Thursday, May 14, 2026
Home Blog Page 750

मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी

0

महोत्तरी : राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ । राष्ट्रिय जनगणनामा उल्लेख गरिएको विवरण अनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७.७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९.३ प्रतिशत र १० वर्ष उमेर मुनि विवाह गराइने ०.२ प्रतिशतसहित यो सङ्ख्या ३७.२ प्रतिशत हुन्छ । अठार र २० वर्ष उमेरबीच विवाह गर्ने ३९.५ प्रतिशत छन् ।

दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् । उमेर नपुगी विवाह भएका महिला ३९.५ को आधा हुँदा कूल उमेर नपुगी विवाह हुनेको सङ्ख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवाक्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिनुभयो । मधेसमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । पुरुषको उमेर २० वर्ष भए पनि महिला १७ वर्षसम्मका पाइएका छन् । बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताउनुभयो ।

पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पति हेरेर उमेर नपुगेकी छोरी दिनेहरु समाजमा अझै बाक्लै रहेका उहाँको भनाइ छ । बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् । मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका जनाउँदै यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको नगरप्रमुख मण्डलले बताउनुभयो ।

बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् । मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरु÷पुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ ।

वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छः प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचारधारात्मक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण गर्दै कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्छ भन्नेमा आफू र आफू नेतृत्वको पार्टी स्पष्ट रहेको बताउनुभएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको ‘पुष्पलाल जन्मशताब्दी’ समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने प्रयासमा कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूले भूमिका खेल्दै आएको बताउनुभयो । “विगतमा नेपाल दुई ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने प्रयासस्वरूप नेकपा निर्माण गर्‍यौँ ।

तर, कतिपय हाम्रा सीमा तथा कतिपय सन्दर्भमा वैचारिक प्रश्नहरूमा समान दृष्टिकोण निर्माण र बुझाइ कायम गर्ने कुरामा हतारिँदा एकता दीगो हुन सकेन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “विगतका अनुभवबाट समेत शिक्षा लिँदै वामपन्थी शक्तिहरूबीचको समीकरण सुदृढ गर्ने र सहकार्यलाई बलियो बनाउँदै जानुपर्छ ।” व्यवस्थामा आएको परिवर्तनअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने कोशिस जारी रहेको बताउँदै प्रधानमन्त्रीले सामन्ती व्यवस्थाको अन्त्यपछि देशले पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सामाजिक न्याय लगायतका क्षेत्रमा गुणात्मक प्रगति हासिल गरेको बताउनुभयो । “दशकौँ लामो सङ्घर्षका बलमा समाजवादउन्मुख संविधान निर्माण गर्न सफल भएका छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सामन्ती राजतन्त्रको ठाउँमा समावेशी गणतन्त्र, एकात्मकताको ठाउँमा विकेन्द्रिकरणसहितको सङ्घीय प्रणाली, एकल भाषा, धर्म र संस्कृतिको ठाउँमा बहुभाषिकता, धर्मनिरपेक्षता र प्रगतिशील संस्कृतिको निर्माणलगायतका उपलब्धी प्राप्त गरेका छौँ ।”

क्रान्तिले आम जनसमुदायमा शीघ्र परिर्वतनको आकाङ्क्षा जगाइदिएको परिस्थितिमा जनताको आकाङ्क्षाबमोजिम परिवर्तनको बेगलाई बढाउनुपर्ने जिम्मेवारी र चुनौती रहेको बताउँदै प्रधानमन्त्रीले जनआकांक्षा पूरा गर्न कम्युनिस्ट तथा वामपन्थी शक्तिहरूले थप जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । “म यही मञ्चमार्फत् सबै कम्युनिस्ट घटक र नेताहरूमा अपील गर्दछु– साझा मुद्दाहरूमा सहकार्य गर्दै अगाडि बढौँ । वैचारिक प्रश्नहरूमा गहन छलफल गरौँ र समान दृष्टिकोण निर्माणको दिशामा अगाडि बढौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “इतिहास, हाम्रा स्कुल र पूर्वाग्रहका आधारमा होइन, नेपालमा समाजवादी क्रान्ति पूरा गर्ने सङ्कल्पका साथ खुला हृदयले बहस गरौँ र उचित निष्कर्षमा पुगौँ ।” निरङ्कुता विरोधी योद्धा, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार, इतिहास, समाजशास्त्र, मानवशास्त्रका ज्ञाता कमरेड पुष्पलालका योगदानहरूको सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन

0

काठमाडाैँ: बैँकर्स राजनसिंह भण्डारीको सपना, सङ्घर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा ‘आफैँलाई नियाल्दा’ कृति विमोचन गरिएको छ । पूर्वमन्त्री शरदसिंह भण्डारी, प्राडा एवं सांसद चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्वबैंकर्स खेमबहादुर भण्डारीलगायतले संयुक्तरूपमा उक्त कृति विमोचन गर्नुभएको हो । मिनेट मिडिया प्रालि प्रकाशक रहेको त्यस कृतिमा पुर्खा र परिवारिक पृष्ठभूमि, बाल्यकाल र प्रारम्भिक शिक्षा, त्यो मधेस, त्यो औरही, मेरा सोख र स्वभाव, राष्ट्र बैंकमा २६ वर्ष, बैंकर्स सङ्घको अध्यक्ष, गीतको दुनियाँमा मौसुफ भण्डारी र पारिवारिक कलहलगायत शीर्षकमा भण्डारीका स्वाभिमानी आत्मकथा समेटिएको छ ।

तेह्र परिच्छेद रहेका पुस्तकमा चालिसभन्दा बढी उहाँ र भण्डारी परिवारसँग जोडिएका तस्बिरसमेत समेटिएको छ । सो अवसरमा पूर्वमन्त्री भण्डारीले हक्की स्वभावका लेखकले आफूले–आफैँलाई एउटा सफल व्यक्तित्व बनाएको जीवनसम्बन्धी आत्मकथा कृतिमा समेटिएको बताउनुभयो । जीवनको यात्रालाई अघि बढाउने सिलसिलामा परिवारिक सहयोग, शक्ति र समर्थन आवश्यक पर्ने बताउँदै उहाँले पुस्तक प्रकाशित नगर्ने प्रत्येक व्यक्तिका पनि आ–आफ्नै खाले आत्मकथा हुने उल्लेख गर्नुभयो । सांसद कार्कीले असल प्रशासक, व्यवसासायी, बैंकर्स र गायक भण्डारीको कृतिमा स्वाभिमानी गुण र अद्भूत आत्मप्रेमका विषयवस्तु समेटिएको बताउनुभयो ।

पूर्वगभर्नर डा रावलले राष्ट्र बैंकको नेतृत्वमा रहँदा लेखकलाई आफूले व्यावसायिकता मिसिएको एउटा हक्की र दूरदर्शी व्यक्तित्वको रूपमा पाएको घटना सुनाउनुभयो । त्यस अवसरमा डा लोकविक्रम थापा र पूर्वबैंकर्स खेमबहादुर रायमाझीले युवापुस्ताका लागि प्रेरणा प्रदान गर्ने सरल भाषामा लेखिएको कृतिभित्र विधि स्थापित गर्न र कानुन पालनामा लेखक कति कठोर भए भन्ने नालीबेली समेटिएको बताउनुभयो । शिवचन्द्र स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रममा प्रकाशक रिमालले पुस्तकमा लेखकका सवल पक्षमात्र होइन, कमी–कमजोरी पनि खुलेरै प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समान्यतः परिवारिक कलह आत्मकथामा पढ्न नपाइने अध्याय हो, जुन यहाँ छ ।”

