Monday, May 11, 2026
Home Blog Page 813

कामिरिताले तोडे आफ्नै कीर्तिमान, २९औँ पटक सगरमाथाको सफल आरोहण

0

काठमाडौँ: आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको छ । उहाँले वसन्त ऋतुको जारी आरोहणमा कामिरिताले सगरमाथाको सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोड्नुभएको हो ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार कामिरिताले आज बिहान सगरमाथाको चुचुरोमा २९औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाउनुभएको हो । उहाँका अनुसार यस यामको आरोहण सुरु भएयता आजसम्म ७० भन्दा बढीले सगरमाथा आरोहण गर्नुभएको छ । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५४ वर्षीय कामिरिता कुशल पर्वतारोही पथप्रदर्शक हुनुहुन्छ ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामिरिता शेर्पा हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गत शुक्रबारदेखि सुरु भएको थियो । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । ‘सगरमाथा हिमालचुलीको शिखरसम्म मिली बाटो निर्माण (रोप फिक्सिङ) गर्ने काम सम्पन्न भएसँगै टोलीमा संलग्न १० जना आरोहीबाट सगरमाथाको यस सिजनको पहिलो आरोहण सम्पन्न भएको थियो ।

विभागको पर्वतारोहण शाखाका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अझै एक÷दुई टोली बढ्नसक्ने विभागले अनुमान गरेको छ ।

