Tuesday, May 12, 2026
Home Blog Page 865

न्यायाधीश नै थुनामा: वैवाहिक बलात्कारको आरोप

0

काठमाडौं। जनातालाई न्याय दिने न्यायाधीश नै थुनामा भन्ने सुन्दा अचम्म लाग्न सक्छ। आफ्नै पत्नीलाई वैवाहिक बालात्करको आरोपमा न्यायधीश भुवन गिरी थुनामा परेका छन्।
सर्वोच्चले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

बुधबार न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका थिए।

न्यायाधीश गिरीकी पत्नीले आफूमाथि वैवाहिक बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । त्यसपछि गिरीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको थियो।

बुधबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा बहस चलिरहेको न्यायाधिश गिरीकी श्रीमती आरतीले शंकास्पद वस्तु सेवन गरेकी थिइन्। त्यसपछि उनलाई तुरुन्तै उपचारका लागि वीर अस्पताल लागिएको थियो। अहिले उनको अवस्था भने समान्य रहेको बताइएको छ।

आयुर्वेद उपचारमा आकर्षण

0

नेपालगञ्ज: बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रतिको आकर्षण बढ्दै गएको देखिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले नेपालगन्ज उपमहानगरपालिकाको नेपालगन्ज, भवनीयापुर, जयसपुर र परसपुर गरी चार, कोहलपुर नगरपालिकामा र बैजनाथ गाउँपालिकाको टटिहिरीयामा स्थायी आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ ती केन्द्रमा पछिल्लो समय सेवाग्राहीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । हाल यहाँका खजुरा, नरैनापुर, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा पनि नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा छन् । आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि तथा कर्मचारी खर्च प्रदेश सरकारबाट र आरोग्य सेवा केन्द्रमा एक जना कविराजको खर्च प्रदेश सरकारले बेहोर्ने गरेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका प्रमुख वरिष्ठ कविराज निरीक्षक डा गीता रेग्मीले आयुर्वेद उपचार गर्न आउनेको सङ्ख्या बढ्दै गएको उल्लेख गर्नुभयो । “सेवाग्राही बढ्दै जाँदा औषधिको सीमित बजेट पुग्ने अवस्थामा छैन” उहाँले भन्नुभयो । हाल यी केन्द्रबाट आयुर्वेदसम्बन्धी २३ प्रकारका औषधि निःशुल्क पाइन्छ । उहाँ भन्नुहुन्छ, “औषधि खरिदको बजेटसमेत कटौती हुँदा निःशुल्क औषधि वर्षभरी पु¥याउन हम्मेहम्मे छ ।” वरिष्ठ कविराज रेग्मी आयुर्वेद औषधि कतिपय रोगमा निकै प्रभावकारी हुने गरेको उल्लेख गर्दै आयुर्वेद उपचारमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य केन्द्रका सूचना अधिकारी चौधरीले मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रमअन्तर्गत हाते पुस्तिका वितरण गरिरहेको जानकारी दिँदै आहारविहार, योग, ध्यान, खानपान सिकाउन आवश्यक भएको बताउनुभयो । १९ हजारले लिए सेवा बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रबाट १९ हजारभन्दा बढीले पछिल्लो छ महिनामा सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेका सूचना अधिकारी सीताराम चौधरीले जिल्लामा आयुर्वेद सेवा लिनेहरुको सङ्ख्या चालु आर्थिक वर्षको पुससम्म १९ हजार दुई सय ३८ रहेको जानकारी दिनुभयो ।

केन्द्रका अनुसार साउनमा तीन हजार एक सय ७६, भदौमा तीन हजार २१, असोजमा तीन हजार छ सय ३१, कात्तिकमा दुई हजार छ सय, मङ्सिरमा तीन हजार एक सय एक, पुसमा तीन हजार सात सय नौ जनाले उपचार सेवा लिएका छन् । उपचार सेवा लिने सबैभन्दा बढी १७ देखि ५९ वर्ष उमेर समूहका छन् । उक्त उमेर समूहका १३ हजारभन्दा बढीले छ महिनामा उपचार लिएका छन् । यहाँ बाहिरी जिल्ला बर्दिया, सल्यान, रुकुम, जाजरकोट, मुगुलगायतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् ।

बागमती प्रदेशः नवनियुक्त चार मन्त्रीद्वारा पदभारग्रहण

0

मकवानपुर: बागमती प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले आज पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट हिजो सपथ ग्रहण गर्नुभएका मन्त्रीहरु केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठले आज सम्बन्धित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

