Monday, May 11, 2026
Home Blog Page 809

दुई करोड पचास लाखमा निर्मित ‘स्केटिङ पार्क’ सञ्चालनमा

0

नवलपरासी: पश्चिम नवलपरासीको सदरमुकाम परासीमा पहिलोपटक स्केटिङ पार्क सञ्चालनमा आएको छ। करिब रु दुई करोड ५० लाखको लागतमा पार्क निर्माण गरिएको रामग्राम स्केटिङ पार्कका सञ्चालक किरण खनालले राससलाई बताउनुभयो ।

रामग्राम नगरपालिका वडा नं.१ परासीमा आठ हजार पाँच सय वर्गफिट क्षेत्रफलमा बनेको स्केटिङ पार्क लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो भएको बताइएको छ ।
रामग्राम स्केटिङ पार्कमा सुरुमा स्केटिङ सञ्चालन गर्ने तथा केही समयपछि मेसिनबाट मसाज सेवा, स्नुकर, गन गेमलगायत सुविधा गरिने छभने स्केटिङमा सहभागी हुने सबैको स्वास्थ्य बिमा गरिने सञ्चालक खनालले जानकारी दिनुभयो ।

परासी तथा आसपासका क्षेत्रका लागि नयाँ खेलको रुपमा स्केटिङ पार्कको निर्माण भएपछि यस क्षेत्रका युवा खेलप्रति आकर्षित भएका छन् । पार्कमा सुविधासम्पन्न पूर्वाधारमा खेल सञ्चालन हुने सञ्चालक खनालले बताउनुभयो ।

पचास वर्षअघि अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ संसारभर फैलिएको बताइन्छ । यो नेपालमा पनि युवावर्गमा लोकप्रिय बन्दै गएको छ । देशका प्रमुख सहर काठमाडौँ, पोखरा, बुटवलका साथै चितवन र नवलपरासीको बर्दघाटमा पनि यो खेल सञ्चालन हुँदै आएको छ ।

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने

0

काठमाडौँ: कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।

त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकताप्राप्त देश हो भन्नुभयो ।

नेकपा (एमाले) तनहुँको अध्यक्षमा कँडेल विजयी

0

दमौली (तनहुँ): नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार दुई सय ९२ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो ।

अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले दुई सय चार मत प्राप्त गर्नुभएको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिनुभयो । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी हुनुभएको छ ।

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए ।

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री

0

काठमाडौँ: उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको बताउँदै भौगोलिक निकटता धार्मिक, सांस्कृतिक र भाषिक सम्बन्ध; आर्थिक संलग्नता र दुई देशबीचका जनता–जनताबीच सघन रूपमा झाङ्गिएकोे सम्बन्ध नेपाल–भारत सम्बन्धका विशेषता हुन् भन्नुभएको छ ।

परराष्ट्र मन्त्रालयले पूर्वराजदूत तथा पूर्वपरराष्ट्र सचिव प्राध्यापक यदुनाथ खनालको सम्मानमा सुरु गरेको प्रवचनको तेस्रो शृङ्खलाको मङ्गलबार साँझ समापन मन्तव्य व्यक्त गर्दै उहाँले नेपाल–भारत सम्बन्ध प्रकृतिद्वारा पोषित, सांस्कृतिक आत्मीयताले बाँधिएको, व्यापक, बहुआयामिक र अतुलनीय रहेको बताउनुभयो ।

नेपाल–भारत सम्बन्धमा केन्द्रित रहेर आयोजित तेस्रो शृङ्खलाका प्रमुख वक्ता दक्षिण एसियाली अध्ययन प्रतिष्ठानका पूर्वनिर्देशक प्राध्यापक सी राजामोहनको सम्भाषणपछि परराष्ट्रमन्त्रीले भन्नुभयो, “तर दुई देशबीच इतिहासले छोडेका केही मुद्दा छन् जसलाई ऐतिहासिक तथ्यका आधारमा र असल छिमेकीको भावनाअनुरुप वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न आवश्यक छ । यसले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन मार्गप्रशस्त गर्नेछ, यसका लागि नेपाल सरकार प्रतिबद्ध छ ।”

