Wednesday, May 13, 2026
Home Blog Page 770

राष्ट्रिय ललितकला प्रदर्शनीः तीस हजार बढीले अवलोकन गरे

0

काठमाडौँ : गणतन्त्र दिवसका अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले सुरु गरेको ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ३० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । यही जेठ १५ गतेदेखि सुरु भएको प्रदर्शनीको अवधि जेठ ३० गतेसम्म तोकिएकामा दर्शकको भीड बढ्न थालेपछि आजसम्म विस्तार गरिएको छ ।

यस अवधिमा ३० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गरेका प्रतिष्ठानका प्राज्ञ सदस्य एवं मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रदर्शनीमा चार सय ८२ कलाकारका पाँच सय २२ वटा कलाकृति राखिएका छन् । ‘सामाजिक रुपान्तरण, ललितकलाको अभियान’ भन्ने नाराका साथ भएको प्रदर्शनीमा सातवटै प्रदेशबाट छानिएका कलाकृति समावेश गरिएका छन् । गत फागुनदेखि सातै प्रदेशमा प्रदर्शनी गरिएको थियो । त्यसअघि सातवटै प्रदेशका कलाकृति छनोट गरिएको प्रतिष्ठानले जनाएको छ । प्रदर्शनीमा कार्टुन पनि राखिएको छ । देशको अवस्था झल्कने कलाकृतिको बाहुल्यता देख्न सकिन्छ । राहदानी बनाएर विदेश जान विमानस्थलमा लाम लाग्ने अवस्थालाई कलाकृतिका माध्यमबाट देखाइएको छ ।

नेपालको वर्तमान अवस्थालाई देखाइएका यस्ता कलाकृतिलाई दर्शकलाई आकर्षित गरेका हुन् । यस वर्षको प्रदर्शनीमा सुरेश लवट (तुलाधर) को २१ तारा शीर्षकको काठको मूर्ति पहिलो भएर सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार प्राप्त गरेको छ । एक सय आठ सेन्टिमिटर उचाइको उक्त कलाकृतिले धेरै दर्शकलाई आकर्षित गरेको थियो । प्रदर्शनीमा आध्यात्मिक भाव झल्काउने कलाकृति पनि यथेष्ट मात्रामा राखिएका छन् ।

रसुवाका कलाकार सुवास आचार्यले सूर्य विष्फोट भएर ग्रह, तारा बनेको अवस्थालाई कलाका माध्यमबाट प्रस्तुत गर्नुभएको छ । सृष्टिलाई देखाउने यस्ता कलाकृतिमा पनि अवलोकनकर्ता धेरै बेर घोत्लेर हेर्ने गरेका देखिन्छ । प्रतिष्ठानले विसं २०६८ देखि नै गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनी अवलोकन गर्ने दर्शक प्रत्येक वर्ष बढ्न थालेका प्रतिष्ठानले जनाएको छ ।

विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद

0

गोदावरी (कैलाली): नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन विच्छेद गर्न थालेको हो । प्राधिकरणले चालु आवको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका नौवटै जिल्लाका तीन हजार सात सयभन्दा १२ जना ग्राहकको लाइन विच्छेद गरेको जनाएको छ ।

सुदूरपश्चिमका नौवटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन विच्छेद गर्न थालेको नेपाल विद्युत् प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार चालु आवको सो अवधिमा रु छ करोड ३५ लाख बक्यौता रकममध्ये लाइन विच्छेद गरेर रु चार करोड ५० लाख महसुल असुल गरिएको छ ।

लामो समयदेखि महसुल तिर्न अटेरी गर्दै आएका ग्राहकलाई महसुल तिर्न पटकपटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन विच्छेद गर्नुपरेको निर्देशक चन्दले बताउनुभयो । सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट रु छ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन विच्छेद गरिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका तीन हजार सात सय १२ ग्राहकमध्ये दुई हजार पाँच सय ६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन् भने लाइन विच्छेद गरिएका एक हजार एक सय ५० ग्राहकले अझै लाइन जडान नगरेको निर्देशक चन्दले जानकारी दिनुभयो ।

सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सुदूरपश्चिममा हालसम्म तीन लाख ६७ हजार दुई सय ७० ग्राहक छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा विस्तार हुन नसकेका स्थानमा ठेक्का सम्झौता भएर विद्युतीकरण विस्तारको काम भइरहेकाले हरेक वर्ष प्राधिकरणका ग्राहकको सङ्ख्या पनि बढ्दै गएको निर्देशक चन्दले बताउनुभयो ।

विश्वकप टी-२० क्रिकेट: पपुवा न्युगिनीलाई हराउँदै अफगानिस्तान विश्वकपको सुपर आठमा

0

राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा ९२ प्रतिशत भौतिक प्रगति

0

राँझा (बाँके) जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति गरेको छ । “चालु आवमा सिक्टा सिँचाइ आयोजनालाई पुँजीगततर्फ रु ८३ करोड ९८ लाख विनियोजन भएको थियो, जेठ मसान्तसम्म रु ७६ करोड ५२ लाख २७ हजार बजेट खर्च भइसकेको छ”, आयोजनाका इन्जिनियर सन्देश पौडेलले भन्नुभयो । चालु आवमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी मूल नहरको बाँकी कामको ठेक्का व्यवस्थापन, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरवा तथा गोहा शाखा नहरको ठेक्का सम्झौता गरी निर्माण, गुरुवागाउँ शाखा नहर निर्माण, विभिन्न शाखा, प्रशाखा नहरका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गर्नेलगायत काम भएको उहाँले बताउनुभयो ।

सिक्टा सिँचाइ आयोजनालाई आगामी आव २०८१/८२ मा बजेट सिलिङ बढेको छ । आव २०८१/८२ को बजेटमा सिक्टा सिँचाइ आयोजनालाई रु एक अर्ब ६० करोड विनियोजन भएको छ । चालु आव २०८०/८१ मा सिक्टा सिँचाइलाई रु एक अर्श ३५ करोड विनियोजन भएको थियो । “गत वर्षको भन्दा यो वर्ष केही बढाएर बजेट विनियोजन भएको छ”, इन्जिनियर पौडेलले भन्नुभयो, “अहिले हामी डुडुवा शाखा नहरको काम गरिरहेका छाँै, आगामी बजेट पनि त्यसैमा धेरै होला ।” बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयास्थित राप्तीमा बाँध निर्माण गरी बाँकेको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको हो । आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजना पछिल्लो संशोधित गुरुयोजनाअनुसार आव २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँके जिल्लाको राप्ती नदी पश्चिम भेगको ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ । संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत रु ५२ अर्ब ८९ करोड छ । सरकारले आयोजनालाई वार्षिक रूपमा कम बजेट विनियोजन गर्दै आएकाले मुआब्जा वितरणलगायत समस्या समाधानको चुनौती पनि छ ।

म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा

0

गलेश्वर (म्याग्दी): जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ । परम्परागत बालीको संरक्षण–प्रवर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यस वर्ष जिल्लामा रु पाँच करोड ९७ लाख ५२ हजारको कृषिका कार्यक्रम सञ्चालन भएकामा सबैभन्दा धेरै रु तीन करोड खायन प्रजातिको आलुखेतीमा खर्च भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले राससलाई जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत जौँ, कोदो, लट्टे र फापरको प्रवर्द्धन गर्न चारवटा कृषि समूहमार्फत रु १० लाख खर्चेर विविध कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

त्यसैगरी फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत रु ३० लाख लगानीमा २० हेक्टर जमिनमा २६ जना किसान र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ भने फलफूल बगैँचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन भएको छ । फलफूल नर्सरी स्थापना गर्न रु २० लाखमा बेनी नगरपालिकाको भकिम्ली र धवलागिरि गाउँपालिकाका दुईवटा कृषि फार्मसँग ५० प्रतिशतको अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ । यसैगरी जिल्ला कृषि ज्ञान केन्द्रले कृषिजन्य उत्पादन बढाउन प्राङ्गारिक मल वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । सुन्तलाको उत्पादन बढाउन रु १० लाख लागतमा ६३ मेट्रिक टन मल वितरणको गरिएको केन्द्रले जनाएको छ । यस वर्ष विनियोजित रु १५ लाखको बजेटबाट मकैको उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएको छ ।

