Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Thursday, May 14, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 755

झापामा चट्याङ लागेर दुईको मृत्यु

By
Himalayan Tribune
-
June 25, 2024
0

झापा: आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो ।

उहाँका अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।

महाधिवेशनबाट कार्यसमितिको सङ्ख्या घट्दै, १९९ सदस्यीय हुने

By
Himalayan Tribune
-
June 25, 2024
0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा बहुपदीय प्रणालीमा निर्वाचन गरिने सो कार्यसमितिमा १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कार्यसमिति गठन हुने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । विद्यमान कमिटीमा तीन सय ५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाएर सङ्गठनलाई थप प्रभावकारी बनाउन लागिएको जनाइएको छ ।

सानो कार्यसमिति भएपछि छिटो–छरितो बैठक सञ्चालन तथा सदस्यलाई बैठकमा उपलब्ध गराउन, छलफल गर्न, निर्णय कार्यान्वयन गराउन सहज हुने उहाँले बताउनुभयो । कार्यसमिति सानो हुने भएपछि केन्द्रीय कमिटीमा जान चाहने नेताहरूको प्रतिस्पर्धा बढेको छ । सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई थप जिम्मेवार बनाउन करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ ।

महाधिवेशन आयोजक समितिका चार सय ५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार आठ सय ४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिनेछ । पार्टीका सबै कमिटीमा आबद्ध नेता तथा सम्बन्धित भूगोलमा अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाले परिपक्व नेतृत्व स्थापित गर्न सहयोग पुग्ने पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्य व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, प्रशिक्षण, प्रकाशनसहितका कार्य सम्पन्न गरेको छ । सम्पर्क कार्यालयलाई व्यवस्थित बनाउन तथा सदस्यहरू विस्तार गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गराउने र कार्यालय व्यवस्थापनका लागि सम्पर्क मञ्च र सम्बन्धित कमिटीलाई आवश्यकतानुसार दायित्व तोक्नसक्ने व्यवस्था मिलाएको थियो ।

महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने विषय प्राथमिकता छ । ‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरुप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रुपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय उल्लेख छन् ।

देश र जनताको प्रगतिको बाधक तत्वको रूपमा पुँजीवादी व्यवस्थालाई चित्रण गरिएको छ । विधानमा ७० वर्षको उमेरहद हटाइएको छ भने युवा सहभागिता वृद्धि, समावेशी सिद्धान्तलगायतका विषयलाई जोड दिइएको केन्द्रीय सदस्य चुना केसीले जानकारी दिनुभयो । साङ्गठनिक प्रतिवेदनमा पार्टीलाई गतिशील बनाउन सङ्गठनलाई जनतामा केन्द्रित गर्न सुझाव दिइएको छ ।

त्यसमा देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि उल्लेख छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभक्तपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

बजुरामा नुन अभाव छैनः साल्ट ट्रेडिङ

By
Himalayan Tribune
-
June 25, 2024
0

बाजुरा: साल्ट ट्रेडिङ कर्पोरेशनको बाजुरास्थित डिपो कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै सेवाग्राहीलाई भीड नलाग्न आग्रह गरेको छ । नुन अभावको हल्लाले कार्यालयमा नुन लिन आउने सेवाग्राहीको भीड लागेपछि कार्यालयले नुनको मौज्दात पर्याप्त रहेको भन्दै नआत्तिन आग्रह गरेको हो । कार्यालय प्रमुख टेकबहादुर बुढाले जिल्लाका तीन वटै क्षेत्रमा नुनको आवश्यक मौज्दात यथावत रहेको बताउनुभयो ।