उपभोक्तामैत्री कानुन आवश्यकः मन्त्री गिरी

0

पर्वत: कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले खानेपानीसम्बन्धी उपभोक्तामैत्री कानुन आवश्यकता रहेको बताउनुभएको छ । गृहजिल्ला पर्वतमा शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १८औँ साधारणसभालाई आज सम्बोधन गर्दै मन्त्री गिरीले उपभोक्तालाई न्यून महसुल लाग्ने गरी ऐन संशोधनको आवश्यकता देखिएको बताउनुभयो ।

स्वच्छ खानेपानी पाउनु नागरिकको मौलिक हक भएको बताउँदै उहाँले सबै नागरिकलाई सहज रूपमा खानेपानीको पुहँच पुर्याउन सरकार लागिरहेको बताउनुभयो । उहाँले पुराना योजनालाई व्यवस्थित गर्नुका साथै नयाँ योजनाहरूलाई विस्तार गरेर हरेक नागरिकको घरघरमा धारा विस्तार गर्ने योजना सरकारले ल्याएको बताउनुभयो । मन्त्री गिरीले खानेपानीका स्रोतहरु सुक्दै जान थालेको अवस्थामा नयाँ स्रोतहरू खोजेर एकीकृत रूपमा आयोजना सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि नागरिकले खानेपानीका लागि ठूलो धनराशि खर्चिनुपरेको, गरिब समुदायले धारा जडान गर्नै नसक्ने अवस्था आएको बताउँदै यसको अन्त्य गरिनुपर्ने बताउनुभयो ।

उपभोक्तालाई शून्य लागतमा राज्यले पानी उपलब्ध गराउनुपर्ने बताउनुभयो । मन्त्री गिरीले सदरमुकाम रहेको कुश्मा नगरपालिकामा बृहद् खानेपानी योजना सञ्चालन गर्न आग्रह गर्दै त्यसका लागि तीनै तहका सरकारबीच साझेदारी गर्न सुझाव दिनुभयो । कम्तीमा रु दुई अर्ब बराबरको योजना निर्माण गर्न उहाँले आग्रह गर्नुभयो । फरक प्रसङ्गमा मन्त्री गिरीले बदमासी गर्ने सहकारी सञ्चालकलाई कारबाहीको दायरमा ल्याउनैपर्ने बताउनुभयो । ऋण लिएर नतिर्नेहरूलाई जसरी बैंकले कालोसूचीमा राख्छ त्यसैगरी सहकारी ठगहरूलाई पनि कालोसूचीमा राखेर राज्यका सेवासुविधाबाट बञ्चित गर्नुपर्ने उहाँको भनाइ थियो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक कानुन निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

मन्त्री गिरीले मुलुकमा देखिएको अहिले अवस्थामा छिट्टै सुधार हुने बताउनुभयो । मुलुकको आर्थिक अवस्था विस्तारै लयमा आउँदै गरेको बताउँदै छिट्टै नेपालीहरूले सुखको श्वास फेर्न पाउने दाबीसमेत गर्नुभएको छ । उहाँले खानेपानीजस्ता पवित्र संस्थामा राजनीति गर्न नहुने बताउनुभयो । नागरिकलाई खानेपानी उपलब्ध गराउने उद्देश्यले खोलिएका यस्ता संस्थामा सर्वसम्मत रूपमा सक्षम नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले बढ्दो जनसङ्ख्याको चापसँगै खानेपानीको अभाव पनि थपिँदै जाने बताउँदै नयाँ स्रोतहरू खोजी गरेर नागरिकलाई पानीको सहजता प्रदान गर्न आग्रह गर्नुभयो । कुश्माबजारमा वितरित पानी स्वच्छ रहेको बताउँदै यसलाई कायम राख्न उहाँले अनुरोध गर्नुभयो ।

बैतडीमा सामुदायिक वनको अतिक्रमण हटाउन सुरु

0

बैतडी: डिभिजन वन कार्यालय बैतडीले जिल्लाका विभिन्न स्थानमा वन अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । आज जिल्लाको मेलौली नगरपालिका–२ स्थित श्रीकृष्ण सामुदायिक वन अतिक्रमण गरी बनाएका घर टहरा भत्काइएको हो ।

प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा नेतृत्वमा खटिएको टोलीले वन अतिक्रमण गरी बनाइएको स्थानीय राम ओडको दुईतले घर भत्काउनुका साथै अतिक्रमण गरी भोगचलन गरिँदै आएको सामुदायिक वनको २५ रोपनी जमिन खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रजिअ शर्मा, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरी, सशस्त्र प्रहरी बल ५१ नम्बर गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्णसिंह पुजारा, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत दिगम्बर गिरी, डिभिजन वन कार्यालयका निमित्त प्रमुख दिलिपकुमार यादव, वडा नं २ का वडाअध्यक्ष कृष्णदत्त भट्टलगायतको टोलीले स्थलगत निरीक्षणसहित अवैध संरचना हटाएको हो । संरचना भत्काइएको ठाउँमा घेरबार निर्माण गरी वृक्षारोपण गरिने डिभिजन वन कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

वाग्मती सफाइ महाअभियान ५८१औँ हप्तामा

0

काठमाडौँ: ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको पाँच सय ८१औँ हप्ताको सफाइ सुविधानगरस्थित वाग्मती नदी किनारमा गरिएको छ । सफाइबाट एक मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।

नदी किनारबाट आज उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागको ट्रकमा राखी व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो । सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, सुविधानगर सामाजिक विकास समितिका अध्यक्ष सुमित्रा कडरिया, सुन्दरीघाट वाग्मती सफाइ अभियानका संयोजक चित्रबहादुर सुनुवार, बानेश्वर महिला वातावरण प्रालिका अध्यक्ष दुर्गा दुलालज्यू सहितको समूह, आलोकनगर सफाइ संयोजक प्रमिला पौडेल, खोटाङ डेकोरका सञ्चालक योगेन्द्र कार्कीलगायतका सफाइमा सक्रियता थियो । अर्को हप्ताको सफाइ कोटेश्वर महादेवमुनिको पहेँलो पुलस्थित वाग्मती पुल क्षेत्रमा गरिने भएको छ ।

आज सफाइ सम्पन्न गरी असार १५ का अवसरमा दही च्यूरा खाएर सांस्कृतिक पर्वसमेत मनाइएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । सुरु भएदेखि प्रत्येक हप्ताको शनिबार चाड, पर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारी आदि प्रतिकूल परिस्थितिमा पनि महाअभियान रोकिएको छैन । महाअभियानले ११ वर्ष पूरा गरेर १२ वर्ष प्रवेश गरे पनि उल्लेख्य रुपमा नदी सफा हुन नसकेको गुनासो बढ्ने गरेको छ । सफाइ अभियानलाई स्थानीय सरकारले सहयोग नगर्दा यस्तो अवस्था आएको अभियानकर्मीहरुको भनाइ छ ।

तीन वर्षमा बन्ने भनिएको गेउरिया पुल १० वर्षसम्म पनि बनेन

0

पथरी: मोरङको कानेपोखरी रङ्गेली सडकअन्तर्गत गेउरिया पुल १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन । कानेपोखरी गाउँपालिका–२ स्थित कानेपोखरी रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुलबारे गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सडक विभागको टोलीले अनुगमन गरेर चाँडै काम सक्न निर्देशन दिएको थियो । निर्देशन दिएको चार महिना बितिसक्दा पनि पुलको निर्माण भने कछुवा गतिमा भइरहेको छ ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेवीले ठेक्का पाएको थियो । १५ मिटर लम्बाइ उक्त पुल रु एक करोड १८ लाखमा ठेक्का लागेको थिया तर १५ अझै पुल कहिले सम्पन्न हुन्छ भन्ने टुङ्गो नरहेको स्थानीयको भनाइ छ ।