केशवप्रसाद पोखरेलले वन तथा वातारण मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । गत फागुन २३ गते नेपाली कांग्रेसका तर्फबाटमन्त्री बन्नुभएका छ जनाले सामूहिक राजीनामा दिएर सरकारबाट बाहिरिएपछि मौजुदा मन्त्रिपरिषद् अल्पमतमा परेको थियो । मुख्यमन्त्री जम्मकट्टेलले तेस्रो पटक लिएको विश्वासको मतमा ५६ मत पाएपछि उहाँ नेतृत्वको सरकारले निरन्तरता पाउने भएको हो ।

प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षका गरी एक सय १० जना प्रदेश सभाका सदस्यहरु हुनुहुन्छ । मुख्यमन्त्री जम्मकट्टेलको सिफारिस बमोजिम बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद्को कार्य विभाजनसमेत तोक्नुभएको छ । जस अन्तर्गत शालिकराम जम्मकट्टेल मुख्यमन्त्री, युवराज दुलाल भौतिक पूर्वाधार तथा योजनामन्त्री, कुमारी मुक्तान सामाजिक विकासमन्त्री, गङ्गानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुनमन्त्री, जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी विकासमन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

साथै लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायातमन्त्री, केशवराज पोखरेल वन तथा वातावरणमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री, एकालाल श्रेष्ठ खोनपानी, ऊर्जा तथा सिँचाइ मन्त्री, प्रकाश श्रेष्ठ उद्योग वाणिज्य, भूमि तथा प्रशासनमन्त्री, शैलेन्द्रराज बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारीमन्त्री र रमा आले मगर बिना विभागीय मन्त्री हुनुहुन्छ ।

नेपालगञ्ज कारागारका एकजना कैदीको मृत्यु

0

खजुरा (बाँके): नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताउनुभयो ।

उहाँका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ । गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ३० मेगावाट विद्युत् उत्पादन

0

तनहुँ: जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो । सुख्खा यामसँगै नदीमा पानीको बहाव कम भएकाले ५० प्रतिशतभन्दा बढी मेगावाट विद्युत् उत्पादन घटेको केन्द्रले जनाएको छ ।

६९ मेगावाट क्षमताको केन्द्रमा हाल ३९ मेगावाट विद्युत् उत्पादन घटेर ३० मेगावाट मात्र भइरहेको केन्द्रका प्रमुख इञ्जिनीयर पशुपति गौतमले जानकारी दिनुभयो । लामो समयसम्म पानी नपर्दा, लामो समयसम्म सुख्खा रहँदा नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्नुका साथै कतिपय खोला सुकेकाले उत्पादन घटेको उहाँले बताउनुभयो ।

हाल सुख्खा मौसम भएकाले यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको गौतमको भनाइ छ । वैशाख लागेपछि घाम पनि चर्को हुँदै जाने भएकाले हिउँ धेरै पग्लने र वर्षा बढी हुने सम्भावन बढ्ने भन्दै उत्पादन पनि बढ्दै जाने इञ्जीनीयर गौतमले बताउनुभयो । सुख्खा मौसममा विद्युत् उत्पादन कम भएपछि प्राधिकरणले भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो ।

चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घटेर विद्युत् उत्पादन पनि घट्ने गरेको गौतमले बताउनुभयो । यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

दुरा समुदायलाई मातृभाषा सिकाइँदै

0

दमौली (तनहुँ): व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ ।

दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम आयोजना गरिएको दुरा सेवा समाजका सदस्य दिलु दुराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरेक जातिले आफ्नो भाषा, संस्कृति जोगाउनुपर्छ । हामीलाई मातृभाषा बोल्न आउँदैन । तालिम सञ्चालन गरी भाषा सिकाएर यसको संरक्षण गर्न खोजेका हौँ ।”

दुरा सेवा समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार देव दुराका अनुसार चैत १७ देखि सुरु तालिम चैत २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा भाषा आयोगका नमूनाअनुसारको पाठ्यसामग्री समावेश गरिएको छ ।

दुरा जातिले आफ्नो भाषा बिर्सिँदै गएकाले मातृभाषा तालिम सञ्चालन गरेर उदाहरणीय प्रयास भएको व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले बताउनुभयो । सोही वडाका सदस्य गोकुल दुराले भाषा सिक्नु भनेको पहिचान जोगाउनु हो भन्नुभयो ।

दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुराले यसअघि व्यास नगरपालिका–१ र ४ मा बसोबास गर्ने दुरा समुदायलाई मातृभाषा सिकाइएको जानकारी दिनुभयो । तालिममा मुक्तिनाथ घिमिरे र कमला दुराले भाषा सिकाइरहनुभएको छ ।

