Tuesday, May 12, 2026
Home Blog Page 855

हेटौँडाका उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन्

0

बागमती: हेटौँडा औद्योगिक क्षेत्रका उद्योगबाट उत्पादित सामग्री अपेक्षाकृत बिक्री नहुँदा सञ्चालनमा समस्या भएको छ । कच्चा पदार्थ अभाव, लागत वृद्धि तथा बैंकको ब्याजले ती उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ । हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन् । ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका छन् ।

उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन् । उक्त कार्यालयका प्रमुख भोजराज बिराडीका अनुसार कोरोना महामारीपछि परेकोे आर्थिक तथा व्यावसायिक मन्दीको प्रभाव यहाँका उद्योगमा परेको छ । आर्थिक मन्दीले सञ्चालन नभएका दुई दर्जन उद्योगको सम्झौता खारेज प्रक्रिया सुरु गरिएको छ । कार्यालयका प्रमुख बिराडीले सम्झौता गर्ने एवं जमिन ओगट्ने काममात्र भएको तर उद्योग सञ्चालन नभएकाले कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । केही उद्योगको सम्झौता खारेज गर्दा कार्यालयविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर पनि भएका उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रमा स्थापना भएका एक सय ४७ मध्ये एक सय १५ वटा विभिन्न प्रकृतिका उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । नौवटा उद्योग बन्द भएका तथा २३ वटा निर्माणाधीन छन् । उद्योगको अवस्था दयनीय भएकाले भाडा तिर्न समस्या परेको उद्योगीहरूको गुनासो छ । यहाँ सञ्चालित उद्योगबाट उत्पादित सामग्रीको लागत धेरै हुनु, उत्पादित सामग्री बिक्री नहुनु तथा आर्थिक मन्दीले उद्योगहरूको अवस्था नाजुक भएको उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू बताउँछन् । “अहिले मन्दी छ, पसल खाली हुँदै गएका छन्, उत्पादित सामान बिक्री हुँदैनन्, यो गम्भीर समस्या हो । उद्योगका लागि बैंकबाट लिएको ऋणको ब्याजसमेत तिर्न समस्या भएको र उद्योगमा थप लगानी गर्न बैंकले ऋण दिँदैन,” हेटौँडाका फर्निचर उद्योगी रामपुकार ठाकुरले भन्नुभयो ।

औद्योगिक क्षेत्रमा निर्माण सामाग्री उद्योग पाँच, प्लाष्टिक सामग्री उद्योग २८, विद्युतीय सामग्री उद्योग तीन, खाद्यान्न तथा पेय पदार्थ उद्योग ११, फर्निचर सामग्री उद्योग छवटा, इन्जिनीयरिङ सेवातर्फ १५, प्याकेजिङ सामग्रीतर्फ पाँच, केमिकल सामग्रीतर्फ ११, पोल्ट्री तथा दाना उद्योगतर्फ दुई, टेक्सटायल उद्योगतर्फ एक, खानीजन्य उद्योगतर्फ तीन र अन्य उद्योगतर्फ १० वटा उद्योग छन् । यी उद्योगमा पाँच हजार मजदुरले रोजगारी पाएका छन् । विसं २०२० मा स्थापना भएको औद्योगिक क्षेत्र तीन हजार दुई सय २८ रोपनीमा फैलिएको छ ।

कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी स्थानमा मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानका साथै बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहने छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ । महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

गीतकार थापा र गायिका देशार सम्मानित

0

मनहरी: भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित हुनुभएको हो ।

वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री,मञ्जु थापा,गायिका सुशीला मानन्धरले गीतकार थापालाई बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो । यसैगरी, रु २५ हजार राशिको ‘भीम विराग युवा सङ्गीत पुरस्कार २०७९’ बाट गायिका देशार सम्मानित हुनुभयो । सम्मानपछि गीतकार थापाले आफूले भोगेको समाज, परिस्थितिलाई गीतका माध्यमबाट व्यक्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बन्दुक बोकेको मान्छे हुँ तर कलम मेरो प्रिय हो, भीम विरागलाई सम्झिरहनेछु, म उहाँको प्रशंसक हुँ ।”

उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गर्नुभएको हो । यसबाट गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्व अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायत सम्मानित हुनुभएको छ । प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले थापा र देशारको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको बताउनुभयो । प्रतिष्ठानले भाषा, साहित्य, कला र सङ्गीतको उन्नयनमा योगदान गर्नेलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी

0

खोटाङ: छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो प्रारम्भ गर्ने सहमति पनि भएको छ । त्यसका लागि सम्बन्धित निकायले आवश्यक तयारी गर्ने बताइएको छ ।

आयोजनाका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक, एसियाली विकास बैंक र सरकारबीच आयोजना निर्माणको काम शीघ्र थाल्ने सहमति गत बिहीबार भएको हो । अर्थमन्त्री वर्षमान पुन, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दुवै मन्त्रालयका सचिव, अन्य सम्बद्ध निकायका पदाधिकारी तथा नेपाल, माल्दिभ्स र श्रीलङ्काका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोस तथा एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नाउड काउचियोस सहभागी बैठकमा आयोजनाको वित्तीय व्यवस्थापन चाँडो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थ मन्त्रालयले जनाएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा एसियाली विकास बैंक नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको लगानी रहने छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी जुटाउनका साथै ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ । आयोजनाको विषयमा केही दिन अगाडि तीनै जिल्लाका जनप्रतिनिधि, आयोजना र लगानीकर्ताबीच छलफल भएको थियो । लगानीकर्ता एसियाली विकास बैंकका प्रतिनिधिले आयोजनाको स्थलगत अध्ययन गरेका थिए । स्थानीय, जनप्रतिनिधि, सरोकारवाला निकाय सबै सकारात्मक भएकाले आयोजना चाँडै सुरु गर्नुपर्नेमा जोड दिइएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले जानकारी दिनुभएको छ । मुआब्जाका लागि बजेट सुनिश्चित गर्न सरकारलाई तीनै जिल्लाका जनप्रतिनिधिले अनुरोध गर्ने सहमति भएको छ ।

रभुँवाघाटमा ड्याम (बाँध) निर्माण हुने दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । आयोजनाको सम्भाव्यता अध्ययन, विस्तृत इन्जिनीयरिङ डिजाइन, वातवारणीय प्रभाव अध्ययन मूल्याङ्कनलगायत काम पूरा भएका छन् । खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६, भदौरेको सीमामा पर्ने रभुँवाघाटबाट तीन जिल्लाको सरकारी बाहेक करिब २० हजार रोपनी जग्गा डुबानमा पर्ने अनुमान गरिएको छ । आयोजना प्रभावित क्षेत्रका जग्गाधनीको रायलाई संशोधन गरेर सम्बन्धित स्थानीय तहले मूल्य निर्धारण समिति र उपसमितिलाई राय दिइसकेको जनाइएको छ । तथापि जग्गाको मूल्य निर्धारण गर्न सकिएको छैन । यसका लागि तीन वा पाँच रोपनीभन्दा कम जग्गा भएका जग्गाधनीलाई दिइने मुआब्जाबारे छुट्टै मूल्याङ्कन गर्नुपर्ने देखिएकाले केही अलमल भएको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो ।

आयोजनाले प्रभावित पार्ने क्षेत्रको मुआब्जा वितरणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगरेकाले मुआब्जाको विषय टुङ्गिन नसकेको बताइएको छ । अर्थमन्त्री, ऊर्जामन्त्री र लगानीकर्ताबीच बिहीबार भएको छलफलपछि आयोजना अगाडि बढाउने सहमति भएसँगै आगामी आर्थिक वर्ष २०८१÷८२ मा सरकारले पर्याप्त बजेट विनियोजन गर्ने आशा जगाएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले जानकारी दिनुभएको छ ।

लामीडाँडाको रभुँवाबजारमा दुई सय २० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाबाट वार्षिक तीन अर्ब ४४ करोड ३० युनिट बिजुली उत्पादन हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । करिब ४० वर्षअघिदेखि नै अध्ययन भएको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको जनाइएको छ ।

विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसदको प्रतिबद्धता

0

काठमाडौँ: संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताउनुभएको छ ।

‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रुपमा आठ दिनका लागि नेपाल आउनुभएका उडले महिला शिक्षा तथा लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका निम्ति सञ्चालित परियोजनाका गतिविधिबारे जानकारी लिनुभएको छ । विराटनगर र बाराका स्थानीयलाई भेटेर काठमाडौँ फर्कनुभएका लेबर पार्टीका नेता उहाँले त्यहाँ भइरहेको सामाजिक रुपान्तरणको प्रशंसा गर्नुभयो ।

रासससँग कुरा गर्दै उहाँले बाराका दलित समुदायमा शिक्षा र परिवर्तनप्रतिको चाहनाबाट आफू प्रभावित भएको जनाउँदै एफसिडिओको सहयोगमा भिएसओ नेपालले सीमान्तकृत समुदायका बालिका शिक्षा तथा जीवनयापनका लागि सञ्चालन गरेका कार्यक्रम अनुकरणीय पाएको बताउनुभयो ।

बेलायतका तत्कालीन प्रधानमन्त्री गोर्डेन ब्राउनका विशेष सल्लाहकार उडले नेपालमा भएका सकारात्मक परिवर्तनबारे आफ्नो मुलुकमा उल्लेख गर्ने बताउँदै विविध संस्कृतियुक्त नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायत सरकारको सहयोग बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अक्सोफोर्ड विश्वविदालयमा राजनीति शास्त्र अध्यापन गर्नुभएका उहाँले नेपालको शैक्षिक उन्नयनका खतिर साझेदार बढाउन र बेलायती पर्यटकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताउनुभयो ।

‘भिएसओ’ नेपालका देशीय प्रतिनिधि जयशङ्कर लालले उडजस्ता स्वयंसेवकले नेपालमा गरेको सेवाले आफूहरुलाई सामाजिक क्षेत्रमा गर्दै आएका काममा ऊर्जा थपिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

४ लाख व्यावसायिक भिखारीहरू एकैचोटी सडकमा उत्रिएर पूरै सहर ढाकेपछि…

0

काठमाडौं । पाकिस्तानमा इदको अवसरमा एकातिर बजारहरू चहलपहलले भरिएका छन् भने अर्कोतिर सर्वसाधारणले विभिन्न समस्या भोगिरहेका छन् ।

देशको आर्थिक राजधानी कराँचीमा हजारौं भिखारीले सहरका कुना कुना ढाकेका छन् । लाखौंको संख्यामा आएका यी भिखारीहरू सहरका व्यस्त बजार, मुख्य सडक, ट्राफिक संकेत, सपिङ मल र मस्जिद बाहिर जताततै देखिन्छन् ।

पाकिस्तानमा तेल र खाद्यवस्तुको मूल्य आकासिएको बेला बजारदेखि मस्जिद, मल, सडकसम्म जताततै देखिने यी व्यावसायिक भिखारीहरूबाट जनता दिक्क भएका छन् ।

द न्यूज इन्टरनेशनल अखबारले कराचीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) इमरान याकूब मिन्हासलाई उद्धृत गर्दै भनेअनुसार कराचीमा करिब ३ देखि ४ लाख व्यावसायिक भिखारीहरू रमजानको महिनामा ईदको अवसरमा भिख माग्न आएका छन्।

मिन्हासले भने – भिखारी र अपराधीहरूले बन्दरगाह सहर कराँचीलाई प्रमुख बजारको रूपमा हेर्छन्। यी भिखारी र अपराधीहरू सिन्ध, बलुचिस्तान र देशका अन्य भागहरूबाट कराँची आउँछन्।

उनले मंगलबार जारी गरेको विज्ञप्तिमा परम्परागत विधिबाट अपराध पत्ता लगाउन नसकिने बताए । उनले अपराधी पत्ता लगाउन प्रदेश राजधानीमा थप क्यामेरा जडान गर्न अधिकारीहरूलाई आग्रह गरे।

केही महिना अघि दर्जनौं कथित पाकिस्तानी भिखारीहरूलाई हाजिसको पोशाकमा साउदी अरब जाने विमानहरूबाट निकालियो र खाडी राज्यमा भिख माग्न खोजेको आरोपमा गिरफ्तार गरियो।