स्थानीय पुन्यप्रसाद रिमालले उक्त स्थानबाट नौ वर्षको अवधिमा पाँचजनाभन्दा बढीले ज्यान गुमाइसकेका र धेरैजना घाइते भएका उल्लेख गर्दै वर्षातको समयमा थप जोखिम रहेको बताउनुभयो । “हामीले समयमै पुल निर्माण गर्न जनप्रतिनिधिलगायत ठेकेदार तथा सरोकार भएकाहरुलाई ध्यानाकर्षण गरायौँ तर सुनुवाइ भएन । १५ मिटर पुलसमेत समयमै बनाउन नसक्नेले बाँकी काम कसरी गर्लान् आश्चर्य लागेको छ”, उहाँले भन्नुभयो । अब पुलको बाँकी काम चाँडै सम्पन्न गर्न जनप्रतिनिधि र नागरिक जागरुक बन्नुपर्ने स्थानीयको भनाइ छ ।

पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा

0

काठमाडौँ: कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । सबै क्षेत्रमा सिँचाइको सुविधा नहुँदा किसान रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपरेको हो । रोपाइँ गर्न किसान कहिले आकाशे पानी पर्ला भनेर कुर्नुपर्ने अवस्था यथावत छ ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष देशभर ९ दशमलव ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । गत वर्ष असार १५ गतेसम्म करिब ८ दशमलव ७५ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशी यस वर्ष मनसुन छिटो भित्रिए पनि ढिलो सक्रिय हुँदा धान रोपाइँ सन्तोषजनक नरहेको बताउनुहुन्छ । “हालसम्म अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ”, उहाँले भन्नुभयो, “कतिपय स्थानमा राम्रोसँग वर्षा भएको छैन, कहिले वर्षा होला र धान रोपौँला भनेर किसान पर्खाइमा छन् ।” मन्त्रालयको तथ्याङ्कअनुसार कोशी प्रदेशमा असार १२ गते सम्ममा धान रोपाइँ ५ दशमलव ६ प्रतिशत भएको छ ।

सो प्रदेशमा गत वर्ष असार १० गतेसम्म ६ दशमलव ५ प्रतिशत धान रोपाइँ भएको थियो । पूर्वी क्षेत्रमा ढिलो गरी धान रोप्ने गरिन्छ । मधेस प्रदेशमा भने गत वर्ष र यस वर्ष बराबर नै रोपाइँ भएको पाइएको छ । सो प्रदेशमा यस वर्ष २ दशमलव ५ प्रतिशत मात्रै धान रोपाइँ भएको तथ्याङ्क छ । गत वर्ष सोही अवधिमा २ दशमलव ५ प्रतिशत नै रोपाइँ भएको थियो । यसैगरी बागमती प्रदेशमा यस वर्ष ५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

गत वर्ष सो प्रदेशमा १८ दशमलव ३ प्रतिशत रोपाइँ भएको थियो । गण्डकी प्रदेशमा गत वर्ष यही समयमा ६ दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ३ प्रतिशत रोपाइँ भएको छ । यसैगरी लुम्बिनी प्रदेशमा यस वर्ष अघिल्लो वर्षको तुलनामा कम रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १० दशमलव ९ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ८ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ । कर्णाली प्रदेशमा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष २३ दशमलव ९ प्रशित रोपाइँ भएको छ ।

सुदूरपश्चिममा गत वर्ष २२ दशमलव ६ प्रतिशत रोपाइँ भएकामा यस वर्ष हालसम्म २५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिममा अन्य प्रदेशभन्दा चाँडो रोपाइँ सुरु हुने भएकाले अन्य प्रदेशको तुलनामा बढी रोपाइँ भएको सूचना अधिकृत जोशीको भनाइ छ । सूचना अधिकृत जोशीका अनुसार साउन महिनाको अन्तिमसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न हुने प्रक्षेपण गरिएको छ । “मुलुकको सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न सकेको छैन, तसर्थ कृषि मन्त्रालयले सिँचाइ कुलो विस्तार गरेर धान रोपाइँलाई प्रवद्र्धन गर्दैछ”, उहाँले भन्नुभयो, “कहिले खडेरीले धानको बीउ सुक्ने, कहिले पानी नपर्दा सिँचाइ गर्न नसकिने जस्ता समस्याका कारण धान उत्पादन वृद्धिमा ह्रास आउने गर्छ ।” राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक मधुरा यादवले धान उत्पादन वृद्धिका लागि मुलुकका सबै क्षेत्रमा सिँचाइ सुविधा पुग्न आवश्यक रहेको बताउनुभयो । “सबै स्थानमा सिँचाइ सुविधा पुग्न नसक्दा कहिले रोपाइँ नै नहुने कहिले ढिलाइ हुने त कहिले बीउ नै राख्न नपाउने अवस्था छ, रोपाइँपछि पनि सिँचाइको सुविधा नहुँदा धान उत्पादनमा कमी आएको छ”, उहाँले भन्नुभयो, “मुलुकको शतप्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन सके धान उत्पादनमा वृद्धि भई आयात प्रतिस्थापन गर्न सकिन्छ ।” मन्त्रालयका अनुसार आव २०८०/८१ को जेठ मसान्तसम्ममा रु ८८ करोड ६५ लाख बराबरको धानको बीउ आयात गरिएको छ । सो अवधिमा करिब रु ११ अर्ब ५५ करोडको धान आयात गरिएको छ ।

सो अवधिमा रु आठ अर्ब ६९ करोड बराबरको चामल तथा रु नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष तीन दिनअगावै मुलुकको पूर्वी क्षेत्रबाट मनसुन सुरु भएको थियो । सामान्यतया जुन १३ तारिखदेखि मनसुन नेपाल भित्रिने गरे पनि यस वर्ष जुन १० तारिखमा नै मनसुन भित्रिएको थियो ।

विभागका अनुसार मुलुकभर मनसुन फैलिन भने समय लागेको थियो । यस वर्ष जुन २३ तारिखमा मात्रै मुलुकभर मनसुन फैलिएको हो । मनसुन छिटो फैलिए पनि धान रोपाइँ सन्तोषजनक नभएको कृषि मन्त्रालयले जनाएको छ । यस वर्षको मनसुन अवधिमा मुलुकभर औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेस प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिमा मानन्धरले मनसुन सक्रिय रहने र आइतबारसम्म मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भावना छ ।

आगामी केही दिनमा मनसुनको न्यून चापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने र यसका कारण आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने सम्भावना रहेको उहाँको भनाइ छ । “आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै गण्डकी प्रदेशका केही स्थानमा, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ”, मौसमविद् मानन्धरले भन्नुभयो । जलस्रोत तथा सिँचाइ विभागको तथ्याङ्कअनुसार करिब २५ लाख ३० हजार हेक्टर सिँचाइयोग्य जमिनमध्ये हालसम्म करिब १५ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी सिँचाइको संरचना निर्माण गरिएको छ । तर करिब एक तिहाइ भूमिमा मात्र वर्षभरि सिँचाइ सुविधा उपलब्ध हुन सकेको विभागद्वारा २०८० चैतमा प्रकाशित ‘जलस्रोत तथा सिँचाइ वार्षिक पुस्तिक’मा उल्लेख छ । “हाल ठूला बहुउद्देश्यीय अन्तर–जलाधार जल–पथान्तरणका केही आयोजना निर्माणका क्रममा छन् । केही निर्माणको तयारीका क्रममा छन् । करिब ५० प्रतिशत सिर्जित कृषि क्षेत्र किसानद्वारा व्यवस्थित सिँचाइ प्रणालीमा रहेका छन्”, सो पुस्तकमा उल्लेख छ । निर्माण सम्पन्न भइसकेका साना आयोजना जलउपभोक्तालाई हस्तान्तरण गर्ने नीतिबमोजिम सम्बन्धित जनउपभोक्तालाई हस्तान्तरण गरिएका छन् र सम्बद्ध संस्थाबाट सञ्चालन भइरहेका पनि छन् । मझौला तथा ठूला सिँचाइ आयोजना भने सरकार तथा जलउपभोक्ता संस्थाको संयुक्त व्यवस्थापनको अवधारणाअनुरूप सञ्चालनमा छन् । धान उत्पादनको अवस्था कृषि मन्त्रालयको तथ्याङ्कअनुसार चालु आवमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको छ । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो । कूल धानबाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ ।

यो क्षेत्रफल गत चार आवको औषत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औषत उत्पादकत्व गत आवको तुलनामा ४ दशमलव ९७ प्रतिशतले वद्धि भई ३ दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ । यो गत चार वर्षको औषत उत्पादकत्वभन्दा ६ दशमलव ९२ प्रतिशतले बढी हो । चालु आवमा धानको उत्पादन कोशी प्रदेशमा बढी रहेको छ भने कर्णाली प्रदेशमा न्यून छ । चालु आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश ४ दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्र स्थानमा रहन गयो भने मधेस प्रदेश ३ दशमलव ४९ मेट्रिक टन प्रतिहेक्टरमा सीमित भई न्यून स्थानमा रहन पुग्यो ।

गत आवको तुलनामा उत्पादन र उत्पादकत्व वुद्धिका हिसाबले लुम्बिनी प्रदेश अग्रस्थानमा छ । मधेस प्रदेश ऋणात्मक अवस्थामा छ । चालु आवमा धान उत्पादन वृद्धि हुनुमा बीउको सहजै उपलब्धता र रोग किराको प्रकोपमा कमी, बाढ़ीपहिरोबाट धान बालीमा पर्न जाने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग तथा मौसमी अनुकूलतालाई लिइएको छ । मधेस प्रदेशका केही जिल्लामा धान रोप्ने समयमा पर्याप्त वर्षा नभएकाले अरु प्रदेशको तुलनामा उत्पादन र उत्पादकत्वमा ह्रास आएको छ ।

पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग

0
सांकेतिक तस्बिर

काठमाडौँ: नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग गरेको छ । दुई दिनसम्म सञ्चालन भएको सङ्घको बागमती प्रदेश सम्मेलनले सो मागसहित १५ बुँदे घोषणापत्र जारी गरेको छ ।

सम्मेलनबाट पारित घोषणापत्रमा प्रदेश सरकारको पुस्तकालय हेर्ने मन्त्रालयमा पुस्तकालय विज्ञान समूहको कम्तीमा अधिकृत सरहको र स्थानीय तहमा राजपत्र अङ्कित प्रथम श्रेणी वा सोसरहको कर्मचारीको अनिवार्य व्यवस्था गर्न माग गरिएको हो । साथै सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालन गर्न पुस्तकालय तथा सूचना विज्ञान विषयमा कम्तीमा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको कर्मचारी अनिवार्य राख्न हरेक स्थानीय तहसँग माग गरिएको छ ।

यसैगरी पुस्तकालय ऐन बनाउन, पठन संस्कृतिको विकास गर्न, पुस्तालयका लागि अन्तरपुस्ता ज्ञान आदानप्रदान गर्नेलगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । सम्मेलनले बागमती प्रदेश कमिटी समेत चयन गरेको । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा उक्त सम्मेलन आयोजना गरिएको हो ।

हुम्लामा ४६ दशमलव १९ प्रतिशत एसइईमा उत्तीर्ण

0

सिमकोट, (हुम्ला): हुम्ला जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कूल एक हजार एक सय ६९ परीक्षार्थाी एसइईमा सहभागी भएकामा पाँच सय ४० जना मात्र उत्तीर्ण भएका छन् भने ५ सय २९ विद्यार्थी अनुतीर्ण भएका छन्।

