Monday, May 11, 2026
Home Blog Page 804

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द

0

तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्म बन्द हुने भएको छ । स्तरोन्नतिका काम भइरहेकाले आजदेखि यही जेठ २१ गतेसम्म बाटो पूर्ण रूपमा बन्द गरिएको हो ।

रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताउनुभयो । व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उहाँले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गर्नुभयो ।

व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने नौ दशमलव चार सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तार जारी छ । कुल एक हजार नौ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको एक हजार छ सय मिटर काम पूरा भएको छ भने नौ किलोमिटर लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले जानकारी दिनुभयो । “आठ किलोमिटर खण्डमा आस्फल्ट प्रविधिको कालोपत्र गरिनेछ”, उहाँले भन्नुभयो, “उक्त मार्गको हालसम्म ६२ प्रतिशत कार्यप्रगति भएको छ ।”

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

0

काठमाडौँ: हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।

विभागका अनुसार अहिले कोशी प्रदेशको केही स्थान र बागमती प्रदेशको पहाडी भूभागको केही भागमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ । कोशी र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले अहिले बिहान छ बजे जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । मधेस र लुम्बिनी प्रदेशलगायत कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिउँ पर्नसक्ने छ ।

आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशको पहाडी भागका केही भेगका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले देशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको अहिलेको तापक्रम २० डिग्री सेल्सियस छ । आज यहाँको अधिकतम तापक्रम २८ देखि ३० डिग्री सेल्सियसकाबीच रहने विभागको पूर्वानुमान छ ।

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छुः डा कोइराला

0

नवलपुर (नवलपरासी): नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उहाँले प्रतिबद्धताअनुसार काम भइरहेको बताउनुभयो । “मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी प्रतिबद्धता पूरा गर्न म कटिवद्ध भएर लाग्ने छु”, उहाँले भन्नुभयो ।

नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उहाँको भनाइ थियो । डा कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिनुभयो । “नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रुपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ । अहिले कूल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ । अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो पालामा नवलपुरलाई आर्थिक राजधानी बनाउनेगरी कामको सुरुआत गरेको भए पनि त्यसले निरन्तरता पाउन नसकेको बताउनुभयो ।

उहाँले आफ्नो पालामा नवलपुरको देवचुलीमा औद्योगिक क्षेत्र बनाउने भनेर काम अघि बढाएको भए पनि अहिले सो योजना अलपत्र अवस्थामा पुगेको भन्दै दुःख व्यक्त गर्नुभयो । निजी क्षेत्रलाई लगानीतर्फ आकर्षित गरी सम्भावनाका क्षेत्रमा योजनाबद्ध विकास गरिनुपर्ने उहाँको भनाइ थियो । साधारणसभा उद्घाटनका क्रममा उद्योगी व्यवसायीले युवाहरू विदेश जाने क्रम बढ्दा नेपालको सम्भावनाका ढोका खुल्न नसकेका बताएका थिए । नेपालको शिक्षा पद्धतिका कारण युवा विदेशिने क्रम बढेको भन्दै उहाँहरूले त्यसलाई रोक्नतर्फ सरकारले पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो । सरकारले लगानीकर्तालाई सुरक्षाको प्रत्याभूति दिन सकेको अवस्थामा देशमा उद्यमशीलता वृद्धि हुने उद्योगीहरूको भनाइ थियो ।

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अध्यक्ष एवम् प्रदेश उद्योग वाणिज्य सङ्घ गण्डकीका अध्यक्ष अमृत भट्टचनले देशकै केन्द्र भागमा रहेको गैँडाकोटको विकासका लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले निजी जग्गाको उच्च मूल्यवृद्धि हुँदा समस्या भइरहेकाले सरकारी जग्गालाई सहुलियत दरमा भाडामा लिने व्यवस्था गरे स्वदेशी र विदेशी लगानी बढ्नसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । ठूलो धनराशि खर्च गरेर सरकारले निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदा देशको अर्थतन्त्र चलायमान हुन नसकेकाले सरकारलाई यसतर्फ ध्यान दिनु आग्रह गर्नुभयो । सङ्घको पाँचौँ साधारणसभा, तेस्रो अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्नेगरी काम भइरहेको सङ्घका महासचिव छवि कँडेलले जानकारी दिनुभयो ।

