग अपिल गरेका छन्।

पर्साका अधिकृत कमल राज गौतमविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश

0

काठमाडौं । विशेष अदालतले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका अधिकृत (आठौँ तह) कमल राज गौतमविरुद्ध दायर भ्रष्टाचार मुद्दामा साक्षी प्रमाण बुझ्ने आदेश दिएको छ।

आइतबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले साक्षी प्रमाण बुझ्ने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत गौतमले २०५५ सालदेखि २०७९ सालसम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

अभियोगपत्रअनुसार गौतमको वैधानिक कुल आय २ करोड ८९ लाख रुपैयाँ देखिएको छ। तर घर निर्माण, जग्गा खरिद, सवारी साधन, ऋण भुक्तानी, शेयर खरिद, बैंकमार्फत लगानी, सुन खरिद तथा बीमालगायत शीर्षकमा ५ करोड ४० लाख रुपैयाँ खर्च तथा लगानी भएको देखिएको उल्लेख गरिएको छ।

साढे २ करोड रुपैयाँभन्दा बढी अवैधानिक रकम देखिएपछि अख्तियारले सो रकम जफतसहित ३ वर्षसम्म कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको थियो।

गौरमा कफ्र्यू दुई घण्टाका लागि खुकुलो, बिहान ८:३० पछि पुनः कडा प्रतिबन्ध

0

रौतहट। रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादपछि लगाइएको कफ्र्यू आदेश आइतबार बिहान दुई घण्टाका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री खरिद तथा अत्यावश्यक कामका लागि सहुलियत दिने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको सूचनामा आइतबार बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म कफ्र्यू खुकुलो पारिएको उल्लेख छ। तर, बिहान ८:३० बजेपछि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू यथावत् रहने स्पष्ट पारिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेश उल्लंघन गरेमा कडा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। बिहान ८:३० बजेपछि घरबाहिर निस्कन, हिँडडुल गर्न तथा सवारी साधन सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ। साथै, कफ्र्यू प्रभावित क्षेत्रमा कुनै पनि प्रकारका सभा, जुलुस, घेराउ वा प्रदर्शन गर्न निषेध गरिएको छ।

यद्यपि, एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मीका सवारी साधनजस्ता अत्यावश्यक सेवाहरूलाई भने कफ्र्यूको समयमा पनि सञ्चालनमा अवरोध नहुने जनाइएको छ।

प्रशासनका अनुसार कफ्र्यू आदेश पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म लागू गरिएको छ।

गौरको सवगढा क्षेत्रमा दुई पक्षबीच भएको झडपपछि अवस्था तनावपूर्ण बनेकाले शान्ति–सुरक्षा कायम गर्न प्रशासनले शुक्रबारदेखि नै कडा सुरक्षा व्यवस्था लागू गरेको हो। प्रशासनले सबै नागरिकलाई संयमित रहन र सरकारी निर्देशनको पूर्ण पालना गर्न अपिल गरेको छ।

आईसीसी टी–२० विश्वकप सुपर–८ मा आज दुई रोचक भिडन्त, श्रीलंका–इंग्ल्यान्ड र भारत–दक्षिण अफ्रिका आमनेसामने

0

काठमाडौं। ICC Men’s T20 World Cup अन्तर्गत आज (आइतबार) सुपर–८ चरणका दुई महत्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारसहित सुपर–८ मा प्रवेश गरेको हो भने श्रीलंका समूह ‘बी’बाट समान तीन जित र एक हारका साथ अघिल्लो चरण पार गर्दै आएको छ। दुवै टोली आफ्नो–आफ्नो समूहको उपविजेता हुन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।

शनिबारदेखि सुरु भएको सुपर–८ चरणको पहिलो खेल वर्षाले प्रभावित बनेको थियो। न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका थिए।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन्। सुपर–८ अन्तर्गत समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे रहेका छन् भने समूह दुईमा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका छन्।

आजको दोस्रो खेलमा साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। भारतमै आयोजना हुने यो खेल साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ। भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो। समूह चरणमा दुवै टोली अपराजित रहँदै सुपर–८ मा पुगेका हुन्।

सुपर–८ का खेलहरूले सेमिफाइनल यात्राका लागि महत्वपूर्ण दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

कालीमाटी बजारले सार्वजनिक गर्‍यो आजका लागि तरकारी र फलफूलको न्यूनतम थोक मूल्य

0

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि विभिन्न कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले दैनिक रूपमा बजारमा आपूर्ति हुने तरकारी तथा फलफूलको मूल्य निर्धारण गर्दै आएको छ।