उहाँले वर्षायाममा नुन ढुवानीमा समस्या हुने गरेकाले आइतबार मात्रै बिक्री गर्ने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मार्तडीमा दुई सय ७३ क्विन्टल, कोल्टीमा तीन सय ८७ क्विन्टल र मौरेमा ७५ क्विन्टल नुन मौज्दात छ । “वर्षाको समयमा ढुवानी गर्दा समस्या हुने देखेर आइतबार मात्रै नुन बिक्री गन थालेपछि नुन अभावको हल्ला फैलिएको हुनसक्छ”, उहाँले भन्नुभयो, “हल्ला फैलिएपछि एकै घरका चारजनासम्म नुन लिन आएको पाइएको छ ।” स्थानीय गोरख धामीले नुनको अभावको कु्रा सुनेपछि आफू लाइन बस्न आएको बताउनुभयो । “नुनको कोटा काटिएको र नुन ढुवानी नहुने खबर सुनेपछि हामीहरु कार्यालय आएका हौँ, तर यहाँ नुनको मौज्दात पर्याप्त रहेको जानकारी पाइयो”, उहाँले भन्नुभयो । बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले पनि नुनको अभाव नभएको भन्दै भीड नगर्न आग्रह गर्नुभयो । उहाँका अनुसार प्रशासनले नुन र खाद्यान्नको मौज्दातको अवस्थाबारे निरन्तर अनुगमन गरिरहेको छ ।

शुक्लाफाँटालाई पूर्णखोप पालिका घोषणा

By
Himalayan Tribune
-
June 25, 2024
0
फाइल फोटो

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितताका लागि अपनाउनुपर्ने आवश्यक मापदण्ड पूरा भएपछि नगरपालिकालाई पूर्णखोप पालिका घोषणा गरिएको हो । नगरपालिकाका १५ महिनाभित्रका बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप पाएकाले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्णखोप सुनिश्चितताका लागि १६ देखि २३ महिनासम्म उमेर समूहका बालबालिकामा खोप अवस्थाको पहिचान र विश्लेषणको कार्य गरिएको छ । पूर्णखोप पाउने उमेर समूहका तीन हजार २८ बालबालिकामध्ये दुई हजार नौ सय ७८ बालबालिकाले पूर्णखोप पाएका छन् । बसाइँ सार्ने, मजदुरीका लागि टाढा जानेलगायत परिवारका ५० बालबालिका पूर्णखोप लगाउनबाट छुटेका छन् । इँटाभट्टालगायत मजदुरीमा संलग्न भारतीय परिवारका बालबालिकाले सङ्क्रामक रोगविरुद्धका खोप नलगाउने भएकाले यसबाट जोखिम बढ्दो रूपमा रहेको शाखा प्रमुख भट्टले बताउनुभयो । “खोपले विभिन्न सरुवा रोग लाग्नबाट बचाउँछ”, उहाँले भन्नुभयो, “बालबालिकालाई सरुवा रोगहरूबाट जोगाउन १२ प्रकारका क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टङ्कार, हेपाटाइटिस बी, हेमोफिलस इन्फ्ल्युएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया, मेनिन्जाइटिस, जापानिज इन्सेफ्लाइटिस र रोटा भाइरसविरुद्धको खोप लगाइने गरिन्छ ।” सो अवसरमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले संविधानमानै आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा राखिएकाले खोप पाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताउनुभयो ।

नगरप्रमुख रणबहादुर महराले सम्भावित महामारी रोक्नका लागि खोप कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । यस कार्यक्रमलाई अझै प्रभावकारी बनाई खोप लगाउनबाट छुटेका बालबालिकाको खोजी गरी पूर्णखोपको मात्रा दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । नगर उपप्रमुख कल्पना पन्तले खोप कार्यक्रम नगरपालिकाको आफ्नो कार्यक्रम भएकाले यसको सेवालाई सुदृढीकरण गर्न साझेदार निकायको सहभागितामा वृद्धि गर्नुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख बोहराले पूर्णखोप सुनश्चितता तथा दिगोपनाको प्रमाणपत्र नगरप्रमुख महरालाई कार्यक्रममा हस्तान्तरण गर्नुभयो । खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने स्वास्थ्यचौकी प्रमुखहरूलाई सोही अवसरमा प्रशंसापत्र प्रदान गरिएको थियो ।

