Monday, May 11, 2026
Home Blog Page 811

शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी

0
काठमाडौँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव परेको छ ।
शिक्षक–कर्मचारीले राजनीतिक दलको सदस्यता लिई जिल्ला तहमा दलको कार्यकारिणी समिति सदस्यसमेत भएको भन्ने गुनासोपछि शिक्षामन्त्री सुमना श्रेष्ठको यही वैशाख ४ गतेकोे निर्णयबाट मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत दलीय राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएको थियो ।
केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक र कर्मचारीलाई कारबाही गर्न सबै जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको थियो ।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिई कार्यकारिणी समिति र महाधिवेशन प्रतिनिधि भई काम गरेको उजुरी र गुनासो प्राप्त आएपछि मन्त्रालयले विद्यमान कानुनी व्यवस्थाले सो कार्यलाई निषेध गरेकाले कानुनको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । शिक्षकहरुले पढाइ हुने समयमा समेत दलीय राजनीतिमा लागेर शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिएको गुनासो आएपछि मन्त्रालयले कानुनी व्यवस्थालाई पालना गर्न निर्देशन दिएको थियो । साथै शिक्षक सङ्गठनका नेताहरुले आफूहरुको राजनीतिक आस्था हुन पाउने अधिकारलाई वञ्चित नगर्न आग्रह गर्दै आएका थिए ।
शिक्षा ऐन २०२८ (नवौँ संशोधन), राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र शिक्षा नियमावली २०५९ ले शिक्षकलाई राजनीतिक दलमा आबद्धता हुन नपाइने व्यवस्था गरेको छ । सो सम्बन्धमा पाटन उच्च अदालतले २०७९ जेठ ४ मा उक्त कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न–गराउन सरकारका नाममा परमादेश जारी गरेको थियो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव हंशबहादुर शाहीका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ र दफा ५७, शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानुनी व्यवस्थाको स्पष्ट उल्लेखसहित जिल्ला तहमा पत्राचार भएपछि दलीय आबद्धतामा रहेका शिक्षकले राजीनामा दिन थालेका छन् । कतिपय शिक्षकले भने सम्बन्धित दललाई भनेर आफ्नो सदस्यतालाई नाम परिवर्तन गरेर अभिलेखीकरण गरिदिन आग्रह गरेको पाइएको छ ।
शिक्षामन्त्री श्रेष्ठ र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबीच शनिबार भएको भेटवार्तामा मन्त्रालयको निर्देशन कार्यान्वयनका विषयमा छलफल भएको थियो । शिक्षक नेताहरु बाह्यरुपमा विरोध गरे पनि कानुनी बाध्यताका कारण मन्त्री र मन्त्रालयका अधिकारीका सामू निर्देशन पालनाका पक्षमा रहेको जनाउन विवश छन् ।
नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारीका सेवासुविधा र पेसागत मागमुद्दाको सम्बोधनका लागि आफूहरु निरन्तर लागिरहने उल्लेख गर्दै टे«ड युनियन अधिकार कानुनी अधिकार भएकाले यसबाट भने कसैलाई वञ्चित गर्न नसकिने जिकिर गर्नुभयो । महासङ्घ विद्यमान कानुनी व्यवस्थाबाटै स्थापित भएकाले मन्त्रालयले निर्देशनले शिक्षक–कर्मचारीका पेसागत संस्थालाई कुनै असर नपर्ने बताउनुभयो ।
नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्रबहादुर रावलले पनि कानुनमै भएको व्यवस्था कार्यान्वयनका लागि आफूहरु तयार नहुनुपर्ने कारण नभएको भन्दै तर शिक्षामन्त्री वा उच्च कर्मचारीले यसलाई ‘स्टन्ड’ का रुपमा बढी प्रचार गर्न नहुने जनाउनुभयो । शिक्षामन्त्री श्रेष्ठ र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबीच शनिबार भएको भेटवार्तामा उक्त निर्देशनका यही विषयमा छलफल भएको रावलले जानकारी दिनुभयो ।
“हामी शिक्षक सक्रिय राजननीमिा लाग्न हुँदैन भन्नेमा स्पष्ट छौँ, सङ्घका कुनै पनि सदस्यलाई हामीले सक्रिय राजनीतिमा लाग्न भनेका छैनौँ । कुनै दल विशेषमा व्यक्तिगतरुपमा कोही शिक्षक सदस्य छन् भने त्यसलाई सम्बन्धित दल र शिक्षकले कानुनतः मिलाउनुपर्ने हुन्छ”, शिक्षक नेता रावलले भन्नुभयो, “तर शिक्षक र कर्मचारीको राजनीतिक आस्था हुनसक्छ, त्यसलाई भने रोक्न पाइँदैन ।”
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गङ्गाराम तिवारीले एकाधबाहेक अधिकांश विद्यालय कर्मचारी राजनीतिक दलको सदस्य र कार्यकारिणी सदस्य नरहेको जनाउँदै कानुनी व्यवस्थाको पालनामा शिक्षक पनि सकारात्मक हुनुको विकल्प नभएको बताउनुभयो ।
शिक्षामन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा दलीय राजनीति अन्त्यका लागि निर्ममरुपमा प्रस्तुत हुने बताउँदै आउनुभएको छ । मन्त्री श्रेष्ठले आफ्नो कार्यकालको एकमहिने अवधिमा भएका सुधारका थालनीबारे जानकारी गत चैत २३ गते सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्राध्यापक, शिक्षक वा कर्मचारीले दलीय राजनीति गरेको प्रमाण भेटिएमा उजुरी दिन आग्रह गर्दै उजुरीलाई कानुनबमोजिम सम्बन्धित निकायमार्फत कारबाही गराइने दृढता व्यक्त गर्नुभएको थियो ।
हाल प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सममका स्थायी, अस्थायी, राहत, करारलगायत गरी करिब तीन लाख ५० हजार शिक्षक कार्यरत छन् ।