गाउँबस्तीमा डुल्दै गीत सुनाउने न्यून दृष्टियुक्त दम्पत्ति

0

वेदकोट (कञ्चनपुर): ‘बैरागी काइला’ नामले चिनिने सर्जक धनबहादुर र उहाँकी पत्नी प्रमिला दुवै न्यून दृष्टियुक्त हुनुहुन्छ । यतिबेला उहाँहरु छिमेकीको सहारामा कञ्चनपुर र कैलालीका गाउँबस्ती चाहारी रहनुभएको छ । बर्दियाको बडैयाताल गाउँपालिका–८ कण्ठपुरका उहाँहरु पारिवारको आर्थिक अवस्था नाजुक भएपछि आफूले सृजना गरेका गीत गाउँदै आर्थिक सङ्कलनमा जुट्नुभएको छ । बाँसुरी, सारङ्गी र मादलको धुनमा सुमधुर गीत गाउँदै गाउँ सहर डुलेर आर्थिक सङ्कलन गरेर परिवारको गुजारा चलिरहेको छ । “घरमा कमाउने कोही छैन । भएकै खेतमा बाली लगाउन पनि खेतालाको भर पर्नुपर्छ । खान लाउन र छोराछोरीलाई पढाउन पैसा अभाव छ ।

त्यसकै लागि खर्च जोहो गर्न आर्थिक सङ्कलन गरिरहेका छौँ”, कञ्चनपुरको झलारीमा भेटिनुभएका धनबहादुरले भन्नुभयो, “दसैँँतिहार र छोराछोरीको विद्यालयको बिदाको समय गाउँ सहर डुल्छौँ ।” जन्मजातै न्यून दृष्टियुक्त धनबहादुरले केही गीत रेकर्ड पनि गराउनुभएको छ । थुप्रै गीत सृजना गरे पनि आर्थिक अभावले रेकर्ड गराउन नसकेको उहाँले सुनाउनुभयो । गीत रेकर्ड गर्न नसके पनि गाउँबस्तीमा आफूले सृजना गरेका गीत सुनाउने गरिरहनुभएको छ उहाँ । उहाँ कहिले माया पिरतीका गीत सुनाउनुहुन्छ त कहिले दुःख, सुख र व्यथाका । “अहिले अडियो मात्रै निकालेर भएन । भिडिओ पनि बनाउनुपर्छ । खर्च धेरै लाग्ने भएकाले बनाउन सकिएको छैन”, उहाँ भन्नुहुन्छ, “आफूलाई खान लाउनलाई त धौ धौ छ । कसरी गीत रेकर्ड गराउने ?” गाउँबस्ती डुल्दै गीतमार्फत उहाँहरु आफ्नो कथाव्यथा सुनाउनुहुन्छ । धनबहादुरका चार सन्तान छन् । तीमध्ये दुई छोरीको बिहे भइसकेको छ । हाल साथमै रहेका एउटी छोरी कक्षा १० र छोरा ८ मा अध्ययनरत छन् । “हामीहरुले आँखा देख्न सकेनौँ । छोराछोरी आँखा देख्छन् ।

शिक्षा दिएर उनीहरुलाई बाहिरी संसार देख्ने बनाउने सपना छ”, प्रमिलाले भन्नुभयो । परिवारको आर्थिक अवस्था नाजुक भएपछि डेढ दशकदेखि ठाउँठाउँ डुलेर सहयोग सङ्कलन गरिरहेको उहाँको भनाइ छ । झलारी भेटिनुभएका उहाँहरु धनगढी हुँदै घरतिर जाने बताउनुहुन्छ । “छोराछोरीको विद्यालय पनि सुरु भइ सक्यो । अब घरतिर जान्छौँ”, धनबहादुरले भन्नुभयो, “गीत गाउँदै देशका विभिन्न ठाउँ पुगिन्छ । सबैतिर माया गरेर सहयोग पाउँदा निकै खुसी लाग्छ ।” बाँसुरी, सारङ्गी, किबोर्ड, हार्मोनियम, मादललगायत वाद्ययन्त्र बजाउने गरेको उहाँ बताउनुहुन्छ ।

उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै

0

गलकोट (बागलुङ): बागलुङ जिल्लाको धौलागिरि अस्पताल, वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र गलकोट नगरपालिकासँगै २७ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनको सेवा लिन पाइन्छ । तर उक्त गर्भपतनको पछिल्लो तथ्याङ्क बढ्दो छ । गर्भवतनलाई बाध्यताका रुपमा नलिई विकल्पका रुपमा लिन थालेपछि यसको तथ्याङ्क वृद्धि हुन थालेको स्वास्थ्यकर्मीहरु बताउँछन् । गर्भपतन विकल्प होइन्, बाध्यता हो तर विकल्पका रुपमा लिँदा गर्भपतनको सङ्ख्या बढ्दो भएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यको भनाइ छ । उहाँले भन्नुभयो, “बाध्यात्मक परिस्थितिबाहेक गर्भपतन गर्नुपर्ने अवस्था आउनै दिन नहुने परिवार नियोजनको विषयमा जानकारी गराउने, गर्भपतनको असरका विषयमा अवगत गराउने कार्यलाई बढाउन आवश्यक देखिएको छ, २० वर्ष नपुग्दै गर्भपतन गराउनु अत्यन्तै जोखिम हो ।” स्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्दा गर्भपतन गराउने सङ्ख्या बढ्दो छ ।

चालु आवको चैत मसान्तसम्म बागलुङका सात सय ९८ जना महिलाले गर्भपतन गराएका छन् । जसमध्ये २० वर्षभन्दा कम उमेर समूहका २४ जना रहेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । २० वर्षभन्दा तलका २४ मध्ये चार जनाको सर्जिकल माध्यमबाट र २० जनालाई औषधि खुवाएर सुरक्षित गर्भपतन गराइएको छ । यस वर्ष १२ हप्ताभन्दा माथिका गर्भपतन गराउनेको सङ्ख्या अत्यधिक वृद्धि भएको छ । गत आवमा २० वर्ष माथिका एक जना महिलाको १२ हप्ता माथिको गर्भ औषधि सेवन गरेर पतन गरिएको थियो । तर चालु आवमा २० वर्षमाथिका १८ र २० वर्ष तलका दुई जना महिलाले १२ हप्ताभन्दा माथिका गर्भ औषधि प्रयोग गरेर पतन गरिसकेका छन् । बीस वर्ष मुनीका चार जनाको १८ हप्ताभन्दा माथिका गर्भ उपकरण प्रयोग गरेर पतन गराइएको छ ।

सरकारले गर्भवतीको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन सक्ने र स्वास्थ्यकर्मीको परामर्शमा बच्चा जन्माउँदा महिलाको ज्यान खतरामा पर्न सक्ने, विकलाङ्ग, जबरजस्ती करणी, हाडनातामा करणी, निको नहुने प्रकृतिका रोग लागेको भएमा महिलाकै मञ्जुरीमा २८ हप्तासम्मको गर्भ सुरक्षित रुपमा पतन गराउन मिल्ने कानुनी व्यवस्था छ । यस वर्ष २० वर्षभन्दा तलका २९ र त्यसभन्दा बढी उमेर समूहका छ सय ७८ जनाले १२ हप्तासम्मको गर्भ स्वास्थ्य संस्थामा औषधि सेवन गरेर र चार जना २० वर्ष मुनी र ६३ जनाको २० वर्षमाथिकाको १२ हप्तासम्मको गर्भ उपकरणको प्रयोग गरेर पतन गराइएको छ । परिवारकै सहमतिमा हुने अधिकांश गर्भपतन पनि जिल्ला बाहिरका स्वास्थ्य संस्था रोज्ने गरेको कार्यालय प्रमुख बाबुराम आचार्यले बताउनुभयो । गत आवमा १२ हप्ताभन्दा कमको सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या एक हजार ८४ छ । उनासी जना २० वर्ष तलका र नौ सय ४२ जना २० वर्षमाथिले औषधि सेवन गरी गर्भपतन गराएका छन् । २० वर्ष माथिका ६२ र तलका एक जनाले उपकरण प्रयोग गरेर गर्भपतन गराएको तथ्याङ्क छ ।