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन

0
काठमाडौँ: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको भौतिक प्रगति ७८ दशमलव १८ प्रतिशत र वित्तीय प्रगति ७० दशमलव ८२ प्रतिशत बराबर रहेको छ ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा पेस गरिएको विवरणअनुसार मन्त्रालयको समष्टिगत प्रगति उल्लेख्य रहेको पाइएको हो । मन्त्रालयको ऊर्जातर्फ वार्षिक बजेट रु ५८ अर्ब १८ करोड २५ लाख रहेकामा हालसम्म रु ४२ अर्ब ९८ करोड १७ लाख बराबर भएको छ ।
यस्तै, जलस्रोत तथा सिँचाइतर्फ रु २५ अर्ब ३६ करोड तीन लाख वार्षिक बजेटमध्ये हालसम्म रु १६ अर्ब १८ करोड ४५ लाख बराबर खर्च भएको छ । विवरणअनुसार, ८० देखि एक सय प्रतिशतसम्म भौतिक प्रगति भएका आयोजनाको सङ्ख्या १४ छन् ।
यस्तै, ५० देखि ८० प्रतिशतसम्म भौतिक प्रगति भएका आयोजनाको सङ्ख्या ११ छन् । ५० प्रतिशत बराबरको प्रगति भएका आयोजनाको सङ्ख्या १३ छन् ।
भौतिक तथा वित्तीय प्रगतिमा उल्लेख्य सफलता हासिल गरेको मन्त्रालयका केही आयोजना भने सुरु नै हुन सकेका छैनन् । वार्षिक कार्ययोजनाअनुसार ‘माइलस्टोनहरु’को गत चैतसम्म सुरु हुनुपर्नेमध्ये काम नै सुरु नभएका आयोजनाको सङ्ख्या पाँच छन्  । त्यसमा महाकाली सिँचाइ आयोजना छ । सो आयोजनाअन्तर्गत दोधारा र चाँदनीमा नहर निर्माण गर्नुपर्नेमा त्यसमा कुनै प्रगति भएको छैन ।
दोधारा र चाँदनी मूल नहरका लागि भारतको शारदा नहरबाट पाउनुपर्ने पानीको सुनिश्चितता नभएकाले खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन नसकिएको तथा मुआब्जाका लागिसमेत रकम अपुग भएको मनत्रालयको भनाइ छ ।
सुनसरी मोरङ सिँचाइ आयोजनाअन्तर्गत सुनसरी खोलामा बाँध तथा नहर संरचना निर्माण गर्नुपर्ने थियो । सो काम सुरु नै हुन सकेको छैन । भारतीय अनुदान सहयोगमा सञ्चालित नदी नियन्त्रण आयोजनामा तटबन्ध निर्माण गर्ने भनिएकामा दुई देशका उच्च अधिकारी सम्मिलित बैठक बस्न नसक्दा आवश्यक निर्णय हुन  सकेको छैन । त्यसमा खाँडो र बाणगङ्गा नदी नियन्त्रणको कार्यक्रम रहेको छ ।
यस्तै, पश्चिम राप्ती नदी नियन्त्रण गर्ने कार्यक्रम समावेश थियो । ती आयोजनामा एक/एक किलोमिटर तटबन्ध निर्माण गर्ने गरी प्रस्ताव गरिएको थियो ।
दूधकोशी जलाशययुक्त आयोजनाको मुआब्जा निर्धारण गर्न स्रोतको अभाव रहेको पाइएको छ । माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणका लागि रूख कटानको अनुमति नपाउँदा काम अगाडि बढाउन सकिएको छैन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार सडक निर्माणमा प्रयोग हुने उपकरण कार्यस्थलमा पुगे पनि वन तथा वातावरण मन्त्रालयले रूख कटानका लागि अनुमति नदिँदा काम नै सुरु हुन सकेको छैन ।
मन्त्रालय मातहत रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये तुलनात्मक रुपमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको प्रगति राम्रो छ । सो आयोजनाको भौतिक प्रगति एक सय ४१ प्रतिशत र वित्तीय प्रगति एक सय १८ प्रतिशत बराबर छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) ले कूल १३ दशमलव तीन किलोमिटर लामो सुरङ निर्माण सम्पन्न गरेको छ तर बाँध, विद्युत् गृह निर्माणको कामले भने गति लिन सकेको छैन ।
आर्थिक वर्ष २०७१÷७२ मा सुरु भएको भेरी बबई डाइभर्सन आयोजनाको कूल १२ दशमलव २० किलोमिटर लामो सुरङ निर्माण सम्पन्न भए पनि बाँधस्थल, विद्युत् गृहलगायतका काममा अपेक्षित प्रगति हुन सकेको छैन ।
समितिको बैठकमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले तोकिएका कामले अपेक्षित परिणाम निकालेको भए पनि सन्तोष मान्ने अवस्था नभएको भन्दै कार्यशैलीमा अझै सुधार जरुरी रहेको बताउनुभयो ।
यस्तै, जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले स्रोतको सुनिश्चित गर्न, समस्या देखिएका आयोजनाको समयमै समाधान गर्न आवश्यक पहलकदमी जरुरी रहेको बताउनुभयो । उहाँले सामूहिक प्रयासबाट मात्रै समस्याको निराकरण हुने भएकाले त्यसमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।
ऊर्जा सचिव सुशीलचन्द्र तिवारीले ९५ प्रतिशत भन्दा बढी कार्यप्रगति हुने गरी काम गर्न मातहतका निकाय थप क्रियाशील हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कुसेन्द्र महतले समस्याको पहिचान, समाधानका उपाय एवम् कार्य विन्यासमा सहजीकरण गरी शत्प्रतिशत परिणाम निकाल्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कार्यशैलीमा सुधार गरी जनअपेक्षा सम्बोधन गर्ने गरी वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले सुरु नै हुन नसकेका आयोजनाको विशेष ध्यान दिन, भएको स्रोतको शत्प्रतिशत सदुपयोग गर्न, संरचनागत र प्रक्रियागत झन्झट समाधानका लागि वस्तुनिष्ठ पहल जरुरी रहेको बताउनुभयो । हालसम्मको मन्त्रालयको समग्र प्रगति अपेक्षाकृत रुपमा सन्तोषजनक भए पनि यसलाई अझै सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो

0

चितवन: चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ वटा घडियाल गोही राप्ती नदीमा छाडिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार प्राकृतिक वासस्थानमा बाँच्ने र हुर्कने दर कम भएकोले घडियाल गोहीको संरक्षणमा सहयोग पु¥याउने उद्देश्यले प्रजनन केन्द्रमा गोही हुर्काउने गरिएको छ । केन्द्रमा हुर्काइएको गोहीलाई नदीमा छाड्ने गरिएको उहाँले बताउनुभयो । विसं २०३५ सालामा स्थापना गरिएको घडियाल गोही प्रजनन केन्द्रबाट हालसम्म एक हजार नौ ५७ वटा गोही देशका विभिन्न नदीमा छाडिएको छ ।

हालसम्म राप्ती नदीमा एक हजार दुई सय दुई वटा, नारायणी नदीमा चार सय १९ वटा, बबइमा एक सय १० वटा, सप्तकोशीमा एक सय १५ वटा, कालिगण्डकीमा ३५ वटा, कर्णालीमा ४१ वटा, बाँके राष्ट्रिय निकुञ्ज पश्चिम राप्ती नदीमा १० वटा र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर खोलामा २५ वटा गोही छाडिएको छन् ।

घडियाल प्रजनन केन्द्रमा हाल छ सय २२ गोही रहेका उहाँले जानकारी दिनुभयो । अन्य नदीहरुमा गोही संरक्षण हुन नसकेपछि पछिल्ला वर्षहरुमा नारायणी र राप्ती नदीमा मात्रै गोही छाडिने गरिएको छ । अहिले राप्ती र नारायणी नदीमा तीन–तीन वटा भाले गोही छन् । घडीयाल प्रजनन केन्द्रमा हाल दुईवटा भाले गोही छन् ।

प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिए पनि गोहीको सङ्ख्या बढ्न सकेको छैन । मानवीय गतिविधि र नदीसँगै बगेर भारतको जलक्षेत्रमा पुगेपछि संरक्षण चुनौतीपूर्ण भएको हो ।

 

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

0

काठमाडौँ:सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गर्नुभएको छ ।

शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत खड्काले नेपालमा ‘नेशनल ब्रेन गेन सेन्टर’ स्थापना, गैरआवासीय नेपाली विधेयक कार्यान्वयन तथा नागरिकता ऐन संशोधनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै नेपालको सामाजिक, आर्थिक विकासमा वैज्ञानिक एवं प्राविधिक क्षेत्रका साथै सामाजिक एवं आर्थिक विकासमा सघाउन यहाँ रहेका नेपालीलाई अनुरोध गर्नुभयो ।

सम्मेलन नेपाली राजदूतावास र जर्मनको विकास सहयोग नियोग (जिआइजेड)का काठमाडौँ कार्यालयले आयोजना गरेको हो । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाले सहसचिव चिरञ्जीवी चटौत, भेरी अस्पतालका ‘इन्टरनल मेडिसिन’ विभागका प्रमुख डा. राजन पाण्डे,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमिल्सिनालगायत ७० जना जर्मनीमा पेसा, व्यवसायमा संलग्न व्यक्तिको सहभागिता थियो ।

सम्मेलनको उद्घाटन राजदूत खड्का र जेआइजेडका देशीय प्रबन्धक फ्लोरिन क्रिन्सले गर्नुभएको थियो । जर्मनीमा रहेका नेपालीको ज्ञान, सीप र अनुभव नेपालको सामाजिक–आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

0

काठमाडौँ: हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ ।

विभागका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै विभागले मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आगामी २४ घण्टामा मुलुकका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको तथा देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विकास–निर्माणमा ध्यान केन्द्रित गर्दै बिर्तामोड नगरपालिका

0

सुरुङ्गा (झापा): बिर्तामोड नगरपालिकाले नगरको विकास–निर्माणमा आफूलाई केन्द्रित गरेको छ । चालु आर्थिक वर्षमा १० दशमलव ८४ किलोमिटर सडक कालोपत्र, ३४ दशमलव ८८ किलोमिटर सडक ग्राभेल र ४ दशमलव ४४ किलोमिटर सडक स्तरोन्नति गरेको छ ।

उज्यालो नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ बिर्तामोड नगरपालिकाले सडकको स्तरोन्नतिसँगै नगरका विभिन्न ३७ स्थानमा कल्भर्ट, २९ वटा विपन्न आवास, एउटा प्रशासनिक भवन, एउटा अस्पताल, २१ स्थानमा सडक बत्ती, विद्युत् पोल विस्तार, सडकमा पानी बग्न नदिन नाला निर्माण गरेको छ ।

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईका अनुसार १०४ दशमलव ३० किलोमिटर क्षेत्रमा तटबन्धन गरिएको छभने एउटा झोलुङ्गे पुल, ५६ वटा भवन मर्मत, सात वटा सामुदायिक विद्यालय भवन निर्माणका साथै खानेपानीका लागि तीन सय ८० मिटरमा पाइपलाइन विस्तार गरिएको छ ।

आगामी पाँच वर्षभित्र प्रदेश र सङ्घीय सरकारसँग समन्यव गर्दै बिर्तामोडमा रिङ रोड निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, डोमलाल राजवंशी रङ्गशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन, बुट्टावारी प्याकुरेल चोक जोड्ने सडकको स्तरोन्नति, बिर्तामोड नगर अस्पतालको स्तरोन्नति भइरहेको छ ।

बिर्तामोड नगरपालिकाको ‘नगर गौरव’ को आयोजनाका रूपमा रहेको बुट्टावारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नतिका लागि काम भइहरेको छ । छ दशमलव दुई किलोमिटर लामो सो सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको हो । सो सडक निर्माणका लागि विश्व बैंकले रु ५१ करोड २९ लाख ६१ हजार तीन सय ७२ ऋण प्रवाह गरेको छ । सडक दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

बाह्र मिटर चौडा सो सडकको मिटरमा कालोपत्र गरिनेछ । सडकको दायाँबाँया पानी निकासको नाला निर्माण गरिने छभने बत्ती, पैदलयात्री मार्ग बनाइने छ । सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जाने मूल सडकलाई पनि समेट्ने नगरपालिकाका इञ्जिनियर नरेन्द्र श्रेष्ठले बताउनुभयो । योसहित बिर्तामोड नगरपालिकामा ६९ वटा नगरस्तरीय विकास निर्माणका योजनामा काम भइहरेको छ । बहुवर्षीय ठेक्कामा २१ वटा योजनाको काम भइरहेको छ। तिनमा मदरसा पाठशालाको शैक्षिक सुधारदेखि सामुदायिक वनमा व्यायमशाला निर्माणसम्म छन् । नगरमा सञ्चालित बहुवर्षीय तथा क्रमागत योजनाको सङ्ख्या ४० छ । बिर्तामोडका १० वटै वडामा वडागत योजनाअन्तर्गत विकास–निर्माणको काम भइरहेको छ ।

नेपालमै उत्पादन हुने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड बन्यो हुन्डाई, चर्चित मोडल बनाउन सुरु (तस्बिरसहित)

0

काठमाडौं। विश्व प्रसिद्ध कोरियाली अटो निर्मााता कम्पनीले नेपालमै हुन्डाई ब्रान्डका गाडी नेपालमै एसेम्बल सुरु गरेको छ।

नेपालका लागि दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी मोटर कर्पाेरेसनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको हो। उक्त प्लान्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरेसँगै व्यावसायिक उत्पादन पनि बजारमा आएको हो।

दक्षिण कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षको अवसर पारेर उक्त कारखाना उद्घाटन गरिएको हो। नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको चारपांग्रे गाडी एसेम्बल गर्ने यो पहिलो कारखाना समेत भएको छ।

कर्पाेरेसनले ६ महिनादेखि नै उक्त प्लान्टबाट हुन्डाईको कम्प्याक्ट एसयूभी भेन्यू गाडीको परीक्षण उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएसँगै भेन्यूको व्यावसायिक उत्पादन पनि थालिएको छ। लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले परीक्षण उत्पादन सफल भएपछि व्यावसायिक उत्पादनको शुरुआत गरिएको बताए।

सुरुमा भेन्यूको व्यावसायिक उत्पादन गर्ने, त्यसपछि आई १०, क्रेटा र आई २० मोडलका चारपांग्रे गाडी उत्पादन गर्दै जाने योजना रहेको उनले जानकारी दिए।

श्रेष्ठका अनुसार उक्त प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता ५ हजार ४०० थान छ । हुन्डाई गाडी उत्पादन नेपालमै हुने भए पनि कोरियाली कम्पनीको लगानी उक्त प्लान्टमा नरहेको श्रेष्ठले स्पष्ट पारे। नेपालले चारपांग्रे र दुईपांग्रे सवारीसाधन आयातमा अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ।

परासीको रामग्राम नगरपालिकामा १५ बिघाभित्र कारखाना सञ्चालनमा आएको छ। लक्ष्मी मोटर कर्पाेरेसनले कारखाना निर्माणमा ५ अर्ब बढी लगानी गरेको हो।

