Thursday, May 14, 2026
Home Blog Page 744

यूरोकप २०२४: पोर्चुगललाई निराश पार्दै फ्रान्स सेमिफाइनलमा प्रवेश

0

काठमाडौं। जर्मनीमा जारी यूरोकप २०२४मा फ्रान्स सेमीफाइनलमा प्रवेश गरेको छ।
पेनाल्टी सुटआउटमा पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश हो।

जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो। पोर्चुगललाई ५-३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो।

यसअघि भएको पहिलो क्वार्तर्फ़ाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। अब स्पेन र फ्रान्स सेमिफाइनलमा भीड्नेछन्।

शनिबार हुने क्वार्टरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन्।

 

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल

0

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा नेकपा एसको महत्वपूर्ण भूमिका र योगदान रहने बताएका छन्।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए । पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बलियो कम्युनिष्ट पार्टीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै वर्तमान सरकारलाई समर्थन कायमै रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा देखिएका राजनीतिक विषयको सामना गर्नुपर्ने बताए ।

पार्टीका नवनिर्वाचित महासचिव घनश्याम भुसालले महाधिवेशनबाट प्राप्त वैचारिक दृष्टिकोणले कम्युनिष्ट आन्दोलनलाई रुपान्तरण र पुनःगठनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । पार्टीले नयाँ कार्यसमिति ९३ जनाको बनाएको छ । महाधिवेशनले १९ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।

 

अब बन्ने सरकारलाई असफल हुने छुट छैन : ओली

0

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा केन्द्रित हुने उनले उल्लेख गरे।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय विभागका प्रमुख तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वमा अब गठन हुने सरकार देशका समस्या समाधान गर्दै जनतामा आशा जगाउने काममा केन्द्रित हुने बताए । उनले दुई बलिया शक्ति मिलेर सरकार गठन गर्ने कुरा देशका समस्या समाधान गरी अगाडि बढ्ने अन्तिम विकल्प भएको प्रष्ट पारे ।

अध्यक्ष ओलीले अब बन्ने सरकारले विभिन्न क्षेत्रमा गर्नुपर्ने सुधारका कामका लागि समाधानसहित ठोस सुझाव दिन पार्टीका विभागका पदाधिकारीहरूलाई निर्देशन दिदैं उनले पार्टीको नेतृत्वमा सरकार बने पनि सरकारको काम र पार्टीको काम फरक विषय भएकाले पार्टी निरन्तर मिसन–२०८४ मा लाग्ने बताए ।

पार्टीका लागि मिसन–२०८४ सफल पार्ने कुरा प्रमुख भएकाले सरकारमा रहेका कारण यस अभियानलाई कुनै पनि हालतमा कमजोर र सिथिल पार्न नहुने उनको भनाइ थियो । उनले विभाग प्रमुख तथा सचिवहरूलाई मिसन–२०८४ लाई केन्द्रविन्दुमा राखेर पार्टीको काममा लाग्न निर्देशनसमेत दिए ।

बैठकमा एमाले महासचिव शङ्कर पोखरेलले एमाले र कांग्रेस राजनीतिक स्थायित्व र देशको समग्र क्षेत्रमा सुधारको सङ्कल्प र अठोटका साथ अगाडि बढ्ने समझदारीमा पुगेको उल्लेख गर्दै सरकारलाई त्यस काममा सहयोग पुग्ने गरी सुझाव दिन विभागका पदाधिकारीहरुलाई निर्देशन दिए । उनले लोकतन्त्रलाई सही बाटोमा अगाडि बढाउन तथा जनतामा रहेको निरासा हटाउन दुई ठूला दल राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारीमा पुगेको बताए ।

महासचिव पोखरेलले दुई ठूला दलले संयुक्त सङ्कल्प गरेका हुँदा नयाँ सरकार गठनपछि अर्थतन्त्रमा सुधार, जनतामा रहेको निरासालाई आशामा बदल्ने, मुलुकमै रोजगारी सिर्जना गरी युवा विदेश पलायन रोक्नेलगायत समस्या समाधान गर्न देश अग्रसर हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय सहमतिको सरकारको आधार तयार गर्ने गरी न्यूनतम साझा कार्यक्रम बनाएर अगाडि बढ्ने बताए ।

बैठकमा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ तथा पार्टीका ३२ वटै विभागका प्रमुखहरूले आ–आफ्ना विभागका कामका बारेमा जानकारी गराएका थिए।

 