स्वास्थ्य संस्थाबाहेक विभिन्न क्लिनिकबाट गर्भपतन गराउनेको सङ्ख्या अझ बढी हुन सक्ने आचार्यको भनाइ छ । व्यक्तिगतरुपमा क्लिनिकमा गर्भपतन गराउने क्रम जारी रहेको उहाँको भनाइ छ । स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउँदा गराउँदै पनि कहिलेकाही गर्भवती महिलाको स्वास्थ्यमा समस्या आउन सक्छ । गत आवमा औषधि खुवाएर सुरक्षित गर्भपतन गराएका २१ र उपकरणको माध्यमबाट गर्भपतन गराएका चार जनामा जटिल समस्या देखिएको थियो ।

यस वर्ष पनि नौ जना औषधि सेवनबाट गर्भपतन गराएका र एक जना उपकरणको प्रयोगबाट गर्भपतन गराउनेहरुमा समस्या देखिएको छ । गर्भपतनका क्रममा अत्यधिक रत्तस्राव हुने, दुखाइ धेरै हुने, प्रजनन अङ्गमा समस्या आउने र दोस्रो गर्भ रहन समय लाग्ने जस्ता समस्या देखिने गरेका कार्यालय प्रमुख आचार्यले बताउनुभयो । “गर्भ रहनै नदिने अनेकन उपाए हुँदाहुँदै पनि गर्भपतनका लागि स्वास्थ्य संस्था आउनुहुन्छ, उहाँहरुमा चेतना हुँदाहुँदै पनि परिवार नियोजनको उपाय नअपनाएको पाइन्छ”, आचार्यले भन्नुभयो । गर्भपतन गराउँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्छ, गर्भपतनलाई पनि सामान्य रुपमा लिएको जस्तो लाग्छ, पटक पटकको गर्भपतनले महिलाको गर्भ क्षमतामा मात्रै ह्रास आउने हैन ज्यान जोखिममा पर्ने उहाँको भनाइ छ ।

ट्राफिक कारबाहीबाट चार करोड राजस्व सङ्कलन

0

अत्तरिया (कैलाली) : सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले चालु आवको साउनदेखि वैशाख मसान्तसम्म को अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा प्रदेशभरी ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार नौ सय ३१ जना सवारी चालकलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले जानकारी दिनुभयो । त्यस्तै सो अवधिमा भएका दुई सय ६० वटा सवारी दुर्घटनाबाट एक सय १५ पुरुष, २० महिला र १० बालबालिका गरी एक सय ४५ जनाको मृत्यु भएको तथा चार सय ५५ जना घाइते भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा एक सय ७५ मोटरसाइकल, ४४ जिप/कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल, रिक्सा , १६ टेम्पो, १४ ट्रक/ट्याङ्कर, सात टिपर, सात माइक्रो, तीन वटा डोजर र चार अन्य गरी तीन सय ३८ वटा सवारी दुर्घटनामा परेका हुन् ।

गत आव २०७९/८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार छ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट छ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको थियो । सोही वर्ष दुई सय ५५ सवारी दुर्घटनाबाट एक सय ७७ जनाको मृत्यु, एक सय ९७ जना गम्भीर घाइते र दुई सय ७६ जना सामान्य घाइते भएको निमित्त कार्यालय प्रमुख उप्रेतीले जानकारी दिनुभयो । चालकसँग एक मिनेट, यात्रुसँग दुई मिनेटलगायतका जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि सवारी दुर्घटना नघटेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “ठूला सार्वजनिक सवारी दुर्घटनामा त कमी आएको छ । ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै गएको छ । साना तथा व्यक्तिगत सवारी दुर्घटना बढेका छन् ।”

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै चनौटेडाँडा

0

महोत्तरी : अत्यधिक गर्मी बढिरहेका बेला महोत्तरीको बर्दिबास–११ चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गबाट १५ किलोमिटर छिचोलेर पुगिने चनौटेडाँडामा लेकाली हावापानी पाइन्छ । स्थानीय ‘मधेसको चुली’ अर्थात् उच्च शिखर भनेर यहाँको परिचय दिने गर्दछन् ।

