Monday, May 11, 2026
Home Blog Page 806

नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको होः मन्त्री शर्मा

0
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रमा फाइभ–जीलगायत नवीतम प्रविधि र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने गरी दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी नीति लागू गरिएको बताउनुभएको छ ।
विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा यहाँ आज आयोजित ‘नेपालमा दूरसञ्चारको दिगो विकास’सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले फ्रिक्वेन्सी लाइसेन्स ओगटेर राख्ने, राज्यलाई राजस्व नतिर्ने र काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फ्रिक्वेन्सी नीतिलाई परिमार्जन गरी जारी गरिएको फ्रिक्वेन्सी नीति, २०८० को कार्यान्वयनबाट आगामी साउन १ गतेदेखि प्रविधि तटस्थताको नीति लागू हुने  बताउनुभयो । यो परिवर्तनपछि राजस्वमा समेत उल्लेख्य वृद्धि हुने उहाँको विश्वास छ ।
“यसबीचमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली पनि संशोधन गरिएको छ, यसले सम्पत्तिको व्यवस्थापन गर्नुको साथै प्रयोग नभएको रेडियो फ्रिक्वेन्सी स्वतः फिर्ता हुने र सीमित प्राकृतिक स्रोतका रुपमा रहेको राज्यको महत्वपूर्ण सम्पत्ति रेडियो फ्रिक्वेन्सीको दुरुपयोग रोक्न नीतिगत व्यवस्था गरिएको छ”, सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो ।
सूचना तथा सञ्चार प्रविधि नीति, २०७२, दूरसञ्चार नीति, २०६० र ब्रोडब्याण्ड नीति, २०७१ लाई पुनरावलोकन गरी एकीकृत नीति तर्जुमा गर्ने कार्य भइरहेको उल्लेख गर्दै उहाँले ब्याण्डविथ खरिदलाई थप प्रतिस्पर्धी बनाउँदा नेपाल टेलिकमको मात्रै औसतमा वार्षिक रु डेढ अर्ब बचत हुने अवस्था सिर्जना भएको बताउनुभयो । सेवा प्रदायकको लागत कम हुँदै जाँदा उपभोक्ताले तिर्ने शुल्क घटाउँदै लैजान सकिने उहाँको विश्वास छ ।
हालै सार्वजनिक भएको नेपाल सरकारको नीति तथा कार्यक्रमबाट पनि हामीले प्राथमिकता र प्रतिबद्धता स्पष्ट गरेको बताउँदै उहाँले अब हरेक क्षेत्रमा डिजिटलाइजेसन गरेर मात्रै समृद्धि हासिल गर्न सकिन्छ भन्ने विश्वासका साथ नीति तथा कार्यक्रममार्फत आगामी दश वर्षलाई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिनुभयो । सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रका रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबको रूपमा विकास गर्ने घोषणा पनि गरेका बताउँदै उहाँले यो घोषणाको पूर्ण कार्यान्वयनका लागि सार्वजनिक डिजिटल पूर्वाधार पहिलो सर्त भएको उल्लेख गर्नुभयो ।
“त्यसका लागि गर्ने भनेको दूरसञ्चार क्षेत्रको विकास नै हो, यसका लागि सरकारले ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरी ब्रोडब्याण्ड सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाउने तथा सबै बस्तीसम्म द्रुतगतिको इन्टरनेट सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिक कार्यभारका रुपमा अघि सारेको छ, यसका लागि सबै सेवा प्रदायकलाई सही रुपमा परिचालन गर्दै सरकारलाई आफ्नो लक्ष्यमा पु¥याउन नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको महत्वपूर्ण भूमिका रहनेछ”, उहाँले भन्नुभयो ।