द्विदेशीय सम्बन्ध सार्वभौम समानता, शान्तिपूर्ण सहअस्तित्व, सद्भावना, पारस्परिक विश्वास, समझदारीमा आधारित रहेको दोहोर्याउँदै मन्त्री श्रेष्ठले उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट सम्बन्धलाई सुमधुर बनाउन र धेरै क्षेत्रमा साझेदारी बढाउन मद्दत पुगेको बताउनुभयो । उहाँले द्विपक्षीय सम्बन्धका विविध क्षेत्रमा सहकार्य गर्न परामर्श संयन्त्र स्थापना गरिएको चर्चा गर्दै त्यस्ता संयन्त्रबाट आपसी सहयोग र साझेदारी बढाउन सहज भएको बताउनुभयो । पारस्परिक लाभका विविध क्षेत्रमा सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै उहाँले ऊर्जाको क्षेत्रको साझेदारी महत्वपूर्ण छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “ नेपालको जलविद्युत् उत्पादनको अथाह क्षमताको समुचित उपयोगले हाम्रो क्षेत्रको विकास परिदृष्यलाई स्वच्छ ऊर्जामा परिवर्तन गर्न सक्छ । व्यापार र पारवहनलाई सहज बनाउन सीमापार सम्पर्क सञ्जाल विस्तार भइरहेको छ । हामीले यो सञ्जाललाई थप विस्तार र सुधार गर्न आवश्यक छ ।”

दुवै देशले आपसी व्यापारलाई लाभदायक बनाउने उपाय खोज्नुपर्ने, नेपालको निर्यातको आधार सीमित भएकाले व्यापार घाटा बढ्दै गएको तथा भारत र अन्य देशसँगको व्यापार विस्तार गर्न उत्पादनशील क्षेत्रमा थप लगानी आवश्यक भएको बताउँदै मन्त्री श्रेष्ठले नेपालमा लगानी सुरक्षित र लाभदायक छ भन्नुभयो । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीबाट मनग्य रकम फिर्ता लगेका बताउँदै उहाँले नेपाल लगानीको आकर्षक गन्तव्य बनेको उल्लेख गर्नुभयो ।

सूचना प्रविधिको क्षेत्रमा पनि नेपाल र भारतबीच सहकार्यका प्रशस्त सम्भावना रहेका बताउँदै परराष्ट्रमन्त्रीले युवा जमातलाई यसतर्फ आकर्षित गर्न शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।

नेपालको विकास र आर्थिक समृद्धि पनि छिमेकीको हितमा हुने बताउँदै उहाँले शान्तिपूर्ण छिमेक नेपालको चाहना हो भन्नुभयो । नेपालको समृद्धिका निम्ति छिमेकी र अन्तर्राष्ट्रिय समुदायको सहयोग अपरिहार्य भएको बताउनुभयो । उहाँले प्राध्यापक मोहनको व्यावहारिकतामा आधारित भारत–नेपाल सम्बन्ध फलदायी हुने सुझाव मननीय छ भन्नुभयो ।

प्राध्यापक मोहनको नेपाल र भारतका विश्वव्यापी चुनौती समान रहेका तथा दुवै देशले तिनको सामना गरिरहेका बताउनुभयो । उहाँले विशाल राष्ट्रका शक्तिको द्वन्द्वबाट साना देशहरू प्रभावित भएका बताउँदै राजनीतिक नेतृत्वले त्यसको निदान सावधानीपूर्वक खोज्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ र नयाँ दिल्लीले बेइजिङबाट सिक्नुपर्ने विचार व्यक्त गर्दै उहाँले चीनले आवश्यकताअनुसार रुस र अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाएको बताउनुभयो । अहिले बेइजिङको सम्बन्ध वासिङ्टनसँग चिसिएको भए पनि मस्कोसँगको सम्बन्ध सुदृढ रहेको वास्तविकता सुनाउनुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले क्षेत्रगत ज्ञान अभिवृद्धि, देशको विद्यमान परराष्ट्र नीति र अभ्यासकाबारे विद्वत् वर्गसँग बहस गर्न यस प्रकारको प्रवचन आयोजना गरिएको बताउनुभयो ।

