Monday, May 11, 2026
Home Blog Page 840

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

0

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गर्नुभएको छ। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो। त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए। राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरेका थिए।

कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको थियो। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो। बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ।

 

प्रधानमत्री दाहाल र रुसी महासंघको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज प्रतिनिधिमंडल बीच भेटवार्ता

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसी महासंघको चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । सो भेटमा नेपाल–रुसबीचको सम्बन्धका विविध पक्ष र नेपालमा रुसको लगानीका विषयमा छलफल भएको स्रोतले जनाएको छ।

बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न आग्रह

0

दमौली (तनहुँ): तनहुँको बन्दीपुर पर्यटन बोर्डले पहाडकी रानी उपनामले परिचित बन्दीपुर बजारको सौन्दर्यता र मौलिकतालाई कायम राख्न आग्रह गरेको छ । बन्दीपुरको पर्यटन प्रवद्र्धनका निमित्त गठित बोर्डले मुख्य बजार क्षेत्रको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह गरेको हो ।

बोर्डका अध्यक्ष एवं गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बन्दीपुरको सुन्दरता अवलोकनका लागि देश तथा विदेशबाट पर्यटक आउने गरेकाले यसको मौलिकता कायमै राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुर मौलिकताको सहर हो । यहाँ रहेका भक्तपुरे शैलीका घरहरु, संस्कृति अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । यसका लागि सबै व्यवसायीको साथ आवश्यक छ ।”

बोर्डले ऐतिहासिक बन्दीपुर बजारमा रहेका घरमा भएका बाहिरी गल्ली (करिडोर) खुला राख्न आग्रह गरेको थापाको भनाइ छ । बोर्डले सम्बन्धित व्यवसायीहरुले पसल बाहिर सामग्री राखी बिक्रीवितरण नगर्न, प्रत्येक व्यापारी तथा होटल रेष्टुरेन्ट सञ्चालकले मूल्यसूची ग्राहकले देख्ने ठाउँमा अनिवार्य राख्न, बजार क्षेत्रका व्यापारिक प्रयोजनका लागि राखिने फ्लेक्स बोर्डहरु ३० दिनभित्र हटाई काठ वा हस्तलिखित बोर्ड राख्न आग्रह गरेको छ ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध सानाठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, बोल्डइन, बन्दीपुर माउन्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिलेजलगायत होटल सञ्चालनमा छ ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ । गाउँपालिकाका अध्यक्ष थापाका अनुसार गन्तव्यबारे जानकारी नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), बिन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरकफरक भाषामा तयार भएको छ ।

 

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी

0

राँझा (बाँके): नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्तामै सञ्चालन हुने भएको छ । भारतले आइसिपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०÷१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताउनुभयो ।

आइसिपी सञ्चालनमा आएपछि मालबाहक सवारीसाधनको जाँचपास सोही ठाउँबाट गरिने उहाँले जानकारी दिनुभयो । गत वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएसको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन भएको करिब एक वर्षपछि सोमबार मात्रै भारतले नेपाल सरकारलाई नेपालगञ्ज आइसिपी हस्तान्तरण गरेको छ । नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा आइसिपी निर्माण गरिएको थियो ।

भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो । नेपालगञ्ज उपमहानगरपालिका –१६ जयसपुर र जानकी गाउँपालिका–१ मा आइसिपीका ठूला पूर्वाधार निर्माण भए पनि पछिल्लो केही महिनादेखि नेटवर्किङ, सिसी क्यामेरा जडानलगायत काम हुँदै आएको थियो ।

भारतकै सहयोगमा नेपालगञ्ज नाकामा आइसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो । नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ । आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुणनियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टरलगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो ।

आइसिपी सञ्चालन भएपछि वस्तु आयात निर्यातमा उद्योगी व्यापारीलाई ठूलो सहायता पुग्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । आइसिपी सञ्चालनमा आएपछि सीमावासीमा चहलपहल बढ्ने जानकी गाउँपालिका–१ का वडाध्यक्ष मोहम्मद रजा राईले बताउनुभयो ।

बढ्न थाल्यो शुक्लाफाँटामा बाघको संख्या

0

दोधारा चाँदनी (कञ्चनपुर): महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेको छ । दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ ।

निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१ मा १९ वटा बाघ थिएभने २०२२ मा त्यो बढेर ३६ पुगेको थियो । निकुञ्जमा क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनाअनुसार २४ वटा भाले र १७ वटा पोथी तथा विश्लेषणका आधारमा थप तीन गरेर बाघको सङ्ख्या ४४ पुगेको हो । गत मङ्सिरदेखि ९१ वटा क्यामेरा ट्रयापिङबाट गरिएको अनुगमनमा बाघको सङ्ख्या बढेर ४४ पुगेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

“यहाँ बाघका लागि खाना र बासस्थानको राम्रो वातावरण भएकाले थोरै क्षेत्रफलमा पनि धेरै बाघ छन्”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयो, “यहाँ चोरीसिकारी पनि छैन त्यसकारण बाघको सङ्ख्या बढ्दै गएको छ ।” शुक्लाफाँटाभित्र रहेका ठूलो घाँसेमैदान, चौधर नदी, रानीताल र सिकारी तालजस्ता तालतलैया र प्रशस्त आहाराका लागि प्रजाति बढेसँगै बाघको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटनको प्रमुख केन्द्र बन्नसक्ने भए पनि पर्याप्त प्रचार–प्रसार नहुँदा यसबाट लाभ लिन नसकिएको यहाँका पर्यटन व्यवसायी जगदीश भट्ट बताउनुहुन्छ । “शुक्लाफाँटा पाटेबाघका लागि प्रख्यात छ तर यहाँ बाह्य पर्यटक आएका छैनन्”, उहाँले भन्नुभयो ।

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले शुक्लाफाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य भएकाले यसको प्रचारप्रसार गर्नसके यहाँको आर्थिक विकास टेवा पुग्ने बताउनुभयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पाटेबाघ, बाह्रसिङ्गे र गैँडालगायतका दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध भए पनि प्रचारप्रसारको अभावमा पर्यटक आगमनमा वृद्धि नभएको यहाँका पर्यटन व्यवसायी बताउँछन् ।

दुलेगौडा–लामागाउँ सडक स्तरोन्नति

0

दमौली (तनहुँ): दुलेगौडा–लामागाउँ सडकअन्तर्गत दुलेगौडा–लिलाचोक खण्ड रु २७ करोड ३४ लाख ७९ हजार आठ सय ३४को लागतमा स्तरोन्नति सुरु भएको छ ।

शुक्लागण्डकी नगरपालिका–४ कसेरीमा सोमबार आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले सडक स्तरोन्नतिको शुभारम्भ गर्नुभएको हो । विश्व बैंककको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत सात दशमलव एक किलोमिटर कालोपत्र गर्न निर्माण कम्पनी बानियाँ निर्माण सेवासँग सम्झौता भएर काम थालिएको हो ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले नगरपालिका–८, ९ र १२ वडालाई जोड्ने छ । उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ । केही भागमा ढलान हुनेछ बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालवेशी, मालेबगर हुँदै लिलाचोकसम्म कालोपत्र हुनेछ ।

फोहरबाट मोहर बनाउन जुटे रामेछापका युवा

0

मन्थली (रामेछाप): नगर क्षेत्रमा फोहर विसर्जनको समस्या भइरहेको बेला रामेछापका युवा भने फोहरबाट मोहर बनाउने अभियानमा जुटेका छन् ।

कागजजन्य फोहर सङ्कलन गरी अण्डा राख्ने क्रेट बनाएर उनीहरूले नगरको सरसफाइमा योगदान गरेका छन् भने त्यसलाई आय आर्जनको स्रोत पनि बनाएका छन् ।

जिल्लाको सहरी क्षेत्रमा फालिएका कागजजन्य वस्तुलाई सङ्कलन गरेर त्यसलाई पुनः प्रयोग गर्ने उद्देश्यले यहाँका सातजना युवा मिलेर ग्रिन हाइलाइट प्रालि स्थापना गरेका हुन् । जिल्लालाई सफा राख्ने र केहीलाई रोजगारी दिएर आय आर्जनको बाटो बनाएको उक्त अभियानका साथ स्थानीयलाई रोजगारी दिएर सुरु गरिएको यो उद्योग समस्यामा परेको छ ।