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

0

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताउनुभएको छ ।

नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री दाहालले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभयो ।

“पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यही यथार्थलाई दृष्टिगत गरी सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीसम्बन्धी विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।”

सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशव्यापीरूपमा सडक सञ्जालको विस्तार भएसँगै आगामी दिनमा गुणस्तरता एवं दिगोपनलाई विशेष प्राथमिकता दिने बताउनुभयो । यातायात सेवालाई सहज तुल्याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले सडक दुर्घटना न्यूनीकरणका निम्ति पूर्वाधार, सवारीसाधन र ट्राफिक प्रणालीमा सुधारलगायतका क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले यातायात पूर्वाधारले बहुर्राष्ट्रिय कम्पनीबाट उत्पादित वस्तुहरू दूरदराजमा पु¥याउने तर दूरदराजको उत्पादन प्रणाली कमजोर भई ग्रामीण अर्थतन्त्र शिथिल हुने चुनौतीलाई समेत सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्नुभयो ।

“देशभित्रै सम्भव छ, गरे सकिन्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले तुलनात्मक अध्ययन नै नगरी देशमा केही हुँदैन भन्ने नकारात्मक भाष्य सिर्जना गर्नु गलत भएको बताउनुभयो । “विकासक्रमलाई गणतन्त्रअघि र गणतन्त्रपछिको अवस्थासँग तुलना नगर्ने तर अति विकसित र विकसित मुलुकसँग तुलना गरेर ‘नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्न खोजिएको छ”, उहाँले भन्नुभयो, “नेपालको पछिल्लो विकासलाई ठीक ढङ्गले अध्ययन र विश्लेषणका आधारमा ‘देशभित्र सम्भव छ’, ‘गरे सकिन्छ’ भन्ने सकारात्मक चिन्तन र ऊर्जाको विकास गर्न जरूरी छ ।”

पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा सडक सञ्जालको विस्तार चमत्कारिक हिसाबले अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले ९० प्रतिशतभन्दा बढी सडक प्रयोगकर्ताहरू आफ्नो बासस्थानबाट एक घण्टाको पैदल यात्रामा पुग्नसक्ने अवस्था सिर्जना भएको बताउनुभयो । “राजतन्त्रकालको २५० वर्ष र गणतन्त्रकालको दुई दशकको तुलनात्मक अध्ययन गर्ने जो–कोहीले भन्न सक्छ–२५० वर्षमा भन्दा कैयौँ गुणा बढी विकास पछिल्लो दुई दशकमा भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्जस्ता भौतिक पूर्वाधारको विकास एवं सामाजिक सुरक्षा, सेवा प्रवाह, सेवाको सरलीकरण र प्रभावकारितालगायतका मानवीय विकासका क्षेत्रमा समेत नेपालले राम्रो प्रगति गरिरहेको छ ।”

सडक विभागले नेपाल सरकारको अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजनाका आधारमा सडक पूर्वाधारमा सकारात्मक पहल लिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्षमा मात्र एक सय ४९ भन्दा बढी पुल निर्माण गरिसकेको बताउनुभयो । “काठमाडौँको नागढुङ्गा सडकको सुरूङमार्गको ‘ब्रेकथ्रु’ भएको छ, त्यसैगरी बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको पनि भर्खरैमात्र ‘ब्रेकथ्रु’ गरिएको छ”, उहाँले भन्नुभयो, “यसले देश सुरूङयुगमा प्रवेश गरेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सन्देश दिनुका साथै सन् २०२६ सम्म नेपाल विकासशील मुलुकमा फड्को हान्ने लक्ष्यमा सकारात्मक योगदान पु¥याएको छ ।” अहिले सडक विभागअन्तर्गत काठमाडौँको ग्वार्कोमा ‘फ्लाइओभर’को निर्माणकार्य भइरहेको र पृथ्वी राजमार्गको मादी, सेती नदी लगायतका नदीहरूमाथि ‘सिग्नेचर’ पुलहरू निर्माण भइरहेका प्रधानमन्त्री दाहालको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गको मध्यभागका रहेको भरतपुर महानगरपालिका र गैँडाकोट नगरपालिका जोड्ने ‘सिग्नेचर ब्रिज’ निर्माण भएपछि राजमार्गको सवारी चाप व्यवस्थित हुने प्रधानमन्त्री दाहालले विश्वास व्यक्त गर्नुभयो । “सवारी चाप सम्बोधन हुनेछ, यसले सवारी समयको बचत हुनेछ । सबैभन्दा महत्वपूर्ण यसको निर्माणसँगै सडकको ‘कार्यक्षमता’ वृद्धि हुनेछ”, उहाँले भन्नुभयो, “यस परियोजनाको सम्बन्ध सडक पूर्वाधार र यातायातसँग मात्र सम्बन्धित नभएर पर्यटन प्रवद्र्धन, स्थानीय अर्थतन्त्रको विकास एवं रोजगारी सिर्जनामा मद्दत पुग्नेछ ।”

सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

0

गोदार (धनुषा): जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेकोमध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उहाँले बताउनुभयो ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरीबाट धनुषाको सबैला–१२ रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारीको रु ८० लाख लुटिएको थियो । सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुद्धिजीवी परिषद् भेलाको निष्कर्ष : विकास र समृद्धिलाई प्राथमिकता

0

काठमाडौँ: नेपाल बुद्धिजीवी परिषद्को दुई दिने राष्ट्रिय परिषद् भेलाले वर्तमान सत्ता समीकरणले जनतामा आशा र विश्वास जगाउने गरी राजनीतिक स्थिरता, सुशासन, विकास तथा समृद्धिलाई प्राथामिकतामा राखेर अगाडि वढ्नुपर्नेमा जोड दिएको छ ।

भेलाबाट पारित १६बुँदे समसामयिक प्रस्तावमा सरकारलाई राजनीतिक शुद्धीकरण, पारदर्शिता, जवाफदेहितासहितको समाजवादको आधार निर्माण गर्ने दिशामा प्रभावकारी रूपमा अगाडि बढ्न आग्रह गरेको हो । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट यही वैशाख २९ गते उद्घाटन र वैशाख ३० गते एमालेका वरिठ उपाध्यक्ष ईश्वर पोखरेलबाट समापन भएको उक्त भेलाले लघुवित्त र मिटरब्याजीको समस्यासँगै पछिल्लो समयमा सहकारी समस्या विकराल बन्दै गएकाले दलीय स्वार्थबाट माथि उठेर व्यक्तिकेन्द्रित नभई समग्र समस्याको समाधान हुने गरी छानबिन गर्न माग गरेको छ ।

परिषद्का उपमहासचिव सुशील विकेका अनुसार सङ्घीयता कार्यान्वयन गर्न आवश्यक पर्ने महत्वपूर्ण विधेयक छिटो पारित गर्न, गणतन्त्रात्मक व्यवस्था विरोधी गतिविधिप्रति सचेत हुन र बैंकिङ तथा वित्तीय क्षेत्रको सङ्कट समाधान गर्न ध्यान दिन पनि आग्रह गरेको छ ।

सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ : वरिष्ठ उपाध्यक्ष खाँन

0

काठमाडौँ: जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले मुलुकमा सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक रहेको बताउनुभएको छ । पार्टीले यस वर्ष गणतन्त्र दिवसका अवसरमा आगामी जेठ १५ गते काठमाडाँैमा बृहत्सभा गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापतिसमेत रहनुभएका खाँनले पार्टी सुदृढीकरण गर्दै देशलाई नयाँ निकास दिने उद्देश्यले आयोजना हुने उक्त कार्यक्रममार्फत नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रको आगामी मार्गको शङ्खघोष गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नौलो गणतन्त्र भनेको संविधान र व्यवस्थाभित्र अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई समयमै सुधार गर्दै लैजानु हो ।”

वरिष्ठ उपाध्यक्ष खाँनले संविधानमा आर्थिक नीतिमा समाजवाद लेखिएको उल्लेख गर्दै त्यो प्रावधानले सबै कलकारखानादेखि उद्योगधन्दा राज्यले नै सञ्चालन गर्ने, नियन्त्रण र स्वामित्व ग्रहण गर्ने भन्ने बुझाउने उल्लेख गर्नुभयो ।

“समाजवाद धेरै व्यापक विषय हो । नेपालमा हालसम्म पुँजीवादको अवस्था आएको र पुँजीवादी क्रान्ति भएकै छैन । त्यो नभई समाजवाद कसरी सम्भव छ”, उहाँले भन्नुभयो । हाल अभ्यासमा रहेको समाजावादसम्बन्धी आर्थिक नीति परिवर्तन गरी सामाजिक–लोकतान्त्रिक अवधारणा ल्याउन आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष खाँनले बताउनुभयो ।

अमेरिका र युरोपका केही मुलुकले आत्मसात् गरेको समाजवाद र पुँजीवाद मिश्रित अर्थव्यवस्था नेपालका लागि उपयुक्त हुनसक्ने उल्लेख गर्दै उहाँले देशको आर्थिक विकास र समृद्धि हासिल गर्न त्यो बाटोबाट जान सकिने तर्क गर्नुभयो । रासससँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष खाँनले सामाजिक लोकतान्त्रिक अर्थ नीति आत्मसात् गरिएको खण्डमा वैदेशिक लगानी बढ्ने दाबी गर्नुभयो ।

मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको राजनीतिक अस्थिरताको अन्त्य गर्न प्रधानमन्त्रीसहित देशका सबै महत्वपूर्ण पदमा रहने व्यक्तिको चयन प्रत्यक्ष निर्वाचनबाट हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । आर्थिक समृद्धि हासिल नहुँदा संसद् सञ्चालनदेखि शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा अवरोध झेल्न परिरहेको जिकिर गर्दै वरिष्ठ उपाध्यक्ष खाँनले आफ्नो पार्टीले सार्वजनिक गर्ने नीति र सिद्धान्तलाई स्थानीय तहसम्म बहस र छलफलका लागि लैजाने जानकारी दिनुभयो ।

पुस्तक समीक्षा : झापा विद्रोहको यथार्थमाथि बहस चलाउँदै ‘२८ साल’