नेपालको बाह्य सम्बन्ध विस्तारमा योगदान गरेबापत सरदारको पदवि पाउनु खनाल दुई कार्यकाल परराष्ट्र सचिव तथा चीन, भारत तथा संयुक्त राज्य अमेरिकामा राजदूत भएर राष्ट्रसेवा गर्नुभएको थियो । मुलुकका ख्यातिप्राप्त कूटनीतिज्ञ प्राध्यापक खनालको नाम र सम्मानमा परराष्ट्र मन्त्रालयले यो प्रवचन शृङ्खला सुरु गरेको हो ।

सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : प्रमुख प्रतिपक्षी कांग्रेस

0

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो पार्टीका नेता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको भनाइ र गराइमा आकाश जमिनको फरक रहेको टिप्पणी गर्नुभयो । “ सरकारको भनाइ एकातिर छ, गराइ ठीक उल्टो छ । त्यसैले यो नीति तथा कार्यक्रम कार्यान्वयन हुन्छ भन्नेमा रतिभर विश्वास छैन ।”

सोही पार्टीका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आशा जगाउने कुनै पनि विषयवस्तु नआएको जनाउनुभयो । “यो परम्परागत छ । यसमा नयाँ उत्साह छैन । महत्वपूर्ण कुरा छुटेका छन् । विश्वव्यापी आर्थिक सङ्कटबाट परेको मारबाट मुलुकलाई माथि उठाउने ठोस नीति छैन । जनचासोका रुपमा रहेको सहकारी ठगीका कुरा पनि आएन”, नेता कार्कीले भन्नुभयो ।

‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै आयो : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममा ‘हुन्छ र गरिनेछ’ भन्ने कुरा मात्रै सीमित रहेको जिकिर गर्दै रोजगारी दिने र कृषि प्रविधिलाई प्राथमिकता दिने नीति नभएको प्रतिक्रिया दिनुभयो ।

नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुपर्छ : गृहमन्त्री लामिछाने

0

काठमाडौँ: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारको नीति तथा कार्यक्रममा नयाँ विषय समावेश भएको बताउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज प्रस्तुत नीति तथा कार्यक्रमको टिप्पणी गर्दै उपप्रधान एवं गृहमन्त्री लामिछानेले यसमा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै धेरै नयाँ विषय समावेश भएको बताउनुभएको हो ।

“विभिन्न मन्त्रालयअन्तर्गत नयाँ कुरा राखिएको छ । यसको अर्थ पुराना कुरा छैनन् भनेको हैन, कतिपयको निरन्तरता छ । तर धेरै विषय नयाँ आएका छन । मूल कुरा यी सबै कार्यान्वयन गर्नेमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले गृहसँग सम्बन्धित नीति तथा कार्यक्रममा केही नयाँ विषय उल्लेख भएको जानकारी दिनुभयो । उहाँले सबै तहका प्रहरी कर्मचारीको सेवानिवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने नयाँ विषय यस पटक समेटिएको बताउनुभयो । यस्तै खुला कारागार सञ्चालन र राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवा सुविधासँग आबद्ध गरिनेलगायतका विषय नयाँ भएको उल्लेख गर्नुभयो ।

यस्तै गाँजाको औषधीजन्य प्रयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानुनी प्रबन्ध गरिने विषय नयाँ भएको उहाँको भनाइ छ ।

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन

0

काठमाडौँ: अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र त्यसलाई कार्यान्वयन हुने गरी बजेट आउने बताउनुभएको छ ।

नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहँदै अर्थमन्त्री पुनले यसपटक विगतमा झैँ नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिल्ने समस्या नरहने स्पष्ट पार्नुभयो ।

“विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने गुनासो आउँथ्यो यसपटक त्यस्तो हुँदैन”, अर्थमन्त्री पुनले भन्नुभयो, “अहिले नीति तथा कार्यक्रम जे आएको छ, राम्रो आएको छ । यसैलाई समर्थन गर्ने गरी बजेट आउँछ र त्यो बजेटमार्फत यसको कार्यान्वयन हुन्छ ।”

नीति तथा कार्यक्रम उत्साहप्रद : एमाले

0

काठमाडौँ: सत्तारुढ नेकपा (एमाले) का नेता एवं सांसदहरुले सरकारको नीति तथा कार्यक्रम समग्रमा उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् ।

संसद्को आजको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सो दलका प्रमुख सचेतक महेश बर्ताैलाले नीति तथा कार्यक्रम समग्रमा उत्साहप्रद रहेको र कतिपय राम्रा कार्यक्रम उल्लेख भएको बताउनुभयो ।

“युवालाई रोजगारीसँग जोड्ने र खेतीयोग्य जमिनलाई उपयोगको नीतिलाई प्रोत्साहित गरेको छ । विदेशबाट फर्किएका युवालाई उद्योगमा जोड्ने कार्यक्रम ल्याइएको छ”, बर्ताैलाले भन्नुभयो, “छोरीहरुलाई सशक्तीकरण कार्यक्रम ल्याइएको छ । यी कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट आउँछ या आउँदैन भन्ने सवाल छ ।” उहाँले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई लामो समयसम्म सदनमा अवरोध नगर्न पनि आग्रह गर्नुभयो ।

यसैगरी एमालेका सचिव योगेश भट्टराईले सरकारको आगामी आवको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा आफ्नो पार्टीको साथ रहने बताउनुभयो । सांसद भट्टराईले हरेक नीति तथा कार्यक्रमको जोखिम यसको प्रभावकारी कार्यान्वयनमा हुने भएकाले कार्यान्वयनमा जोड दिनसकिए प्रस्तुत कार्यक्रम सकारात्मक सावित हुने टिप्पणी गर्नुभयो ।

नीति तथा कार्यक्रम : पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता

0

काठमाडौँ: सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई बालविकासदेखि कक्षा ८ सम्मको आधारभूत शिक्षा प्राप्तिको सुनिश्चितता गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई वैकल्पिक अनौपचारिक शिक्षा प्रदान गरिने उल्लेख गरिएको हो । हाल आधारभूत तहमा बालबालिकाको खुद भर्ना दर ९६ दशमलव १ प्रतिशत रहेको छ ।

शिक्षा प्रणालीमा परिमार्जन गर्ने लक्ष्य लिएको यस नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकबाट नयाँ पुस्ताका बालबालिका तथा युवा वर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण गर्न आवश्यक प्रबन्ध गरिने भनिएको छ । विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण सिकाइको असमानता कम गर्न र गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गर्न ‘एक पालिका एक स्मार्ट विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याइने भएको हो । विगतका नमूना विद्यालय कार्यक्रम भने रुपान्तरण भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्यालय तहको पाठ्यक्रममा पुनरावलोकन गरिने उल्लेख थियो । चालु आर्थिक वर्षमा रहेका ‘पढ्दै कमाउँदै’, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, शिक्षक दरबन्दी थप कार्यक्रमले यस वर्ष निरन्तरता पाएन ।

नीति तथा कार्यक्रममा विद्यालय सञ्चालन, शिक्षक व्यवस्थापन, मौलिक भाषा तथा संस्कृति प्रवर्द्धनलगायतका विषयमा नमुना कानून, निर्देशिका तथा कार्यविधि तयार गरी स्थानीय तहलाई सहजीकरण गरिने उल्लेख छ । राष्ट्रिय पाठ्यक्रम ढाँचा परिमार्जन गरी शिक्षण सिकाइ क्रियाकलापमा सुधार गरिने, विद्यालयमा ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ प्रणालीलाई प्रोत्साहन गर्ने, ट्राफिक सचेतना, स्वस्थ जीवन, तत्काल उपचार विधि, वातावरण तथा सरसफाइ, विपद्बाट जोगिने उपायजस्ता दैनिक जीवनसँग सम्बन्धित विषयमा दस वर्षमाथिका विद्यार्थीलाई सम्बद्ध निकायसँगको सहकार्यमा सीप तथा प्रशिक्षण प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सरकारी कार्यप्रणालीको आधारभूत तालिम प्रदान गर्ने, शैक्षिक बिदामा बसेका विद्यार्थीलाई अनौपचारिक शिक्षा र सामुदायिक विकास कार्यमा सहभागी गराइने, सामुदायिक विद्यालयमा ‘करिअर काउन्सेलिङ कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ । यसैगरी नेपालमा शिक्षा हासिल गर्न आउने विदेशी विद्यार्थीलाई प्रवेशाज्ञा (भिसा) सहजीकरण गरिने भएको छ ।

अनुसन्धान, नवप्रवर्तन, व्यावसायिक शिक्षा र उद्यमशीलतालाई उच्च शिक्षाको अनिवार्य अङ्ग बनाइने भएको छ । नेपाललाई उच्च शिक्षाको अन्तर्राष्ट्रिय केन्द्र बनाउन स्वदेशका विश्वविद्यालयको शिक्षालाई गुणस्तरीय तुल्याउने र विदेशबाट आउने विद्यार्थीलाई आवश्यक सहजीकरण गर्न सरकारले प्रवेशाज्ञा दिने विषयमा सम्बोधन गरेको हो ।

नेपालले हालसम्म विद्यार्थी प्रवेशाज्ञाको व्यवस्था नगरेकाले यसबारे नीतिगत स्पष्टताको माग हुँदै आएको थियो । शैक्षिक परामर्श क्षेत्रका संस्थाहरुलाई पनि नेपाली विद्यार्थी विदेश पठाउन मात्र नभइ विदेशी विद्यार्थी नेपालमा ल्याउन काम गर्न दबाब सिर्जना हुँदै आएको थियो ।

निजी क्षेत्रको साझेदारी र सहकार्यमा मानव पूँजी उत्पादन, उपयोग र पलायनको यथार्थ अवस्थासहितको वास्तविक समयमा आधारित विद्युतीय प्रणाली विकास गरी जनशक्ति व्यवस्थापन गरिने उल्लेख गरिएको छ । सार्वजनिक, निजी र सम्बद्ध क्षेत्रको सहकार्यमा ‘बुटक्याम्प मोडल’ कार्यक्रम सञ्चालन गरी तत्काल आवश्यक जनशक्ति उत्पादन गरिने उल्लेख छ ।

समान प्रकृतिका पाठ्यक्रममा आधारित भिन्न विश्वविद्यालयका शैक्षिक उपाधिको समान स्वीकार्यता कायम गर्न नीतिगत तथा संरचनागत प्रबन्ध गरिने, सार्वजनिक निकायबाट गरिने अनुसन्धान विश्वविद्यालय लगायतका प्राज्ञिक तथा अनुसन्धानमूलक संस्थामार्फत हुने व्यवस्था मिलाइने र यस्ता अनुसन्धानका निष्कर्ष अनिवार्यरूपमा सम्बद्ध निकायमा प्रस्तुत गरी प्रणाली सुधारमा उपयोग गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी पाठ्यक्रम तयार गर्ने विधि परिमार्जन गर्ने, श्रमबजारको मागको आधारमा राष्ट्रिय दक्षता मापदण्ड निर्माण गर्ने र प्राविधिक शिक्षालयको सञ्चालन तथा व्यवस्थापन प्रदेश तहबाट हुने प्रबन्ध मिलाउने सङ्कल्प पनि गरेको छ ।

सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रमको नक्साङ्कन गरी पुनःसंरचना गर्ने, विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने, विभिन्न क्षेत्रमा सीप विकासका लागि दस कक्षा उत्तीर्ण विद्यार्थीका लागि विशेष कार्यक्रम लागु गर्ने सरकारको योजना रहेको छ ।

शैक्षिक तालिम केन्द्रको क्षमता वृद्धि गरी शिक्षकको क्षमता र शैक्षिक गुणस्तर बढाइने, शिक्षकलाई छात्रवृत्ति तथा नेतृत्व विकासका अवसर प्रदान गरी शिक्षण पेशालाई थप गुणस्तरीय, आकर्षक र मर्यादित बनाइने, शिक्षकको सरुवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन, तालिमलगायतका विषयको वस्तुपरक जानकारी दिने नीति तथा कार्यक्रममा छ ।

यसैगरी, एकीकृत विद्युतीय प्रणाली विकास गरी सञ्चालनमा ल्याइने, शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने, माध्यमिक विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभावपूर्ति गर्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्याङ्कनसहितको शिक्षण इन्टर्नसीपमा पठाउने प्रबन्ध गरिने जनाइएको छ । शिक्षाशास्त्र सङ्कायबाहेकका सम्बन्धित विषयमा न्यूनतम योग्यता हासिल गरी अध्यापन तालिमप्राप्त जनशक्तिलाई शिक्षक सेवामा प्रवेश गर्नपाउने व्यवस्था गरिने, शैक्षिक वातावरण र गुणस्तर सुधारका लागि अवकाश प्राप्त शिक्षक तथा कर्मचारीको ज्ञान, सीप र अनुभवको उपयोग गरिने सरकारी, सामुदायिक तथा संस्थागत शिक्षालयका प्राध्यापक, शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्थाको पूर्ण कार्यान्वयन गरिने जनाइएको छ ।

वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका कार्यक्रम कार्यान्वयन गर्न विश्वविद्यालय, विद्यालय, अनुसन्धानकर्ता र वैज्ञानिकलाई परिचालन गर्नुका साथै यस कार्यमा गैरआवासीय नेपालीलाई सहभागी हुन आह्वान गरिने सरकारको तयारी छ । यसैगरी, विज्ञान, सञ्चार तथा सूचना प्रविधि विषय समेट्ने गरी विश्वविद्यालयको पाठ्यक्रम परिमार्जन गरिनेछ । अनुसन्धान र नवप्रवर्तनबाट विकसित ज्ञान र उत्पादनको पेटेण्ट दर्ता गर्न र उत्पादनलाई बजारमा पु¥याउन सहजीकरण गरिने उल्लेख छ ।

“सहिद प्रतिष्ठान नेपालसम्बद्ध पाँच विद्यालयलाई केन्द्रीय रूपमा एउटै छाताभित्र सञ्चालन गरिनेछ । सबै प्रदेशमा एक एक विद्यालय हुने गरी थप दुई यस्ता विद्यालय स्थापना गरिने र विद्यालय तहको पाठ्यपुस्तक समयमै छपाइ र ढुवानी हुनेगरी सम्बद्ध निकायको क्षमता वृद्धि गरिनेछ । विद्यालय तहका पाठ्यपुस्तकको मूल्यमा एकरूपता कायम गरिने छ ।’’, नीति तथा कार्यक्रममा भनिएको छ, “सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन सय शैय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम यसै वर्ष सञ्चालनमा ल्याइनेछ । उदयपुर, मोरङ, पर्सा, चितवनलगायत देशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चालनका लागि आवश्यक तयारी गरिनेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि चिकित्साशास्त्र सङ्कायको स्नातक तहको कक्षा सुरु गरिनेछ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत अस्पताल सञ्चालनको तयारी गरिनेछ ।’’

यसैगरी, स्थानीय उत्पादनको उपयोग हुनेगरी आधारभूत तहका विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय खाजा उपलब्ध गराउन दिवाखाजा कार्यक्रममा परिमार्जन गरिने, विपन्न लक्षित छात्रवृत्ति १२ कक्षासम्म विस्तार गरिने र प्राविधिक धारको उच्च शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न दलित लक्षित गरिब तथा जेहेनदार छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रम सकारात्मक : सत्ता पक्ष

0

काठमाडौँ: सत्ता घटकमा रहेका नेताहरूले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सकारात्मक भएको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत उक्त कार्यक्रमबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नवगठित जनता समावजादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकका लागि केही गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हुटहुटी यसले बोकेको बताउनुभयो । उहाँले यसमा धेरै विषयस्तु समेटिएकाले सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आशालाग्दो भएको र यसले अर्थतन्त्रलाई कसरी सुधार ल्याउने विषय प्राथमिकतामा राखेकाले यसको कार्यान्वयनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।