काठमाडौँ महानगर बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले फोहर बिसर्जन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।
काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइने कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको आयु बढाउनकामपाले प्रशोधन केन्द्र निर्माण गर्न लागेको महानगर वातावरण विभागले जनाएको छ।

महानगर वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठका अनुसार थोरै मात्रामा जैविक मल बनाउने काम यसअघि बाट नै सुरु गरिएको भए पनि केन्द्र निर्माण काम भएको थिएन, केन्द्र निर्माणका लागि भने अहिले ‘डिजाइन’को तयारी भइरहेको छ । उत्पादित मललाई बञ्चरेडाँडा आसपासमा महानगरले वृक्षरोपण गरेको रूख बिरुवामा राख्ने र बढी भएको मल स्थानीयलाई दिने तयारी छ ।

महानगरले एक वर्षअघिदेखि टेकुमा कम्पोष्ट मल बनाउन सुरु गरिसकेको छ । यसका लागि महानगरले ३२ वटै वडालाई र बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने अन्य स्थानीय तहलाई पनि स्रोतमा नै कुहिने र नकुहिने फरक–फरक भाँडोमा फोहर राखेर सोही अनुसार अन्तिम व्यवस्थापन गर्न आग्रह गरेको छ ।

महानगरसहित काठमाडौँ उपत्यकाका १७ स्थानीय तहबाट दैनिक एक हजार पाँच सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हँुदै आएको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहरको अन्तिम व्यवस्थापन हुँदै आएको छ ।

सबै फोहर उक्त स्थानमा व्यवस्थापन हुँदा समस्या आउन सक्ने भन्दै कामपाले स्रोतमा नै फोहर वर्गीकरण गर्न सम्बन्ध भएका सबैलाई आग्रह गरेको छ । अन्यथा बञ्चरेडाँडामा लामो समय फोहर व्यवस्थापन थर्न नसकिने पनि कामपाको भनाइ छ ।

विसं २०६८ मा सरकारले जारी गरेको फोहरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने कानुनी व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहरलाई छुट्टाछुट्टै भाडामा राख्नुपर्ने हुन्छ ।

 

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा

0

तनहुँ: जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गर्न लागिएको हो ।

अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य उपचारमा सहज किसिमले पहुँच पु¥याउन बीमा प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०÷८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।” वार्षिक शुल्कबापत जनही रु सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्म स्वास्थ्य उपचारको सुविधा पाउन सकिने व्यवस्था छ । ‘क’ वर्ग र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता पाउँदै आएका छन् । ‘ग’ र ‘घ’ वर्गकाले कुनै सुविधा पाउन सकेका छैनन् ।

घिरिङले केही दिनअघि दश जना ‘ग’ र ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरेको थियो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

आफन्तले आमाछोरीलाई जिउँदै भित्तामा गारो लगाइदिए बन्द गरिदिए, प्रहरीले भित्ता फुटाएर गर्यो उद्धार

0

काठमाडौं । पाकिस्तानको हैदरावादमा आमा छोरीलाई आफ्नै आफन्तले भित्तामा गाडेर बाहिरबाट गारो लगाइदिएका छन् ।

पाकिस्तानी समाचार च्यानल एआरवाईका अनुसार स्थानीय मानिसहरूले बालिकाको चिच्याहट सुनेपछि तुरुन्तै प्रहरीलाई बोलाए। जनताको सहयोगमा प्रहरीले पर्खाल भत्काएर आमा छोरीको उद्धार गरेको थियो । दुवैको अवस्था गम्भीर छ ।

स्थानीय बासिन्दाका अनुसार महिलालाई जबरजस्ती भित्तामा हाल्ने व्यक्ति उनकै देवर सोहेल हुन् । सोहेलले आफ्ना छोराहरूसँग मिलेर महिलालाई कोठामा थुनेर वरिपरि भित्ता बनाएका थिए ।

सोहेलले आफूलाई सम्पत्तिका लागि धेरै वर्षदेखि दुर्व्यवहार गर्दै आएको महिलाले आरोप लगाएकी छन् । सोहेलकी श्रीमतीले पनि आफूमाथि कुटपिट गरेको महिलाले आरोप लगाएकी छन् । प्रहरीले घटनास्थलबाट घरको सम्पत्तिको कागजात बरामद गरेको छ ।