यो कार्यक्रमअन्तर्गत बेनी नगरपालिकाको तोरीपानी र पात्लेखेतमा दुई सय रोपनीमा मकै लगाइएको छ । कृषिजन्य कार्यक्रममार्फत जिल्लाका किसानको जीवनस्तर सुधार्ने, खेतीयोग्य जमिनको प्रयोग बढाउने र उत्पादन वृद्धिमा ज्ञान केन्द्रले जोड दिएको छ । आलुखेती विस्तार जिल्लामा यस वर्ष एक हजार सात सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आठ सय रोपनीमा हिउँदे आलु र नौ सय ५० रोपनीमा बर्खे आलु गरी एक हजार सात सय ५० रोपनी जग्गामा खायन प्रजातिको आलुखेती विस्तार गरिएको हो । हिउँदे आलुखेतीतर्फ जिल्लाभर १७ वटा कृषक समूह र एकवटा कृषि समूहमार्फत आठ सय रोपनीमा आलुखेती विस्तार गरिएको थियो ।

यसैगरी खायन प्रजातिकै बर्खे आलुखेतीतर्फ १५ वटा कृषक समूहमार्फत नौ सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ भने खायन प्रजातिको हिउँदे आलु उत्पादन कार्यक्रमतर्फ अधिकांश बेनी नगरपालिका क्षेत्र र बर्खेतर्फ बेनीसहित रघुगङ्गा र धवलागिरि गाउँपालिका छन् । आलु तथा बेमौसमी तरकारीखेती प्रवर्द्धन कार्यक्रमका लागि रु २८ लाखको लागतमा १७ वटा फार्मलाई छनोट गरिएको छ । मसला तथा निर्यातयोग्य बाली अदुवा र बेसार उत्पादन गर्न मङ्गला गाउँपालिकाको बरजामा कार्यक्रम सञ्चालन भइरहेको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

0

गुल्मी: नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित हुनुभएको छ अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले तीन सय ८४ र उहाँका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गर्नुभएको हो ।

यसैगरी जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित हुनुभएको छ । गत मङ्गलबारदेखि सुरु भएको १२औँ जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा छ सय १३ सहभागी भएकामा पाँच ९५ जना मतदानमा भाग लिएका थिए ।

अधिवेशनले पाँचजना पदाधिकारीसहित आगामी तीन वर्षका लागि एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । अधिवेशनको पार्टीका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीले उद्घाटन गर्नुभएको थियो ।

पृथ्वीराजमार्गमा सवारी दुर्घटनाः घाइते २० मध्ये पाँचजना गम्भीर

0

मलेखु (धादिङ): पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ ।

काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदीमा किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले राससलाई बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान

0

काठमाडौँ: काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ । आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।” कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उहाँले बताउनुभयो ।

विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । देशका बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण आयोजनाः आज प्रधानमन्त्रीद्वारा हेटौँडा ‘सबस्टेशन’को उद्घाटन हुँदै

0

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

0

म्याग्दी बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो ।

गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले जानकारी दिनुभयो । “ आर्थिक वर्ष २०६४÷६५ मा ‘ट्रयाक’ खोलिएको बेनी नगरपालिकाको ७, ६, ५ र ४ नम्बर जोड्ने यो सडक म्याग्दीको रणनीतिक महत्वको बेनी–दरवाङ सडकको बेनी–ठूलोखोला खण्डको वैकल्पिक मार्ग पनि हो”, उहाँले भन्नुभयो “आगामी आर्थिक वर्षका लागि प्रदेश समपूरक बजेटमार्फत यो सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिन प्रस्ताव गरेका छौँ ।” चालु आवमा गण्डकी प्रदेश सरकारले रु ५० लाख र बेनी नगरपालिकाले रु ३० लाख विनियोजन गरेको रकमबाट महारानीथान–छापा–डाँडाखेत सडक स्तरोन्नति भएको हो ।

यो सडकको चार सय मिटर नाली निर्माण चार सय ५२ मिटर प्रिमिक्स प्रविधिको कालोपत्र, एक सय ३० मिटर ढलान भएको बेनी नगरपालिकाका इन्जिनियर दिपेश केसीले राससलाई जानकारी दिनुभयो । बेनी नगरपालिकाले गौरवको आयोजनाका रूपमा महारानीथानबाट छाप हुँदै डाँडाखेततर्फ सडक स्तरोन्नति गर्ने योजनालाई निरन्तरता दिने नगरप्रमुख सुरत केसीले बताउनुभएको छ ।