श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण

By
Himalayan Tribune
-
June 25, 2024
0

म्याग्दी: मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई ‘सूर्यनारायण पुरस्कार’ अर्पण गरिएको छ । सूर्यनारायण पुरस्कार संस्थाद्वारा सोमबार बेनीमा आयोजित कार्यक्रममा प्राध्यापक डा कर्णबहादुर बानियाँ र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले श्रष्टा बानियाँलाई नगद रु २५ हजार, कदरपत्र प्रदान गर्नुका साथै दोसल्लो ओढाएर सम्मान गर्नुभयो । समाजसेवी सूर्यनारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारले स्थापना गरेको संस्थाले हरेक दुई–दुई वर्षमा नेपाली लोक संस्कृति, कला र साहित्यको श्रीवृद्धि गर्न योगदान गर्ने म्याग्देलीलाई सो पुरस्कार अर्पण गर्दै आएको छ । विसं २०८० को पुरस्कार बानियाँलाई प्रदान गरिएको हो ।

श्रष्टा बानियाँद्वारा लिखित महारानी उपन्यासले २०७८ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । विसं २०४८ मा म्याग्दी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका बानियाँले साहित्यिक क्षेत्रमा पुर्याउनुभएको योगदानस्वरुप पुरस्कृत गरिएको सूर्यनारायण पुरस्कार संस्थाका सचिव अजयमिलन श्रेष्ठले बताउनुभयो । बानियाँले ‘ऐतिहासिक पर्वत राज्य–२०६५’, मृत्य संस्कार–२०७५, महारानी २०७६, मौज्याह निबन्ध सङ्ग्रह २०७७, माकुराको पुनर्जन्म २०७८, चौबिसी राज्य पर्वत २०७९, पुला र पुलस्त्य पुस्तक लेख्नुभएको छ ।

ऐतिहासिक विषयसँग सम्बन्धित बानियाँका पुस्तकमा म्याग्दीको सामाजिक, राजनीतिक, आर्थिक, भौतिक, सांस्कृतिक, सामरिक अवस्थालाई चित्रण गर्दछ । संस्थाले २०४९ सालदेखि हालसम्म १८ जनालाई पुरस्कार प्रदान गरेको छ । भैरवबहादुर श्रेष्ठ (२०४९), टीकाबहादुर श्रेष्ठ (२०५०), दीपबहादुर खड्का (२०५२), धनकुमारी थापा (२०५३), रत्नप्रसाद श्रेष्ठ (२०५४), ठाकुरप्रसाद पराजुली (२०५६), वीरबहादुर कार्की (२०५८), खड्ग गर्बुजा (२०६०), होमनाथ सुवेदी (२०६२), लक्ष्मीप्रसाद श्रेष्ठ (२०६४), अबिरकुमार श्रेष्ठ (२०६६), ध्रुवलाल शर्मा (२०६८), अङ्गद श्रेष्ठ (२०७०), खगेन्द्रमिलन श्रेष्ठ (२०७२), डा कर्ण बानियाँ (२०७४), तुलप्रसाद श्रेष्ठ (२०७६) र प्रकाशकुमार श्रेष्ठ (२०७८) मा पुरस्कृत हुनुभएको थियो । पुरस्कार वितरण समारोहमा अजयमिलन श्रेष्ठद्वारा लिखित सत्र सूर्य पुस्तकको विमोचन गरिएको थियो ।

ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र

By
Himalayan Tribune
-
June 25, 2024
0

ढोरपाटन (बागलुङ): दुई जिल्ला जोड्ने गरी १९ वर्ष अगाडि ट्रयाक खुलेको सडक कालोपत्र गरिएको छ । बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार, ताराखोला हुँदै म्याग्दी जोड्ने सडक कालोपत्र गरिएको हो । पाँच वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष बल्ल काम गरेको छ ।