पाकिस्तानी भिखारीहरू जियारतको आडमा मध्यपूर्वको यात्रा गर्छन्। ओभरसीज पाकिस्तानी सेक्रेटरी जीशान खानजादाले गत वर्ष भनेका थिए – अधिकांश मानिस उमराह भिसामा साउदी अरब जान्छन् र त्यसपछि भीख माग्न थाल्छन्।

मक्काको ग्रान्ड मस्जिदमा पक्राउ परेका भिखारी अधिकांश पाकिस्तानी नागरिक हुन्। रमजानको महिनामा मात्रै कराचीमा हुने अपराधका घटनाहरूमा कम्तिमा १९ जनाले ज्यान गुमाएका छन्, जबकि जनवरी २०२४ देखि प्रदर्शनमा डकैतीका क्रममा ५५ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

जियो न्यूजका अनुसार कराँचीमा रमजान महिनामा ६ हजार ७८० आपराधिक घटना भएका थिए जसमा २० वटा गाडी लुटिएका थिए भने १३० भन्दा बढी चोरी भएका थिए।

पाकिस्तानको मानव अधिकार आयोगका अनुसार कराँचीका अधिकारीहरूले गत वर्ष सडक अपराधका हजारौं घटनाहरू रेकर्ड गरेका थिए, जसमा सयभन्दा बढी मानिस मारिएका थिए। आयोगले चालु महिनाको पहिलो त्रैमासमा पनि यस्तै ढाँचा देखिएको खुलासा गरेको छ ।

इरान र इजरायललाई ‘संयमता’ अपनाउन रुसको आग्रह

0

मस्को। मध्यपूर्वमा बढ्दो तनावका बीच मस्कोले बिहीबार इरान र इजरायलसँग संयमता अपनाउन आग्रह गरेको छ।

दुई इरानी जनरलको मृत्यु हुने गरी यसै महिनाको सुरुमा भएको हमलालाई लिएर तेहरानले इजरायलविरुद्ध नयाँ धम्की जारी गरेको छ। त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलका लागि ‘कडा’ समर्थनको प्रतिज्ञा गरेका छन्।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले पत्रकारहरूसँग भने, ‘यस क्षेत्रलाई अस्थिर हुन नदिन सबैले संयमता अपनाउन अत्यन्तै महत्त्वपूर्ण छ।’ रुसले पहिला गाजामा छ महिनाको युद्धमा इजराइलको आचरणको निन्दा गरेको थियो।

मस्कोले परम्परागतरूपमा मध्यपूर्वका सबै प्रमुख शक्तिसँग सम्बन्ध कायम राख्ने प्रयास गरेको थियो। यद्यपि गाजा युद्धले इजरायलसँग रुसको सम्बन्धलाई बिग्रिएको छ र रुसले पहिलादेखि नै इरानसँग सैन्य र राजनीतिक सम्बन्धलाई सुदृढ बनाइरहेको छ।

दुवै कट्टर प्रतिद्वन्द्वीबीच सम्भावित मध्यस्थताका रूपमा रुससँग सम्पर्क नगरिएको पेसकोभले बताए।

हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान प्रभावित

0

काठमाडौं। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

उनका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन्।

नेपालगंजबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाज भैरहवा फर्किएको थियो भने सिमराबाट काठमाडौं आइरहेको सोही कम्पनीको जहाज सिमरा नै डाइभर्ट भएको छ। काठमाडौंबाट पोखरा जान लागेको यती एयरलाइन्सको जहाज काठमाडौं नै फर्किएको छ।

नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने एडिबीको प्रक्षेपण

0

काठमाडौं।एसियाली विकास बैंक (एडिबी)ले आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ। यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो।

बैंकले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्नो प्रकाशन ‘एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृष्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९/८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भई नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको छ।

नेपाल सरकारको मौद्रिक नीतिमा क्रमिकरूपमा लचकता अपनाउँदै उपभोक्ता र लगानीकर्ताको विश्वास जित्ने र पछिल्लो छ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैंकले स्पष्ट गरेको छ।

बैंकले कर्जा क्षेत्रमा देखिएको सहजता, ब्याजदरमा आएको गिरावट, पर्यटन तथा कृषि क्षेत्रको सुधार एवं निर्माणाधीन केही महत्वपूर्ण जलविद्युत् परियोजनाको उत्पादन सुरु भएसँगै औद्योगिक क्षेत्रमा परेको सकारात्मक प्रभावका कारण नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ।

