Sunday, May 10, 2026
Home Blog Page 827

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ ।

सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य सुरु गरिएको जानकारी दिनुभयो ।

“सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास छ”, प्रधानमन्त्रीले भन्नुभयो, “यही यथार्थलाई आत्मसात् गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा नवप्रवर्तन कोष स्थापना गर्ने तथा सोका निम्ति आवश्यक कानुनको तर्जुमा गर्ने गृहकार्य अगाडि बढाएको छ ।”

कोषको स्थापनासँगै आफ्नै स्वविवेक, क्षमता र पहुँचमा सूचना प्रविधिमार्फत अर्बौंको आम्दानी गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित हुनुका साथै युवा पुस्तालाई देशभित्र आशा जगाउन एवं अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका कार्यक्रमअन्तर्गत कृषिजन्य उत्पादन एवं सार्वजनिक सेवाका क्षेत्रहरूमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने नीति अगाडि सार्ने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले देशभित्रै केही गर्न चाहने युवाका निम्ति नयाँ अवसर सिर्जना गरिने स्पष्ट पारिने बताउनुभयो । उहाँले युवालाई लक्षित गरी अगाडि बढाइएको ‘स्टार्टअप कार्यक्रम’ लाई एकीकृत गरी प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीररूपले लागिरहेको स्पष्ट पार्नुभयो ।

सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ का रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम नागरिकको आर्थिक, सामाजिक जीवनमा उन्नयन र रूपान्तरणका निम्ति सम्वद्ध सबैमा अपिल गर्नुभयो ।

‘सूचना प्रविधिको सुरक्षित प्रयोग सुनिश्चित गरिन्छ’

प्रधानमन्त्रीले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सूचना तथा सञ्चार प्रविधि नीतिको परिमार्जन र सूचना प्रविधि तथा साइबर सुरक्षासम्बन्धी कानुन निर्माण प्रक्रियामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दिनानुदिन बढ्दै गइरहेको साइबर अपराधसम्वन्धी घटनाहरू नियन्त्रण गरिने उल्लेख गर्नुभयो ।

“संवेदनशील प्रणालीहरूमाथिको अनधिकृत पहुँच, व्यक्तिगत एवं संस्थागत ‘डेटा’ दुरूपयोगको विषयलाई प्रभावकारी रूपमा नियमन तथा व्यवस्थापन गर्न तथा साइबर सुरक्षाको बढ्दो चुनौतीलाई दृष्टिगत गर्दै नीति, कानुन र संरचना निर्माण कार्यलाई सरकारले प्राथमिकता दिएको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० तर्जुमा गरी कार्यान्वयनको अवस्थामा छ । साइवर सुरक्षाको जोखिम पहिचान, प्रतिकार्य अनुगमन गर्न राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गरिएको छ ।”

‘अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर स्थापना प्राथमिकतामा छ’

प्रधानमन्त्रीले अन्तर्राष्ट्रियस्तरको डाटा सेन्टरहरूको स्थापनालाई प्राथमिकता दिने स्पष्ट पार्नुभयो । उहाँले विद्युतीय ऊर्जाको प्रचुर सम्भावना एवं भौगोलिक अवस्थितिलाई समेत मध्यनजर सेन्टर स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

“विश्वस्तरका तालिम प्रदायकहरूलाई आकर्षित गरी सीपयुक्त दक्ष जनशक्तिको निर्माण गरिनेछ”, प्रधानमन्त्रीले भन्नुभयो, “सूचना प्रविधि उद्योगको प्रवद्र्धनमार्फत रोजगारी सिर्जना गरिनेछ । साथै निर्यात प्रवद्र्धन गर्दै देशको अर्थतन्त्रलाई सुदृढ गर्ने लागयतका विषयहरू सरकारको प्राथिमिकतामा छन् ।”

सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै आर्थिक, सामाजिक रूपान्तरण गर्न सकिन्छ भन्ने सरकारको विश्वास रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सोहीअनुरूप नै ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ लाई पुनरावलोकनसहित कार्यान्वयनमा ल्याउने रणनीति लिइएको बताउनुभयो ।

मुगुको गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सयले लिए सेवा

0

सिमकोट (हुम्ला): मुगुको गमगढीमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई हजार एक सय जना स्थानीय नागरिकले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।

काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा बुधबार गमगढीमा सो शिविरको आयोजना गरिएका हो । सो शिविरमा नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माको नेतृत्वमा सो अस्पतालका २५ जना विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपचारमा सहभागी भएका थिए ।

सो टोलीले हिजोमात्र हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका एक हजार आठ सय जनालाई उपचार सेवा दिएको थियो । त्यसैगरी सो चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

गमगढीमा आयोजित सो शिविरमा मुटु रोग, बाथरोग, न्यूरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको सांसद डा शर्माले जानकारी दिनुभयो । यसरी स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको र उनीहरुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुलाई काठमाडौँ रेफर गरिएको डा शर्माले बताउनुभयो ।

सामान्य रोग देखिएका र यहीँ सम्भव हुने नागरिकलाई यही शिविरबाटै उपचार दिने र गम्भीर रोग देखिएका या आशङ्का लागेकालाई बाटोखर्च समेत दिई काठमाडौँ बोलाइएको र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया तथा थप उपचार गरिने पनि डा शर्माले बताउनुभयो ।

उहाँले सुलभरुपमा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका हुम्लालगायत कर्णाली र सुदुरश्चिमका स्थानमा पुगेर निःशुल्क सेवा दिने उद्देश्यले यही वैशाख १३ गतेदेखि कर्णालीका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर राखेर उपचार दिइएको जानकारी दिनुभयो ।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

0

काठमाडौँ: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ ।

यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।

सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभएको छ । उहाँले सूचना प्रविधिको माध्यमबाट समृद्धिको आधार तयार गर्न सकिन्छ भन्नेमा विश्वासका साथ सरकार यस क्षेत्रको विकासका लागि दृढता साथ अघि बढेको राससलाई बताउनुभयो ।

“यसअघि कृषि, पर्यटन र ऊर्जालाई समृद्धिका आधार भन्थ्यौँ, पछिल्लो समय सूचना प्रविधि पनि थपिएको छ, युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास र देशका लागि केही गर्नुपर्छ भन्ने उत्साह छ”, मन्त्री शर्माले भन्नुभयो, “यसलाई सहजीकण गर्ने उद्देश्यका साथ सरकार क्रियाशील छ । ”

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

0

काठमाडौँ: क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत पौड्यालले नेपाल र क्यानडाबीचको मैत्रपूर्ण सम्बन्धबारे अवगत गराउँदै लोकतन्त्रको सुदृढीकरण, द्रुत आर्थिक विकासका निम्ति नेपाल सरकारले गरेका प्रयास तथा प्राथमिकताका सम्बन्धमा जानकारी दिनुभएको थियो । सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्ने तथा अवरोधरहित रूपमा अतिकम विकसित देशको सूचीबाट स्तरोन्नत हुन भएका प्रयासबारे पनि उहाँले जानकारी दिनुभएको थियो ।

नेपालको सामाजिक–आर्थिक विकास तथा विषम परिस्थितिमा क्यानडाले अविराम सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्दै राजदूत पौड्यालले द्विपक्षीय व्यापार, पर्यटन, लगानी, प्रविधि हस्तान्तरण, दुवै देशका जनताबीचको सम्बन्ध विस्तार तथा दुवै पक्षलाई लाभदायक हुने आर्थिक साझेदारी अभिवृद्धि गनै क्यानडा सरकार तथा निजी क्षेत्रसँग निकट सम्पर्कमा रहेर काम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

उक्त दूतावासका अनुसार गभर्नर जनरल सिमनले नेपालको नेतृत्वप्रति शुभेच्छा प्रकट गर्दै क्यानडा र नेपालबीचको सम्बन्ध सुमधुर रहेकामा प्रशन्नता व्यक्त गर्नुभयो । साथै उहाँले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउन क्यानडा सरकारबाट पूर्ण सहयोग हुने बताउनुभयो ।

त्यस अवसरमा क्यानडा सरकारका उच्च पदस्थ अधिकारीका साथै उक्त दूतावासका कर्मचारीको उपस्थिति थियो ।

अग्निपीडितलाई आर्थिक सहयोग

0

काभ्रेपलाञ्चोक: जिल्लाको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक एवं भौतिक सहयोग गरिएको छ ।

उक्त गाउँका १५ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विभिन्न सङ्घसंस्थाबाट उपलब्ध राहत सामग्री वितरण गरिएको हो । समितिले बुधबार गाउँपालिका कार्यालय, नेपाल रेडक्रस सोसाइटी र उद्योग वाणिज्य सङ्घद्वारा उपलब्ध राहत सामग्री वितरण गरेको हो । गाउँ नजिकको सामुदायिक वनमा लागेको डढेलो हुरीबतासका कारण बस्तीमा फैलिएपछि सानोपोटा गाउँका १५ घर जलेका थिए ।

गाउँपालिकाले प्रतिपरिवार दुई बोरा चामल, त्रिपाल, नुन, तेल र दाल, रेडक्रसले भाडाकुँडा, कम्बललगाय सामग्री तथा सङ्घले पीडितलाई प्रतिपरिवार एक बोरा चालम, दाल एक किलो, खानेतेल एक लिटर, नुन एक किलो प्रदान गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गणेश लामासहित तरुण दलका केन्द्रीय सदस्यको टोलीले बुधबार नै पीडित प्रतिपरिवारलाई दुई बोरा चामल, नुन, तेल दाल तथा बागमती प्रदेशसभा सदस्य तीर्थ लामाले खाद्यान्न सहयोग गर्नुभएको थियो ।

विपद् व्यवस्थापन समितिले पीडितलाई प्रतिपरिवार रु पाँच हजारका दरले नगद पनि उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सरकारबाट पाउने राहतमध्ये हाललाई रु पाँच हजार दिइएको र बाँकी रु दश हजार केही दिनमै उपलब्ध गराइने बताउनुभयो । साथै, क्षतिग्रस्त घर पुनःनिर्माण गर्न स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा प्रक्रिया अघि बढाउन पहल गरिने शर्माले बताउनुभयो । आगलागीबाट रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

0

मन्थली (रामेछाप): गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । स्थानीय उत्पादन यहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।

विशेष गरी काठमाडौँ र तराईका विभिन्न जिल्लामा कोसेलीका रुपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो जुस जिल्लाका दुईवटा उद्योगबाट दैनिक रु तीन लाख पचास हजार बराबरको बिक्री हुने गरेको उत्पादकहरूले बताएका छन् । जिल्लामा निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले ‘स्क्वास’ बनाएर बिक्री गरेका छन् । दुवै कम्पनीले अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन् । जिल्लामा जुनारको स्क्वास प्रतिलिटर रु एक सय ५० किवीको प्रतिलिटर रु दुई सयमा बिक्री हुने गरेको छ । एक भागमा चार भाग पानी मिसाएर पिउनुपर्ने स्क्वास रामेछाप जिल्ला सदरमुकाम मन्थलीका साथै जिल्लाका विभिन्न बजार केन्द्र, सिन्धुलीको खुर्कोटलगायत विभिन्न बजार, दोलखा, ओखलढुङ्गा, काठमाडौँ, ललितपुर भक्तपुर र तराईका जिल्लामा कोसेलीका रुपमा लैजाने गरिएको र दैनिकरुपमा दुवै कम्पनीबाट गरी रु तीन लाख ५० हजारको बिक्री हुने गरेको डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक रामबाबु गिरीले बताउनुभयो ।

त्यसैगरी गर्मीको समयमा चिया पिउनेको भन्दा बढी जुस पिउने आफ्नो कम्पनीमा आइर जुस खाने र किनेर लैजाने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “मल्टिनेसनल कम्पनीबाट उत्पादित कोक फेन्टाजस्ता पेय पदार्थलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न राज्यले सहयोग गरेका बिक्री अझ बढ्ने थियो तर आफूजस्ता युवा उद्यमीलाई राज्यले कुनै सहयोग गरेको छैन । ”

मन्थली नगरपालिकाका नगर प्रमुखले भने युवा उद्यामीलाई बैंकसँग समन्वय गराइदिएर बिना धितोमा वा मुनासिब ब्याजमा उद्यम कर्जाका लागि सिफारिस गर्ने गरेको बताउनुभयो । कात्तिकदेखि मङ्सिर पुससम्म जुनारको सिजनमा कृषकसँग बगँैचानै खरिद गरेर त्यसलाई प्रशोधन गरी झोल बनाएर राख्ने अनि फागुनदेखि असोजसम्म आवश्यक कच्चा पदार्थको प्रयोग गरी स्क्वास बनाएर बिक्री हुँदै आएको छ । स्थानीयस्तरमा पाइने जुनार, कागती, किवी अमला, बेलको झोलबाट स्क्वास बनाउने गरिएको छ ।

गर्मी बढेसँगै जिल्लामा यसको राम्रो व्यापार हुने गरेको स्थानीय व्यवसायी चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । स्थानीयस्तरमा उत्पादित जुनार, अमला कागती, किवी, बेलजस्ता वस्तुको स्क्वास बनाएर बिक्री यहाँका किसान लाभान्वित भएका छन् । यसबाट स्थानीयलाई रोजगारीको अवसर मिल्ने तथा यस्ता उत्पादनको प्रवद्र्धनका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने कृषि व्यवसायी गुञ्ज कार्की बताउनुहुन्छ ।

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

0

महोत्तरी: अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् ।

मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । यहाँ गोबरमा पराल वा साना झिक्रा हालेर डोलो ‘गुइँठा’ र घरका पर्खालमा गोबर सुकाएर ‘चपरी’ पारिन्छ ।

गाई, भैँसी पालेका किसानले आफ्नै गोठको गोबरमा र यी पशुबस्तु नपाल्नेले चरन क्षेत्र र बाटाघाटाका गोबर टिपेर घरमा ल्याई थुपारेर ‘गुइँठा’ बनाउँछन् । जिल्लाका सबैजसो स्थानीयतहका ग्रामीण बस्तीमा अहिले आम महिला ढकी (बाँसको चोयाले बुनिएको खास भाँडो, ‘छिटी’ पनि भनिन्छ) बोकेर गोबर सङ्कलन गर्न र घरघरै ‘गुइँठा’ बनाउन व्यस्त देखिँदा छन् । जिल्लाका १५ स्थानीयतहमध्ये १० नगरपालिकामा पनि धेरैजसो ग्रामीण बस्ती नै रहेका हुँदा सबैजसो भेगमा अहिले गृहिणीको ‘गुइँठा’ बनाउने काममा व्यस्तता बढेक हो ।

“कि करु ? खाना त खाइपरत, अइकेलेल जोगार त कर परल नई” (के गर्नु ? खानु त परिहाल्छ, त्यसका लागि इन्धनको जोहो त गर्नै प¥यो नि) धमाधम गुइँठा बनाउँदै भङ्गाहा–३ सकरी बस्तीकी रामराजी सदा भन्नुहुन्छ, “अखैन जोगार नइकरब त बर्खामें दिकत होयत” (अहिले इन्धनको जोहो नगरे बर्खामा अप्ठ्यारो हुन्छ) । बर्खामा गुइँठा चाँडै बल्ने र सल्केपछि ननिभ्ने भएपछि गृहिणी यसमा खाना पकाउन अभ्यस्त भएका छन् ।

जिल्लामा खाना पकाउने इन्धनमा बाक्लै प्रयोग हुने गोबरको चिपरी र गुइँठा (गोरहा) मा आगो ननिभ्ने र खानेकुरा पनि स्वादिलो हुने आमविश्वास छ । बर्दिबास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य निरीक्षक सुरेश पासवान गोबरका ‘चिपरी’ र ‘गुइँठा’मा पकाइएको खाना मौलिक स्वादको हुने र स्वस्थ्यकर पनि हुने बताउनुहुन्छ ।

यहाँका महिला अहिले कृषि कार्य नहुँदा वर्षभरिकै इन्धन जम्मा गर्न ‘चिपरी’ र ‘गुइँठा’ बनाउन व्यस्त भएका हुन् । घरमा पशुबस्तु हुनेले आफ्नै गोठको गोबर जम्मा गरेर लगाउने र गोठमा नहुनेले सडक र चरन क्षेत्रसम्म पुगेर गोबर सङ्कलन गरेर घर वरपर ल्याएर थुपार्ने महोत्तरीमात्र नभएर मध्यपूर्वी तराईकै आम कुरो मानिन्छ । यसरी दुई÷तीन दिन लगाएर थुपारिएको गोबर अर्को दुई÷तीन दिन लगाएर ‘गुइँठा’ र ‘चिपरी’ पाथ्ने गरिन्छ । सामान्यतया गोबरलाई चाक्लो पारेर पथारिनेलाई ‘चिपरी’ र भित्रपट्टि पराल र मसिना झिक्रा हालेर लामो डोलो बनाइनेलाई ‘गुइँठा’ वा ‘गोरहा’ भनिन्छ । यसरी बनाइएका ‘गुइँठा’ घाम राम्रो लाग्ने ठाउँमा चाङ लगाएर राखिन्छ । यस्तो चाङ एक महिना जति घामले सुकेपछि ‘चिपरी’ र ‘गुइँठा’ पानी नचुहिने, नभिज्ने ठाउँमा थाक बनाएर राखेपछि आवश्यकताअनुसार खाना पकाउन प्रयोग गरिन्छ ।

खासगरी वन क्षेत्र टाढा भएका र ग्यास किन्ने हैसियत नभएका घरमा इन्धनका लागि ‘चिपरी’ र ‘गुइँठा’ बालेर खाना पकाउनुपर्ने बाध्यता छ । तराई क्षेत्रमा गाई, गोरु, भैँसी र राँगाको गोबर इन्धनमा खर्च भएपछि जग्गा जमिनमा उत्पादन भने कम हुने र रासायनिक मलको प्रयोग बढेको पाका किसान बताउँछन् ।

“खेतबारीमा हाल्नुपर्ने कम्पोष्ट मल बनाइने गोबर दाउरामा प्रयोग गरिन्छ”, महोत्तरीकै बर्दिबास–७ का विन्देश्वर यादव भन्नुहुन्छ, “खेतबारी मलिलो बनाउने कम्पोष्ट मल नभएपछि उत्पादन निकै घटेको छ ।” अब इन्धनमा गोबरको विकल्प नखोजिने हो भने जग्गाको उर्वरा शक्ति ह्रास भएर यहाँका जग्गा बेकामे बन्ने किसान बताउँछन् ।

बेलायतमा नेपाली कन्सर्ट हुँदै

0

काठमाडौँ: मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको लाइभ कन्सर्टको बेलायतमा आयोजना हुँदैछ ।

यही वैशाख २३ गते बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लवको हलमा आयोजना हुने सो कन्सर्टका लागि गायिका आनी छोइङ र मानवसेवा आश्रमका संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

मानवसेवा आश्रम युके च्याप्टरको आयोजनामा बेलायतमा मे ५ मा कन्सर्ट र मे १९ सम्म मानवता प्रवर्ध्दनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू आयोजना हुने आयोजक संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विगतमा पनि आश्रमद्धारा बेलायतमा आमा सेमिनारलगायत मानवता प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भइसकेका अधिकारीको भनाइ छ । यसपटक हुनलागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो । ‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा सहभागी हुन मानिसहरुको आकर्षण बढ्दै गएको मानवसेवा आश्रम युके च्याप्टरका पदाधिकारीहरुले जानकारी दिएका छन् । कन्सर्ट कार्यक्रममा एक हजार जनालाई सहभागी गराउने आयोजकको लक्ष्य रहेको पनि मानवसेवा आश्रम युके च्याप्टरका सचिव यादव श्रेष्ठले बताउनुभयो ।

कन्सर्ट र मानवता प्रवर्ध्दनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमबाट सङ्कलन गरिने रकम घरबार र परिवारविहिनहरूको आश्रयस्थल मानवसेवा आश्रमको सेवाप्रवाह सहजीकरणमा खर्चिने मानवसेवा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष अधिकारीले बताउनुभयो । कन्सर्टबाट एक लाख पाउन्डभन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको छ ।

बुद्ध फाउण्डेसन युके, बुद्धिस्ट गुम्बा रिडिङ युके, द बुद्धिस्ट कम्युनिटी सेन्टर युके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर युके, तमुधिं एशोसिएसन युके, पासा पुच गुठी युके, क्षेत्री समाज युके, क्याट युके, ग्रेटर रिडिङ नेपलिज कम्युनिटि यूके, नेपाली भिलेज, पोखरेली मञ्च युके र मगर एशोसिएसन युके कार्यक्रमको सह–आयोजक रहेका छन् । बेलायतमा गुञ्जयमान हुने कन्सर्ट नितान्त नेपालको सडक पेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारिरीकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पु¥याउने मनसायले आयोजना गर्न लागिएको मानवससेवा आश्रम युके च्यापटरका संयोजक सुनिलबाबु खड्काको तर्क छ ।

संसारभरका मानिसलाई संगीतको आनन्द दिएर कमाएको पारिश्रमिक आनी छोइङले सामाजिक सेवा, परोपकार र धार्मिक कार्यमा खर्चिदै आउनुभएको छ । गतवर्ष आनी छोइङ डोल्मा फाउण्डेसनको आर्थिक सहयोगमा मानवसेवा आश्रमले सहयोगापेक्षीहरूको डेढ महिने राष्ट्रिय उद्धार यात्रा आयोजना गरी तीन सय ४ जनाको उद्धार गरेको थियो । बेलायत यात्राले नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माणमा टेवा पुर्याउने आयोजकको विश्वास छ । मानवीय कार्यमा सहकार्य गर्नको लागि आगामी जेठ ६ गतेसम्म बेलायतका विभिन्न शहरमा मानवता प्रवद्र्धनलगायत ‘मिट र ग्रिट’ कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रममा बेलायतबासी नेपालीलाई सहभागी हुन र सहकार्य गर्न आह्वान गरिएको युके च्यापटरका संयोजक राजु आर्चाय र विक्रम भटराईले बताउनुभयो ।

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

0

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताउनुभएको छ । यहाँ आज आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालालाई सम्बोधन गर्नुहुँदै उहाँले अर्थतन्त्रमा सकारात्मक सङ्केत देखा परेको र चालु आर्थिक वर्षमा नेपालले साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।

चालु आवको बजेट बजेटमार्फत सरकारले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार चालु आव २०८०/८१ को वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको थियो । तर यो अनुमानभन्दा बढी अङ्कको आर्थिक वृद्धिदर हासिल हुने अर्थमन्त्री पुनले दाबी गर्नुभयो ।

“हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्याङ्कहरुले विस्तारै त्यसमा सुधार देखाएको छ । विश्व बैंकले तीन दशमलव तीन, एसियाली विकास बैंकले तीन दशमलव छ र हिजो मात्रै राष्ट्रिय तथ्याङ्क कार्यालयले तीन दशमलव ५४ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भनेको छ”, उहाँले भन्नुभयो, “यी सबै नौ महिनाका प्रक्षेपण हुन् । आव अझै तीन महिना बाँकी छ । केही पुँजीगत खर्च बढ्छ । हामीले केही सकारात्मक प्रयत्नहरु गरेका छौँ । अर्थ मन्त्रालयले चार दशमलव पाँच प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हुन्छ भन्ने अनुमान गरेको छ ।”

यद्यपि, अझै पनि ढुक्कैले अर्थतन्त्र राम्रो भयो भन्ने अवस्थामा नरहेको उहाँको भनाइ थियो । अर्थमन्त्री पुनले विश्वको आर्थिक र राजनीतिक परिदृश्य, श्रम बजारको अवस्था तथा श्रम शक्ति, आन्तरिक प्राकृतिक स्रोत तथा भूराजनीतिमा टेकेर नेपालले आर्थिक नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल विश्व अर्थतन्त्रका दुई उदयीमान देशहरु भारत र चीनको बीचमा रहेकाले ती मुलुकको बजार हेरेर सरकारले नीति बनाइरहेको उहाँको भनाइ छ । आर्थिक शिथिलताकै बीचमा पनि चालु आवमा होटल तथा पर्यटन क्षेत्रमा २१ प्रतिशत र ऊर्जा क्षेत्रमा १७ प्रतिशतको आर्थिक वृद्धि भएको अर्थमन्त्री पुनको भनाइ छ । निर्माण क्षेत्रमा भने वृद्धिदर ऋणात्मक देखिएकाले त्यसमा सुधार गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।

नेपालमा राजनीतिक अस्थिरताका कारण विकास हुन सकेन भन्ने भाक्ष्य आफूले नस्वीकार्ने पनि अर्थमन्त्री पुनको भनाइ छ । सरकारले लिएका ऊर्जासम्बन्धी नीतिको निरन्तरताका कारण नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गर्नसक्ने अवस्था बनेको उहाँले उल्लेख गर्नुभयो ।

वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो

0
काठमाडौँ: देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।
वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ ।
महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुुने गरी पानी नपर्ने जानकारी दिनुभएको छ । “आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना तत्काल छैन । अन्य भू–भागमा भने मौसम सफा रहनेछ ।”
वन डेढेलो नियन्त्रणकै कारण ललितपुरमा दुई जनाले ज्यान गुमाइसकेका छन् । गोदावरी नगरपालिका–४ बडीखेलस्थित तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा शङ्कर पहारीको मङ्गलबार तथा रमेश पहारीको आज बिहान मृत्यु भएको हो ।
प्राधिकरणका डढेलो विज्ञ सुन्दर शर्माले लामो समयसम्म पानी नपरेको र सुक्खा भएका कारण वन डढेलो नियन्त्रणमा आउन गाह्रो भइरहेको बताउनुभएको छ । “आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ । नेपालको भौगोलिक विकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ”, उहाँले भन्नुभयो, “पानी परेको छैन तर हावाहुरीले वारिको आगो पारि पु¥याएर डढेलो फैलिरहेको छ ।”
उहाँका अनुसार डढेलोबाट सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्ला प्रभावित भएका छन् । वन डढेलोका कारण ज्यान र मानवीय बस्ती नै कसरी बचाउने भन्ने चिन्ता भएको उहाँको भनाइ छ । शर्माले वन डढेलोका कारण बर्सेनि ८० घर जल्ने गरेको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार नेपालमा साधारणतया वर्षमा दुइ हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुन्छन् । “८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छ  । यस कारण अहिले हामी उच्च जोखिमको समयमाछौं”, शर्माले भन्नुभयो, “मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलोको घटना बढी हुने गरेको पाइन्छ ।”
वनविज्ञ डा सोनी बराल गौलीले वनको दिगो व्यवस्थापन हुन नसक्दा वन डढेलोको घटना पनि बढिरहेको भन्दै संरक्षणमुखी वन व्यवस्थापनमा भन्दा व्यवस्थापनमुखी वन विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
डिभिजन वन कार्यलय ललितपुरका वन अधिकृत थीरप्रसाद कोइरालाले जङ्गली जनावारले घरपालुवा जनावारलाई आक्रमण गर्ने र जङ्गली जनावार धपाउनका लागि पनि वनमा आगो लगाउने गरेको जानकारी दिनुभयो । मानवीय कारणले नै जङ्गलमा आगलागीका घटना बढिरहेको उहाँको भनाइ छ ।
वन डढेलो नियन्त्रण गर्नकै लागि अहिले डिभिजन वन कार्यालयले व्यापक जनचेतनाका कार्यक्रम सुरु गर्न थाल्नुभएको छ । यस्ता घटनामा मानवीय गतिविधि रोक्न केही डिभिजन वन कार्यालयले सिसी क्यामरा जडान कार्यसमेत सुरु गर्न थालेको छ ।
चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जङ्गलमा फाल्ने, जङ्गलमा घाँस पलाउने भन्दै जाना जान लगाउनेजस्ता मानवीय गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको डिभिजन वन अधिकृतको भनाइ छ । सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन पनि वनविद्हरुको सुझाव छ ।
कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदीले मानिसले जानाजान जङ्गलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सिसी क्यामरा जडान अगाडि बढाइएको बताउनुभएको छ । “हाल दुई वटा सिसी क्यामरा जडान भइरहेको छ, अब सिसी क्यामरा जडानको प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढाउने सोच बनाएका छौँ”, उहाँले भन्नुभयो, “नभए त जङ्गलमा गएर आगो लगाउने गतिविधि नै नरोकिने भयो । कारबाहीको दायरामा ल्याउन पनि सहज हुनेछ ।”
यस्तै अन्य डिभिजन वन कार्यालयले पनि यस्ता मानवीय गतिविधि नियन्त्रणका लागि वन क्षेत्रमा सिसी क्यामरा राख्ने तयारी गरेको जनाइएको छ । यसका साथै वनका पातपतिङ्गर सफा गरेर आगलागी हुन नदिनेलगायतका कार्य अगाडि बढाइएको छ ।
मानिसले जङ्गलमा आगो लगाएमा कारबाही हुने कानुनी व्यवस्था छ । वन ऐन २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । “कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ”, ऐनमा उल्लेख छ ।
वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ ।
वन डढेलो व्यवस्थापन रणनीति २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकाय परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिन पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ ।
यसैगरी, आगोको व्यवस्थित प्रयोगबाट पारिस्थितिकीय प्रणालीमा सकारात्मक प्रभाव र स्थानीय जनताको जीविकोपार्जनमा टेवा पु¥याउने, आन्तरिक तथा अन्तरदेशीय डढेलो विपद् तथा यसबाट उत्पन्न जलवायु परिवर्तनलगायत वातावरणीय समस्या समाधानका लागि द्विपक्षीय, बहुपक्षीय समन्वय, सहकार्य र सहयोग विस्तार गर्ने रणनीतिमा उल्लेख छ ।
रणनीतिको मुख्य लक्ष्य डढेलोबाट हुने जन, धन, वन, जैविक विविधता तथा पारिस्थितिकीय प्रणालीको क्षतिलाई न्यूनीकरण गर्दै यसको उचित व्यवस्थापनबाट वनको उत्पादकत्वमा टेवा पु¥याउनु रहेको छ ।
नीतिगत, कानुनी तथा संस्थागत सुधार गर्ने, बहुसरोकारवालाको संलग्नतामा वन क्षेत्रसँग सम्बन्धित नीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनको परिमार्जन गरी डढेलो व्यवस्थापनसम्बन्धी विषयलाई समावेश गरी प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाइने डढेलो निरोधात्मक रणनीति  रहेको छ ।
साथै, नयाँ बन्ने वनसम्बन्धी नीति, रणनीति, ऐन, नियम, निर्देशिका तथा मार्गदर्शनमा वन डढेलोको विषय समावेश गरिने वन तथा भू–संरक्षण मन्त्रालय र अन्तर्गतका निकायको संस्थागत संरचना सुधार गरी वन क्षेत्रबाहेकका अग्नि प्रकोप व्यवस्थापन तथा नियन्त्रण सम्बन्धित निकायसँगको समन्वयमा डढेलो व्यवस्थापन संरचना वा संयन्त्रको विकास गरिँदै लगिने रणनीति छ । तर उक्त रणनीतिको प्रभावकारी कार्यान्वयनको अभाव रहेको बताउनुहुन्छ, सामुदायिक वन उपभोक्ता महासङ्घ फेकोफनका अध्यक्ष ठाकुर भण्डारी । “वनमा लागेको आगलागी नियन्त्रणमा जाँदा उपभोक्ताको ज्यानै गएको छ”, उहाँले भन्नुभयो, “सरकारले कसरी सुरक्षित तरिकाले आगलागी नियन्त्रण गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न जरुरी छ ।”