यस वर्षमा सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिनुभयो । विसं २०७६ मा कालोपत्रको जिम्मेवारी पाएको निर्माण कम्पनीले २०७८ कात्तिक मसान्तसम्म सक्नुपर्ने भए पनि यस वर्ष बल्ल कालोपत्र गरेको उहाँले बताउनुभयो । निर्माण कम्पनीले यस वर्ष ९० प्रतिशत काम सक्ने अनुमान गरे पनि लक्ष्यमा पुग्न सकेको छैन । हटिया बजारबाट ताराखोला गाउँपालिका–३ स्थित घुस्मेली बजारसम्म कालोपत्र गर्ने लक्ष्य लिए पनि जमधारा भन्ने स्थानसम्म मात्रै काम गरेको उहाँले जानकारी दिनुभयो । कम्पनीले रु २८ करोडमा जिम्मा लिएको थियो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले १९ वर्ष अगाडि स्थानीयले चन्दा उठाएर निर्माण गरेको सडक अहिलेसम्म कालोपत्र हुन नसकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “यो सडक गलकोट र ताराखोला क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको हुँदा प्रदेश र संघीय सरकारले बढी चासो दिनुपर्छ ।” स्थानीय सरकारको सडक कालोपत्र गर्न स्रोत र साधानले नभ्याउने जनाउँदै समयमै स्तरोन्नति नहुँदा हजारौँ नागरिकले सास्ती खेप्नुपरेको नगरप्रमुख गैरेले बताउनुभयो ।

यस वर्ष थोरै भए पनि कालोपत्र हुँदा गलकोट र ताराखोलाका तल्लो क्षेत्रका नागरिकलाई सहज हुने जनाइएको छ । प्रमुख गैरेले भन्नुभयो, “प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर काम गर्छौँ, नगरपालिकाको मात्रै स्रोतले नभ्याउने हुँदा अहिलेसम्म सडकको स्तरवृद्धि हुन नसकेको हो ।”

टि–२० विश्वकप क्रिकेट: भारतद्वारा अष्ट्रेलिया पराजित

By
Himalayan Tribune
-
June 25, 2024
0

काठमाडौँ: आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । यससँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । यस समूहबाट छ अङ्कसहित भारत शीर्षस्थानमा रहेर सेमिफाइनल पुगिसकेको छ । भारतले फाइनल प्रवेशका लागि इङ्ल्याण्डसँग खेल्नेछ । यसैगरी सुपर ‘आठको अन्तिम खेलमा बङ्गलादेशले अफगानिस्तानलाई हराएमा अष्ट्रेलिया सेमिफाइनल पुग्नेछ ।

भारतले दिएको दुई सय छ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८१ रनमात्र बनाउन सक्यो । अष्ट्रेलियाका ओपनर ट्राभिस हेडले सर्वाधिक ७६ रन बनाए । ४३ बल खेलेका उनले नौ चौका र चार छक्का प्रहार गरे । त्यस्तै कप्तान मिचेल मार्सले ३७, ग्लेन म्याक्सेवलले २० र टिम डेभिडले १५ रन बनाए । कमिन्सले ११ रन बनाउँदा मिचेल स्टार्क चार रनमा अविजित रहे । भारतका अर्शदीप सिंहले तीन विकेट लिए बने कुलदीप यादवले दुई विकेट लिए । त्यस्तै जसप्रित बुमराह र अक्षर पटेलले समान एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय पाँच रनको योगफल बनाएको थियो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ९२ रन बनाए । ४१ बल खेलेका उनले सात चौका र आठ छक्का प्रहार गरे । त्यस्तै सूर्यकुमार यादवले ३१, शिवम दुबेले २८, हार्दिक पाण्ड्याले २७, ऋषभ पन्तले १५ र रवीन्द्र जडेजा नौ रन जोडे ।अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान दुई–दुई विकेट लिए भने जोश हेजलवुले एक विकेट लिए ।

