Thursday, May 14, 2026
Home Blog Page 751

वडा कार्यालय भवन निर्माण

0
सांकेतिक तस्बिर

म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण गरिएको छ । मालिकाले रु ७६ लाखको लागतमा सात कोठे एक तले भवन निर्माण गरेको हो । अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधी क्षमता भएको उक्त भवन निर्माण गर्न गा मङ्सिरमा सम्झौता भएको हो । मालिका–५ का वडाध्यक्ष मिम पुनले हस्तान्तरण भएपछि नयाँ भवनबाट सेवा सुरु गरिने जानकारी दिनुभयो । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो र जिर्ण भवनबाट वडा कार्यालयको कामकाज सञ्चालन हुँदै आएको थियो ।

सात वडा रहेको मालिकामा यसअघि वडा नं ३ मा मात्र आफ्नै भवन निर्माण गरिएको थियो । वडा नं ६ को कार्यालय भने तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ । आगामी आर्थिक वर्षमा गाउँपालिकाको प्रशासकीय भवन, वडा नं १ र ७ को भवन निर्माण गर्न रु दुईं करोड बजेट विनियोजन गरिएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

देशभर मनसुनी वायुको प्रभाव

0

काठमाडौँ: देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको हो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति पनि देशभर पूर्णतया बदली रही मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दाङमा तीन लाख बिरुवा तयार, निःशुल्क वितरण गरिने

0

वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

0

बलेवा (बागलुङ): बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

आधुनिक प्रविधिको प्रयोग गरी धान उत्पादन गरिँदै

0
सांकेतिक तस्बिर

कञ्चनपुर: आधुनिक प्रविधिको प्रयोगरी धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत कञ्चनपुरमा अनुदानका कार्यक्रम सञ्चालन गरिएका छन् । परियोजना कार्यान्वयन इकाइको समन्वयमा चक्लाबन्दीमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिमार्फत धानखेतीका साथै धानको बीउ उत्पादन गर्न थालिएको हो ।

इकाइका कार्यालयका प्रमुख सन्जु रिमालका अनुसार ध्रुवतारा सामुदायिक विकास कृषि सहकारी संस्थाले शुक्लाफाँटा नगरपालिका–१० मा र माता भगवती कृषि सहकारी संस्थाले भीमदत्त नगरपालिका–१२, १४ र १६ मा कार्यक्रम सञ्चालन गरेका छन् । दुवै सहकारीले १५/१५ हेक्टर क्षेत्रफलमा मेसिनको प्रयोग गरी आधुनिक प्रविधिबाट धानखेती गर्न सहजीकरण गरिरहेका उहाँको भनाइ छ ।

प्लास्टिको ट्रेमा धानको बेर्ना तयार गरी दुवै सहकारीमा आवद्ध किसानले पहिलो पटक धान रोप्ने मेसिनको प्रयोग गरी रोपाइँ गरिरहेका प्रमुख रिमालले बताउनुभयो । “धान रोप्दा लाग्ने लागत खर्चमा कमी ल्याउन मेसिनको प्रयोगलाई प्राथमिकता दिएका छौँ”, उहाँले भन्नुभयो, “सहकारीमा आवद्ध किसानलाई आवश्यक बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, धान रोप्ने मेसिन, पावर टिलर, मिनी टिलर, पावर टिलरमा लाग्ने रिपर, पावर टिलरको हिले चक्कालगायत सामग्रीमा अनुदानको व्यवस्था गरी उपलब्ध गराएका छौंँ ।”

योसँगै कम्बाईन मिल, पेडल थ्रेसर, म्यानुअल, सिँचाइ बोरिङ, ईलेक्ट्रिक स्प्रेयर, माटो चाल्ने मेसिन, मेसिनबाट धान रोपाइँसम्बन्धी तालिम तथा बेर्ना तयारीका लागि आवश्यक फ्रेम, प्लाष्टिकलागायत सामग्रीमा अनुदान सहयोग उपलब्ध गराइएको रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार धु्रवतारा सहकारीलाई परियोजनाका तर्फबाट रु ११ लाख ४३ हजार छ सय २५ अनुदान उपलब्ध गराइएको छ भने सहकारीले रु १० लाख ७७ हजार छ सय २५ रकममा सहकार्य गरेको छ ।