महिलाका श्रीमानको २० वर्षअघि मृत्यु भएको थियो । उनका श्रीमान् अब्दुल हकको २० वर्षअघि मृत्यु भएको पीडित तस्लीमले प्रहरीलाई बताइन् । उनी छोरीसँग घरको बीचमा बस्दै आएकी थिइन् । सोहेल पूरै घर कब्जा गर्न चाहन्थे।

पहिले सोहेलले तस्लीमलाई घरका अन्य महत्त्वपूर्ण कुराहरूबाट वञ्चित गरे। त्यसपछि शुक्रबार (जुन २८) दिउँसो उनकी श्रीमती साइमा र साला वसिमले तस्लीम र छोरीलाई धकेल्दै कोठामा थुनेर लगेका थिए ।

यसपछि उनीहरुले वरिपरी भित्ताको गारो लगाए । प्रहरीले आरोपीलाई छिट्टै पक्राउ गर्ने विश्वास दिलाएको छ । तर, उनीमाथि अहिलेसम्म कुनै कारबाही भएको छैन ।

यसभन्दा १० दिनअघि कुरानको अपमान गरेको आरोपमा आक्रोशित भीडले एक व्यक्तिलाई जिउँदै जलाएको थियो । पाकिस्तानी अखबार डनका अनुसार घटना खैबर पख्तुनख्वाको स्वात जिल्लाको मदायन क्षेत्रमा भएको हो। स्थानीय प्रहरीका अनुसार झडपमा ८ जना घाइते भएका छन् ।

शिक्षक कस्तो हुनुपर्छ ? शिक्षकको सरूवा भएपछि १३३ विद्यार्थीले स्कुल छोडी शिक्षक गएकै स्कुलमा भर्ना भए

0

काठमाडौं । भारतको तेलंगना राज्यको पोनाक्कलको प्राथमिक विद्यालयका शिक्षकलाई तेलंगानाको मनचेरियलमा सरुवा गरिएको थियो तर उनका विद्यार्थीहरूले यो सहन सकेनन्। त्यसैले १३३ विद्यार्थीहरूले त्यो विद्यालय छोडे र तिनीहरू सबैले अक्कापेल्ली गुडाको त्यही विद्यालयमा भर्ना भए जहाँ उनीहरूको शिक्षकको सरुवा गरिएको थियो।

यी बालबालिकाको मनपर्ने शिक्षक जजला श्रीनिवास हुन्। उनी २०१२ देखि पोनाक्कल प्राथमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए । श्रीनिवासको सरुवा जुलाइ १ मा भएको थियो । जुन ३० मा अक्कापेल्ली विद्यालयमा २१ जना मात्र विद्यार्थी थिए । अहिले उनीहरुको संख्या बढेर १५४ पुगेको छ । तर, यहाँ श्रीनिवास मात्र एक्ला शिक्षक हुन्।

श्रीनिवास जन्नाराम मण्डलको यस विद्यालयमा जुलाई २०१२ मा आएका थिए। त्यतिबेला स्कुलमा ५ कक्षा, २ शिक्षक र ३२ विद्यार्थी मात्र थिए । श्रीनिवासको खेलकुद मार्फत पढाउने शैलीका कारण गाउँका मानिसहरूले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पठाउने निर्णय गरे। १३३ बालबालिकाले विद्यालय छोड्नुअघि यहाँ २५० बालबालिका थिए ।

अहिले जिपल्ली, गोदगुडा, कमनपल्ली, किष्टपुर, इन्दनपल्ली, गान्धीनगर, जुविगुडा र जन्नाराम गाउँका विद्यार्थीहरू अटोमा नयाँ विद्यालय जान्छन्। यो विद्यालय उनीहरूको अघिल्लो विद्यालयबाट ३ किलोमिटर टाढा छ ।

 

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

0

काठमाडौं। लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

बिहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बीबीसीले जनाएको छ।

सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ। जुन २०१९ को भन्दा २११ सिटले बढी हो। त्यस्तै लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ। जुन २०१९ को भन्दा २५० ले कम हो।

यसअघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले अब पार्टीको नेतृत्व पनि छोड्ने घोषणा गरेका छन्।

भुटानी शरणार्थी प्रकरण: नेता मिलाउने जिम्मा लिएका थिए बेचन झाले: समातिएपछि ढल्यो सरकार

0

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापाका फरार छोरा प्रतीक थापा र बेचन झा पक्राउ परेसंगै सरकार ढल्ने निश्चित प्राय: भएको छ।
पक्राउ परेका थापा पुर्पक्षका लागि जेल चलान भैसकेका छन् भने झा अझै अनुसन्धानकै क्रममा छन्।