0
काठमाडौँ: इतिहासका घटनालाई आधार बनाएर नाटक, खण्डकाव्य, उपन्यास आदि साहित्यिक कृति लेखिने तथा चलचित्र निर्माण गरिने चलन कायमै छ । बालकृष्ण सम, डायमनशमशेर, भीमनिधि तिवारी, माधवप्रसाद घिमिरे, एसपी आशा, श्रीकृष्ण श्रेष्ठ, नारायण ढकाल, योगेशराज, निलम कार्की निहारिका, नगेन्द्र न्यौपाने, चन्द्रप्रकाश बानियाँ, केशव दाहाल, गोविन्दप्रसाद कुसुम, राजव, चिरञ्जीवी वाग्ले आदिले ‘अमरसिंह’, ‘सेतो बाघ’, ‘शिलान्यास’, ‘राष्ट्रनिर्माता’, ‘राजराजेश्वरी’, ‘जङ्गबहादुर’, ‘वृषभ वध’, ‘रणहार’, ‘योगमाया’, ‘दरबार बाहिरकी महारानी’,  ‘महारानी’, ‘मोक्षभूमि’, ‘भृकुटी’, ‘क्रूर पृष्ठमा जो थिए’, ‘बहादुर शाह’ आदि उपन्यास, नाटक, काव्यकृतिमा इतिहासका पक्षलाई विषय बनाउनुभयो । कतिपयले सत्रौँ–अठारौँ शताब्दीका र केहीले पञ्चायतकालकै घटनाबारे लेखेर मदन र पद्मश्रीलगायत पुरस्कार पनि प्राप्त गर्नुभयो ।
पात्रमार्फत इतिहासका लुकेका पाटाबारे जानकारी दिने र मनोरञ्जन पनि गराउने उद्देश्यले लेखिएका त्यस्ता कृतिमा वास्तविकता एवं सत्यताबारेको जोखिम भने कायमै रहन्छ । कथालाई रोचक बनाउन बिचबिचमा घुसाइने प्रसङ्ग, संवाद र वाक्यहरू मसला मात्र हुन् भन्ने सत्य जान्दा जान्दै पनि उपन्यासकारले घटनालाई तन्काइरहन्छन्, पाठक त्यसैमा रमाइलो मान्दै जान्छन् र आफू ऐतिहासिक घटनाको नजिक पुगेको ठान्छन् ।
कतिपय कृतिमा पात्रहरूका समय र घटनाको सत्यतामा आनका तान फरक परे पनि त्यसलाई कथा वा उपन्यास वा नाटक आदि भनिदिनाका साथै लेखकको कल्पनाशीलता भनिदिए पुग्छ । तैपनि ऐतिहासिक घटना र त्यसका पात्रहरूलाई प्रस्तुत गर्न लेखकहरू जोखिम मोल्नमै लालायित भइरहन्छन् । इतिहास लेख्दा तथ्यतथ्याङ्कको नजिक पुग्न निकै मेहनत पर्ने र कतिपय प्रसङ्गमा सत्यता नभेटिने भयले पनि उहाँहरू आख्यान वा साहित्य लेखनमा लाग्नुभएको हुन सक्छ ।
साङ्ग्रिला मिडिया ग्रुप प्रालिद्वारा २०८० पुसमा प्रकाशित साहित्यकार कुमार भट्टराईको ‘२८ साल’ उपन्यास नेपालको त्यस्तै ऐतिहासिक ‘झापा विद्रोह’ (२०२८–०३२) मा आधारित छ । सोही वर्ष माघ १० गते काठमाडौँमा विमोचन भएर बजारमा आई चर्चापरिचर्चा हुन थालेको छ । ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ शीर्षकमा गत वर्ष नै भदौमा सार्वजनिक भएको निरोज कट्टेलको अनुसन्धानमूलक कृतिले पनि भट्टराईकै जस्तो कथा भन्छ तर इतिहासका वर्णनका रूपमा । आख्यानका रूपमा आएको भट्टराईको समीक्ष्य कृतिलाई भने कतिसम्म पत्याउने भन्ने प्रश्न चाहिँ बाँकी नै रहन्छ ।
लेखक विद्रोहसँग सम्बन्धित पात्रहरू कसैलाई देवत्वकरण र कसैलाई दानवीकरण गरिएकाले इतिहासको समूल सत्य स्वरूप खुल्न नसकेको तथ्यसँग विश्वस्त भएपछि नै अनुसन्धानात्मक समीक्ष्य कृति लेख्न आफू उद्यत भएको स्पष्ट गर्नुहुन्छ । आठ वर्षअघि अध्ययन सुरु गरी चार वर्ष लेखन, पुनर्लेखन, सम्पादन र प्रकाशनमा लागेको  यस उपन्यासका ‘सबै तथ्य  पात्रहरूसँग गरिएका आधिकारिक संवाद’ भएकाले ‘कृतिमा उल्लिखित विषय र सन्दर्भमा जिज्ञासा रहे उहाँहरूसँग हरेक पाठकले सम्पर्क गर्न सक्ने’ वा रुजु गर्न सक्ने चुनौती पनि लेखकले दिनुभएको छ । झापाका पत्रकार भट्टराईका यसअघि ‘नसमेटिएका पाइलाहरू’ र ‘बकाइनो’ कथासङ्ग्रह तथा ‘मेरो’ कवितासङ्ग्रह र ‘कृष्ण’ सूत्रकाव्य पनि प्रकाशनमा आइसकेका छन् ।
उपन्यासकार “सम्पूर्ण सत्य केही हुँदैन” भन्नेमा विश्वस्त भएपछि घटनाको यथार्थ खोज्नपट्टि तथा लेखनमा लाग्नुभयो । ‘इतिहासको वास्तविकता खोज्ने र हेर्ने प्रयासमा तयार’ भएको अनुसन्धानमूलक उपन्यासमा २०२८ सालदेखि सुरु भएको विद्रोहको पृष्ठभूमि, विकास र त्यस क्रममा विद्रोहीबाट आठ, सरकार पक्षबाट ६ र नागरिकको अगुवाइमा भएको एक जनाको हत्यासँग सम्बन्धित घटनाको नालीबेली वक्ताहरूका मुखबाट व्यक्त गराइएको छ । गाउँका हुनेखाने वर्गका धर्मप्रसाद ढकाल र उहाँका छोरा ज्ञानी एक्सनका नाममा मारिएपछि सरकारबाट पक्राउ परेकामध्ये पाँच जना झापा र इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा २०२९ फागुन २१ गते  मारिएकाले घटनाले झनै उग्र रूप लिएको र त्यसैबाट  कोअर्डिनेसन केन्द्र हुँदै हालका नेकपा (माले), एमाले, एकीकृत समाजवादी जन्मेका हुन् । यसैले नेपाली कम्युनिस्ट आन्दोलनको  इतिहास अध्ययन गर्दा २८ साल र त्यसपछिका घटना बिर्सनै सकिन्न ।
