Saturday, May 9, 2026
Home Blog Page 80

कार्यवाहक प्रमुख आयुक्त भण्डारीको आह्वान—निर्धक्क भएर मतदान गर्नुस्

0

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्धक्क र उत्साहका साथ मतदान गर्न सम्पूर्ण मतदातालाई आह्वान गरेका छन्।

निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार अनिवार्य रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्। गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिमा यो आकस्मिक निर्वाचन हुन गइरहेको उनले उल्लेख गरे।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले निर्वाचनले नेपालको संविधान तथा संघीय लोकतान्त्रिक व्यवस्थालाई अझ सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गरे। स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको उनले बताए। कुनै पनि अवाञ्छित गतिविधिबाट निर्वाचन प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठामा आधारित वातावरण निर्माण गर्न आयोग दृढ रहेको उनको भनाइ छ।

मतदान नागरिकको नैसर्गिक अधिकार मात्र नभई कर्तव्यसमेत भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन सबैभन्दा ठूलो राष्ट्रिय अभ्यास भएको बताए। मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्तिका रूपमा लिइने उनले बताए। सुसूचित मतदानले शासनप्रति नागरिकको अपनत्व र विश्वास अझ सुदृढ बनाउने उनको धारणा छ।

निर्वाचन व्यवस्थापनमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारकर्मी तथा आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाबाट प्राप्त सहयोगले आयोगलाई आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न ऊर्जा र हौसला मिलेको उनले उल्लेख गरे।

प्रतिनिधिमूलक शासन व्यवस्थाको आधार नै निर्वाचन भएको उल्लेख गर्दै आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई वैधता दिने प्रमुख माध्यम निर्वाचन नै भएकाले बिहीबार आ–आफ्नो मतदान केन्द्रमा उपस्थित भई निर्धक्कका साथ मतदान गर्न उनले पुनः आग्रह गरे।

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा कायम गरिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ १० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५७ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा कायम गरिएको छ। चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १७ पैसा र बिक्रीदर २१ रुपैयाँ २५ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०८ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम गरिएको छ।

यसैगरी, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६१ पैसा तोकिएको छ। युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा निर्धारण गरिएको छ। स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

हजुर एआई’ सार्वजनिक, नेपाली प्रयोगकर्तालाई लक्षित बहुउपयोगी डिजिटल एप बजारमा

0

काठमाडौं । नेपाली भाषामा केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक गरिएको छ। ‘नेपालीका लागि, नेपालीद्वारा निर्मित’ भन्ने नारासहित विकास गरिएको उक्त एप आगामी फागुन १७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको जनाइएको छ।

नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको एपले सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलगायतका सेवा एउटै माध्यममार्फत उपलब्ध गराउने दाबी कम्पनीले गरेको छ।

एपअन्तर्गत ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड समावेश गरिएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताले ‘ठीकठाक’ मा राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ। सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ। महिनाकै उत्कृष्ट सामग्री निर्माता लाई २५ हजार रुपैयाँ नगद पुरस्कार दिइने जनाइएको छ।

‘हजुर एआई च्याट’ फिचरमार्फत नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोट पनि उपलब्ध गराइएको छ। उक्त च्याटबोटले अध्ययन, जानकारी खोजी तथा सामान्य परामर्शमा सहयोग गर्ने कम्पनीको भनाइ छ।

भाषा सिकाइसम्बन्धी फिचरमार्फत कथाका माध्यमबाट विभिन्न भाषा सिक्न सकिने सुविधा राखिएको छ। उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्ताले मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको बताइएको छ। स्वास्थ्यसम्बन्धी ‘प्राणायाम’ फिचरमार्फत नेपाली भाषामै ध्यान तथा श्वास–प्रश्वास अभ्यास सिक्न सकिने उल्लेख गरिएको छ।

मनोरञ्जनतर्फ समाचार, संगीत, प्रत्यक्ष रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ। सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलाई एउटै एपमा समेटेर प्रयोगकर्तालाई एकीकृत डिजिटल अनुभव दिने लक्ष्य राखिएको दाबी गरिएको छ।