बर्दिबासचोकबाट करिब ३० किमीभित्र पर्ने यो ठाउँमा लेकाली हावापानी पाइने भएकाले तराईबाट गर्मी छल्न अधिकांश आन्तरिक पर्यटक यहाँ आउने गरेका स्थानीय बताउँछन् । चनौटेको उत्तरतर्फका पाखामा जुनार र सुन्तलाका बोट छन् । जेठको हपहप हुने गर्मीमा पनि यहाँ पुगेपछि हिमाल चढेजतिकै चिसो र आनन्द महसुस हुने पर्यटक बताउँछन् । उच्च महाभारतको लेकमा हुर्कने र उत्पादन दिने सुन्तला, जुनार र चुच्चे करेलाको स्वादसँगै उच्च लेकक्षेत्र पुगेको अनुभूति हुने बर्दिबास नगर कार्यपालिकाको कार्यालय प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताउनुभयो ।

चनौटेडाँडा पुग्दा जोसुकैले उच्च लेकक्षेत्र पुगेको अनुभूति लिनसक्ने उहाँको भनाइ छ । “यहाँ लेकाली हावापानी छ । सुन्तला, जुनारका बोट लेकाली क्षेत्रमा जस्तै छन् । उच्च लेकमा हुने चुच्चे करेलाका लहरा लहलहाएका देखिन्छन् । यसबारे अनुसन्धान गरी तयार पारिएका अभिलेखबाट चनौटे समुन्द्री सतहदेखि सात सय मिटर उचाइमा अवस्थित छ”, प्रमुख प्रशासकीय अधिकृत जोशीले भन्नुभयो । अहिले तराईको उखरमाउलो गर्मीकाबीच पनि चनौटेका स्थानीय राति सिरक ओढ्ने गर्दछन् । बर्दिबास–१० को खयरमारा बस्तीबाट करिब पाँच किमी उक्लेपछि चनौटे पुगिन्छ । “बर्दिबासबाट पाँच किमीको दूरीमै हावापानीमा कस्तो अन्तर ! तल खयरमारामा हपहप पोलने गर्मी, यहाँ पूरै लेकको चिसो, चनौटेको पदयात्रा गर्नुभएकी नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालले भन्नुभयो ।

मधेसमा यस्तो लेक होला भन्ने कल्पना नै नगरेको उहाँको भनाइ छ । सामान्यतः मधेसमा ‘गर्मी कति छ ?’ भनेर पहाडतिरका बासिन्दाले सोध्ने जिज्ञासामा मधेसको चनौटेसँग उक्त प्रश्न मेल नखाने बरालले बताउनुभयो । “म दोलखामै जन्मे, हुर्केको हुँ । अहिले चनौटे आइपुग्दा दोलखाकै कुनै शिखरमा पुगेजस्तो लागिरहेको छ”, बर्दिबासमा होटल तथा पर्यटन व्यवसाय गर्दै आउनुभएका नारायण घिमिरेले भन्नुभयो, “मधेसमा यस्तो लेकाली हावापानी अन्तःदुर्लभ नै होला ।” होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका महासचिवसमेत रहनुभएका घिमिरेले यस ठाउँलाई स्थानीय र प्रदेश सरकारले संरक्षण र प्रवर्द्धन गरी आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा विस्तार गर्नुपर्ने बताउनुभयो । “बर्दिबासचोकबाट ३० किमीभित्रै यस्तो लेक रहेछ, यहाँका तीनै तहका सरकारको आँखा नपरेर ओझलिएको छ ।

यसको संरक्षण गरी पर्यटन प्रवर्द्धनमा जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो । चनौटे डाँडाबाट सेताम्य हिमाल, सिन्धुलीगढी र दक्षिणतर्फ भारतको सीतामढी सहर छ्याङ्ग देखिन्छ । हिमाली हावा सिधैँ यहाँ ठोक्किने हुँदा डाँडाको उत्तरीपाखामा जुनार, सुन्तलालगायत फलफूल हुर्किने वातावरण रहेको स्थानीय काजी कार्कीले बताउनुभयो । महाभारत शृङ्खलाका लेकमा पनि हिमालको हावा सिधैँ यहाँ आउने उहाँको भनाइ छ ।