नेपालको वाम–प्रजातान्त्रिक आन्दोलनको विकास हुँदै गणतन्त्र प्राप्तिसम्मको उपलब्धिमा सो अभियानको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ । राजाको सत्र सालको कदमपछि छिन्नभिन्न वामपन्थी समूहलाई त्यस घटनाले नयाँ तागत भने दिएको थियो । उग्रता, युवा जोस, क्रान्तिकारी दुस्साहस जे भए पनि सो कार्यको  सकारात्मक–नकारात्मक दुवै पक्षबाट मूल्याङ्कन हुँदैआएको छ ।रोचक कुरा त, भारत, पश्चिम बङ्गाल, नक्सलबाडीमा चारु मजुमदारका अगुवाइमा ‘नक्सलाइट’बाट भएको ‘वर्गशत्रु खत्तम’ को सिको गरेर केही किलोमिटर दूरीमा रहेको झापामा चलाइएको अभियानमा राजनीतिक र लडाकु दुवै पक्षको संलग्नता थियो र नक्सलबाडीका केही युवा पनि सहभागी थिए ।सुखानीमा मारिएका क्रान्तिकारी कम्युनिष्टका नाममा ‘सुखानी सहिद स्मृति प्रतिष्ठान’ नै बन्यो भने विद्रोहमा सामेल हुनुभएकालाई केपी शर्मा ओली सरकारका पालामा २०७२ सालमा राष्ट्रिय सहिद पनि घोषित गरियो । जहाँ सुखानीका सहिदको प्रतिमा बनेको छ, त्यसको करिब तीन सय मिटर पूर्वमा विद्रोहीबाट मारिएका बुटन चौधरीलाई पनि सहिद नै मानेर सालिक स्थापना गरिएको घटना रोचक छ । मर्ने, मार्ने दुवै सहिद र दुवैका सालिक सार्वजनिक स्थानमा सँगसँगै हुनाले इतिहासको पुनःमूल्याङ्कन भएको मान्न सकिन्छ ।
मारिनुपर्ने भनिएका सामन्त र शोषक तथा  नमारिनुपर्ने निर्दाेष दुवैथरी मारिएको सुनिएको सो घटना आन्दोलन थियो कि पूर्वाग्रह भन्ने ठोस प्रमाण नभएकाले नै त्यसको पूर्तिका लागि पुस्तक लेख्नुभएका भट्टराईले इतिहास नै त लेख्नुभएन, बरु त्यसलाई स्पर्श गर्ने उपन्यास लेख्नुभयो । नयाँ उपन्यास लेख्नलाई उहाँलाई ‘धनबहादुर र म’ र महाभारतकालीन पात्र ‘अश्वत्थामा’लाई लिएर लेख्दाको पहिलेकै अभ्यास छँदै थियो । पहिलो प्रयोगवादी उपन्यासमा उहाँले सामान्य भनिएका मानिसका भोगाइलाई विषय बनाउनुभएको छ  भने दोस्रो सबैले भन्दै आएका असत्य पक्षका दुर्याेधन एवं कौरवपक्ष सत्य भएको नयाँ कथ्य दिनुभएको छ ।
विद्रोह थालनीको ५० वर्ष पारेर स्वर्ण वर्ष समारोह आयोजना गराई त्यहाँ विद्रोहमा संलग्न व्यक्तिलाई वक्ताका रूपमा बोल्न लगाएर तिनका टिपोट सारेको जस्तो गरेर लेखकले पहिले नै तिनै वक्ता भनिएकासँग गरेको कुराकानीको प्रस्तुति नै प्रस्तुत उपन्यासको रूप हो । विद्रोहमा संलग्न ठुलो र सानो दुर्गा अधिकारी, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, केपी (खड्गप्रसाद) शर्मा ओली, सिपी (चन्द्रप्रकाश) मैनाली, नरेश खरेल, लीला उदासी, नारद भारद्वाज र उहाँका दाजु खडानन्द वाग्ले, भीष्म धिमाल, गौरा प्रसाइँ, (आन्दोलनमा महिलामा खासगरी गौरा, सीता खड्का र …लागेका रहेछन् ।), मनकुमार गौतम, अमर कार्की, मानकुमार तामाङ, मारिने धर्मप्रसादका जेठा छोरा खगेन्द्र, घनेन्द्र बस्नेत, खड्गप्रसाद दहाल, दधिराम उप्रेती, तिलविक्रम ढकाल, रामनारायण चौधरी, नारायणप्रसाद तिवारी, हर्कबहादुर खड्का, युवराज विमली, केशवकुमार बुढाथोकी, भारत, नक्सलवाडीका निमुसिं अर्थात् राजन राजवंशी, मङ्गल मर्डी, लेखनाथ भट्टराई, कृष्ण बराललगायत ३० जनाभन्दा बढी व्यक्तिसँग भेटी औपन्यासिक रूप दिनु चानचुने कुरा होइन । मुख्य वक्ताका भनाइलाई सच्याउने तथा थपथाप गर्ने क्रममा केही वक्ता पनि नाटकीय पाराले थपिएका छन् जसले पाठकलाई कुनै वक्ताको पट््यारलाग्दो कथन पढ्दा पढ्दा  झिँजो लाग्नबाट बचाउँछ । वक्तामध्ये धेरैले हिजोको त्यो भूमिगत आन्दोलनमा संलग्न भई पार्टी बनाउने र बचाउनेहरूको मूल्याङ्कन नभएको तथा तिनको वर्तमान र भविष्य अन्धकार बनेको, दलभित्र अवसरवादी र पुँजीवादीले निर्बाध प्रवेश पाएको, कोही विद्रोहीले त मन्दिर बनाएर आफू पुजारीसमेत बनेको अनौठो र अपत्यारिलो घटना पनि सुनाएका  छन् । गोरु व्यापारी ज्ञानबहादुर कार्कीका हत्यामा संलग्न ठुलो दुर्गा अधिकारीले त यतिसम्म भने, “ यतिखेर लाग्छ–विद्रोह त कसैको पद, प्रतिष्ठा र बेपारका लागि भुइँमान्छे प्रयोग भएर लडिदिने युद्ध त रहेछ ।”
