Monday, May 11, 2026
Home Blog Page 814

उत्पादनका आधारमा किसानलाई अनुदान

0

गोरखा: गण्डकी गाउँपालिकाले पालिकाभित्रका किसानलाई व्यावसायिक तरकारी उत्पादनका आधारमा अनुदान वितरण सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार किसानलाई तरकारी उत्पादनमा प्रतिकेजी रु दुई अनुदान रकम उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।

“पालिकाभित्रका वास्तविक किसानसम्म अनुदान पुर्याउन यस वर्षदेखि उत्पादनका आधार अनुदान कार्यक्रमको थालनी गरिएको हो”, उहाँले भन्नुभयो, ‘‘गत माघ २३ गतेबाट कार्यक्रम लागू हुनेगरी स्थानीय कृषि सहकारीमार्फत सम्झौता गरेर गाउँपालिकाले कार्यक्रम अघि बढाएको छ ।” कार्यक्रमअन्तर्गत गाउँपालिकाले अहिलेसम्म तीनवटा वडाका एक सय २८ किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।

अध्यक्ष तिमल्सिनाका अनुसार फागुनमा तरकारी उत्पादन गरेका वडा नं ८ का ६० किसानलाई अनुदानस्वरुप रु तीन लाख ४८ हजार नौ सय ४८ वितरण गरिएको छ ।त्यस्तै वडा नं ६ स्थित श्री भैरवी कृषि सहकारीमार्फत ३१ किसानलाई रु ५५ हजार नौ सय ६८ अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

“गाउँपालिकाले वडा नं ७ स्थित जनकल्याण ताजा तरकारी उत्पादक कृषि सहकारी संस्थामार्फत ३७ किसानलाई रु ४६ हजार चार सय ५४ वितरण गराइसकेको छ”, उहाँले भन्नुभयो, “सहकारीमार्फत प्राप्त किसानको विवरणानुसार पालिकाले अहिलेसम्म कुल रु चार लाख ५१ हजार तीन सय ७० रकम किसानलाई अनुदान उपलब्ध गराइसकेको छ ।”

कार्यक्रमअन्र्तगत वडा नं ८ मा एउटै किसानले एक महिनामै पालिकाबाट रु ३७ हजार पाँच सय १८ अनुदान लिएका छन् । “स्थानीय किसान लवबहादुर भुजेलले एकै महिनामा १८ हजार सात सय ५९ किलो तरकारी उत्पादन गर्नुभयो”, अध्यक्ष तिमल्सिनाले भन्नुभयो, “यो कार्यक्रमबाट किसानले हौसलासँगै उत्पादनबाट पनि नाफा कमाउन पनि सफल भएका छन् ।”

गाउँपालिकाले पालिकाभित्र कृषि उत्पादन बढाउने र किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित वास्तविक किसानको हातमा अनुदान पुर्याउन उत्पादनमा आधारित अनुदान कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । किसानले सहकारीमार्फत उत्पादनको अभिलेख उपलब्ध गराएपछि गाउँपालिका कृषि शाखाले अनुदान उपलब्ध गराउने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । पालिकाले मासु उत्पादन गर्ने किसानलाई पनि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड

0

भक्तपुर: नेपाली भाषा, साहित्य एवं सामाजिक मूल्य मान्यताहरूमा अतिक्रमण भइरहेको भन्दै यसको संरक्षण र संवर्द्धनमा राज्यको ध्यान जानुपर्नेमा जोड दिइएको छ ।

भक्तपुरस्थित काठमाडौँ स्कुल अफ लको भाषा संस्कृति समितिद्वारा आज यहाँ आयोजित भाषा, साहित्य, संस्कृति एवं सामाजिक मूल्य मान्यतामा आधारित गलत सङ्कथन तथा अतिक्रमण र यसको समाधान विषयक गोष्ठीका सहभागीहरूले त्यसमा जोड दिएका हुन् ।

सो गोष्ठीका सहभागीहरूले नेपाली भाषामा एकरुपता नभएको, नेपाली संस्कृति र परम्परामाथि आक्रमण भइरहेको तथा नेपाली मूल्य, मान्यताहरू पनि एकपछि अर्को गर्दै क्षय हुँदै गएको दृष्टान्त पेस गर्र्दै यसको निराकरण गरी नेपालीपनको प्रवर्द्धनका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिए ।