चनौटे र आसपासका बासिन्दा यसलाई ‘मधेसको छानो’ भन्न मन पराउँछन् । “उचाइको डाँडा भन्ने प्रमाण नभए पनि यहाँको लेकाली हावापानी र अवस्थितिले यो मधेसको सबैभन्दा उचो ठाउँ भएको मान्दै आएका छौँ”, सामाजिक अभियान्ता विष्णु भण्डारीले भन्नुभयो, “यो मधेसको चुली हो ।” यहाँ वैशाखदेखि भदौसम्म तराईको गर्मी छल्न उपयुक्त थलो हुने बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताउनुभयो । भूगोल, संस्कृति र रीतिस्थितिले विविधायुक्त बर्दिबास नगरक्षेत्रका कैयौँ ठाउँ पर्यटकीय सम्भावनाले युक्त रहेका छन् । तीमध्ये चनौटे पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । “पछिल्लो दुई महिनायता होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरी र बर्दिबास नगर पत्रकार सञ्जालसँगै बर्दिबासका पर्यटकीय सम्भावनाबारे अध्ययनका लागि पदमार्ग अभियान थालेका छौँ”, खड्काले भन्नुभयो, “यस क्रममा चुरे शृङ्खलाका कैयौँ ठाउँको अवलोकन गरिएको छ, चनौटे यी सबैमा उम्दा छ ।” मधेस र बागमती प्रदेशको सीमा रहेको चुरे पहाडको महोत्तरीभित्रका सबै भाग बर्दिबास नगरपालिकामा पर्छन् । तराईको समतल मैदानदेखि पूरै लेकाली हावापानीको चनौटेसम्म फरक वस्तुस्थिति, हावापानी बर्दिबासको विविधतायुक्त विशेषता भएको नगरपालिकाको पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हिरा गौतमले बताउनुभयो ।

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशका अध्यक्षसमेत रहनुभएका गौतमले नगरका पर्यटकीय सम्भावनाबारे विस्तृत अध्ययन गरेर विकासका लागि योजनाबद्ध काम गर्न अहिले गृहकार्य भइरहेको जानकारी दिनुभयो । “नगर क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यको विस्तृत अध्ययन गरी पर्यटन प्रवर्द्धनका लागि योजना बनाइरहेका छौँ”, उहाँले भन्नुभयो, “अध्ययनबाट आएका तथ्यगत प्रतिवेदन निर्माण भइरहेका छन् । प्रदेशका आठवटै जिल्लाका ४० ठाउँलाई पर्यटकीय विकासका लागि पहिलो सूचीमा राखेर गर्न सकिने कामका सम्भावनाबारे गृहकार्य थालिएको छ ।” चनौटेमा पछिल्ला केही महिनायता भ्रमण गर्ने आन्तरिक र भारतीय पर्यटकको सङ्ख्या बढिरहेको गौतमले जानकारी दिनुभयो । तराईमा बढेको गर्मी छल्न पहाड उक्लने बढे पनि चनाटैमा बास, खानपिनसहितका सुविधा व्यवस्थित नहुँदा पर्यटकलाई समस्या हुँदै आएको बर्दिबास–११ का वडाध्यक्ष पूर्ण बलले बताउनुभयो । “जिल्लाको तल्लोभेग र ४५ किमी दूरीको दशगजा (नेपाल भारत सीमाक्षेत्र) पारीबाट यहाँ पर्यटक आउने गरेका छन् ।

