Sunday, May 10, 2026
Home Blog Page 828

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा

0

नवलपुर (नवलपरासी): विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम पूरा गरेको छ ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार वैशाख १५ सम्म पूर्वी खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । चार‘लेन’मा विस्तार भइरहेको सडकमा द्रुत गतिमा काम भइरहको छ । “पछिल्लो पाँच महिनामा हामीले एकतर्फी १८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेका छौँ”, उहाँले भन्नुभयो, “२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्र भएको थियो ।”

अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने सडकमा ‘बेस’ र ‘सबबेस’ बनाउने काम भइरहेको छ । उक्त खण्डमा २५ मिटर लामा सबै साना पुलको निर्माण सम्पन्न भएको उल्लेख गर्दै इन्जिनियर खनालले ठूला पुलको ग्रिडर (पुलमा पिलर उठाएपछि ढलान गर्न राखिने बिम) राख्ने काम भइरहेको बताउनुभयो ।

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले हाल कावासोतीको डण्डाबाट पश्चिमतर्फ र गैँडाकोटको थुम्सीको जङ्गलमा कालोपत्रको काम चलिरहेको बताउनुभयो । अहिलेसम्म २७ प्रतिशत काम सकिएको उहाँले बताउनुभयो । देवचुलीको दुम्कौली, रजहर र गैँडाकोटमा बिजुलीको पोल सार्ने काम बाँकी नै रहेकाले सडक विस्तारमा केही ढिलाइ भएको उहाँले स्वीकार गर्नुभयो ।

गैँडाकोटबाट बुटवलसम्मको एक सय १३ किलोमिटर मध्ये निर्माण कम्पनीले गैँडाकोटबाट दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई पूर्वीखण्ड र दाउन्नेबाट बुटवलसम्मको ४८ दशमलव ५८ किलोमिटरलाई पश्चिमखण्डमा विभाजन गरेर काम गरिरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कुल रु १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्ग विस्तार थालिएको हो

राष्ट्रिय गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा अतिरिक्त दुई लेन बताइनेछ । दाउन्ने पहाडको करिब पाँच किलोमिटर खण्डमा भौगोलिक अवस्थाका कारण जम्मा तीन लेनको सडक बन्ने निर्माण कम्पनीले जनाएको छ ।

भन्सार छलीका अठासी लाखका सामान बरामद

0

महेन्द्रनगर (कञ्चनपुर): दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ ।

यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान बरामद गरी कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

सशस्त्र प्रहरी बल नंं ३५ गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणका साथै भारतबाट लुकीछिपी ल्याइने सामग्री नियन्त्रणमा सक्रियता बढाएको बताउनुभयो ।

बितेका दुई महिनामा यहाँ भारतबाट अवैध रूपमा ल्याइएको रु २६ लाख ९७ हजार बराबरको किराना सामान, रु १६ लाख ५२ हजारको कपडा, रु १३ लाख ३८ हजारको हार्डवेयर सामग्री र रु २० लाख ६३ हजारको अन्य अवैध सामग्री बरामद गरी नियन्त्रणमा लिइएको हो ।

त्यसैगरी भारतबाट यहाँका विभिन्न नाकाबाट लुकिछिपी ल्याइएका माछा र कुखुरासमेत नष्ट गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । फागुनयता सशस्त्र प्रहरीले चार सय किलोग्राम कुखुरा र एक सय ८७ किलोग्राम माछा बरामद गरी नष्ट गरिएको छ ।

“माछा, कुखुरा र अन्य पेय पदार्थ गरी यहाँ रु १० लाख पचास हजार बढी मूल्यका सामान नष्ट गरियो”, चन्दले भन्नुभयो, “अन्य लागुऔषध कारोबारको जालो भत्काउने, सेवन तथा ढुवानीकर्तालाई पक्राउ गरी कारबाहीका लागि पठाउने काम पनि भइरहेको छ ।” एक सय २९ किलोमिटर भारतसित सीमा जोडिएको कञ्चनपुरमा कोरोना महामारीपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ ।

‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’

0

काठमाडौँ: उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ७५औँ बैठकमा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका उपप्रधानमन्त्री यादवले आज राष्ट्रसङ्घको ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग भएको भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।

उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गर्नुभएको थियो । उहाँले शान्ति, समृद्धि र दिगो विकासका निम्ति अध्यक्ष फ्रान्सिसले अगाडि बढाउनुभएका प्राथमिकताप्रति नेपालको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासभाका अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको उल्लेखनीय सुधारको सराहना गर्दै नेपालको दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असर घटाउन राष्ट्रसङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअघि नेपालसहित डेनमार्क, आयरल्याण्ड, स्वीडेन, कोलम्बिया र संयुक्त अधिराज्यले राष्ट्रसङ्घमा संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नेपालले गरेका प्रगति तथा चुनौतीबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्त्वपूर्ण भएको बताउनुभयो ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

हुम्लामा बृहत् स्वास्थ्य शिविर, एक हजार आठ सयभन्दा बढीले लिए सेवा

0

सिमकोट (हुम्ला): हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको सर्केगाडमा बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । सो शिविरबाट एक हजार आठ सय २५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।

सोमबार र मङ्गलबार आयोजित सो शिविरमा ठूलो सङ्ख्यामा स्थानीय सहभागी रहेका थिए । नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्मा नेतृत्वको काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ चिकित्सकहरूको टोलीले जिल्लाको सर्केगाड गाउँपालिकामा पुगेर यहाँका स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो ।

पालिका केन्द्र सर्केगाडमा सञ्चालन भएको सो स्वास्थ्य शिविरमा मुटुरोग, न्यूरो, सर्जरी, पाठेघर, क्यान्सर, दम, हाडजोर्नी, निमोनियालगात सबै प्रकारका रोगको उपचार गरी निःशुल्क औषधि पनि वितरण गरिएको सांसद डा शर्माले राससलाई बताउनुभयो ।

उहाँका अनुसार जाँच गरिएका बिरामीमध्ये एक सय ४७ जनामा गम्भीर प्रकृतिको रोग देखिएकाले उनीहरूलाई काठमाडौँ मेडिकल कलेज सिनामङ्गल रेफर गरिएको र ती सबै बिरामीलाई काठमाडौँमा पनि निःशुल्क उपचार गरिने छ ।

सो निःशुल्क स्वास्थ्य शिविरमा सर्केगाड गाउँपालिकाका सायाँ, गोठी, दुल्ली, रिप, उनापानी, राहादेउ, भुवा, कल्लासलगायत गाउँका नागरिकले सेवा पाएका हुन् । स्वास्थ्य पहुँचमा नपुगेका र दुर्गम क्षेत्रका नागरिकले गाउँघरमै विशेषज्ञसहितको सेवा पाउँदा खुसी व्यक्त गरेका छन् ।

हुम्लाका स्थानीयले डा शर्मा नेतृत्वमा रहेका विशेषज्ञ चिकित्सकहरूको टोलीले आफ्ना गाउँघरमै आएर उपचार सेवा प्रदान गरेकामा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताएका थिए ।

शिविरमा विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीसहित २५ जनाको टोली रहेको छ । डा शर्माले हुम्लालगायत कर्णाली र सुदूरपश्चिमका सुलभ रूपमा स्वास्थ्य सेवा नपाएका स्थानमा पुगेर निःशुल्क सेवा दिइरहेको जानकारी दिँदै हुम्लामा देखिएको नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको बताउनुभयो ।