समितिका अनुसार ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेँडा २५ रुपैयाँ, सानो टनेल गोलभेँडा ४५ रुपैयाँ र सानो तराई गोलभेँडा ३२ रुपैयाँ कायम गरिएको छ। आलु रातो र आलु रातो (भारतीय) दुबै प्रतिकिलो २३ रुपैयाँ तोकिएको छ भने सुकेको भारतीय प्याज ३७ रुपैयाँ निर्धारण गरिएको छ।

तरकारीतर्फ गाजर (लोकल) ४० रुपैयाँ र गाजर (तराई) ३० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ र बन्दा (नरिवल) २५ रुपैयाँ तोकिएको छ। काउली (स्थानीय) २० रुपैयाँ तथा काउली (तराई) २५ रुपैयाँ कायम गरिएको छ। यस्तै, रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ र सेतो मूला (हाइब्रिड) १२ रुपैयाँ तोकिएको छ। भन्टा (लाम्चो र डल्लो) दुवै ६० रुपैयाँ निर्धारण गरिएको छ।

मटरकोसा ४० रुपैयाँ, घिउ सिमी (लोकल) ८० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) ७० रुपैयाँ र घिउ सिमी (राजमा) १०० रुपैयाँ कायम गरिएको छ। टाटे सिमी ६० रुपैयाँ, तितो करेला १६० रुपैयाँ, लौका ६५ रुपैयाँ, फर्सी पाकेको ४५ रुपैयाँ तथा हरियो फर्सी (लाम्चो/डल्लो) १२ रुपैयाँ तोकिएको छ। भिन्डी १२० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५५ रुपैयाँ कायम गरिएको छ।

सागपाततर्फ रायोसाग १५ रुपैयाँ, पालुङ्गो साग २० रुपैयाँ, चमसुर २० रुपैयाँ, मेथीको साग ३० रुपैयाँ र हरियो प्याज ३० रुपैयाँ निर्धारण गरिएको छ। च्याउ (कन्य) ११० रुपैयाँ, च्याउ (डल्ले) ३८० रुपैयाँ र राजा च्याउ २८० रुपैयाँ तोकिएको छ। ब्रोकाउली ३० रुपैयाँ, सेलरी १५० रुपैयाँ, पार्सले ३५० रुपैयाँ र पुदिना ३०० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ र स्याउ (फुजी) २५० रुपैयाँ निर्धारण गरिएको छ। केरा (दर्जन) १७० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २४० रुपैयाँ र अंगुर (कालो) ३५० रुपैयाँ तोकिएको छ। सुन्तला (नेपाली) १५० रुपैयाँ, तरबुजा ८० रुपैयाँ, मौसम १०० रुपैयाँ र जुनार १०० रुपैयाँ कायम गरिएको छ। स्ट्रबेरी (भुइँऐसुलु) ४०० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ र अमला ९० रुपैयाँ निर्धारण गरिएको छ।

समितिले सार्वजनिक गरेको यो मूल्यसूची थोक कारोबारका लागि लागू हुने जनाएको छ। खुद्रा बजारमा भने मूल्यमा फरक पर्न सक्ने समितिले उल्लेख गरेको छ।

अध्यक्ष कुलमान अत्तरियाको सभामा अनुपस्थित, कार्यकर्ता निराश

0

धनगढी। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ शनिबार कैलालीको अत्तरियामा आयोजित पार्टी सभामा उपस्थित नहुँदा कार्यकर्तामा निराशा छाएको छ। अध्यक्ष घिसिङले मध्याह्न १२ बजे गोदावरी नगरपालिका–अत्तरियामा हुने भेलालाई सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यतालिका रहेको थियो।

उज्यालो नेपाल पार्टीको गोदावरी नगर कमिटीले कार्यक्रमका लागि मञ्च व्यवस्थापन, उद्घोषक तथा अन्य आवश्यक तयारी पूरा गरेको जनाएको थियो। अध्यक्ष घिसिङ कैलाली र कञ्चनपुरका विभिन्न कार्यक्रममा सहभागी भइरहेका कारण अत्तरियाको कार्यक्रमलाई विशेष महत्वका साथ हेरिएको थियो।

तर निर्धारित समयसम्म अध्यक्ष घिसिङ कार्यक्रम स्थलमा नपुगेपछि कार्यकर्ताहरू अन्योलमा परेका थिए। केही समय प्रतीक्षापछि उनी कार्यक्रममा उपस्थित नहुने जानकारी आयोजक पक्षबाट सार्वजनिक गरिएको थियो। प्रारम्भमा अनुपस्थितिको स्पष्ट कारण खुलाइएको थिएन।

पछिल्लो जानकारी अनुसार कार्यव्यस्तताका कारण अध्यक्ष घिसिङ अत्तरियाको सभामा आउन नसकेको बताइएको छ। कार्यक्रममा उज्यालो नेपाल पार्टीका उपाध्यक्ष राजेश पर्तेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको थियो। पर्तेलले अन्य स्थानका कार्यक्रमहरूको व्यवस्थापनका कारण अध्यक्ष उपस्थित हुन नसकेको स्पष्ट पारे।

मुख्य वक्ता अनुपस्थित भएपछि कार्यक्रममा सहभागी कार्यकर्ताहरू निराश हुँदै घर फर्किएका थिए।

‘सिडान्स २.०’ ले हलिउडमा हलचल, चिनियाँ कृत्रिम बुद्धिमत्ताको नयाँ चुनौती

0

लस एन्जलिस । चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको नयाँ कृत्रिम बुद्धिमत्ता मोडल ‘सिडान्स २.०’ ले हलिउडमा व्यापक चर्चा र बहस निम्त्याएको छ। सामान्य पाठ निर्देशनका आधारमा चलचित्रस्तरका दृश्य, ध्वनि प्रभाव र संवादसहित भिडियो तयार गर्न सक्ने क्षमताका कारण यस प्रविधिले मनोरञ्जन उद्योगमा ठूलो परिवर्तन ल्याउने सम्भावना देखिएको छ।

स्पाइडर–म्यान र डार्थ वेडरजस्ता चर्चित पात्र समावेश गरिएका सिडान्सद्वारा तयार पारिएका धेरै दृश्यहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएका छन्। ठूला हलिउड स्टुडियोहरूले प्रतिलिपि अधिकार उल्लङ्घनको आरोप लगाउँदै आपत्ति जनाएका छन्। तर प्रविधिको प्रभाव कानुनी बहसभन्दा धेरै गहिरो देखिएको विश्लेषण भइरहेको छ।

सिडान्स पहिलोपटक सन् २०२५ को जुनमा सार्वजनिक भएको थियो। यसको दोस्रो संस्करणले भने बजारमा नयाँ स्तरको प्रतिस्पर्धा सिर्जना गरेको छ। विज्ञहरूका अनुसार यसले पाठ, दृश्य र ध्वनिलाई एउटै प्रणालीमा संयोजन गर्ने क्षमता उल्लेखनीय छ। अन्य भिडियो निर्माण गर्ने कृत्रिम बुद्धिमत्ता उपकरणहरूले जस्तै यसले छोटो निर्देशनबाटै उच्च गुणस्तरका भिडियो उत्पादन गर्न सक्छ, तर यसको परिणाम अझ यथार्थपरक र सिनेमाटिक देखिन्छ।

कृत्रिम बुद्धिमत्ता नैतिकता अनुसन्धानकर्ता मार्गरेट मिचेलका अनुसार, बहु–माध्यमीय सामग्रीलाई एउटै प्रणालीमा संयोजन गर्ने सिडान्सको क्षमता अत्यन्त प्रभावशाली छ। यसले चलचित्र निर्माणको पारम्परिक प्रक्रियामा ठूलो परिवर्तन ल्याउन सक्ने देखिन्छ।

सिंगापुरस्थित एनिमेसन स्टुडियो टाइनी आइल्याण्ड प्रोडक्सनका डेभिड क्वोकका अनुसार, सिडान्सले तयार पारेका जटिल एक्सन दृश्यहरू प्रतिस्पर्धी उपकरणभन्दा बढी यथार्थपरक देखिन्छन्। यसले साना उत्पादन कम्पनीहरूलाई पनि ठूलो बजेट आवश्यक पर्ने विधामा प्रवेश गर्न सम्भावना दिएको छ।

तर सिडान्स प्रतिलिपि अधिकारसम्बन्धी विवादमा तानिएको छ। प्रमुख हलिउड समूहहरूले आफ्ना प्रतिलिपि अधिकार सुरक्षित पात्रहरू प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। जापानमा पनि लोकप्रिय एनिमे पात्रसम्बन्धी भिडियोहरू भाइरल भएपछि अनुसन्धान अघि बढाइएको छ।

यसअघि पनि कृत्रिम बुद्धिमत्ता कम्पनीहरूविरुद्ध सामग्री बिना अनुमति प्रयोग गरेको आरोप लाग्दै आएका छन्। सन् २०२३ मा न्युयोर्क टाइम्सले आफ्ना लेख अनुमति बिना तालिमका लागि प्रयोग गरिएको भन्दै मुद्दा दायर गरेको थियो। यसले प्रविधि विकास र बौद्धिक सम्पत्ति अधिकारबीचको द्वन्द्वलाई उजागर गरेको छ।