४६ दशमलव १९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ५४ दशमलव ८१ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका निमित्त प्रमुख आलेमगरले बताए ।

हुम्लाको एक विद्यालयको नतिजा निल (शून्य प्रतिशत) भएको छ । अदानचुली गाउँपालिका–५ स्थित सल्ललाघारी माध्यमिक विद्यालय निल भएको हो । शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका निमित्त प्रमुख मगरका अनुसार सल्लाघारी माविबाट ५१ जनाले परीक्षा दिएका थिए ।

साधारण धारतर्फ खार्पुनाथ गाउँपालिका–४ छिप्रास्थित सीता माध्यमिक विद्यालयको नतिजा पनि शून्य भएको छ । साधारणतर्फ परीक्षामा सहभागी १९ जना मध्ये कोही पनि उत्तीर्ण हुन नसकेको उनले बताए ।

प्राविधिक धारतर्फ परीक्षामा सहभागी ३१ जनामध्ये १० जना उत्तीर्ण भएका छन् । खार्पुनाथ गाउँपालिका–२ थालीमा रहेको शङ्कर माध्यमिक विद्यालयबाट एसइईमा सहभागी १३ जनामध्ये तीन जना उत्तीर्ण भएका छन् । हुम्ला मावि रायाबाट परीक्षामा सहभागी १४ मध्ये तीन जना उत्तीर्ण भएका छन् ।

त्यस्तै अदानचुली गाउँपालिका–६ स्थित कैलाशपुरी माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी ३७ परीक्षार्थी मध्ये एक जना मात्रै उत्र्तीण भएका छन् । अदानचुलीकै ज्ञानदेव माध्यमिक विद्यालयबाट एसइईमा सहभागी ३७ जनामध्ये चार जना मात्रै उत्तीर्ण भएका छन् । ताँजकोटमा रहेको मदनादेव माध्यमिक विद्यालय पादा पदनाबाट २४ जना परीक्षार्थीमध्ये दुई जना मात्रै एसइईमा उत्तीर्ण भएका छन् ।

सदरमुकाम सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको रामदेव माध्यमिक विद्यालयबाट सहभागी १५ जनामध्ये तीन जना उत्तीर्ण भएका छन् । वडा–८ स्याडा गाउँमा सैपाल हिमाल माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी १९ जनामा दुई जना उत्तीर्ण भएका हुन् । कैलाश माविबाट परीक्षामा सहभागी २७ मध्ये पाँच जना उत्तीर्ण भएका छन् । यसैगरी रलिङ्ग माध्यमिक विद्यालय र कर्णाली माध्यमिक विद्यालयबाट आठ–आठ जना उत्तीर्ण भएका छन् ।

अदानचुली गाउँपालिका ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी लोकराज महतारा जिल्लाकै एसइई परीक्षार्थीमध्ये उत्कृष्ट तीन दशमलव ९५ जिपिए प्राप्त गर्ने विद्यार्थी भएका छन्। सोही विद्यालयका विराज भण्डारीले तीन दशमलव ८६ जिपिए प्राप्त गरेका छन्। हिमज्योति माध्यमिक विद्यालय सर्केगाडका मिशन रोकायाले तीन दशमलव ८२ जिपिए प्राप्त गरेका विद्यालयले जनाएको छ ।

प्राविधिक धारतर्फ खार्पुनाथ गाउँपालिका–४ छिप्रामा रहेको सीता माध्यमिक विद्यालयका अस्मिता रावलले तीन दशमलव ३८ जिपिए र सोही विद्यालयका महेश हमालले तीन दशमलव ३३ जिपिए प्राप्त गरेका छन्।

यसैगरी नाम्खा गाउँपालिका महावौद्ध माध्यमिक विद्यालय याल्वाङका पेमा तेन्जि लामाले तीन दशमलव २८ जिपिए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाले जनाएको छ ।