यहाँको भौगोलिक र हावापानीले सबैलाई आकर्षित गर्दछ । यहाँ आइपुग्ने पर्यटकलाई भोजन र रात्रिबासको सुविधा दिन सकिएको छैन”, बलले भन्नुभयो, “स्थानीय, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी होटल तथा पर्यटन व्यवसायी महासङ्घ, उद्योग वाणिज्य सङ्घ र अन्य सामाजिक सङ्घसंस्थाले यसको प्रवर्द्धनमा पहल गर्नुपर्ने हुन्छ ।” पछिल्ला केही दिनयता चुरे पर्वत श्रेणीका पर्यटकीय सम्भावनाबारे भएका चासोले ती ठाउँको विकासका लागि योजनाबद्ध कामको थालनी गरिएको नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बताउनुभयो । यस क्षेत्रमा काम गर्नेगरी पर्यटन प्रवर्द्धन समिति बनाएर योजना अघि बढाइएको उहाँको भनाइ छ । “समितिले अध्ययन गरेका क्षेत्रबारे आपूmले गर्नसक्ने र प्रदेश तथा केन्द्र सरकारको सहयोग खोज्नेछौँ । प्रतिवेदनले पेस गरेका तथ्यका आधारमा पर्यटन प्रवर्द्धनका लागि नीति तथा योजना र बजेट समेत विनियोजन गर्दै जानेछौँ”, नगरप्रमुख क्षेत्रीले भन्नुभयो ।

यसअघि एकदशक पहिले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चनौटे डाँडामा सहिद पार्क निर्माणको शिलान्यास गर्नुभएको थियो । उक्त कार्यले पूर्णता पाउन नसकेको नगरप्रमुख क्षेत्रीले बताउनुभयो । सहज सडक सञ्जालका लागि निर्माण सामग्री पुर्याउन नसक्दा कामले गति लिन नसकेको उहाँको भनाइ छ । सहिद पार्कको शिलान्यास गर्ने व्यक्ति अहिले प्रधानमन्त्री भएका यसको प्रवर्द्धनका लागि पहल गर्नुपर्ने बर्दिबास–११ गोेपाल श्रेष्ठले बताउनुभयो । “केन्दै अध्यक्ष एवं प्रधानमन्त्री दाहालले शिलान्यास गर्नुभएको योजना अलपत्र छन् । उहाँलाई यसबारे जानकारी गराएमा चासो दिएर विकासका लागि सहयोग गर्नुहुनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “नगरका प्रतिनिधिले प्रधानमन्त्रीसमक्ष जानकारी पुर्याउनु पर्दछ ।” तीनै तहका सरकारले चासो दिए यहाँ पटकको आगमन बढ्नुका साथै आर्थिकस्तरमा सुधार हुने आशा चनौटेवासीले गरेका छन् । लेकाली हावापानी र वातावरणले सिङ्गो मधेसको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा चनौटेलाई विकास गर्नुपर्ने खयरमाराका सामाजिक अगुवा प्रेमध्वज लामाले बताउनुभयो ।

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

0

काठमाडौँ: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा रहेको संसद् सधैँ बन्धक बन्न नसक्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, प्रतिष्ठान प्रदेश कमिटीको चौथो साधारणसभा तथा पत्रकारिताको सामयिक विमर्श विषयमा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सबैको साथ आवश्यक रहेको बताउनुभयो ।

उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट पारितका साथै महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने दायित्व भएको चालु अधिवेशन निर्बाधरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो । “नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुन सक्ने वातावरण नभएमा अध्यादेशको बाटोबाट जानुपर्ने हुन्छ । यस्तो स्थिति आएमा लोकतन्त्रको मार्ग बलियो हुन सक्दैन”, सभामुख घिमिरेले भन्नुभयो, “प्रधानमन्त्रीले विश्वासको मतका लागि समय मागिसक्नुभएको छ ।

यस्तो अवस्थामा सदन चल्ने वातावरण सृजनाका लागि सबै दल र स्वतन्त्रताका क्षेत्रमा काम गर्ने पत्रकारिताजगत्ले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।” प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी अनियमिततामाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ ।

उहाँले समानुपातिक प्रणालीकाका कारण कुनै पनि दलको बहुमत आउन नसक्ने अवस्थाबीच राजनीतिक स्थायित्व र समृद्धिका लागि पत्रकारलाई कलम चलाउन सुझाव दिनुभयो । नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारमन्त्री मीनेन्द्र रिजालले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकाले जनताबाट निर्वाचितहरुले आफूले जे गरे पनि हुन्छ भन्ने दम्भ र निरङ्कुश भावनाले काम गरेमा लोकतन्त्रमा आघात पर्ने विश्व परिवेशका सन्दर्भ उल्लेख गर्दै व्यक्तिगत स्वतन्त्रलाई सम्मान गर्न नसकिए लोकतन्त्र सबल नहुने स्पष्ट गर्नुभयो ।