झालाई राजनीतिको माथिल्लो ‘नेक्सस’ का रुपमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको विशेष ब्युरोको टोलीले भारतबाटै झालाई पक्राउ गरी नेपाल ल्याएको थियो।
उनीविरुद्ध भने जिल्ला प्रहरी परिसर काठमाडौंले कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा संलग्न अधिकृतहरुले झाले कुनै पनि कुरा खुलाउन नमानेपछि थप अनुसन्धान गर्नुपर्ने बताइरहेका छन्। उनले लिएको रकम र अरु प्रमाण जुटाउनुपर्ने आवश्यकता रहेको बताइरहेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको खोजी सूचीमा सबैभन्दा महत्वका साथ खोजिएका भएपनि झा पक्राउ पर्न सकेका थिएनन् । ‘जब पक्राउ परे तब बोल्दै बोल्दैनन्,आफूलाई यसबारे कुनै पनि जानकारी नभएको मात्र बताउँछन’, अनुसन्धानमा संलग्न रहेका एक अधिकारीले भने।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सांसद टोपबहादुर रायमाझीदेखि बहालवाला सचिव टेकनारायण पाण्डे नै पक्राउ परेका थिए । जिल्ला अदालतले पक्राउ परेकामध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। गएको मंसिरमा उच्च अदालत पाटनले भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो।

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका, उनकै स्वकीय सचिव नरेन्द्र केसी, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल, टोपबहादुरका छोरा सन्दीप रायमाझी, हरिभक्त महर्जन र रामशरण केसीलाई थुनामुक्त गर्ने आदेश गरेको थियो।

टोपबहादुर रायमाझीसहित नक्कली भुटानी प्रकरणका मुख्यआरोपी दाङका सन्देश शर्मा र सुनसरीका केशव दुलालसहितका १० आरोपी सचिव पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा विज्ञ डा. इन्द्रजित राई, सानु भण्डारी, सागर राई, गोविन्दकुमार चौधरी र रामबहादुर थापाका छोरा प्रतीक थापा पुर्पक्षमै रहेका छन्।

अनुसन्धानका खटिएका प्रहरीका अनुसार बेचन झाको सम्पर्क राजनीतिक दलका माथिल्लो तहका नेताहरुसँग सम्पर्क देखिएको थियो । त्यसबाहेक शरणार्थी प्रकरणमा पक्राउ परेर हाल उच्च अदालतको आदेशले छुटेका रामशरण केसीसँगसमेत उनको निकट सम्बन्ध देखिएको थियो।

प्रहरीले केसीको साथबाट झाकै नामका काटिएको दुई करोडको चेक समेत बरामद गरेको थियो। बयानमा केसीले शरणार्थी प्रकरणमा राजनीतिक दलका नेताहरू मिलाउने जिम्मा झाले लिएको र सोही कारण चेक काटेको बताएका थिए।

झाले केसीसँग आफू भारतीय दूतावास नजिकको भनी परिचय दिएको खुलेको थियो। उनी त्यसबाहेक सचिव टेकनारायण पाण्डेसँग पनि उनको सम्बन्ध खुलेको थियो। पक्राउ परेका झाले कोही कसैसँगको सम्बन्ध पनि नखुलाएपछि अहिले झाले बोकेका दुई वटा मोवाइल फोन परीक्षण गर्न प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ। प्रहरीसँगको प्रारम्भिक बयानमा भने उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफू अनभिज्ञ बताउँदै आएका छन्।

रामशरण केसीले दिएको बयानलाई आधार मान्ने हो भने मन्त्रिपरिषदबाटै बेचन झाले निर्णयहरू गराउन सक्छन्। त्यसपछि अमेरिका तथा तेस्रो मुलुकमा नेपालीलाई पठाउन सजिलो हुने कुरा सानु भण्डारीले रामशरण केसीलाई भनेको अनुसन्धानबाट खुलेको थियो।

तर, झाले चेक बुझेर पनि कुनै निर्णय गराउन सकेनन्। चेक लिएसँगै उनी शरणार्थी प्रकरणबाट बाहिरिएका थिए। रामशरण केसी रङसम्बन्धी काम गर्दागर्दै ‘अमेरिका सपना’ देखेर ठगीधन्दामा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। २०७४ मा चिनजान भएका जनक कार्की र गोकुल थापामार्फत शरणार्थी नेता टेकनाथ रिजालसम्म रामशरण पुगेका हुन्।