भगवती सहकारीलाई परियोजनाका तर्फबाट रु ११ लाख ९२ हजार छ सय ८८ र सहकारीले रु ११ लाख छ हजार नौ सय ३८ रकम लगानी गरेको छ । मेसिनबाट धान रोपाइँ प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त–६, ११, १५, १७ र वेदकोट नगरपालिका–९ मा एक/एक हेक्टर क्षेत्रफलका १० प्लटमा पाँच वटा चारपाङ्ग्रे मेसिनको सहतायले धान रोपाइँ भइरहेको कार्यालय प्रमुख रिमालले जानकारी दिनुभयो ।

वेदकोट–३, ४, १० को एक/एक र कृष्णपुर नगरपालिका–१ को दुई स्थानमा गरी पाँच स्थानमा छरुवा प्रविधिमार्फत धानखेती भइरहेको छ । स्वदेशी हाईब्रिड धान जातीय प्रदर्शन कार्यक्रमअन्तर्गत भीमदत्त–१०, १७, १८, १९, वेदकोट–३, कृष्णपुर–१, बेलडाँडी गाउँपालिकामा–२, बेलौरी नगरपालिका–८, पुनर्वास नगरपालिका–३ र ८ मा १/१ हेक्टर क्षेत्रफलको कूल १० वटा प्लटमा हर्दिनाथ हाईब्रिड–एक धान रोपिएको छ ।

“मसिनो तथा बास्नादार धानको बजारमा अत्यधिक माग छ । स्थानीयस्तरमा उत्पादन नहुँदा बाह्य क्षेत्रबाट आयात गर्नुपर्ने बाध्यता छ”, कार्यालय प्रमुख रिमालले भन्नुभयो, “भीमदत्त–६, ९ र ११ मा एक/एक, वडा नं १० मा चार र वेदकोट–१, बेलौरी नगरपालिका–६ र शुक्लाफाँटा नगरपालिका–४ मा एक/एक वटागरी कूल १० स्थानमा एक/एक हेक्टर क्षेत्रफलको प्लटमा हर्दिनाथ हाईब्रिड–१, हर्दिनाथ–६, युएस–३०५, एमपि–३०३० जातका खेती गर्न किसानलाई अनुदान उपलब्ध गराइएको छ ।”

कार्यक्रमअन्तर्गत किसानलाई ८५ प्रतिशत अनुदानमा धानको बीउ, विषादी, सुक्ष्म खाद्यतत्व, जाईम, स्प्रेयर, सुपरग्रेन ब्याग, मेसिनबाट रोपाइँका लागि मेसिन अपरेटर, छरुवा धानखेतीअन्तर्गत डिएपी मललगायत कृषि सामग्री उपलब्ध गराइएको उहाँको भनाइ छ ।

भीमदत्त–१६ स्थित रत्न कृषि बहुउद्देश्यीय सहकारी संस्थाले करिब १५ हेक्टर क्षेत्रफलमा मेसिनबाट धान रोपाइँका लागि करिब तीन हजार चार सय ट्रेमा धानको बेर्ना तयारी गरिएको छ । शुक्लाफाँटा–१० को कञ्चन कृषि वस्तु उत्पादन सङ्कलन तथा प्रशोधन केन्द्रसँग करिब १५ हेक्टर क्षेत्रफलमा धानको सामुदायिक नर्सरी स्थापनाका लागि सम्झौता गरिएको प्रमुख रिमालले जानकारी दिनुभयो । “यसका लागि बेर्ना तयार गरी धान रोपाइँ अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो ।

धान बीउ उत्पादन सहयोग कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलमा उत्पादन गर्न बीउ उत्पादन प्रशोधन तथा बजारीकरण कार्यमा संलग्न तीन सहकारी संस्था र दुई बीउ कम्पनीसँग सम्झौता गरी बीउ उत्पादन थालिएको कार्यालय प्रमुख रिमालले बताउनुभयो । उहाँका अनुसार सोका लागि सम्झौता अनुसार रु आठ लाख बजेट उपलब्ध गराइएको छ ।

सुदूरपश्चिमका १८ विद्यालयमा सेवा दल तालिम

0
फाइल फोटो

महेन्द्रनगर (कञ्चनपुर): सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका अठार सामुदायिक तथा निजी विद्यालय छनोट गरी नेपाली सेनाले राष्ट्रिय सेवा दल ‘जुनियर डिभिजन’ तालिम सुरुआत गरेको छ ।

सुदूरपश्चिम पतृना अत्तरिया तेघरीका अनुसार छनोट भएका विद्यालयमा सेनाका बाहिनी, गण तथा गुल्मपतिले सो तालिम थालनी गरेका हुन् । यहाँ कञ्चनपुरका छ, कैलालीमा तीन, डडेल्धुरा र दार्चुलामा दुई÷दुई, बाँकी डोटी, अछाम, बाजुरा, बझाङ र बैतडीमा एक÷एक विद्यालयमा सो तालिम सुरु भएको पृतनाले जनाएको छ । युवा वगलाई अनुशासित, बफादारिता तथा इमान्दारिता, राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष राष्ट्रिय सेवा दलको जुनियर र सिनियरतर्फको तालिम विद्यालयमा सञ्चालन गर्दै आएको छ ।

यस क्रममा शुक्रबार महेन्द्रनगरस्थित श्री राष्ट्रिय बाल विद्यालयमा पनि सो तालिमको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापाले शुभारम्भ गर्नुभयो । उक्त कार्यक्रममा कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, सेनाको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी दीपक खड्का, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, सशस्त्र प्रहरी बल नंं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्द, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीव जङ्ग ठकुरी, कञ्चनपुर उद्योग वाणिज्य सङ¬्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्ल, राष्ट्रिय विद्या निकेतनका प्रधानाध्यापक महेश भट्टलगायतको सहभागिता रहेको थियो ।

जुनियर डिभिजन तालिममा छनोट भएका विद्यालयका मावि तहमा अध्ययनरत १८ छात्रा र १८ छात्र गरी ३६ जना सहभागी रहने सेनाले जनाएको छ । सेनाले दिएको जानकारीअनुसार २०२२ सालदेखि मुलुकमा सेनाले विद्यार्थीलाई सो तालिम दिँदै आएको र हालसम्म ७४ हजारभन्दा बढी विद्यार्थीले तालिम लिइसकेको जनाएको छ ।

चितवनमा रोपाइँ महोत्सव हुने

0

चितवन: हरेक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस वर्ष चितवनमा मनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनको धान जोन क्षेत्रको बछौलीमा प्रधानमन्त्रीको उपस्थितिमा रोपाइँ महोत्सव गर्न लागिएको हो ।

रत्ननगर नगरपालिका–७ बछौलीमा महोत्सव मनाउने तयारी गरिएको आयोजक समितिका संयोजक एवं कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा धान रोप्ने मेसिनले एक हेक्टर क्षेत्रफलमा धान रोपिने संयोजक घिमिरेले बताउनुभयो । बछौली बहुउद्देशीय कृषि समूहमा आयोजना गर्न लागिएको उक्त महोत्सवमा कृषि क्षेत्रमा आधुनिकीकरण, जलवायुमैत्री तथा जलवायु परिवर्तनसँग जुध्न सक्ने धानका जातको बारेमा जानकारी दिइने उहाँले बताउनुभयो ।

संयोजक घिमिरेका अनुसार सुक्खा क्षेत्र सहन सक्ने छ जात र डुबान सहन सक्ने दुई जातका धानको बारेमा जानकारी गराइने छ । “अहिले मनसुन ढिला सुरु हुँदा कतै बीउ राख्ने त कतै रोपाइँ गर्ने अवस्था छ । धान रोपाइँमा मेसिनको प्रयोग गर्नसके कृषकलाई समयका साथै आर्थिकरुपमा खर्च कम लाग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर कृषि कर्म गरे ३० प्रतिशतसम्म उत्पादन बढ्ने छ ।”

जिल्लामा अहिले पाँचवटा मेसिनबाट धान रोपाइँ हुँदै आएको छ । एक बिघा क्षेत्रफलमा धान रोप्दा रु पाँच हजार मात्र खर्च हुने भएकाले हरेक दृष्टिकोणबाट मेसिन फलदायी हुने संयोजक घिमिरेले बताउनुभयो । जलवायु परिवर्तनको असरको न्यूनीकरणका लागि प्रविधिको विकास भए पनि यसको प्रयोगका बारेमा जानकारी नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ ।

१४ प्रतिशत रोपाइँ सम्पन्न

जिल्लामा हालसम्म १४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । यहाँ २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती गरिँदै आइएको छ ।

पूर्वी चितवन र पश्चिम चितवनको माडी क्षेत्रमा धान रोपाइँ भइरहेको कृषि कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो सातादेखि रोपाइँ सुरु भएको छ भने पश्चिम क्षेत्रमा असार अन्तिम सातादेखि सुरु हुने गरेको छ ।

धान जोन क्षेत्रमा करिब ८० प्रतिशत सिँचाइको व्यवस्थापन भइसकेको छ । अन्य क्षेत्रमा सिँचाइका लागि बोरिङ जडानको काम भइरहेको जनाउँदै नहरबाट पानी लाग्ने ठाउँमा भने केही ढिला हुने संयोजक घिमिरेले बताउनुभयो । जिल्लामा सञ्चालित धान जोन क्षेत्रमा ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आठ हजार पाँच सय हेक्टर क्षेत्रफल धान जोनका रुपमा विकास गरिएको छ ।

हरित कर्णाली अभियानका लागि वृक्षरोपण : मुख्यमन्त्री कँडेल

0

कर्णाली: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले हरित कर्णाली र दीगो वन व्यवस्थापनका लागि वृक्षरोपण गरिएको बताउनुभएको छ । डिभिजन वन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा आजदेखि सुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै उहाँले प्रकृति संरक्षणका लागि वृक्षरोपण आवश्यक छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “वृक्ष रोप्ने तर त्यसको हेरचाह, दीगो व्यवस्थापन, संरक्षणमा बेवास्ता गर्ने अहिलेसम्मको परम्परालाई बदल्नुपर्छ । वृक्षरोपण कर्मकाण्ड पूरा गर्न होइन, यहाँका नागरिकको स्वस्थ जीवन र समृद्धिका लागि हो ।” सरकारीस्तरबाट गरिएका कार्य ‘क्या राम्रो हुँदा रहेछन्’ भन्ने अनुभूति हुने गरी वृक्षरोपण कार्य गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो ।

डिभिजन वन कार्यालयले वीरेन्द्रनगर ११ सुर्खेतस्थित सुब्बाकुनादेखि वडा नं १ बाङगेसिमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तती र समृद्धिका लागि वृक्षरोपण’ भन्ने मूल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्य मूल प्रजातिका वृक्ष रोप्ने कार्य सुरु गरेको डिभिजन वन अधिकृत वसन्तबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि हातेमालो गर्न वातावरणप्रेमी व्यक्तित्वहरुसँग आग्रह गरिएको छ । त्यस्तै, ११ दिने प्रदेश राजधानी वृक्षरोपण कार्यक्रमअन्तरगत ट्रिगार्डसहित एक हजार एक सय ११ वटा बिरुवा वीरेन्द्रनगरका मुख्य सडकका डिभाइडरमा रोपिने लक्ष्य रहेको छ ।

डिभिजन वन अधिकृत श्रेष्ठले रु २० लाखको बजेटमा सञ्चालन हुने उक्त कार्यक्रमबाट रोपेका बिरुवाको उचित हेरचाह, व्यवस्थापन एवं संरक्षणका लागि ‘वन हेरालु’समेत परिचालन गरिने बताउनुभयो । वृक्षरोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, प्रदेश सचिवलगायत वातावरणप्रेमीको सहभागिता रहेको थियो ।