छाउगोठ घटनाबारे अनुसन्धान भइरहेको छ : उपप्रधान तथा गृहमन्त्री

By
Himalayan Tribune
-
June 24, 2024
0
काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले छाउपडीसम्बन्धी अछाम घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको र निजलाई म्याद थप गरी थुनामा राखी अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा अछामको छाउपडी गोठमा घटेको घटनाका सम्बन्धमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले पीडित र पीडक पक्ष दुवैको बयान अनुसार घटनामा एकजनाको मात्र संलग्नता रहेको खुल्न आएको जानकारी दिनुभयो ।
यही असार ४ गतेका दिन बिहान ९ बजेको समयमा अछाम पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने वर्ष १६ वर्षीया बालिका छाउगोठ नजिकै बेहोस अवस्थामा फेला परेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मङ्गलसेन अछाममा ल्याई अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षकको कमान्डमा अनुसन्धानमा सहयोग गर्न प्रहरी टोली परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “उक्त टोलीले आफ्नो अनुसन्धान पूरा गरी प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।” उहाँले मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३) ले रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको र यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था रहेको बताउनुभयो । “छाउपडी प्रथा गरिबी, विभेद, विकटतालगायत कैयौँ समाजिक परिवेशसँग जोडिएको विषय भएको र यसको नियन्त्रणका लागि सरकारले छाउपडी प्रथाका अभ्यासलाई अपराधीकरण गरी दण्डनीय बनाएको भए तापनि कानुनी प्रतिबन्धले मात्रै छाउपडी प्रथा नियन्त्रण गर्न नसक्ने अवस्था रहेको हुँदा समुदायलाई साथ लिई स्थानीय प्रशासन, स्थानीय सरकार, नागरिक समाज, धार्मिक, सांस्कृतिक सङ्घ, संस्थाहरु र आमसञ्चारमाध्यमलगायतको बहुपक्षीय प्रयास आवश्यक देखिएको छ”, उहाँले भन्नुभयो ।
उपप्रधानमन्त्री लामिछानेले महिला तथा बालबालिकाविरुद्ध हुने कुनै पनि हिंसा वा अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यान्वयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशील रहेको बताउनुभयो । यस घटनाको संवेदनशीलतालाई मध्यनजर गरी मन्त्रालयले स्थानीय प्रशासनबाट भए/गरेका कार्यहरुको दैनिक प्रतिवेदन लिने तथा नियमित सुपरीवेक्षण गरिरहेको जानकारी दिनुभयो । प्रस्तुत घटनामा, सूचना प्राप्त हुने बित्तिकै बिहान ८ बजे प्रहरी घटनास्थलमा पुगेको र स्थानीयको रोहवरमा पीडितलाई उद्धार गरी उपचार र परामर्शको व्यवस्था मिलाएको उहाँको भनाइ थियो ।
घटनामा संलग्न व्यक्तिको पहिचान गरी मिति यही असार ४ गते बेलुका ४ बजे निजलाई नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । घटनाको गाम्भीर्यतालाई ध्यानमा राखी सुदूरपश्चिम प्रहरी कार्यालयबाट अनुसन्धानमा सहयोग गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाइएको र सो टोलीले प्रतिवेदनसमेत जिल्ला प्रहरी कार्यालय अछाममा बुझाइसकेको उहाँले बताउनुभयो ।
उहाँले हाल उक्त घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानलाई पूर्णता दिई चाँडै अदालतमा मुद्दा दायर हुने जानकारी गराउनुभयो । अनुसन्धानका क्रममा यही असार ४ गते बिहान २ बजेको समयमा बालिकामाथि जबर्जस्ती करणी भएको, पीडितको बुबा वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेको र आमाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको र पीडक नातामा मामा रहेको र पीडक १३ वर्ष चार महिनाको नाबालक भएको खुल्न आएको उहाँले जवाफ दिनुभएको छ ।
पीडित हाल मङ्गलसेन अस्पतालमा उपचाररत रहेको, निजको स्वास्थ्य अवस्था सामान्य रहेको र यही जेठ ९ गते जिल्ला अदालत अछामबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।
“भविष्यमा यस प्रकारका घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास रहेका जिल्ला तथा क्षेत्रमा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने र बहुपक्षीय समन्वयमा निरोधात्मक तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाई अनुसन्धान कार्यलाई तदारुकताका साथ सम्पन्न गरिने छ”, उहाँले भन्नुभयो । संलग्न दोषीहरुलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न स्पष्ट निर्देशन भएको र सो अनुसार प्रहरी तथा प्रशासनले काम गरिरहेको उहाँले सदनलाई जानकारी गराउनुभएको थियो ।