रामशरणले सानु भण्डारीलाई बैंक मार्फत १ करोड ३४ लाख, केशव दुलाल मार्फत पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई १ करोड ५० लाख र टेकनाथ रिजाललाई ११ लाख बुझाएको बयान दिएका छन्। गोकुल थापालाई ६० लाख दिएको बयानमा खुलाएको बुधवार अदालतमा दायर गरिएको अभियोग पत्रमा उल्लेख छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार रामशरण दोस्रो लेयरका आरोपी हुन् ।

बेचन झा बारे रामशरण केसीको बयान

मिति २०७८।०८।१३ गते मन्त्रिपरिषद्को बैठकबाट भुटानी शरणार्थी सम्बन्धी केही हामीलाई काम लाग्ने निर्णयहरू हुन लागेको छ। उक्त निर्णय गराउन बेचन झाले केही रकमहरू मागेका छन् उनीलाई चेक काटी दिनु भनी प्रतिवादी सानु भण्डारीले भनेपछि मेरो नाममा हिमालयन बैकमा रहेको खाताबाट बेचन झाको नाममा रु २,००,००,०००।–(दुई करोड) को चेक काटी मेरो दस्तखत समेत गरी उक्त चेक बेचन झालाई काठमाडौँ स्थित बानेश्वर ह्रवाइट हाउस अगाडि बाटोमा मिति २०७८ मंसिर ८ गते राति २०ः०० बजे तिर भेटी दिएको हुँ।

उक्त चेकको फोटो समेत खिची मेरो साथी प्रेमराज पन्थी लाई पठाएको तथा म पक्राउ पर्नु भन्दा अगाडि मेरो साथी पबिता राईलाई सो घटना सम्बन्धमा प्राप्त भएको कागजातहरू सुरक्षित साथ राख्न दिएकोमा निजले अनुसन्धानको क्रममा पेस गरेको हुँदा सो चेकको विवरण खुल्न आएको हो।

बेचन झालाई चेक दिँदा मेरो मोबाइलमा उक्त चेक दिइएको भिडियो समेत खिचेकोले उक्त भिडियो आवश्यक परेमा पछि पेस गर्न सक्छु । सानु भण्डारीले भुटानी शरणार्थीमा अमेरिका पठाउने कार्यको लागी मन्त्रिपरिषदबाटै बेचन झाले केही निर्णयहरू गराउँछन्। उक्त निर्णयहरूको आधारमा अमेरिका तथा तेस्रो मुलुकमा शरणार्थी बनाएर पठाउन सजिलो हुन्छ सानु भण्डारीले भनेको उक्त रकम मैले चेक मार्फत दिएको हुँ।

 

सरकार परिवर्तनको कदम दक्षिणपन्थी अवसरवाद: नेकपा एस

0

काठमाडौं। नेकपा एकीकृत समाजवादीले अहिले सरकार परिवर्तन गर्ने कदम दक्षिणपन्थी अवसरवाद भएको ठहर गरेको छ।

शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट समसामयीक प्रस्ताव पारित गर्दै नेकपा एकीकृत समाजवादीले सत्तास्वार्थका लागि जोसँग जतिखेरपनि जस्तोसुकै सम्झौता गरि अस्थिरता कायम गर्नु दक्षिणपन्थी अवसरवाद रहेको जनाएको हो।

महाधिवेशनले वर्गसंघर्षलाई सहि दिशा दिनुका साथै समाजवादी क्रान्तिका लागि वामपन्थीबीच सहकार्य र एकताका लागि वामपन्थी शक्तिलाई आह्वान गरेको छ।

त्यस्तै महाधिवेशनले व्याप्त भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचारबिरोधी आन्दोलनमा जुट्न पार्टीपङ्तीलाई निर्देशन दिएको छ भने भ्रष्टाचारीलाई कारवाही गर्न माग गरिएको नेता गंगालाल तुलाधरले जानकारी दिए।

त्यस्तै प्राकृतिक प्रकोपको जोखिमको पूर्वतयारीलाई बलियो बनाउन र जोखिमबाट नागरिकलाई मुक्त गर्ने गरि काम गर्न सरकारलाई आग्रह गरेको उनले बताए।

महाधिवेशनले ९३ सदस्स्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन्।

उनले बाँकी केन्द्रीय सदस्यहरुको नाम कलष्टर योगदानका आधारमा छिटै सार्वजनिक गरिने बताए।

पूर्ण पाठ

Mahadhibesan-bata-पारित-प्रस्तावहरु