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको भनाइ चाहिँ “राजनीतिमा जनता मार्न सत्तापक्षले हतियार प्रयोग गर्छ भने त्यसको प्रतिवादमा हतियार जायज हुन्छ । तर, शान्तिपूर्ण अवस्थामा अनावश्यक हतियार प्रयोग जायज ठहर्दैन भन्ने हाम्रो त्यतिखेरको तर्क हो” भन्ने छ जुन कुरा माओवादी आन्दोलनसँग विमति राख्ने उहाँका अचेलका बेला बेलाका भनाइसँग मेल खान्छन् । तैपनि व्यक्तिहत्यामा नेतृत्वले प्रश्रय दिएको कुरा लेखकले केही नामै किटेर लेखिदिनाले उहाँहरूलाई अप्ठेरो पर्न सक्छ ।
लेखकले विद्रोहका क्रममा पक्राउ परेकाहरू राखिएको ललितपुरस्थित नख्खु कारागारभित्र  आठ–दस फिट गहिरो र ६५ फिट लामो सुरुङ खन्दा निस्केको माटो कहाँ कसरी व्यवस्थापन गरियो त भन्ने प्रश्न गर्दै यसमा सुरक्षाकर्मीले थाहै नपाएको कुरामा विश्वास गर्नुहन्न र  सरकारले नै बन्दीलाई भाग्न मद्दत गरेको स्वतन्त्र विश्लेषक कृष्ण बरालमार्फत भन्न लगाउनुभएको छ । सबै वक्ताका भनाइ प्रस्तुत भइसकेपछि त्यसको विश्लेषणका लागि जिम्मा दिइएका साहित्यकार तथा पत्रकार बराल घटनामा पञ्चायती सरकार सहयोगी थियो भन्ने कताकति देखाउन खोज्नुभएको छ । यो चाहिँ विवादकै कुरा हो किनकि  तत्कालीन बागमती अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठलाई भने जेलरले विद्रोहीहरुले खरायो पालेको र तिनले नै खनेको हुन सक्ने भनी आफूहरू चुप लागेको स्पष्टीकरण दिएको कुरा उहाँको हालै प्रकाशित कृति ‘सूर्यास्त विम्ब (आत्मकथा)’ मा पढ्न पाइन्छ ।
नेपालको वामपन्थी एवं प्रजातान्त्रिक आन्दोलनको मार्ग नै मोडिदिने उक्त घटनाका प्रत्यक्ष साक्षी तथा सहभागीबाट नै सो अभियानको समग्र इतिहास लेखिनुपथ्र्याे ।  सोका अभावमा पत्रकार–साहित्यकार भट्टराईले जोखिम मोलेर त्यसलाई उजागर गर्ने जोखिम लिनु चानचुने कुरा होइन । हिंसालाई परिवर्तनको माध्यम ठानेको र उग्रवादलाई अपनाएको झापाली समूह पछि मनमोहन अधिकारीले नेतृत्व गरेको समूह (दल)सँग एकीकृत भएपछि शान्तिपूर्ण मार्गमा आएपछि झनै उपलब्धि हासिल भएको कुराको नालीबेली २८ सालका आन्दोलनकारीबाट राम्रोसँग आएको भए २०५२–२०६२ को सशस्त्र द्वन्द्वको घटना नै हुँदैनथ्यो कि ? वक्ता प्रायः सबैले व्यक्ति हत्या गलत थियो भनी स्विकार्नुले आगामी दिन अहिंसा र शान्तिमार्गबाट नै नेपाल हिँड्नुपर्ने सन्देश पनि दिन्छ । अनि वर्तमान गणतन्त्रको बीउ रोपाइँ र उपलब्धिमा भने दुवै घटनाको ठूलो भूमिका थियो भने चाहिँ ठोकुवा गर्न सकिन्छ । सो घटनाका पात्रमध्ये केहीले राजकीय पदहरू पाएको र अथाह सम्पत्तिको मालिक बनेको तर कसैको टाउको लुकाउने एक धुर जमिन पनि नभएको कुरा कोट्याएर लेखकले निरीह कार्यकर्तालाई नेतृत्वले ध्यान दिओस् भन्नेतर्फ पनि ध्यानाकर्षण गराउनु सकारात्मक पक्ष हो ।
कृतिमा एकै प्रकारका घटनालाई पनि विभिन्न वक्तामार्फत दोहो¥याइ–तेहे¥याइ प्रस्तुत गरिएकाले कृति अनावश्यक रूपले ४४० पृष्ठको मोटो हुन पुगेको छ  । हुन त वक्ताको भनाइमा राखिए पनि आफ्नो थर नलेख्ने पुष्पलालका नाममा श्रेष्ठ पनि राखिएको, राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको जन्म २०३५ सालतिर भएकामा एक वक्ताले २८ सालमा देखाएको, एक ठाउँमा सुखानी काण्ड फागुन ११ गते परेको, लडाकु समूह ‘स्क्वाड’ हुनुपर्नेमा ‘स्क्वार्ड’ भएको तथा रामनाथको थर प्रायः दाहाल लेखिने भए पनि दहाल, हताहत हुनुपर्नेमा हताहती, कतै अश्वत्थामा हुनुपर्नेमा अवश्वत्थामा, वृत्तिविकास  हुनुपर्नेमा वृद्धिविकास, गर्त हुनुपर्नेमा गर्व लेखिएको, राजन राजवंशीको भनाइ उहाँले बोल्ने लवजमा नआएको जस्ता केही कमजोरी लेखनमा देखिएको  छ ।
कृति पढ्दा औपन्यासिक अंश कम र घटना विवरण बढी भएको भान पनि पाठकलाई पर्छ । घटनाका साक्षी तथा सहभागी त्यतिका वक्ताले विद्रोहका बारे बेलिबिस्तार लगाइसकेपछि लेखकले पाठकलाई नै त्यसप्रति हेर्ने दृष्टिकोण आफैँ तय गर्न छाडेको भए हुन्थ्यो । राजनीतिमा रुचि राख्ने अझ वामपन्थीले त आफ्नो इतिहासको ज्ञान बढाउन पनि निकै तथ्यतथ्याङ्क मिसिएको प्रस्तुत उपन्यास पढ्नैपर्नै हुुन्छ र नेपालको समग्र तथा वाम–प्रजातान्त्रिक आन्दोलनको इतिहासको सच्चाइलाई मर्न नदिन बहस चलाइराख्नुपर्छ ।

विषादी प्रयोगबारे सचेत बन्दै किसान

0

टीकापुर (कैलाली): रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले कैलालीका किसान जैविक विषादीको प्रयोग गर्न थालेका छन् । कैलालीका किसानले रोग कीरा नियन्त्रण गर्न रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् ।

विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयो गर्ने किसान आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि सचेत बन्न थालेका छन् । तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल आजभोलि घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको बताउनुहुन्छ ।

“बाली बिरुवामा विनाशकारी कीरा, सुलसुले, जुका, चिप्लेकीरा, शङ्केकीरा, मुसा, चरा, अवान्छित झार तथा रोग सार्ने सूक्ष्म जीवाणु ढुसी, ब्याक्टेरिया, भाइरसलगायतको समस्या रहन्छ”, उहाँ भन्नुहुन्छ, “विगतमा यी प्राणीलाई नाश गर्न रासायनिक विषादी प्रयोग गर्ने गरिन्थ्यो, आजभोलि घरमै बनाएर जैविक विषादी प्रयोग गर्ने गरेका छौँ ।”

गोदावरी–४ खैरानाकी रेश्मीदेवी चौधरीले रोग कीरा लाग्यो की आफ्नै घरमा बनाएको जैविक विषादी प्रयोग गर्नुहुन्छ । “रासायनिक विषादीले गर्ने असरबारे जानकार थिइनँ, त्यसैले जथाभावी प्रयोग गरिरहेकी थिएँँ”, रेश्मीदेवीले भन्नुभयो, “आजभोलि विषादी प्रयोगबारे सचेत भएकी छु । विषादी प्रयोगमा सावधानी नअपनाएमा वा उचित रुपमा उपयोग नगरिएमा यसले उपयोगकर्ता, मानिस, घरपालुवा पशु, वन्यजन्तु र लाभकारी कीरालाई समेत हानी पु¥याउँछ भनेर घरमै बनाएको विषादी प्रयोग गर्न थालेकी हुँ ।”

किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर कीरा नियन्त्रण गर्ने अभ्यास गरिरहेका छन् । यसले पनि बारीमा लगाएको बाली बचाउन सकिने उनीहरु बताउँछन् ।

“जैविक विषादी तथा विभिन्न किसिमका पासोहरु थापेर कीरा नियन्त्रण गर्न सकिएन भने मात्र अलिकति रासायनीक विषादी प्रयोग गर्छौं, नभए गर्दैनौँ”, चुरे गाउँपालिका–३ काफल गैराका तेजबहादुर बोहराले भन्नुभयो, “जैविक विषादी प्रयोग गर्नु मानव स्वास्थ्यका लागि राम्रो हो । लामो र स्वस्थ जीवनका लागि जैविक विषादीको प्रयोग गर्नुपर्छ ।”