मन्त्री शर्माले सार्वजनिक डिजिटल पूर्वाधारको रुपमा रहेको दूरसञ्चार क्षेत्रको समयाअनुकूल विकासका लागि सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको  बताउँदै प्रधानमन्त्रीको नेतृत्वमा हामीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन प्रवद्र्धनलाई केन्द्रमा राखेर नीतिगत र कानुनी सुधारका काम गरिरहेको बताउनुभयो ।
“त्यसका केही सकारात्मक नतिजा पनि हामीले प्राप्त गर्न थालेका छौँ, हामीले सुशासनका पक्षमा लिएको अडान र नीतिगत सुधारका कारण राजस्वमा समेत वृद्धि हुन थालेको छ, गत आर्थिक वर्षमा कूल राजस्व रु सात अर्ब ९० लाख सङ्कलन भएकोमा चालु आर्थिक वर्षको १० महिनामा रु सात  अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो ।
यसबाट हामीलाई सुशासनका पक्षमा दृढतापूर्वक उभिंदा नजिता प्राप्त गर्न सकिन्छ भन्ने गहिरो विश्वास पैदा भएको मन्त्री शर्माको भनाइ थियो । “सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा लामो समयदेखि गुम्सिएर बसेका अनियमितताका घटनाहरु एकपछि अर्को गरी सार्वजनिक हुने र कहिलेकाही त यिनै विषय दैनिकजसो समाचार शीर्षक बन्ने अवस्थाले यो क्षेत्रमा सुशासनको निकै नै आवश्यकता छ भन्ने देखिन्छ”, उहाँले भन्नुभयो ।
सबैखाले अनियमितताका घटनाको छानविन र कारवाहीमा सरकार दृढतापूर्वक अघि बढ्दै जाँदा नेपालको दूरसञ्चार क्षेत्र सुशासनको दिशामा आउँदै गरेको महसुस भएको बताउँदै उहाँले सबैखाले अनियमिताको अन्त्य र सुशासनको प्रवद्र्धनले मात्रै दुरसञ्चार क्षेत्रलाई प्रभावकारी ढङ्गले अघि बढाउन सकिन्छ भन्ने विश्वास पैदा हुँदै गएको र त्यसले दुरसञ्चारको विकासमा नयाँ आयाम थप्ने सरकारको विश्वास रहेको बताउनुभयो ।
दुरसञ्चार क्षेत्रलाई थप सुरक्षित महसुस हुने गरी लगानीकर्तामैत्री नियामक वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको र समयानुकूल नीति, कानुन र संरचना निर्माण तथा यसको प्रभावकारी कार्यान्वयनमार्फत दूरसञ्चार क्षेत्रको दिगो विकास गर्न सकिने र त्यसका लागि सबै क्षेत्रबाट सहयोग प्राप्त हुने छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सम्मेलनबाट विद्यमान दुरसञ्चार बजारमा देखिएका चुनौती, दुरसञ्चार क्षेत्रको दिगो विकासका लागि नियमन सम्बन्धमा नेपाल सरकारबाट चाल्नुपर्ने कदम र नवीनतम दूरसञ्चार प्रविधिले प्रदान गरेका अवसरहरुको माध्यमबाट आम नागरिकको जीवनस्तरमा सुधार ल्याउन के गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट रणनीति तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दुरसञ्चार क्षेत्रमा देखिएका चुनौतीलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