म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण

0

म्याग्दी: जिल्लाको मङ्गला गाउँपालिका–३ पखेरमा ‘लिफ्ट’ प्रविधिको सिँचाइ आयोजना निर्माण भएको छ । सङ्घीय र गण्डकी प्रदेश सरकारको लगानीमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले जिल्लामा पहिलोपटक ‘डिपबोरिङ’ प्रविधिको सिँचाइ आयोजना निर्माण गरेको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले डिपबोरिङ, लिफ्ट, भूमिगत र भूसतही प्रविधिको संयोजन गरिएको आयोजनाको परीक्षण सफल भएको जानकारी राससलाई दिनुभयो । “डिपबोरिङ प्रविधि म्याग्दी जिल्लामा पहिलोपटक पखेरमा भित्र्याएका हौँ”, उहाँले भन्नुभयो, “जमिनभित्र पाइप राखेर विद्युतीय उपकरणको सहायताले तानेको पानी पोखरीमा सङ्कलन गरी, नहर र पाइप लाइनबाट खेतबारीमा सिँचाइ गर्ने व्यवस्था मिलाएका छौँ ।” लगातार १२ घण्टासम्म डिपबोरिङ गर्ने उपकरण सञ्चालन गर्दा परीक्षण सफल भएको ओझाले बताउनुभयो ।

सुक्खा याममा भूमिगत र बर्खामा खोल्सा तथा मुहानको पानी प्रयोग गरेर सिँचाइ गर्न मिल्ने संरचना तयार पारिएको उहाँले बताउनुभयो । म्याग्दी नदी किनारमा प्वाल पारेर राखिएको दुई सय एमएम क्षमताको जिआइ पाइपभित्र प्रतिसेकेण्ड १२ दशमलव पाँच लिटर पानी तान्न सक्ने २५ ‘हर्सपावर’ क्षमताको ‘सम्पवेल पम्प’ (पानी तान्ने उपकरण) जडान गरिएको छ । पानी तान्ने उपकरण सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले ५० केभीए क्षमताको ट्रान्सफर्मर र विद्युत् लाइन जडान गरेको छ ।

डिपबोरिङ राखेको ठाउँबाट एक सय ५० मिटर उचाइमा रहेको ४८ हजार लिटर क्षमताको ट्याङ्कीमा पानी लैजान एक सय १० एमएम क्षमताको एचडिआई (पोलिथिन) पाइप जडान गरिएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनियर अञ्जन खत्रीले बताउनुभयो । अठचालीस हजार लिटर क्षमताको ट्याङ्कीभन्दा ७० मिटरमाथि दुई सय १८ मिटर पाइपबाट प्रतिसेकेण्ड दुई लिटरका दरले तान्ने पानी सङ्कलन गर्न २२ हजार पाँच सय लिटर क्षमताको अर्को ट्याङ्की बनाइएको छ । आयोजनामार्फत पाँच सय ५० मिटर पक्की नहर निर्माण भएको छ । थप एक सय मिटर नहर निर्माण गर्न बाँकी छ ।

तेह्र हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको पखेर सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो । पचास किसान लाभान्वित भएका छन् । पखेरको खेतीयोग्य जमिन सिँचाइ सुविधा अभावमा प्रयोग भएको थिएन । स्थानीय किसान छवीलाल भुसालले विगतका वर्षमा अकासे पानीको भरमा साउनमा धान रोपाइँ गर्ने किसानले यसपालि असारमै रोपाइँको तयारी गरेका बताउनुभयो । पर्याप्त पानी भएपछि रोपाइँ र सिँचाइका लागि पालो कुर्नुपर्ने समस्या हटेको छ । पानीका कारण उत्पन्न हुने विवाद हटेको र सामाजिक सद्भाव कायम भएको छ । चालु आर्थिक वर्षमा सङ्घीय सरकारबाट सशर्त अनुदानमा रु ३० लाख र प्रदेश सरकारले रु १० लाख बजेट विनियोजन गरेको यो आयोजनालाई थप रु ५० लाख बजेट रकमान्तरण गर्न प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्रस्ताव गरिएको कार्यालय प्रमुख ओझाले बताउनुभयो ।

बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम

0