लन्च अफरअन्तर्गत सन् २०२६ जुलाई १ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने जानकारी दिइएको छ।

पर्सा–२ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेको थियो। जाँचका क्रममा गाडीबाट शंकास्पद वस्तु फेला परेपछि उनीसहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको र विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

निर्वाचनका दिन आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने

0

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका दिन देशभरका आन्तरिक हवाई उडानहरू आवश्यकताका आधारमा सञ्चालन गरिने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै सार्वजनिक बिदाका बीच पनि अत्यावश्यक यात्रु सेवा र हवाई आवतजावतलाई ध्यानमा राखी आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन गरिने जनाएको हो।

प्राधिकरणका अनुसार मध्यपूर्वी गन्तव्यतर्फका उडान भने सम्बन्धित देशको निर्णय र उडान हुने विमानस्थलको अवस्थालाई आधार मानेर सञ्चालन गरिनेछन्। ती उडानहरू वायुसेवा कम्पनीहरूले सार्वजनिक गर्ने संशोधित उडान तालिकाअनुसार हुने जनाइएको छ।

निर्वाचन बिदामा पनि सीमित बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई लक्षित गर्दै सार्वजनिक बिदाका दिनमा समेत सीमित बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका अवसरमा सरकारले तीन दिन सार्वजनिक बिदा घोषणा गरे पनि अत्यावश्यक वित्तीय कारोबार प्रभावित नहोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले सीमित सेवा खुला राख्न व्यवस्था मिलाएको हो।

निर्देशनअनुसार सरकारी कारोबार गर्ने एजेन्सी बैंकहरूले नियमित सेवा प्रवाह गर्नेछन्। साथै, राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि सञ्चालन गरेका बैंक खातामार्फत रकम दाखिला, भुक्तानी तथा अन्य आवश्यक वित्तीय सेवा उपलब्ध गराइनेछ।

निर्वाचन प्रक्रिया सहज र व्यवस्थित बनाउन बैंक तथा वित्तीय संस्थाका सम्बन्धित शाखाहरू आवश्यकताअनुसार सञ्चालनमा रहने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

सर्वोच्च अदालतसहितका सरकारी निकायमा आगजनी गर्ने १३ जनाविरुद्ध मुद्दा दर्ता

0

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सर्वोच्च अदालत, सिंहदरबार तथा विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोडफोडमा संलग्न १३ जनाविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।

गत भदौ २४ गते भएको आन्दोलनका क्रममा आगजनी र विध्वंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूमाथि आपराधिक उपद्रव तथा डाँका सम्बन्धी कसुरमा अभियोग दायर गरिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीले जानकारी दिए।

सर्वोच्च अदालतमा आगजनी गरेको अभियोगमा सुनिल श्रेष्ठ, ज्योति थापा, विनोदकुमार थापा मगर, कुमार पराजुली र राजु परियारविरुद्ध मुद्दा दर्ता गरिएको छ। अभियोगपत्रअनुसार उनीहरूले सर्वोच्च अदालत भवनमा आगजनी गरी एक अर्ब २३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएका छन्।

त्यस्तै सिंहदरबार परिसरमा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा आशिष गुरुङविरुद्ध पनि आपराधिक उपद्रव तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ।

प्रहरी वृत्त बौद्धमा आगजनी तथा तोडफोड गरेको आरोपमा समीर श्रेष्ठ र सुनिल तामाङविरुद्ध मुद्दा चलाइएको छ भने प्रहरी प्रभाग बलम्बुमा तोडफोड गरेको अभियोगमा निखिल कुसुले, सोहन चौधरी, विवेक रोक्का र छत्रबहादुर विकविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

सर्वोच्च अदालतले उक्त घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाहीको माग गर्दै काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएको थियो। सर्वोच्च प्रशासनको उजुरीका आधारमा प्रहरीले अनुसन्धान पूरा गरी अभियुक्तहरूविरुद्ध मुद्दा चलाएको हो।