डोटी बडिकेदारकी निरुताले पाइन कृतिम खुट्टा

By
Himalayan Tribune
-
June 24, 2024
0

काठमाडौँ: डोटी बडिकेदार गाउँपालिका-५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाउनुभएको छ । केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उहाँको देब्रे खुट्टा भाँचिएको थियो । उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उहाँ वैशाखीको सहारामा हिँड्डुल गर्दै आउनुभएको थियो । “रूखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो ।

उनी वैशाखीको सहारामा हिँड्डुल गर्थिन्, डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृतिम खुट्टा सहयोग गरेको हो”, निरुताका श्रीमान् मोहन थापाले भन्नुभयो । कृतिम खुट्टा पाएपछि हिँड्डल गर्न सहज भएको निरुता थापाले बताउनुभयो ।

सांसद आलेले कृतिम खुट्टा लगाउनका लागि मारवाडी सेवा समितिसमक्ष पहल गर्नुभएको उहाँको भनाइ छ । साथै निरुतालाई डोटीदेखि काठमाडौँ आउँदा, जाँदा तथा यहाँ बसोबासको सम्पूर्ण खर्च समेत सांसद आलेले बेहोर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । आज खुट्टा पाएपछि निरुता तथा उहाँको परिवारका सदस्य खुसी हुनुभएको छ । पशुपति गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालको ‘कृतिम अङ्ग कार्यशाला’ले कृतिमा खुट्टा प्रदान गर्दै आएको छ ।

सामाजिक कुरीति अन्त्यसम्बन्धी कानुन निर्माण गर्न समिति बनाइने

By
Himalayan Tribune
-
June 24, 2024
0

काठमाडौँ: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले छाउपडीलगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन निर्माण गर्न सरोकारवाला मन्त्रालयबीचको समन्वयमा समिति बनाइने बताउनुभएको छ । अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाका सम्बन्धमा आज गृहमन्त्रालयमा महिला जनप्रतिनिधि र अभियन्तासँगको छलफलमा उहाँले यसप्रकारका घटना हुन नदिनका लागि प्रभावकारी कदम चालिने स्पष्ट पार्नुभयो ।

उक्त समितिले कुप्रथा अन्त्यका लागि यसअघिका अध्ययन, कानुन र अभियानको अध्ययन गरी कार्यान्वयन हुन नसक्नुको कारणसहित आवश्यक सुझाव सरकारालाई दिनेछ । सोही समितिको सिफारिसका आधारमा यस्ता कुप्रथा निर्मुल पार्नका लागि सरकारले प्रभावकारी योजना बनाइने उपप्रधानमन्त्री लामिछानेले उल्लेख गर्नुभयो । “अछाममा जुन घटना भयो, त्यो दःखद् हो । गृह प्रशासनले त्यसका सम्बन्धमा आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ । तर विषय यो मात्र होइन । आगामी दिनमा यस्ता घटना हुन कसरी नदिने ? हाम्रो ध्यान त्यसतर्फ छ”, उहाँले भन्नुभयो ।

कुप्रथा अन्त्यका लागि सरकारले चलाइरहेका कार्यक्रमको प्रभावकारिताका सम्बन्धमा प्रश्न उठेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेले यसअघि भएका अध्ययनको निष्कर्ष फेरि अध्ययन गरी प्राप्त सुझावका आधारमा प्रभावकारी गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । छलफलमा सांसद तथा अभियन्ताले छाउगोठ भत्काएर मात्रै कुरीति अन्त्य गर्न नसकिने भन्दै त्यसका लागि सचेतना नै मुख्य उपाय भएको बताउनुभएको थियो । छाउगोठ बनाउनु कानुनी रुपमै अपराध भएको भन्दै त्यस्ता गोठमा राख्ने घरमुलीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने उहाँहरुको सुझाव छ ।

1...754755756...1,302Page 755 of 1,302

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune