Thursday, May 14, 2026
Home Blog Page 743

पानीको सतह बढेपछि गण्डक ब्यारेजका सबै ढोका खुला

0

नवलपुर (नवलपरासी): नारायणी नदीमा पानीको सतह अत्यधिक मात्रामा बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् ।

गण्डक ब्यारेजमा निर्माण गरिएका ढोका बन्द हुँदा विनयी त्रिवेणी–१ बगुबन क्षेत्र डुबानमा पर्ने खतरा बढेकाले ब्यारेजका ३६ वटै ढोका खुला गरिएको गण्डक ब्यारेजका सम्पर्क तथा भूआर्जन अधिकृत काशिनाथ हरिजनले जानकारी दिए ।
आज बिहान ७ः०० बजे गण्डक ब्यारेजमा पानीको बहाव चार लाख ४० हजार सात सय ५० क्युसेक मापन गरिएको अधिकृत हरिजनले बताए ।

नदीमा शनिबार दिउँसोदेखि पानीको बहाव निरन्तर बढिरहेको छ । अधिकृत हरिजनका अनुसार शनिबार दिउँसो १२ बजे नदीमा पानीको बहाव एक लाख ६१ हजार क्युसेक थियो ।
त्यसपछि निरन्तर पानीको बहाब बढ्दो क्रममा छ । गण्डक ब्यारेजका सबै ढोका खोलिएपछि सिँचाइका लागि लगिएको नहरको ढोका बन्द गरिएको अधिकृत हरिजनले जानकारी दिए । गण्डक ब्यारेज निर्माण गर्ने बेलामा ब्यारेजको क्षमता नौ लाख क्युसेक भए पनि अहिले ब्यारेज पुरानो भएको कारण पानीको बहाव ६ लाख क्युसेकसम्म धान्न सक्ने बताइएको छ । ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दो क्रममा छ ।

पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ ।

दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अवरुद्ध सडक खुल्न समय लाग्ने उनले बताए ।

वर्षा कहर : कर्णालीमा हवाई तथा सडक यातायात अवरुद्ध

0

काँक्रेविहार (सुर्खेत): खराब मौसमका कारण कर्णालीका मुगु, जुम्ला, डोल्पा र हुम्लामा हवाईसेवा ठप्प भएका छन् ।
यहाँ पाँच दिनदेखि जहाजले उडान भर्न सकेको छैन ।

अविरल वर्षाका कारण पहिरो गएकोले शनिबार बिहानैदेखि कर्णाली करिडोर र भेरी करिडोर पनि अवरुद्ध छ । सल्यान हुँदै रुकुमपश्चिम आउने यातायात सेवासमेत ठप्प छ ।

निरन्तर पानी परेपछि मुगुका लागि बाँकेको नेपालगञ्जबाट उडान हुनसकेको छैन । वर्षाका कारण नेपालगञ्जबाट हवाई उडान हुन नसकेको रारा हवाई नागरिक उड्डयन प्राधिकरणका प्रमुख श्रीकृष्ण रिजालले बताए ।

उनले भने, “उडान बन्द भएपछि मुगुबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौँतर्फ जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतबाट मुगु आउने यात्रु विमानस्थलमै रोकिएका छन् ।” मौसममा सुधार नआएसम्म हवाई उडान हुन नसक्ने प्रमुख रिमालले बताए । हवाईसेवा अवरुद्ध भएपछि यात्रु जोखिम मोलेर कर्णाली राजमार्गबाट आउजाउ गर्न बाध्य छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार त्यहाँ पाँच दिनदेखि हवाईसेवा अवरुद्ध छ ।

त्यस्तै, हुम्लामा पनि वर्षाले हवाईसेवा अवरुद्ध छ । खराब मौसमका कारण बुधबारदेखि हवाईसेवा अवरुद्ध भएको नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए । हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन् । हुम्ला र मुगुमा नेपालगञ्जबाट तारा, समिट र सीता एयरलाइन्सले उडान भर्दै आएका छन् ।

यसैगरी पहिरो खसेपछि कर्णाली राजमार्गको कालिकोट सडकखण्ड बन्द भएको छ । कालिकोटको हुल्म बजार, गगनेखोला, झाम्लाखोलालगायत ठाउँमा पहिराले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सुर्खेत–जुम्लाका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्ना, नलगाड र राप्ती राजमार्गको सल्यान क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध छ । यस्तै, अमेलिया–तुलसीपुर–शीतलपाटी–थारमारे–मुसिकोट सल्यानमा अवरुद्ध छ । ग्रामीण क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

रुकुमपूर्व र पश्चिमलाई मुख्य राजमार्ग र सहरसँग जोड्ने राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गको यात्रा बर्खायाममा जोखिपूर्ण हुने गरेको छ । तुलनात्मक रूपमा राप्ती लोकमार्गभन्दा मध्यपहाडी राजमार्ग यतिबेला जोखियुक्त छ ।

निर्माणको अन्तिम चरणका रहेको यो मार्गअन्तर्गत रुकुम पूर्वपश्चिम खण्डका दर्जनौँ ठाउँमा पहिरो खस्ने, सडक भासिने र खहरे बढेर आवागमन अवरुद्ध हुने गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय दैलेखका इन्जिनियर नवीन खरेलले जानकारी दिए ।

पूर्वको बागलुङ सिमाना आसपास, धौलापहिरा, रानीकोट र खोपिराचार आसपास तथा पश्चिमको किटेनी भिर, खरखरे, सिम्ली आसपास, चाइनागर आसपास र कालेखोलालगायत ठाउँमा पहिरोले जोखिम बढेको इन्जिनियर खरेलले बताए ।

त्यस्तै रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयले मध्यपहाडी राजमार्गमा अत्यावश्यकबाहेक यात्रा नगर्न सूचना जारी गरेको छ । प्रजिअ माधवप्रसाद शर्माले मध्यपहाडी राजमार्गको यस खण्डमा यात्रा गर्दा सुरक्षालाई ध्यान दिन र अत्यावश्यकबाहेक यात्रा नगर्न अनुरोध गरिएको बताए ।

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

0

सिन्धुपाल्चोक : अविरल वर्षाले निम्त्याएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ ।
बाढीले बेलीब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।

विसं २०७८ साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलीब्रिज निर्माण गरिएको थियो । रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको बेलीब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो

सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताउनुभयो ।

सप्तकोशीका ४१ ढोका खोलिए: तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन

0

धरान (सुनसरी): अविरल वर्षका कारण सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ४१ ओटा ढोका खोलिएको छ।

आज बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ ।

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका हुन् ।

सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ ।

वर्षा कहर: सेती नदीमा किनारका ६० परिवार सुरक्षित स्थानमा

0

बैतडी : सेती नदीमा आएको बाढीका कारण बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

अविरल वर्षाका कारण नदीमा पानीको बहाव बढेसंगै सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सेतीको बाढी गाउँ पस्ने खतरा बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारेका हौँ । स्थानीय जनप्रतिनिधिको सहयोगमा उनीहरूलाई शारदा माविमा सारिएको छ ।”

बाढीले बगाउने डरले स्थानीय पशुचौपायासहित घर छाडेर विद्यालयमा आश्रय लिएर बसेका छन् । नदी किनारमा लगाएको तटबन्धमाथिबाट नदी बग्न थालेपछि घर छाड्नुपरेको स्थानीय इन्द्रबहादुर चन्दले बताउनुभयो ।

सेतीमा पानीको बहाव बढ्दै गएपछि सिगास–५ का हरडाखानी, लाम्बगड, लोडेलगायत बस्ती बाढीको जोखिममा छन् । विसं २०७८ कात्तिक पहिलो साता बाढीले सिगास–५ ढुङ्गाडलगायत क्षेत्रमा ठूलो क्षति गरेको थियो ।