भाषाविद् एवं वरिष्ठ पत्रकार शरच्चन्द्र वस्तीले नेपाली भाषामा बिग्रह ल्याइएको, व्याकरणमा एकरुपता नभएकाले मानक खोज्न कहाँ जाने र कसलाई मान्ने भन्ने प्रश्न उब्जिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली भाषालाई धेरैभन्दा धेरै फराकिलो र अझ धनी बनाउनुपर्नेमा झन् धेरै सङ्कुचित बनाइएको छ, वास्तवमा भन्ने हो भने यतिखेर नेपाली भाषामाथि नै धेरै ठूलो अपराध गरिएको छ ।”

पूर्वमहान्यायाधिवक्ता एवं काठमाडौँ स्कुल अफ लका कार्यकारी निर्देशक प्रा डा युवराज सङ्ग्रौलाले योजनाबद्ध रूपमा नै नेपाली भाषा, कला, संस्कृति र परम्परामाथि हमला भइरहेको देखिएकाले यसको संरक्षणका लागि कलेजमा नै नेपाली भाषा संस्कृति समितिको निर्माण गरी विद्यार्थीहरूलाई यसमा लगाइएको जानकारी दिनुभयो । उहाँले यसैगरी देशभरिका कलेज पनि नेपाली भाषा र संस्कृतिको संरक्षणमा लाग्नुपर्ने सुझाव दिनुभयो ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपाली सामाजिक संरचनालाई नै ध्वस्त पार्ने काम भएको भन्दै यसका विरुद्धमा र नेपालीपनको संरक्षणार्थ मुलुकका विद्यार्थी वर्ग लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वसचिव एवं काठमाडौँ स्कुल अफ लका अध्यक्ष गोविन्द कुुुसुमले देशका मूल्य मान्यता र परम्पराहरूको संरक्षणमा राज्यले ध्यान नदिने हो भने यसले समाजमा विकृति र विसङ्गति ल्याउने धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकारद्वय जीवराम भण्डारी र तीर्थ कोइरालाले नेपाली भाषा, संस्कृति र परम्पराको जगेर्ना गर्न पत्रकारिता क्षेत्रको ठूलो भूमिका रहने धारणा राख्दै पत्रकारिताको भाषामा पछिल्लो समय भाषिक एकताका लागि मानक हुन नसक्दा भद्रगोल हुँदै गएका उदाहरणहरू प्रस्तुत गर्नुुभयो ।

राससका प्रधानसम्पादक एकराज पाठकले नेपालमा हाल व्याप्त रहेको नकारात्मकतालाई हटाई समुन्नत समाज निर्माण गर्न नैतिक शिक्षाको पुनःर्जागरण हुनु जरुरी रहेको बताउनुभयो ।

सदनको अवरोध हटाउन अनौपचारिक संवाद

0

काठमाडौँ: सङ्घीय संसदमा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन् ।

समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सत्तारुढ नेकपा (एमाले) लगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यही विषयमा आज नेपाली कांग्रेसको पदाधिकारी बैठक भएको छ । सो दलको शुक्रबारको संसदीय दलको बैठकले सहकारीको रकम अपचलन सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेकोसमेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनःअघि सारेको थियो ।

सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले रासससँग कुरा गर्दै अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गर्नुभयो । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्ताैलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गर्नुभयो ।

संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि पहिलो दिनका बैठकका दुवै सदनका कार्यसूची प्रभावित भएका थिए । आगामी जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलको सम्बोधनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ। प्रतिनिधिसभाको अर्काे बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रियसभाको अर्काे बैठक जेठ १ गते साँझ ५ः३० बजे राखिएको छ ।

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

0

बरहथवा (सर्लाही): राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिनुभयो । यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्र्याक निर्माणको काम भइरहेको हो । परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्र्याकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर यादवले बताउनुभयो ।

चालु आर्थिक वर्षको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उहाँको भनाइ छ । यस खण्डको केही स्थानमा भने ट्र्याक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको छ । हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन् । किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ ।

वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको हो । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताउनुभयो । आयोजना ठेक्का लागेको छ वर्षमा मात्र ९० प्रतिशत हाराहारीमा काम सकिएको हो ।

यस योजनाको आर्थिक वर्ष २०७४÷७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो । पछिल्लो समय बजेट अभावले समेत कामको गति सुस्त बनेको उहाँको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ ।