उहाँले सम्भव भएका नागरिकलाई सोही शिविरमै उपचार दिने र गम्भीर रोगको आशङ्का लागेकालाई बाटो खर्चसमेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा पनि निःशुल्क उपचार गरिने बताउनुभयो । दुर्गमका नागरिकहरू पैसा अभावमा उपचारको पहुँचबाट बञ्चित हुन नपरोस् भनेर आफ्नो नेतृत्वमा देशका दुर्गम क्षेत्रमा समय–समयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको डा शर्माले बताउनुभयो । उहाँले आज मुगु जिल्लामा यस्तै निःशुल्क स्वास्थ्य शिविर सेवा दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । आज मुगुको गमगढीमा र २१ गते जुम्ला र कालिकोटको सिमानामा पर्ने नाम्मामा स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताउनुभएको छ ।

आज बिहान रारा होल्डिङका प्रतिनिधिहरूसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, “राराको मुर्माटपमा रिसोर्ट निर्माणका निम्ति भएको सम्झौता महत्त्वपूर्ण छ । नेपालमा समृद्धिका लागि प्रचुर सम्भावनाका क्षेत्रमध्ये पर्यटन एक महत्त्वपूर्ण क्षेत्र हो । त्यसका निम्ति पर्यटन पूर्वाधारमा राज्यले जोड दिनुपर्दछ । तपाईँहरू निजी क्षेत्र आफैँले यसका निम्ति पहल लिनुभएकामा म खुसी छु । रारामा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।”

प्रधानमन्त्रीले रारामा पर्यटकको आकर्षणका निम्ति राज्यको तर्फबाट पूर्वाधार विकासमा सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रिसोर्ट निर्माणका निम्ति राज्यले समेत पूर्वाधार विकासमा भूमिका खेल्नेछ । मुख्यतः त्यहाँ पुग्ने सडक निर्माण, विद्युत् प्रसारण, खानेपानीलगायत क्षेत्रमा सरकारका तर्फबाट सहयोग हुनेछ । यो लगानीले नेपालमा पर्यटक भित्र्याउनमात्र सहयोग पुग्ने छैन, आन्तरिक राजश्वसमेत अभिवृद्धि हुनेछ ।”

भेटमा रारा होल्डिङ प्रालिका अभिषेकविक्रम शाह र एक्पर्ट ग्रुप अष्ट्रेलियाका सञ्जीव शर्माले लगानी सम्मेलनमा भएको सम्झौताबमोजिम निर्धारित समयमा नै काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रु एक अर्ब १० करोडको लागतमा रारा ताल समीप सुविधासम्पन्न रिसोर्ट निर्माण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

 

उपमहानगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

0

बागमती: हेटाँैडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू गरेको छ ।

उपमहानगरपालिकाको सम्पन्न ४३औँ कार्यपालिका बैठकले चालु शैक्षिकसत्रदेखि उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागूगरी अनुगमन गर्ने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले हेटौँडा–६ कान्तिराजपथस्थित सडक क्षेत्रमा निर्माण गरिएका घर, टहरालगायतका भौतिक संरचना हटाई सडकको क्षेत्राधिकार कायम गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक पर्ने चारवटा कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार बैठकले हेटौँडा उपमहानगरपालिका पूर्वनिर्मित भवन अभिलेखीकरण तथा नियमित कार्यविधि २०८१, हेटौँडा उपमहानगरपालिका तयारी कक्षा एवं भाषा शिक्षणसम्बन्धी निर्देशिका २०८१, सामुदायिक विद्यालय दरबन्दी मिलान तथा प्राधानाध्यापक व्यवस्थापन कार्यविधि, २०८१ र उपमहानगरपालिका वृति मार्गनिर्देशन सेवा सञ्चालनसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरेको छ ।

त्यस्तै कार्यपालिका बैठकले उपमहानगरपालिकालाई आवश्यक रहेको चार कानुन तर्जुमा र संशोधन गर्न सैद्धान्तिक सहमति दिएको छ । उपमहानगरपालिका उद्योग व्यवसाय दर्तासम्बन्धी ऐन, सार्वजनिक सम्पत्ति व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कार्यविधि, उद्यमी समूह गठन, व्यवस्थापन तथा सञ्चालन अनुदान कार्यविधि, २०८० को पहिलो संशोधन र कृषि तथा पशुपालन अनुदान वितरण कार्यविधि, २०७९ को पहिलो संशोधन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।
–––