सुरुमा प्रतिगोटा रु सातका दरले बिक्ने क्रेट अहिले प्रतिगोटा रु चारमा पनि बिक्न मुस्किल छ । यसअघि यसले राम्रै बजार पाएको भए पनि विद्युत् नियमित नहुने र भारतीय क्रेटसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था यस उद्योगले झेल्नुपरेका कारण समस्या बढ्दै गएको हो । उत्पादन भएका क्रेट स्थानीय रामेछापका बजार, सिन्धुली दोलखा, ओखलढुङ्गा र काठमाडौँसम्म लगेर बिक्री गर्ने गरिएको थियो । तर अहिले राम्रो बजार नपाएपछि निर्माण गरिएका क्रेट गोदाममै थन्किएर बसेका छन् । मेसिन बेलाबेलामा बिग्रने, पार्टपुर्जा सर्वसुलभ नहुने भएकाले उद्योगमा समस्या आएको उद्योग सञ्चालक सुनिल रायले बताउनुभयो ।

उद्योगमार्फत प्रत्येक शनिबार जिल्ला सदमुकाम मन्थलीलगायतका अन्य सहरी क्षेत्रमा कागजजन्य फोहर प्रतिकिलो रु १० का दरले खरिद गरी त्यसलाई प्रशोधन गरेर विभिन्न साइजका अण्डा राख्ने क्रेट बनाउने गरिएको छ । यस उद्योगमा महिला एवं पुरुष गरी १५ जनाभन्दा बढीले रोजगारी पाएको अर्का सञ्चालक जयराम मानन्धरले बताउनुभयो ।

उद्योग स्थापना हुनुअघि आफ्नो घर तथा पसलबाट निस्कने फोहरलाई पैसा तिरेर नगरपालिकाको गाडीमा पठाउनुपर्ने बाध्यता भए पनि अहिले भने काजगजन्य फोहर बिक्री गर्न पाउँदा आफूलाई खुसी लागेको उप्रेती स्टोर्सका प्रोप्राइटर रामहरि उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, “कागजजन्य वस्तुजस्तै प्लास्टिकजन्य वस्तु पनि यसैगरी उठाउने हो भने मन्थली बजार सधैँ सफा हुने थियो ।”

अण्डाको क्रेटसँगै यस उद्योगले सिमेन्टका ब्लक पनि निर्माण गरेको छ । प्लास्टिकजन्य र फलामका टुक्रालाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिने वस्तु निर्माण गर्ने उद्योगको योजना छ । स्थानीय तहमा उत्पादन हुने वस्तुलाई सम्बन्धित पालिकाले प्राथमिकता दिनुपर्नेमा उद्योगका सञ्चालक रुद्रकुमार श्रेष्ठ बताउनुहुन्छ ।

देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा सभामुखको जोड

0

काठमाडौँ: सभामुख देवराज घिमिरले लोकतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको समृद्धिका निम्ति सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

सभामुख घिमिरले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

“लोकतन्त्रप्राप्तिपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको यथार्थ हामीबाट छिपेको छैन, लोकतन्त्रभन्दा राम्रो अर्को शासन व्यवस्था हुन सक्दैन”, शुभकामना सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।”

सभामुख घिमिरले लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासका लागि आधार प्रदान गर्ने उल्लेख गर्दै सन्देशमा भन्नुभएको छ, “जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो, यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्न जरुरी छ, नेपालको लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा नेपालको संसद्ले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।”

विसं २०६२/६३ को आन्दोलनपछि राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

0

काठमाडौँ: विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ । भूकम्पबारे चेतना जगाउन प्रदर्शनी आयोजना गरिएको हो ।

खानी तथा भूगर्भविभागको आयोजनामा हुने प्रदर्शनीमा गोरखा भूकम्पलगायत डोटी, बझाङ, जाजरकोटमा भएका भूकम्पबाट भएको क्षति तथा मानव समाज र भूगोलमा आएको परिवर्तनका दृश्य समावेश छन् ।

विभागका अनुसार भूकम्पीय विपद् सामान्य हुँदै जाने क्रममा विगतका पीडा बिर्सँदै जाने मानवीय स्वभाव छ । फोटो प्रदर्शनीको माध्यमबाट सचेत रहन सन्देश दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जनसाधारणलाई भूकम्पबाट सधैँ सतर्क रहन अभिप्रेरित गर्ने उद्देश्यले विभाग, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र महिला पत्रकारहरूको संस्था ‘संवाहिका समाज नेपाल’सँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।

गोरखा भूकम्पमा नौ हजारले ज्यान गुमाएका थिएभने २२ हजारभन्दा बढी घाइते भएका थिए । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीका अनुसार उक्त भूकम्पको एक वर्षसम्म पाँचसयभन्दा बढी परकम्प महसुस गरिएको थियो ।

इजरायली आक्रमणमा गर्भवती महिलाको मृत्यु, डाक्टरले गर्भमा रहेको बच्चालाई बचाए

0

काठमाडौं । इजरायल र हमासबीच केही महिनादेखि चलिरहेको युद्ध एउटा डरलाग्दो त्रासदी बनेको छ । इजरायली आक्रमणका कारण गाजा पट्टी चिहानमा परिणत भएको छ ।

रफाहमा गएराति इजरायली बमबारीमा एक गर्भवती प्यालेस्टिनी महिलाको मृत्यु भएको छ । तर महिलाको गर्भमा रहेको छोरीलाई सी–सेक्शनमार्फत तुरुन्तै बचाइयो ।

इजरायली बमबारीमा मारिएकी एक महिलालाई डाक्टरहरूले सी-सेक्शनको शल्यक्रिया गरेर गर्भको बच्चालाई बचाए। डाक्टर मोहम्मद सलामाका अनुसार जन्मिदा बालिकाको तौल १.४ किलो थियो । अहिले बालिकाको अवस्था स्थिर रहेको र क्रमशः सुधार हुँदै गइरहेको छ ।

आक्रमणको समयमा बालिकाकी आमा सबरीन अल-सकानी ३० हप्ताकी गर्भवती थिइन् । बालिकालाई अन्य नवजात शिशुसहित राफाह अस्पतालको इन्क्युबेटरमा राखिएको छ । उनको शरीरमा उनी शहीद साबरी अल-सकानीकी छोरी हुन् भनेर लेखिएको छ।

इजरायली बमबारीमा सकानी, उनका श्रीमान् र छोरी मलाकको पनि मृत्यु भएको सकानीका आफन्तले बताए । मलाक आफ्नी भावी बहिनीको नाम रुह राख्‍न चाहन्थिन् । आफ्नी कान्छी बहिनी छिट्टै यो संसारमा आउन लागेकोमा मलाक खुसी थिइन् ।

बालिकालाई तीनदेखि चार सातासम्म अस्पतालमा राखिने चिकित्सकले बताएका छन् । त्यसपछि बच्चा कसलाई हस्तान्तरण गर्ने निर्णय हुनेछ।

गत राति राफाहमा भएको आक्रमणमा १९ जनाको मृत्यु भएको थियो । इजरायली बमबारीबाट दुईवटा घर प्रभावित भएका थिए, जसमा एकै परिवारका १३ बालबालिकाको मृत्यु भएको थियो।

इजरायलले हमासको आक्रमणको बदला लिँदा गाजामा ३३ हजार प्यालेस्टिनी मारिएका छन् । ज्यान गुमाउनेहरूमा ७० प्रतिशत महिला र बालबालिका छन् – तीमध्ये लगभग १४,३५० बालबालिका थिए।

संयुक्त राष्ट्र संघका अनुसार मृत्यु हुनेमा संयुक्त राष्ट्र संघका १७० भन्दा बढी कर्मचारी र सात वल्र्ड सेन्ट्रल किचनका कर्मचारी रहेका छन् । पत्रकारका लागि काम गर्ने संस्थाका अनुसार छ महिनामा ९० भन्दा बढी पत्रकारले ज्यान गुमाएका छन् ।

अक्टोबर ७ मा हमासले गाजा पट्टीबाट ५ हजारभन्दा बढी रकेट प्रहार गरेर इजरायलमा आक्रमण गरेको थियो । त्यसको लगत्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धको घोषणा गरेका थिए । यस युद्धमा गाजा पट्टी पूर्ण रूपमा ध्वस्त भएको छ।

इजरायल र हमासबीचको युद्धमा मारिने प्यालेस्टिनी नागरिकको संख्या ३३ हजार नाघेको छ । हालसम्म गाजाका २३ लाख नागरिकमध्ये आधाले आफ्नो घर छोडिसकेका छन् ।