कार्यक्रममा एडिबी नेपालका प्रमुख अर्थशास्त्री इयान हासिनले विश्वअर्थतन्त्रमा देखिएको शिथिलतका कारण नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको पर्यटन तथा विप्रेषण क्षेत्र प्रभावित हुनसक्ने जोखिम रहेको चर्चा गर्दै गरिबी निवारण, जलवायु परिवर्तन, ऊर्जा क्षेत्रसहित समृद्ध एवं समावेशी नेपालका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

एडिबी नेपालका वरिष्ठ अर्थशास्त्री मानवर खड्काले पछिल्लो समय दक्षिण एसियाली मुलुकअन्तर्गत भारत र बंगलादेश उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको जानकारी दिँदै बाँकी अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र सन्तोषजनक रहेको बताए।

एडिबीका वरिष्ठ अर्थशास्त्री समीर खतिवडाले बाह्य लगानीमा भर नपरी विकास निर्माणसहित पुँजीगत खर्चको व्यवस्था देश स्वयंले गर्नुपर्ने धारणा व्यक्त गर्दै नतिजामुखी नीतिनियमसहित संरचनागत रुपान्तरणतर्फ नेपालको ध्यान जानुपर्ने सुझाव दिए।

बैंकले पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावट र भारतको मुद्रास्फीति न्यूनीकरणसँगै नेपालको औसत मुद्रास्फीति गत आर्थिक वर्षको ७ दशमलव ७ को तुलनामा चालु आर्थिक वर्षमा ६ दशमलव ५ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ।

यसैगरी चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/८१ मा चालु खाता घाटा कूल ग्राहस्थ उत्पादनको शून्य दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

सन् १९६६ मा स्थापित एडिबीमा एसिया–प्रसान्त क्षेत्रका ४९ सहित ६९ सदस्यहरूको स्वामित्व रहेको छ।

समुदायको स्वीकृतमा मात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्ने

0

काठमाडौँ: कुनै पनि रोग विरुद्धको खोप÷औषधिको ‘क्लिनिकल ट्रायल’सामुदायको स्वीकृत लिएर गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा यहाँ भएको १०औँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनमा ‘तथ्य र अनुसन्धानमा आधारित क्लिनिकल ट्रायल’ विषयक छलफलमा समुदायको स्वीकृति लिएरमात्र ‘क्लिनिकल ट्रायल’ गर्नुपर्नेमा जोड दिनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले क्लिनिकल ट्रायलका लागि मापदण्ड बने पनि प्रभावकारी नभएको बताउनुभयो । उहाँले आयुर्वेद औषधिमा पनि ‘क्लिनिकल ट्रायल’ बनाइरहेको बताउनुभयो ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका अनुसन्धान विभागका प्रमुख डा प्रदीप ज्ञवालीले क्लिनिकल ट्रायलका लागि अनुसन्धानलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोना भाइरस महामारीको बेला कोरोनाविरुद्धको खोपका लागि नेपालमा पहिलो‘क्लिनिकल ट्रायल’ गरिएको बताउनुभयो। उहाँ आफू परिषद्को सदस्यसचिव रहेको बेला ‘क्लिनिकल ट्रायल’सम्बन्धी मापदण्ड बनाएको भन्दै त्यसयलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

अक्सफोर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिटका नहिदा हकले समुदायको स्वीकृतिमा मात्र क्लिनिकल ट्रायल गनुपर्ने भन्दै क्लिनिकल ट्रायललाई गलत रूपमा प्रयोग गर्न नहुने बताउनुभयो ।

परिषद्का इथिकल रिभ्यू बोर्डका डा दिप्तेश अर्यालले क्लिनिकल ट्रायलसम्बन्धी नयाँ मापदण्ड बने पनि सार्वजनिक नगर्दा क्लिनिकल ट्रायल गर्न समस्या भएको बताउनुभयो । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले परिषद्सँग अनुमति लिएर गरिएका क्लिनिकल ट्रायल अनुसन्धानको आचारसंहिताअनुसार नै रहेको बताउनुभयो ।