श्रम दिवसको अवसरमा प्रधानमन्त्रीले भन्नुभयो, “श्रमिक अधिकार कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ”

0

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताउनुभएको छ।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, संगठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताउनुभयो।

श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उहाँले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभयो।

“यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ। उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो”, प्रधानमन्त्रीले भन्नुभयो, “श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ।”

प्रधानमन्त्रीले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो।

उहाँले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्दै उहाँले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गर्नुभएको हो ।

मजदुर तथा श्रमजीवी वर्गको एकता, संघर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ।

प्रधानमन्त्री दाहालले मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

0

काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले श्रमका विविध क्षेत्रमा आफ्नो श्रम र सीप लगानी गरी राष्ट्रको समृद्धिमा योगदान गर्ने सम्पूर्ण श्रमिकहरूप्रति सम्मान प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरको रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस मनाइने गरेको बताउनुभएको छ ।

श्रमिक दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा पूर्वराष्ट्रपति भण्डारीले विश्वभरिका श्रमिकहरूले एकआपसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षामा लाग्न यस दिवसले प्रेरित गरेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले मुलुकको आर्थिक विकास प्रक्रियामा अहम् भूमिका खेल्ने श्रमिकहरूको योगदानलाई उजागर गर्दै ‘मर्यादित काम र श्रमिकको सम्मान’ गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“हाम्रो समाजमा श्रमलाई हेयको दृष्टिले हेर्ने पुरातन मान्यता कुनै न कुनै रूपमा अध्यापि कायमै रहेको देखिन्छ । श्रमलाई सम्मान हैन अपमान गर्ने यही पछौटे संस्कृतिका कारण स्वदेशमा रहँदा निश्चित प्रकारका कामहरू गर्न हिच्किचाउने, तर विदेशमा गएर त्यही काम गर्न बाध्य हुनुपर्ने अवस्था आज धेरै नेपालीले भोगिरहेको यथार्थ हो । तसर्थ, सामाजिक प्रतिष्ठाकै कारण देशका युवाहरू विविध कष्टहरू सहेर पनि वैदेशिक रोजगारीमा जाने वर्तमान अवस्थालाई व्यवहारिक रूपमा बदल्न स्वदेशमै रोजगारीको सिर्जना एवं श्रमिकको सम्मान हुने वातावरण निर्माण गर्नु अपरिहार्य छ”, सन्देशमा पूर्वराष्ट्रपतिले भन्नुभएको छ ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको तथा न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानहरूको कार्यान्वयन गरी श्रमजीवी नागरिकलाई त्यसको प्रत्यक्ष लाभ सुनिश्चित गर्नु हामी सबैको दायित्व भएको उहाँले स्मरण गराउनुभएको छ ।

श्रम जीवन र जगतको अपरिहार्य, अविछिन्न र अभिन्न प्रक्रिया हो भन्ने तथ्यलाई आत्मसात् गर्दै रोजगारीको सृजना‚ श्रमको सम्मान‚ उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन पूर्वराष्ट्रपतिले आह्वान गर्नुभएको छ ।

लुम्बिनी, मधेस र कोशी प्रदेशमा हुरीबतासको चेतावनी

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेको छ ।

यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ । विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

रोशी गाउँपालिकामा आगलागी, पन्ध्र घर नष्ट

0

धुलिखेल (काभ्रेपलाञ्चोक): काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् ।

आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार महादेवटार सामुदायिक वनमा लागेको आगो सानोपोटा गाउँमा फैलिएको हो ।

नेपाली सेना, स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोलीले आगो निभाएको थियो । वनको आगो भने अझै निभाउन नसकिएको स्थानीयले बताएका छन् ।