दुराडाँडास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदा सोही सेरोफेरोमा घुमेर दुरा भाषाको शब्द सङ्कलन गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो, “दुराडाँडामा दुरा जातिको बाक्लो बस्ती छ । त्यहाँमा बुढापाकासँग मैले शब्दहरू सङ्कलन गरेँ । अहिले पछिल्लो पुस्ताले दुरा भाषा बिर्सिँदै जान थाले ।”

तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरेका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । नेपालमा दुराहरूको सङ्ख्या करिब पाँच हजार चार सय रहेको बताइएको छ ।

भृकुटीमण्डपको खुला बजार सुक्दै, घाँटी सुक्ने गरी कराउँदा पनि व्यापार भएन

0

काठमाडौँ : भृकुटीमण्डप परिसरमा रहेको खुल्ला बजार दिनप्रतिदिन सुक्दै जान थालेपछि त्यहाँ व्यापारी चिन्तित हुन थालेका छन्।
व्यापारीहरू घाँटी सुक्ने गरी कराएर ग्राहक बोलाउँदा पनि व्यापार हुन नसकेको व्यापारीहरूको दुखेसो छ।
“गर्मी चढ्यो, शीतल लुगा यता पाइन्छ”, व्यापारी मानदेव मगरले यसै गरी ग्राहक बोलाउँछन् तर, सामान किन्न आउने ग्राहक खासै छैनन् । घाँटी सुक्ने गरी कराउँदासमेत व्यापार नहुँदा उनी खिन्न छन्। “चिच्याएर मात्रै के गर्नु मान्छे आउँदैनन्”, उनी भन्छन् , “गर्मी सुरु भइसक्यो ग्राहक छैनन् ।”

कोभिड महामारीको चर्को मार, आर्थिक मन्दीको तितो अनुभव अहिले त्यहाँका व्यापारीहरूले खेपिरहेका छन्। कुनै बेला ग्राहकको भीडले खाजा खाने फुर्सद नपाउने व्यापारीहरू अहिले दिनभरि मोबाइल हेरेर टाइम पास गर्छन्।

चैत र वैशाख महिना भृकुटीमण्डपमा सबैभन्दा राम्रो व्यापार हुने मौसम हो । यो समयमा जाडोको लुगा थन्काएर गर्मीका लुगा किन्न आउने मान्छेको घुइँचो हुने गर्थ्यो । तर अहिले त्यस्तो अवस्था नरहेको एक व्यापारीले बताए। “भाडा महँगीयो व्यापार छैन, कमाउने त कुरै छैन”, उनी थप्छन्।

 

 

कांग्रेसलाई उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाउन कठिन, आज फेरि बैठक बस्दै

0

काठमाडौँ : आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुङ्गो लगाउन नसकिएको हो।

उनले भने, “मंगलबार उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकांक्षीबीच छलफल गरेर उम्मेदवार टुङ्गो लगाउने कुरा भएको छ।”

उम्मेदवार टुङ्गो लगाउन आज दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए । उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन् ।

 

जोडियो सडक सञ्जालमा म्याग्दीको विकट गाउँ

0

म्याग्दी: म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।

धवलागिरि गाउँपालिका–४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताउनुभयो । “खाम्ला–केङ्की–नाउरा हँुदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “केङ्कीबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो ।” सडक निर्माण भएपछि खिवाङका एक सय ८० घरपरिवार लाभान्वित भएका उहाँले बताउनुभयो । सो सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन् ।

पैसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ ।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताउनुभयो । अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताउनुभयो । गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ ।

जलविद्युत् आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

अन्नपूर्ण क्षेत्रमा भित्रिए तीस हजार पर्यटक

0

गण्डकी: एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा रविन कडरियाले बताउनुभयो । “वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ”, उहाँले भन्नुभयो, “असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।” यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।यो सङ्ख्या हालसम्मकै बढी भएको आयोनजा उहाँले जानकारी दिनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक आएका थिए ।
पछिल्लो समय यो क्षेत्रको भ्रमणमा आउने भारतीय पर्यटकको सङ्ख्यामा वृद्धि भए पनि तेस्रो मुलुकका पर्यटकको आगमन भने घट्दै गएको आयोजना प्रमुख कडरियाले बताउनुभयो । “पुराना पदमार्ग विस्थापित हुँदै जाँदा पदयात्राका लागि आउने युरोप–अमेरिकाका पर्यटकको संख्यामा केही कमी आएको देखिन्छ”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् । अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?