विज्ञहरूका अनुसार, सामग्रीलाई स्पष्ट रूपमा चिन्हित गर्ने, अनुमति र भुक्तानी प्रणाली विकास गर्ने तथा दुरुपयोग रोक्ने संयन्त्र निर्माण गर्नु अत्यन्त आवश्यक छ। अन्यथा कृत्रिम बुद्धिमत्ताप्रति सार्वजनिक विश्वास कमजोर हुन सक्छ।

यसैबीच, चीनले कृत्रिम बुद्धिमत्ता र रोबोटिक्सलाई आफ्नो आर्थिक रणनीतिको केन्द्रमा राख्दै उन्नत कम्प्युटर चिप, स्वचालन र सृजनात्मक कृत्रिम बुद्धिमत्तामा ठूलो लगानी गरिरहेको छ। विश्लेषकहरूका अनुसार सिडान्स २.० को उदयले चिनियाँ प्रविधि विश्वस्तरमा प्रतिस्पर्धी बन्दै गएको संकेत दिएको छ।

आगामी वर्षहरूमा कृत्रिम बुद्धिमत्ता केवल संवाद गर्ने उपकरणमा सीमित नरही दैनिक काम, सामग्री निर्माण र आर्थिक लेनदेनसमेत सम्हाल्ने दिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ। सिडान्स २.० को आगमनले मनोरञ्जन उद्योगमा मात्र होइन, विश्वव्यापी प्रविधि प्रतिस्पर्धामा पनि नयाँ अध्याय सुरु गरेको विश्लेषण भइरहेको छ।

सुदूरपश्चिममा निर्वाचन : देउवाको अनुपस्थिति कांग्रेसका लागि प्रतिउत्पादक

0

धनगढी । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशका केही प्रभावशाली नेताहरू उम्मेदवारको सूचीबाट बाहिरिएका छन्।

कांग्रेसका पूर्वसभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा यसपटक उम्मेदवार छैनन्। एउटै क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका देउवा २०७८ यता अपराजित रहँदै आएका थिए। उनले यो आफ्नो अन्तिम चुनाव हुने संकेत दिएका थिए। तर नेपाली कांग्रेसको वर्तमान नेतृत्वले डडेल्धुराबाट उनलाई टिकट नदिई नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। देउवा चुनावी मैदानबाहिर रहँदा डडेल्धुरामा कांग्रेसलाई आफ्नो प्रभाव जोगाउन चुनौती देखिएको छ। उनी हालसम्म निर्वाचन क्षेत्रमा सक्रिय रूपमा देखिएका छैनन्।

कांग्रेसकै अर्का प्रभावशाली नेता रमेश लेखक पनि यसपटक उम्मेदवार बनेनन्। कञ्चनपुर–३ बाट चुनाव लड्दै आएका लेखकलाई पार्टीले टिकट नदिएपछि उनी बाहिरिएका हुन्। उक्त क्षेत्रमा यसपटक हरि प्रसाद बोहरालाई उम्मेदवार बनाइएको छ। कञ्चनपुर–३ कांग्रेसको बलियो आधार क्षेत्र मानिन्छ, जहाँ लेखक २०५६, २०७० र २०७९ का निर्वाचनमा विजयी भएका थिए।

त्यसैगरी, नेकपा (एमाले) का केन्द्रीय सदस्य कर्ण थापा पनि टिकटबाट वञ्चित भएका छन्। बाजुरालाई राजनीतिक आधार बनाएका थापा २०७० को संविधान सभा निर्वाचनमा विजयी भएका थिए भने २०७९ मा पराजित भएका थिए। पार्टी नेतृत्वसँगको मतभेदका कारण यसपटक टिकट नपाएको चर्चा छ।

बझाङका नेता भानुभक्त जोशी पनि यसपटक उम्मेदवार बन्न पाएनन्। २०४७ सालदेखि संसदीय राजनीतिमा सक्रिय रहेका जोशी एक पटक बाहेक अधिकांश निर्वाचनमा विजयी हुँदै आएका थिए। यसपटक उनको स्थानमा मिनबहादुर कुँवर उम्मेदवार बनेका छन्।

त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ। फैजदारी मुद्दामा दोषी ठहर भइसकेकाले संविधानअनुसार अयोग्य ठहर गर्दै आयोगले उनको उम्मेदवारी रद्द गरेको हो। चौधरी २०७४ मा जेलबाटै कैलाली–१ बाट निर्वाचित भए पनि संसदमा सहभागी हुन सकेका थिएनन्। २०७९ मा भने उनकी पत्नी रञ्जिता श्रेष्ठ सोही क्षेत्रबाट विजयी भएकी थिइन्।

यसपटक सुदूरपश्चिमका यी चर्चित अनुहारहरू चुनावी प्रतिस्पर्धाबाट बाहिरिँदा प्रदेशको राजनीतिक समीकरणमा नयाँ परिस्थिति सिर्जना भएको छ।