उहाँले मुलुकको विद्यमान अवस्थामा तात्विक सुधार नहुने हो भने नेपालको संविधान जोखिममा पर्न सक्नेतर्फ पत्रकारिताजगत् सचेत हुनुपर्ने बताउनुभयो । महासङ्घका पूर्वसभापतिहरु, वर्तमान सभापति विपुल पोखरेल र उक्त प्रदेश कमिटीका प्रथम अध्यक्ष शेखर अधिकारीलाई सम्मान गरिएको थियो । पत्रकारिताको सामयिक विमर्शका क्रममा वरिष्ठ पत्रकारहरु प्राध्यापक रामकृष्ण रेग्मी र युवराज घिमिरेले विचार प्रस्तुत गर्नुभएको थियो ।

उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

0

गोरखा: जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका अनुसार वडा कार्यालयमार्फत किसानसँग ५० प्रतिशत लागत साझेदारीमा हाते ट्रयाक्टर खरिद गरेर वितरण गरिएको हो ।

कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन वृद्धिमा टेवा पु¥याउन आधुनिक औजार अनुदानमा उपलब्ध गराउने पालिकाको नीतिअनुरूप हाते ट्याक्टर प्रदान गरिएको छ । “खेती गर्न गाउँमा गोरु पाइनै छाडेका छन्,” उहाँले भन्नुभयो, “अब कृषिलाई प्रविधिमैत्री बनाउँदै जानुपर्छ, गोरुको अभावमा खेतबारी बाँझै नहुन् ।” अध्यक्ष तिमल्सिनाले परम्परागत खेती प्रणालीबाट कृषिमा लगानी बढी र उत्पादन कम हुने भएकाले पनि किसानले लाभ लिन नसकेका बताउनुभयो । “परम्परागत खेती प्रणालीले उत्पादन बढाउन सकिँदैन,” उहाँले भन्नुभयो, “अब लागत कम गरेर उत्पादन वृद्धि गर्नुपर्छ त्यसका लागि यान्त्रिकीकरण अनिवार्य भएको छ ।”

वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने

0

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूँजीवादी सामाजिक–आर्थिक ढाँचालाई परिवर्तन गर्न वैज्ञानिक समाजवादको नीति कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट एकीकृत स्वास्थ्यकर्मी सङ्गठन नेपालको चौथो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले नेपाली समाजको ठोस वस्तुगत अवस्था पूँजीवादी भएकाले त्यसको विकल्पमा समाजवादी क्रान्ति र आर्थिक रुपान्तरण कायम गर्नुपर्नेमा जोड दिनुभयो । कुनै पनि समाजमा क्रान्तिको स्वरुप वस्तुगत अवस्थाले मात्र निर्धारण गर्ने बताउँदै उहाँले भन्नुभयो, “अझै पनि कतिपय वामपन्थी साथीहरु समाजवादी कार्यक्रम अघि सार्न तयार हुनुहुन्न, यो क्रान्तिकारी कार्यदिशाबाट दक्षिणपन्थी दिशातिर भड्किएको चिन्तन हो ।

यस्तो चिन्तनले वस्तुगत यथार्थलाई देख्दैन ।” जनताको बहुदलीय जनवादलाई नै लक्ष्य बनाउनपर्नेमा जोड दिँदै नेता खनालले जबजको रक्षा र विकास गरेर मात्र समाजवादमा पुग्न सकिन्छ भन्नुभयो । विगतमा जनताको अग्रगति र प्रगतिको मुख्य बाधक नै निरङ्कुश राजतन्त्र र सामन्तवाद रहेको बताउँदै उहाँले नेपाली समाजको आधारभूत पक्षहरूमा नै परिवर्तन आएकाले अब समाजवादी कार्यक्रमका माध्यमबाट जनता र राष्ट्रलाई अग्रगतितर्फ लैजानपर्ने उल्लेख गर्नुभयो ।