युद्ध लडिरहेका ट्रम्पकी श्रीमतीको विश्व शान्तिबारे प्रवचन

0

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा पहिलोपटक कुनै विश्व नेताको जीवनसाथीले अध्यक्षता गरेकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्पले सोमबार न्यूयोर्कमा आयोजित बैठकमा अध्यक्षता गर्दै द्वन्द्वग्रस्त क्षेत्रमा बालबालिकाको शिक्षा र सुरक्षासम्बन्धी अधिकारको विषयमा जोड दिइन्।

उनले बालबालिकाको शिक्षा सहिष्णुता, आपसी समझदारी र विश्व शान्ति प्रवर्द्धनका लागि आधार भएको उल्लेख गरिन्। उनले द्वन्द्वका कारण प्रभावित बालबालिकाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीहरूको शिक्षा र सुरक्षाको सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय समुदायले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्। साथै, उनले अमेरिकी सैनिकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन्।

मेलानियाले भनिन्, “अमेरिकी बालबालिकामात्र होइन, विश्वभरका सबै बालबालिकासँग अमेरिका उभिएको छ। चाँडै शान्ति तपाईंहरूको जीवनमा फर्कियोस् भन्ने मेरो आशा छ।”

संयुक्त राष्ट्रसंघकी सहायक महासचिव रोजमेरी डिकार्लोले द्वन्द्व सुरु हुँदा बालबालिकाहरू सबैभन्दा बढी प्रभावित हुने तथ्य दोहोर्याइन्। उनका अनुसार इजरायल, संयुक्त अरब इमिराट्स, कतार, बहराइन र ओमानका धेरै विद्यालय सैन्य कारबाहीका कारण बन्द भई वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न बाध्य भएका छन्।

इरानका अधिकारीहरूले शनिबार मिनाब शहरको एक प्राथमिक विद्यालयमा भएको आक्रमणमा १५३ जनाको मृत्यु भएको दाबी गर्दै त्यसको जिम्मेवारी अमेरिका र इजरायलमाथि लगाएका छन्।

बैठक सुरु हुनुअघि संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावानीले अमेरिकाले सुरक्षा परिषद्को अध्यक्षता सुरु गर्ने पहिलो दिनमै बालबालिकाको सुरक्षासम्बन्धी बैठक बोलाउनु “लज्जास्पद र कपटपूर्ण” भएको टिप्पणी गरेका छन्।

उक्त घटनाबारे अमेरिकी सेनाले अनुसन्धान भइरहेको जनाएको छ भने इजरायली सेनाले सम्बन्धित क्षेत्रमा आफ्नो कारबाहीबारे जानकारी नभएको प्रतिक्रिया दिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, “संयुक्त राज्यले कुनै विद्यालयलाई जानाजानी लक्ष्य बनाउने छैन” भन्दै आरोप अस्वीकार गरेका छन्।

इरान युद्धमा प्रवेश गर्ने चीनको तयारी

0

काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण विश्व ऊर्जा बजार अस्थिर बन्दै गएको छ भने चीनमाथि तेल आपूर्तिको चाप बढेको छ। चीनले आफ्नो ठूलो परिमाणको कच्चा तेल आयात इरान र हर्मुज जलडमरू हुँदै गर्छ। इरानले पछिल्लो समय उक्त समुद्री मार्गबाट आवतजावत गर्ने तेल ट्यांकर वा जहाजमाथि आक्रमण हुनसक्ने चेतावनी दिएपछि अवस्था थप संवेदनशील बनेको छ।

यसैबीच, दुबईस्थित साउदी अरामकोको तेल प्रशोधन केन्द्रमा आक्रमण भएको र त्यसपछि सावधानीका लागि साउदी अरेबियाका केही रिफाइनरी अस्थायी रूपमा बन्द गरिएको खबर सार्वजनिक भएको छ। यस घटनाले चीनसहित एशियाली मुलुकहरूको तेल आपूर्तिमा अनिश्चितता थपेको छ।