बाइस महिनामा पनि बनेन दुई किमी सडक

0

गण्डकी: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ । निर्माण कम्पनीको ढिलासुस्तीले सडक विस्तार र स्तरोन्नतिले गति लिन नसकेको पर्वतस्थित लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख कल्पना अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी विसं २०७९ साउनमा काठमाडौँको मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले सडक निर्माणको जिम्मा लिएको थियो । समयमा काम पूरा हुन नसक्ने देखिएपछि ठेक्का म्याद आउँदो चैतसम्म थप भएको उहाँले जानकारी दिनुभयो ।

विद्युतका खम्बा, खानेपानी व्यवस्थापन, भुक्तानी समस्या जस्ता कारणले पनि सडक निर्माणमा ढिलाइ भएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । “ठेक्का तोड्ने तयारीमा थियौँ, पछि निर्माण कम्पनीबाट कामलाई तीव्रता दिने प्रतिबद्धता आएपछि म्याद थपिएको हो”, उहाँले भन्नुभयो, “समयमा भुक्तानी दिन नसक्नेजस्ता कमजोरी आयोजना व्यवस्थापनबाट पनि भए, त्यसले पनि काम केही प्रभावित भयो ।”

आयोजना कार्यालयले समयमा काम सक्न निर्माण कम्पनीलाई पटक पटक ताकेता गर्दै आएको थियो । सुरुको ठेक्का अवधि सकिन लाग्दा पनि कामको प्रगति न्यून रहेको प्रमुख अधिकारीले बताउनुभयो । पोखरा महानगरपालिका–१ का अध्यक्ष सहारा प्रधानले प्रदेश राजधानी जोड्ने मुख्य सडक दुई वर्षदेखि नाजुक अवस्थामा रहेको बताउनुभयो ।

“हामीले पटकपटक दबाबमूलक कार्यक्रम पनि गर्यौं तर निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “पोखरा प्रवेश गर्ने मुख्य सडक मार्गको अवस्था साह्रै दयनीय छ, स्थानीय पनि धूलो र हिलोले हैरान छन् ।”

केही दिनअघि निर्माणका विषयमा प्रमुख जिल्ला अधिकारीसहित, स्थानीय जनप्रतिनिधि, आयोजनाका प्रतिनिधिलगायतको छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले कामलाई गति दिने प्रतिबद्धता जनाएको वडाध्यक्ष प्रधानले बताउनुभयो । “मौसमको प्रतिकूलता, भुक्तानी नपाएको जस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरिरहेको छ”, उहाँले भन्नुभयो, “अहिले पनि भने जसरी काम भएको छैन ।”

पोखरा–बागलुङ चल्ने जिपका चालक लक्ष्मण क्षेत्रीले समयमा सडक नबन्दा यात्रामा सास्ती खेप्नुपरेको सुनाउनुभयो । “एकातिर गाडीलाई मार अर्कातिर यात्रुलाई सकस”, उहाँले भन्नुभयो, “दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बीचको बाटो किन बनेन अचम्म छ ।” ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम पनि नभएकामा उहाँले दुःखेसो पोख्नुभयो । सोही सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुको गुनासो छ ।

पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । प्रदेश राजधानी पोखरा जोड्ने मुख्य सडकको दूरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ।पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायत जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक जीर्ण र अस्तव्यस्त हुँदा सवारी जामको समस्या छ । दुर्घटनाको पनि जोखिम बढेको छ ।

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

0

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि यस्तो अभियान सञ्चालन गरेको हो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षलाई शैक्षिक सुधार वर्षको रूपमा कार्यान्वयन गर्न बजेटको प्राथमिकीकरण गरिने तयारी भएको छ । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमार्फत नै प्राथमिकतामा समेटिन लागेको हो । विद्यालयको भौतिक संरचनालाई मात्र होइन शैक्षिकस्तर सुधार अपरिहार्य भएकाले सम्भव भएसम्म अधिकतम बजेट छुट्याउने योजना रहेको उहाँले बताउनुभयो ।

“वडाहरूलाई अब स्वायत्त बनाइने गरी थप १० करोड रकम विनियोजन गरिनेछ । वडाको जनसङ्ख्या, भूगोल, उत्पादन, कर सङ्कलनको अवस्थालगायत मापदण्डका आधारमा बजेट दिइने छ,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो । राज्यकोषबाट सुविधा लिनेले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउनुपर्नेमा जोड दिनुभयो । हाल नगरपालिका क्षेत्रका ३७ वटा सामुदायिक विद्यालयमा ११ हजार विद्यार्थी अध्ययनरत छन् ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा हुने

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आज राति मुलुकभर आंशिकदेखि साधारणतया बदली हुने तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ ।

आगामी २४ घण्टामा मुलुकका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

0

धरान (सुनसरी): नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ ।

धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा दिलीप सुब्बा र सचिव डा रवीन्द्रप्रसाद ढकालले शुक्रबार उद्घाटन गर्नुभयो ।

त्यस अवसरमा उपकुलपति सुब्बाले प्रविधिको प्रयोगबाट कृषि उत्पादन बढाउन सकिने बताउँदै त्यसनिम्ति केन्द्रलमार्फत किसानलाई सघाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

नगरप्रमुख राईले धरानको विकास आफ्नो एकमात्र लक्ष्य हो भन्दै केन्द्र स्थापनाका निम्ति उपमहानगरपालिकाले पूर्वाधार खडा गरेको जानकारी दिनुभयो । साथै उहाँले धरान आवासका निम्ति उपयुक्त सहर भएकाले त्यसैअनुसार खानेपानी योजना सञ्चालन तथा फोहरमैला व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नास्टका सचिव ढकालले केन्द्रमा विशेष गरी कृषि र खाद्य प्रविधिसँग सम्बन्धित विषयमा अध्ययन अनुसन्धान हुने बताउनुभयो ।

भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै

0

काठमाडौँ: भारत सरकारको सहयोगमा बैतडीमा विद्यालय भवन निर्माण हुने भएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रु तीन करोडको आर्थिक सहयोगमा पाटन नगरपालिका–४ मा रहेको भूमेश्वर माध्यमिक विद्यालयको भवन निर्माण हुन लागेको हो ।

भवनको पाटन नगरपालिकाका प्रमुख गौरी सिंहरावल र भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले शुक्रबार संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । भवन निर्माणका निम्ति पाटन नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

त्यसअवसरमा नगरप्रमुख रावलले नेपाली जनताको उन्नतिका लागि भारत सरकारले निरन्तर सहयोग गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।

“बैतडीको पाटन नगरपालिकास्थित भूमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले शिक्षणका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै यस क्षेत्रको शिक्षाको विकासमा पनि योगदान पुरÞ्याउनेछ,” भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिअनुसार सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनमा छन्भने चार सय ९० वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा ४० वटा परियोजना सञ्चालनमा छन् ।

समयसीमा अगावै माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता

0

काठमाडौं। भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको बताएको छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सरकारले भारतीय सैनिक फिर्ताको लागि मे १० को समयसीमा तोकेको थियो।

राष्ट्रपति मुइज्जुलाई चीन समर्थक नेताका रूपमा हेरिन्छ । गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जुको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो।

राष्ट्रपति कार्यालयका मुख्य प्रवक्ता हिना वलीदले मालदिभ्समा तैनाथ भारतीय सेनाको अन्तिम ब्याचलाई भारत फिर्ता पठाएको बताएकी छन्। भारतीय सेनालाई माल्दिभ्समा दुईवटा हेलिकप्टर र डोर्नियर विमानको सञ्चालन र मर्मतका लागि तैनाथ गरिएको थियो जुन भारतले नै उपहार दिएको थियो।

यसअघि माल्दिभ्स सरकारले सोमबार ५१ सैनिकलाई भारत फिर्ता पठाएको घोषणा गरेको थियो। माल्दिभ्स सरकारले यसअघि ८९ भारतीय सैनिक यहाँ रहेको जानकारी दिएको थियो। अब प्राविधिक कर्मचारीले तीनवटा उड्डयन मञ्च सञ्चालनको जिम्मा लिनेछन्।

राष्ट्रपति मुइज्जुले भारतीय सैनिक फिर्ता गर्न आग्रह गरेपछि दुई देश भारत र माल्दिभ्स बीच तनावपूर्ण स्थिति सिर्जना भएको थियो। माल्दिभ्स हिन्द महासागरमा भारतको लागि प्रमुख समुद्री छिमेकी देशको रूपमा चिनिन्छ।