भलिबल खेलाडीलाई सेनाको सहयोग

0

महेन्द्रनगर (कञ्चनपुर): नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो ।

कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित गरेर यहाँस्थित प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उहाँहरुलाई पढ्न सहयोग गर्दैआएको छ । खेलाडीको नियमित प्रशिक्षणका दौरान उहाँहरुको खानपिनको व्यवस्थापनमा सहयोग पुगोसो भन्ने उद्देश्यले यहाँस्थित सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक, रुद्रध्वज गण र श्रीदल गुल्मले चामल, तेल, मसला, बिस्कुटलगायतका सामाग्री सहयोग हो ।

श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथि मनोज थापाले उक्त सामाग्री भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बाहिनीपति सहायकरथि थापाले खेलाडीलाई अनुशासित, लगनशिल र मेहनतका साथ प्रशिक्षणमा लगाव राख्न तथा भलिबल खेलमार्फत विश्वर नेपाललाई चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेनाले यसअघि भलिबल प्रशिक्षण केन्द्रको भवन निर्माणदेखि विभिन्न प्रतियोगितामा समेत सहयोग र सहकार्य गर्दै आएको भलिबल प्रशिक्षक भट्टले बताउनुभयो । हाल प्रशिक्षण केन्द्रमा झण्डै एक सयको हाराहारीमा खेलाडी प्रशिक्षणरत छन् । पन्ध्र खेलाडी प्रशिक्षण केन्द्रमै बसेर अध्ययन तथा भलिबलको अभ्यास गर्दैआएका छन् ।

न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरीः प्रधानन्यायाधीश

0

काठमाडौँ: प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायापालिकालाई भरोसायोग्य बनाउनका लागि सबैको प्रयास जरुरी भएको बताउनभएको छ ।

नेपाल बार एसोसिएसनको आजदेखि सुरु १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटनमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रतिको जनआस्था वृद्धि गर्न छिटो र गुणस्तरीय न्याय भएको बताउनुभयो ।

“आम नागरिकको न्यायालयप्रति विश्वस्त हुन सक्ने वातावरण बनाउन जरुरी छ, आशङ्काहरुको निवारण गरी भरोसायोग्य न्याय हुनुपर्छ”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “सबैको पहुँचमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायापालिकाका लागि सबैको सहयोग आवश्यक छ ।”

प्रधानन्यायाधीश श्रेष्ठले विशेषगरी आम नागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामूलक कार्यसम्पादन अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। “अदालत र बार एसोसिएसन तथा न्यायाधीश र कानुन व्यवसायीहरूको भूमिका केही फरक रहे पनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति नै हो”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “आपसी सहकार्यलाई अझ सुदृढ बनाउन जरुरी छ ।”

उहाँले आगामी साउनदेखि लागू हुने गरी पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको र त्यसमा सुझाव दिन पनि नेपाल बारलगायत सम्बद्ध सबैमा आग्रह गर्नुभयो । प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ण राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भूमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले स्वतन्त्र न्यायापालिकाबिना कानुनी शासन सुदृढ नहुने उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेका अधिकार अहिले पनि निर्बाधरुपमा उपभोग गर्न नपाएको सुनाउनुभयो । बारले अहिले पनि न्यायपालिकाको सुधारका लागि आन्दोलन गरिरहेको र धेरै प्रश्नहरुको निरुपण र समीक्षा गर्नका लागि सम्मेलनको आयोजना गरेको उहाँको भनाइ थियो ।

न्यायापालिकाको पुनःसंरचना गर्नका लागि बारले नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । कानुन व्यवसायीको हकहितका लागि २०१३ सालमा नेपाल बार एसोसिएसनको स्थापना भएको थियो । विसं २०३४ देखि बारले सम्मेलन गर्न सुरु गरेको थियो ।

यही जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको उपस्थित छ । ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरु भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गर्नुभएको हो ।

नेपालको विकासमा रूसको ठूलो सहयोग छः उपप्रधानमन्त्री श्रेष्ठ

0

काठमाडौँ: उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो सहयोग रहेको बताउनुभएको छ ।

पूर्वसाेभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरुको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले नेपालको आर्थिक विकासमा रूसको सधैँ साथ र सहयोग रहँदै आएको बताउनुभएको हो ।

“नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारका क्षेत्रमा रूसको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,” उहाँले भन्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र रूसबीच पुरानो सम्बन्ध रहेकाले यसलाई झन् घनिष्ठ बनाउनका लागि यस्ता अल्मुनाईले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

परराष्ट्रमन्त्रीसमेत रहनुभएका श्रेष्ठले रूस र युक्रेनबीचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले रूसली मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रूस र नेपालबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “रूस र नेपालको मित्रतालाई मित्रकुञ्जले अगाडि बढाएको छ,” उहाँले भन्नुभयो ।

मित्रकुञ्जका संस्थापक अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता नीलाम्बर आचार्यले अल्मुनाईले दुई देशबीचको सांस्कृतिक आदानप्रदानका साथै दुई देशबीचको सम्बन्धलाई पुलको काम गरेको बताउनुभयो ।

नेपालबाट पूर्वसाेभियत सङ्घअन्तर्गतका विभिन्न देशमा गएर अध्ययन गरेका विद्यार्थीहरुको साझा संस्थाका रुपमा सन् १९६७ देखि मित्रकुञ्जलाई अगाडि बढाउँदै आइएको मित्रकुञ्जका अध्यक्ष महेशप्रसाद पाण्डेले जानकारी दिनुभयो । मित्रकुञ्जमा हाल एक हजार दुई सय सदस्य आबद्ध रहे पनि नेपालबाट रूस र पूर्वशोभियत सङ्घअन्तर्गत गएर पढ्ने विद्यार्थी भने सात हजारभन्दा बढी रहेको अध्यक्ष पाण्डेको भनाइ छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा रुसबाट नौ, पाकिस्तानबाट एक, मङ्गोलियाबाट चार, भारतबाट एक, चीनबाट सात, बङ्गलादेशबाट ३२, नेपालबाट एक सय ५०, भेनिनबाट एकजना प्रतिनिधिको सहभागिता रहेको मित्रकुञ्जका उपाध्यक्ष केशवराज विष्टले जानकारी दिनुभयो ।

मित्रकुञ्ज सम्मेलनका हस्पिटालिटी प्रमुख किशोर चापागाईंले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मित्रकुञ्जले काम गर्दै आएको बताउनुभयो । सो अवसरमा मित्रकुञ्जबाट प्रकाशित स्मारिकासमेत विमोचन गरिएको थियो ।

सबै दलको छलफलबाट राजनीतिक निकास आउँछः मन्त्री अर्याल

0

नेपालगन्ज: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताउनुभएको छ ।

रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिममा सहभागी हुन आज बाँकेको कोहलपुर आउनुभएका उहाँले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मात्रै निकास निकाल्न नसक्ने बताउनुभयो । उहाँले संवादबाट गतिरोधको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । सुसंस्कृत राजनीति गर्न भनेर आएको पार्टीले संसद्मा गरेको गतिविधि दुःखद भएको उहाँको भनाइ थियो ।

मन्त्री अर्यालले वैदेशिक रोजगारका लागि विभिन्न देशमा गएका र जेलमा भएका नेपालीका विषयमा गहन अध्ययन हुन लागेको उल्लेख गर्दै श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकका पक्षमा उद्धार, शव व्यवस्थापन, औषधो पचार गर्न वैदेशिक रोजगार बोर्ड गठन भएको बताउनुभयो । उहाँले श्रम स्वीकृति नलिई जाने कामदारका लागि मन्त्रालयले कुनै काम गर्न नसक्ने जानकारी दिनुहँुदै महिला कामदार विदेश जाने र असुरक्षा हुने विषय जटिल भएको उल्लेख गर्नुभयो ।

“वैदेशिक रोजगारीमा संस्थागत र व्यक्तिगत ठगी छ, यसलाई योजना बनाएर काम गनुपर्छ”, मन्त्री अर्यालले भन्नुभयो । मन्त्रालयका सचिव घनश्याम उपाध्यायले श्रमसँग सम्बन्धित श्रमाधान अभियान सञ्चालन हुन लागेको जानकारी दिनुभयो । उहाँले वैदेशिक रोजगारीका लागि मिटर ब्याजमा पैसा लिने समस्या चिन्ताको विषय भएको बताउनुभयो ।

विद्यालयमा विद्यार्थी शून्य, शिक्षक चार

0

ढोरपाटन (बागलुङ): सुनसान गाउँ, वरपर केही घर, चारैतिर बढ्दै गरेको झाडी । त्यही झाडी छेउमा दुई जीर्ण भवन छन् । खिया लागेका जस्ताले छाएको छानो । मक्किएका झ्याल ढोका । लेखिएको भित्ते लेखन र झ्यालमा अड्याएर राखिएको झन्डामा यहाँ पुग्ने हरेकको नजर ठक्क रोकिन्छ । भित्तामा राष्ट्रिय गान, राष्ट्रिय जनावर गाई, झन्डालगायत चित्र कोरिएको छ । यो जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालय हो । विसं २०१२ मा स्थापना भएको यस विद्यालयमा अघिल्लो वर्षसम्म आठ विद्यार्थी थिए । अहिले एकजना पनि विद्यार्थी छैनन् ।

विद्यालयमा विद्यार्थी नभए पनि चार शिक्षक दैनिक आउँछन् । दुई स्थायी र बाल विकास सहजकर्तासहित दुई अस्थायी शिक्षक यस विद्यालयमा कार्यरत छन् । विद्यार्थी नभएपछि शिक्षकलाई दिन कटाउनै मुस्किल हुन्छ । गाउँ बसाइँसराइले रित्तिँदै गएपछि विद्यार्थीको सङ्ख्या शून्य भएको हो । केही वर्षअगाडिसम्म यस गाउँमा ८८ घर थिए । हाल ३३ घर मात्रै छन् । ती घरमा पनि बूढापाका मात्रै छन् । सेवा, सुविधा र विलासिताको खोजीमा सहर बजार भार्नेको लर्को लागेपछि विद्यालय बन्द हुनाका साथै गाउँ नै सुनसान बनेको छ । विद्यालयमा चिटिक्क परेका कक्षाकोठा छन्। शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन बनाइएको सामग्रीले विद्यार्थी पर्खिरहेका छन् ।

विद्यालयमा विद्यार्थीको चहलपहल हुनुपर्ने हो । दैनिक पठनपाठन हुनुपर्ने हो । विद्यार्थी नभए पनि विद्यालय सुनसान बनेको छ । डेस्क बेञ्चदेखि सबै किसिमका सुविधा छन् । विद्यार्थीविहीन विद्यालयमा शिक्षकले भने नियमित तलब खाइरहेका छन् । बागलुङका विभिन्न स्थानीय तहले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान तथा स्थगन गरिरहेका छन् भने जैमिनी नगरपालिकाले अहिलेसम्म गरेको छैन ।

यस विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले विद्यार्थी नहुँदा दिन बिताउनै गाह्रो हुने गरेको बताउनुभयो । गाउँमा वृद्धवृद्धाबाहेक अरू नभएको हुँदा विद्यालय रित्तिएको उहाँको भनाइ छ । अझै आफूहरुले शिक्षाको गुणस्तर बढाएर छिमेकी गाउँबाट र बोर्डिङ पढ्ने विद्यार्थीलाई ल्याउन सकिन्छ कि भनेर प्रयास गरेको प्रधानाध्यापक शर्मा बताउनुहुन्छ ।

शर्माले भन्नुभयो, “एक दशक अगाडिसम्म झन्डै एक सय कुरिया (घर परिवार) रहेको गाउँमा अहिले घटेर निकै थोरै छन्, दिनदिनै बसाइँसराइ गरे तराई झर्ने गर्दा गाउँमा बूढापाका मान्छे मात्रै छन्, बालबालिका छैनन्, बालबालिका हुँदै नभएपछि विद्यालय रित्तिने अवस्था आयो, अझै पनि छिमेकी गाउँबाट विद्यार्थीलाई लिएर पढाउन सकिन्छ भनेर प्रयास गरिरहेका छौँ, विद्यार्थी नहुँदा हामी शिक्षकलाई पनि दिनभरि यत्तिकै बस्दा गाह्रो भएको छ ।”

विद्यालय नजिकैकी स्थानीय हिरा पौडेलले दकश अगाडिसम्म यस विद्यालयमा विद्यार्थीको चापले गर्दा डेस्क, बेञ्च नपुगेर भुइँमै बसेर पढ्ने गरेको बताउनुभयो । अहिले विद्यालयमा धेरै सेवासुविधा हुँदा पनि पढ्ने बालबालिका कोही नभएको उहाँको भनाइ छ । विद्यालय स्थापित गर्नका लागि गाउँलेले ठूलो योगदान पु¥याएको भन्दै अहिले विद्यार्थी नभएर रित्तो हुँदा दुःख लागेको पौडेलले बताउनुभयो ।

यहाँका अधिकांश चितवन, गैँडाकोटा, नवलपरासीलगायत ठाउँमा बसाइँसराइ गरेर गएपछि अचेल गाउँमा बालबालिका भेट्टाउनै मुस्किल पर्ने उहाँको भनाइ छ । पहिलेको तुलनामा अहिले विद्यालयको अवस्था निकै फेरिएको पौडेल बताउनुहुन्छ । “हाम्रो छोराछोरीले पढ्ने बेला एउटा कुर्चीसमेत हुँदैनथ्यो, केटाकेटी भुइँमै धुुलोमै बसेर पढ्थे, अहिले कोही पनि भुइँमा बस्न पर्दैन, बस्ने ठाउँ पनि कति राम्रो बनाएका छन्, नजिकै चर्पी, धारा बनेका छन् तर त्यो सुविधा लिने कोही छैन”, पौडेलले भन्नुभयो, “यो अवस्था देख्दा निकै वैराग लाग्छ, यो ठाउँ पहिला कस्तो रमाइलो थियो, जताततै मान्छे भेटिन्थेँ, केटाकेटी भेटिन्थेँ, अहिले त न ठूला मान्छे भेटिन्छन्, न बालबालिका, गाउँमा भएका अलिअलि पनि बजार झर्ने सुरसार गर्दै छन् ।”

जैमिनीका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले विद्यार्थी कम भएका विद्यालयलाई समायोजन, तह मिलान र स्थगन गर्नका लागि सूचना जारी गरेको र वडा शिक्षा समितिले अध्ययन गरिरहेको बताउनुभयो । यही जेठ १२ गतेसम्म कुन कुन विद्यालय समायोजन गर्ने, कुन कुन विद्यालयको तह घटाउने र स्थगन गर्ने भन्ने विषयमा वडा शिक्षा समितिले प्रतिवेद बुझाउने तथा सोहीअनुसार नगरपालिकाले काम गर्ने उहाँको भनाइ छ ।

नगर शिक्षा अधिकारी आचार्यले भन्नुभयो, “नगरपालिकाले १० वटै वडाका विद्यालयको अवस्था बुझ्ने र तह मिलान, समायोजन तथा स्थगन गर्ने विषयमा हामीहरु गम्भीर छौँ, वडा शिक्षा समितिमार्फत सबै वडाका विद्यालयका बारेमा अध्ययन गरिराख्नु भएको छ, यही जेठ दोस्रो साता उहाँहरुले प्रतिवेद ल्याउनुहुन्छ र सोही अनुसार नगरपालिकाले विद्यालय समायोजन गर्ने, तह घटाउने अथवा अरू के गर्ने भन्ने विषय निक्र्यौल हुन्छ ।”

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

0

काठमाडौँ: पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा खाना तथा हस्तकला मेला हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित सञ्चयकोष भवनअगाडि त्रिदेवी मार्गमा भोलि खाना तथा हस्तकला मेला आयोजना हुन लागेको हो ।

परिषद्का महासचिव राजीव पाण्डेले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि एकदिने सडक खाना तथा हस्तकला मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । मेला बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । मेलामा हस्तकलाका सामग्री, तयारी पोशाक सिल्क, पश्मिन, गरगहनालगायत उत्पादनका ३० प्रदर्शनीकक्ष रहने छन् । मेलामा सांस्कृतिक कार्यक्रम पनि हुनेछ ।

 

कृषि यान्त्रिकीकरणः किसानलाई अनुदानमा हाते ट्र्याक्टर

0

गोदावरी (कैलाली): जिल्लाको चुरे गाउँपालिकाले व्यावसायिक रुपमा कृषिमा आबद्ध किसानलाई हाते ट्र्याक्टर वितरण गर्ने भएको छ ।

गाउँपालिकाले चालु आर्थक वर्षमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गर्ने भएको हो । गाउँपालिकाका छवटै वडाबाट ५८ जना किसानले हाते ट्र्याक्टर अनुदानका लागि निवेदन दिएकामा २३ जनालाई ट्र्याक्टर वितरण गरिने कृषि शाखा प्रमुख दीपकराज पाण्डेयले बताउनुभयो ।

सङ्घीय सरकारको अनुदान कार्यक्रमअन्तर्गत सो गाउँपालिकाका छवटै वडाबाट छनोट भएका ती किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिन लागेको उहाँले बताउनुभयो । किसानलाई अनुदानमा प्रति किसान रु एक लाख २५ हजारको लागतमा हाते ट्र्याक्टर वितरण हुन लागेको हो ।

कृषिको आधुनिकीकरण तथा उत्पादन लागत घटाई उत्पादन बढाउने उद्देश्यले किसानलाई हाते ट्र्याक्टर उपलब्ध गराइने कार्यक्रमलाई प्राथमिकता राखेको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो ।

चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रुपमा चिनिँदै आएकाले कृषकलाई व्यावसायिक रुपमा कृषिमा आत्मनिर्भर बनाउने नीति गाउँपालिकाले लिएको उहाँले बताउनुभयो । कृषि शाखाले चुरे गाउँपालिकाका कृषकलाई अनुदानमा उन्नत जातका बीउबिजन, तरकारी राख्ने क्यारेट, विषादीलगायत सामग्री वितरण गरिसकेको जनाइएको छ ।

यसैगरी गाउँपालिका र जिआइजेडको लागत साझेदारीमा किसानको मागलाई ध्यानमा राखेर गाउँपालिकामा माटो परीक्षण ल्याब सञ्चालन गर्ने भएको छ ।

लागत साझेदारीमा चालु आवभित्रै सिँचाइका लागि गाउँपालिका छवटै वडामा दुई सय वटा सिमेन्ट ट्याङ्की, दुई वटा पोखरी, दुई वटा हाइटेक नर्सरी निर्माण गरिने चुरे गाउँपालिकाले जनाएको छ ।

जेठ ७ गते विश्वासको मत लिन प्रधानमन्त्रीद्वारा पत्राचार

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुहुने भएको छ ।

प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न सङ्घीय संसद् सचिवालयलाई पत्र पठाउनुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले राससलाई जानकारी दिनुभयो ।

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत दलको समर्थन छ ।

 

बागमती प्रदेशः दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन, दुई सय ६१ जनाको मृत्यु

0

बागमती: सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी चालकमाथि कारबाही गरेको छ ।

सो कारबाहीबाट रु १४ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । पूर्वपचिम राजमार्गमा जडान गरिएको सिसीटिभी र ‘रडार गन’बाट सवारी साधनको गति निगरानी गरिरहेको ट्राफिक प्रहरीले चालु आवको १० महिनामा एक लाख ८४ हजार तीन सय १६ सवारी साधनमाथि नियम उल्लङ्घन गन कारबाही गरेको हो ।

दुई सय ६१ जनाको मृत्यु

उक्त अवधिमा बागमती प्रदेशका १० वटा जिल्लामा भएका एक हजार एक सय ७६ सवारी दुर्घटनामा दुई सय ६१ जनाको मृत्यु भएको तथा दुई हजार पाँच सय ८६ जना घाइते भएका सो कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले गत आवमा दुई लाख ९१ हजार दुई सय ९३ सवारीमाथि कारबाही गरी रु २६ करोड ३६ लाख ८३ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । उक्त आवमा एक हजार तीन सय ६२ सवारी दुर्घटनामा तीन सय चार जनाको मृत्यु भएको थियो । आव २०७८÷७९ मा दुई लाख ५० हजार नौ सवारी साधनमाथि कारबाही गरी रु दुई करोड ४१ लाख ७० हजार राजस्व सङ्कलन गरेको थियो ।