यद्यपि चीनसँग करिब छ महिनाका लागि पुग्ने कच्चा तेल भण्डारण रहेको बताइन्छ। केही विश्लेषकहरूले अमेरिकाले इरानमाथिको सैन्य कारबाहीलाई रणनीतिक रूपमा प्रयोग गरी चीनको ऊर्जा आपूर्तिमा अप्रत्यक्ष दबाब सिर्जना गरेको दाबी गरेका छन्। यस्तो अवस्थामा चीनले पनि कूटनीतिक वा आर्थिक रूपमा प्रतिउत्तर दिन सक्ने आकलन गरिएको छ।

चीनको विदेश मन्त्रालयले ऊर्जा सुरक्षाको समग्र समीक्षा गरिरहेको र आवश्यक परे थप कदम चाल्ने संकेत दिएको छ। यसले भविष्यमा चीनले आफ्नो तेल आयातमा अवरोध खडा गर्ने कुनै पनि देश वा मार्गविरुद्ध कडा नीति लिन सक्ने संकेत गर्छ।

यसअघि चीनले मध्यपूर्वमा तनाव र युद्ध कम गर्न आह्वान गरिसकेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले हर्मुज जलडमरू र आसपासका समुद्री मार्गहरू अन्तर्राष्ट्रिय व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सबै पक्षलाई तुरुन्तै लडाइँ रोक्न आग्रह गरेकी छन्। चीनले तनाव बढे विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी पनि दिएको छ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय तेल बजारमा तीव्र उतारचढाव देखिएको छ। सोमबार तेलको मूल्य १० प्रतिशतभन्दा बढीले बढेपछि केही घटेर ७ प्रतिशतमा झरेको थियो। हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलर आसपास पुगेको छ, जुन २ दशमलव ५ प्रतिशतभन्दा बढी वृद्धि हो। साथै, युरोपेली प्राकृतिक ग्यासको मूल्यसमेत हालै ४५ प्रतिशतसम्म उक्लिएको छ, जसले विश्व ऊर्जा बजार थप अस्थिर बन्ने संकेत दिएको छ।

इरानी आक्रमणपछि कतार इनर्जीको उत्पादन ठप्प, युरोपेली ग्यास मूल्यमा तीव्र उछाल

0

लन्डन। कतारको राज्य–नियन्त्रित ऊर्जा कम्पनी QatarEnergy ले आफ्ना दुई प्रमुख ग्यास प्रशोधन केन्द्रमा इरानबाट आक्रमण भएपछि तरलीकृत प्राकृतिक ग्यास (LNG) उत्पादन अस्थायी रूपमा रोक्नुपरेको जनाएको छ। उत्पादनमा अवरोध आएपछि युरोपेली ग्यास बजारमा सोमबारदेखि तीव्र उतारचढाव देखिएको छ।

युरोपका लागि प्रमुख सूचक मानिने Dutch TTF Natural Gas Futures मा इरानी आक्रमणको प्रभाव तुरुन्तै देखिएको छ। उक्त सम्झौताअनुसार ग्यासको मूल्य करिब ४५ प्रतिशतले बढेर प्रति मेगावाट घण्टा ४६ यूरोभन्दा माथि पुगेको छ।

विश्लेषकहरूका अनुसार खाडी क्षेत्रमा युद्ध चर्किएसँगै ग्यास आपूर्ति अवरुद्ध हुनसक्ने त्रासले बजार अस्थिर बनेको हो। इरान–सम्बन्धी तनावका कारण आपूर्ति श्रृंखलामा जोखिम बढ्ने आशंकाले ग्यासको मूल्य यसअघि नै २० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको थियो।

ऊर्जा आपूर्तिमा निर्भर युरोपेली देशहरूका लागि कतार प्रमुख आपूर्तिकर्ता मानिन्छ। उत्पादन अवरुद्ध हुनु र क्षेत्रीय अस्थिरता बढ्नुले आगामी दिनमा ऊर्जा बजारमा थप दबाब सिर्जना हुनसक्ने संकेत देखिएको छ।