नेपालमा हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी हुन्डाईले नवलपरासीको परासीमा हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट सञ्चालनमा ल्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले परासीमा खोलिएको हुन्डाई मोटर एसेम्बलिङ प्लान्टको उद्घाटन गरेका हुन्।

 

बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’

0

काठमाडौँ: बुढानिलकण्ठको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आज ‘प्रधानाध्यापकसँग पदयात्रा’ आयोजना गरिएको छ । पदयात्राको सहजीकरण ‘बुष्टिङ बुढानीलकण्ठ’ नामक अभियानले गरेको थियो । पदयात्रामा शिक्षक, बुद्धिजीवी, पत्रकारलगायत गरी करिब एक सय ७० जनाको उपस्थिति थियो ।

अभियानकर्ता आशीष गुरागाईँले बुढानीलकण्ठलाई चिनाउन नै यो पदयात्रा आयोजना गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “पदयात्राको यो दोस्रो शृङ्खला हो । आगामी दिनमा पनि गरिराख्ने प्रतिबद्धता व्यक्त गछौँ । हामी बुढानीलकण्ठबासी हौँ जुन हाम्रो घर हो । हाम्रो घरको राम्रो ठाउँहरु देखाउन चाहेको हो । नागरिकस्तरबाट चलेको कार्यक्रम हो ।”

भक्ति इन्टरनेशनल एकेडेमीका प्रधानाध्यापक नवराज भट्टले बुढानीलकण्ठको प्राकृतिक तथा साँस्कृतिक प्रवद्र्धन हुने उद्देश्य बोकेको यो पदयात्राले शिक्षक हुँदै विद्यार्थीसम्म पनि आफ्नो ठाउँको बारेमा बुझ्न सहयोगी हुने बताउनुभयो ।

त्यसैगरी पदयात्रामा सहभागी बुढानीलकण्ठ नगर प्रहरी प्रमुख रमेशकुमार खतिवडाले यो पदयात्राले घुमघामसँगै आज उपस्थित भएका शिक्षकहरुको एकापसमा चिनाजान सँगै उहाँहरुको अनुभव पनि साटासाट गर्ने मौका मिलेको बताउनुभयो ।

पदयात्रामा सहभागी सरिता निरौलाले यस्ता खालका पदयात्राले एक त एकआपसमा सबैको चिनाजानी हुने र अर्को तर्फ यसका विभिन्न पर्यटकीय स्थलको पनि प्रबद्र्धन हुने बताउनुभयो ।

बुढानीलकण्ठको धार्मिक, साँस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको पदयात्रा बुढानीलकण्ठ मन्दिरबाट सुरू भएर शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज हुँदै पदयात्रा डाँडा गाउँसम्म गएर टुंगिएको थियो ।

वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो

0

वीरगञ्ज (पर्र्सा) वीरगञ्ज महानगरपालिकाले वडा नं ९ स्थित गीता मन्दिर परिसरका अनधिकृतरुपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज तीनवटा एक्जाभेटर लगाएर भत्काएको हो ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जका मठमन्दिर केही व्यक्ति र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताउनुभयो । “भगवान्लाई बन्धक बनाएर राख्न पाइँदैन, श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ”, नगरप्रमुख सिंहले भन्नुभयो, “वीरगञ्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवान्लाई बन्धक बनाएर राख्ने चलन छ । त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ ।” महानगरले मन्दिरको मुलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्जाभेटर लगाएर भत्काएको हो ।

नगरप्रमुख सिंहले केही व्यक्तिले अनधिकृत रूपमा सार्वजनिक मठमन्दिर वरपर संरचना निर्माण गराएर कमाइखाने भाँडो बनाइरहेकाले सोलाइ हटाउने अभियान थालेको बताउनुभयो ।

“केही व्यक्तिले बिनाअनुमति मन्दिरको सौन्दर्यकरणलाई प्रत्यक्ष प्रभावित पार्नेगरी विभिन्न सटर थापेको पनि पाइयो”, उहाँले भन्नुभयो, “गीता मन्दिर परिसरमा अनुमतिबेगर नै व्यापारिक सटर निर्माण गरेर सञ्चालन गरेको पाइएपछि भत्काएका हौँ ।”

नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबारको स्पष्ट नभएको पनि दाबी गर्नुभयो । “हामीले १२ दिन अगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ । सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ । तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ ।” सो परिसरमा आधा दर्जनभन्दा धेरै सटर रहेका थिए ।

नगरप्रमुख सिंहले अनधिकृत संरचना भत्काएसँगै अब मन्दिर परिसरलाई व्यवस्थित गराउने बताउनुभयो । “गीता मन्दिर परिसरमा अनधिकृत संरचनालाई पूर्ण रूपमा हटाएर तुरुन्तै व्यवस्थित रूपमा नयाँ खालको आवश्यक संरचना बनाएर अघि बढाउनेछौँ ।” वीरगञ्ज महानगरले पछिल्लो समय अतिक्रमणमा परेको सार्वजनिक जग्गालाई फिर्ता गर्ने काम गर्दै आइरहेको छ ।

फोहर सङ्कलनमा नेपाली सेना प्रथम

0
दमौली (तनहुँ): तनहुँको दमौलीस्थित बुल्दीखोलामा आज आयोजित बृहत् सरसफाइ अभियानमा नेपाली सेनाको टोलीले  एक हजार केजीभन्दा बढी फोहर सङ्कलन गरी प्रथम भएको छ ।
युवा अभियान्ता सुदीप गफ्फारको सक्रियतामा सञ्चालित सरसफाइ अभियानमा धेरै फोहर सङ्कलन गर्ने व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) लाई पुरस्कृत गरियो ।
व्यास नगरपालिका–१ करङकाठदेखि व्यास नगरपालिका–३ सेतीबुल्दी दोभानसम्म भएको सरसफाइ अभियानमा सेनाले एक हजार २४ किलो फोहर सङ्कलन गरेको थियो । त्यस्तै व्यास नगरपालिका–२ स्थित पुलजीप टोल विकास संस्थाले नौ सय ४० दशमलव सात किलो फोहर सङ्कलन गरी दोस्रो स्थान हासिल गरेको छ ।
प्रथम भएको समूहलाई नगद रु १० हजार र प्रमाणपत्र तथा दोस्रो भएको समूहलाई नगद रु पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।
विद्यालयस्तरीय बालबालिकाबीच भएको उक्त प्रतिस्पर्धामा न्यू मनकामना बोर्डिङ स्कूल प्रथम र कन्काइ ग्लोबल एकेडेमी दोस्रो भएको छ । मनकामनाका विद्यार्थी समूहले छ सय ४५ दशमलव नौ  र कन्काइका विद्यार्थी समूहले पाँच सय १६ दशमलव नौ किलो फोहर सङ्कलन गरेका थिए । उनीहरुलाई क्रमशः रु चार हजार र रु दुई हजार नगद प्रदान गरियो । त्यसक्रममा कूल ५४ समूहको सहभागिता रहेको थियो ।
बुल्दीखोला दिनप्रति दिन प्रदूषित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको अभियान्ता गफ्फारले जानकारी दिनुभयो । खोला सरसफाइसँगै प्रतियोगिात्मक रुपमा सञ्चालन गरिएको यस अभियानले सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको उहाँको भनाइ छ ।
बृहत् सरसफाइ अभियानका लागि टोल, विद्यालय, क्याम्पस, सङ्घसंस्था लगायतबाट साथ र सहयोग पाएको बताउनुभयो । बुल्दीखोला स्वच्छ र सफा राख्ने उद्देश्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “भावी पुस्ताका लागि खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको हुँ ।”
बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।”
उहाँकै नेतृत्वमा आगामी जेठ ५ गते भानु र बन्दीपुरको सिमानास्थित चुँदीखोलामा वृहत सरसफाइ अभियान सञ्चालन हुँदैछ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटा युवाको सक्रियतामा बुल्दीखोला बृहत् सरसफाइ अभियान हुनु खुसीको कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अभियानमा सबैको सद्भाव र सहयोग हुन राम्रो कुरा हो ।”
व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठले समाज बदल्न पहिला आफू बदलिन पर्ने बताउँदै त्यसको नेतृत्व एउटा युवाले गरेकामा खुसी व्यक्त गर्नुभयो ।