जैविक विषादी खर्चका हिसाबले पनि राम्रो, मानव स्वास्थ्यलाई पनि हानी नगर्ने हुँदा जैविक विषादी प्रयोग गर्ने गरेको काफल गैराकै किसान मीनबहादुर शाहीको भनाइ छ । “मोहनी पासो र फेरोमन ट्रयापलगायतका प्रविधि कीरा नियन्त्रणमा प्रयोग गरिरहेको छु”, उहाँले भन्नुभयो, “तरकारीमा किसानले नजानेर धेरै विषादी प्रयोग गर्ने रहेछन्, यसबाट मानव स्वास्थ्य सङ्कटमा पर्छ ।”

सहजपुरका किसान डबलबहादुर खडायत पनि २०५८ सालदेखि तरकारी तथा फलफूल खेती गरिरहनुभएको छ । उहाँले पहिले तरकारी तथा फलफूल खेतीमा रोग, कीरा लागेमा रासायनिक विषादी किनेर प्रयोग गर्नुहुन्थ्यो । तर अहिले उहाँले जैविक विषादीबाहेक आफ्नो बारीमा अरु विषादी प्रयोग गर्नुहुन्न ।

“घर वरिपरि पाइने झारपातको प्रयोग गरेर विषादी बनाउँछु”, उहाँ भन्नुहुन्छ, “गाउँघरमा अहिले किसानले रासायनिक विषादी प्रयोग गर्न थाले यो नराम्रो हो भनेर सिकाउन समेत थालेको छु । रासायनिक विषादी प्रयोगले फाइदाको साटो बेफाइदा गरिरहेको छ ।”

कैलालीको चुरे गाउँपालिकाले पनि रासायनिक विषादीको साटो जैविक विषादी प्रयोगमा किसानलाई प्रोत्साहन गरिरहेको छ । जैविक विषादीबारे पालिकाका सबै किसान जानकार भएमा सहज हुने चुरे गाउँपालिका कृषि शाखा प्रमुख दीपक पाण्डे बताउनुहुन्छ । रासायनिक विषादीका असर धेरै रहेकाले किसानलाई सचेत गराउन थालिएको उहाँ बताउनुहुन्छ ।

“पालिकाले रासायनीक विषादीको साटो जैविक विषादीमा जोड दिइरहेको छ । जैविक विषादीको फाइदा धेरै भएकाले यसको प्रयोग बढाउन किसानलाई सुझाव छ”, प्रमुख पाण्डे भन्नुहुन्छ, “जैविक विषादी शत्रुजीवलाई मार्न प्रयोग गरिने जैविक वस्तु हुन् । जैविक वस्तुमा विभिन्न उपयोगी जीव, मित्रजीव एवं सूक्ष्म जीवहरू पर्नुका साथै विभिन्न जीव तथा वनस्पतिको तत्व, उत्पादन वा सक्रिय तत्वहरू मिसाएर बनाइन्छ ।”

प्रमुख पाण्डेका अनुसार जैविक विषादी वातावरण मैत्री र वातावरणीय पक्षबाट स्वस्थ हुने गर्दछ र एकीकृत शत्रुजीव व्यवस्थापनको महत्वपूर्ण अंश मानिन्छन् । कृषि बाली उत्पादन गर्दा र भण्डारणमा देखिने रोग कीरा नियन्त्रण गर्न सम्भव भएसम्म रासायनिक विषादीको विकल्प खोज्नुका साथै विषादीबाट स्वास्थ्यमा हुने अल्पकालीन र दीर्घकालीन असर न्यून गर्न सचेत हुनुपर्छ ।

सट्टेबाजीमार्फत रु दुई अर्बभन्दा बढीको कारोबार गर्ने पक्राउ

0

काठमाडौँ: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका–८ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुङ्गाना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “ढुङगानाले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको र निजले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ ।”

यसैगरी निजसँग विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंकमा हालसम्म रु दुई अर्ब एक करोड १८ लाख ४४ हजार कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताउनुभयो ।

बिनान्समार्फत दुई वटा खाता प्रयोग गरेर विभिन्न दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म नेपाली रु एक अर्ब ३४ करोड कारोबार गरेको भेटिएको जानकारी दिइएको थियो ।

दलहरूबीच सहमति भइ सदन नियमित सञ्चालन हुन्छः प्रधानमन्त्री

0

चितवन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ । पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको आज भएको भेटमा प्रधानमन्त्री दाहालले राजनीतिक दलहरूबीच अनौपचारिक एवं औपचारिकरूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताउनुभयो ।

“सदनको गतिरोध अन्त्य भइसकेको छैन”, उहाँले भन्नुभयो, “आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।” सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टीकाटिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “सरकारको स्थीरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।”

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकाङ्क्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ । “आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ”, उहाँले भन्नुभयो, “कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।”

सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उहाँले कृषिमा आधारित उद्योगको प्रवद्र्धनमा जोड दिइने बताउनुभयो । भ्रष्टाचार नियन्त्रणमा सरकारले अभूतपूर्व काम गरेको बताउँदै प्रधानमन्त्री दाहालले ललिता निवासको एक सय ४३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको जानकारी समेत दिनुभयो ।

 

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

0

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको छ । उहाँले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गर्नुभएको हो ।

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । उहाँलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।