कालिगण्डकी करिडोरको बाग्लुङ्ग खण्ड ठप्प

0

गलकोट (बागलुङ) : अविरल वर्षका कारण शनिबारदेखि ठप्प भएको कालिगण्डकी करिडोरको बाग्लुङ्ग खण्ड अझै खुल्न सकेको छैन ।

अविरल वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेकाले कालिगण्डकी बाग्लुङ्ग खण्ड ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडक नै भत्काएको छ ।

वर्षा नरोकिएसम्म सडक सञ्चालन गर्न नसकिने उहाँको भनाइ छ । यस्तै, शनिबार बिहानैदेखि करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउले खोला र जिमिरघाटमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ ।

बेलायतको नयाँ प्रधानमन्त्रीमा कियर स्टारमर नियुक्त

0

काठमाडौं। लेबर पार्टीका नेता सर कियर स्टारमर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

बेलायतका राजा चार्ल्स तृतीयले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै १४ वर्षपछि विपक्षी लेबर पार्टी सत्तामा फर्केको छ।
त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए।

बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जित हासिल गरेको थियो। लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिटले बढी छ।

६५० सदस्य रहेको बेलायती संसद हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ। लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठुलो सफलता हो। प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्टारमरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताएका छन्।

विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ। सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ। यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन्।

बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रा। सूर्यप्रसाद सुवेदीले लेबरको आप्रवासी नीति अलि उदार रहेको बताउँदै श्रमिकको पक्षमा उभिने भएकाले नेपाललगायतबाट आउने श्रमिकका लागि नकारात्मक असर नपर्ने बताए। उनले भूतपूर्व गोर्खाको विषयमा पनि लेबर सकारात्मक हुन सक्ने बताएका छन्।

 

स्याङ्जामा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

0

वालिङ (स्याङ्जा): स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका-६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।

पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर ज्यान गएको हो । मृतकहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो।

बिरुवा गाउँपालिका-६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो। उक्त पहिरोमा परी पाँच जना घाइते भएका छन्। उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो।

 

मुलुकभर बाढीको कहर (तस्बिरसहित )

0

काठमाडौं: गएराति देखि परेको अवरिल वर्षाले मुलुकभरको जनजीवनलाई प्रभावित पारेको छ।

राजधानी काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न भाग डुबानमा परेका छन् भने कतिपय ठाउँमा जनधनको क्षति भएको छ । भक्तपुरको मनोहरा किनार तथा ललितपुर र काठमाडौंको बागमती किनारमा बाढीको असर बढी परेको छ।

ललितपुरको युएन पार्क क्षेत्रको सडक डुबानमा परेको छ भने थापाथलीदेखि बल्खुसम्म नदी किनारमा रहेका सुकुम्बासीको घरटहराहरु पनि डुबाएको छ। बल्खुस्थित तरकारी बजार र त्यस वरपरका खाजा पसलहरु पनि डुबाएको छ।

त्यसैगरी, उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमति, थापाथली, शंखमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागकाअनुसार बितेका २४ घण्टामा देशभर वर्षा भएको छ। लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ।

त्यस्तै, स्गाङ्जा जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ।

पहिराले पुरिएर बिरुवा गाउँपालिका-६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए।

पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा गएका उनीहरूको पुरिएर ज्यान गएको हो। उनीहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो।

बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उहाँहरूको मृत्यु भएको हो। उक्त पहिरामा परी पाँचजना घाइते भएका छन्। उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो।

यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरामा परेर आज तीनजना बेपत्ता भएका छन्। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरामा परेर स्थानीय तीनजना बेपत्ता भएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बेपत्ता हुनेमा स्थानीय ४० वर्षीय हीरा नेपाली, ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

तबिर स्रोत: रासस

काठमाडौँ प्रहरीले आइतबारदेखि भद्रकालीबाट सेवा प्रदान गर्ने

0

काठमाडौँ: जिल्ला प्रहरी परिसर काठमाडौँले भद्रकालीस्थित नयाँ कार्यालयबाट भोलि आइतबारदेखि सेवा प्रदान गर्ने भएको छ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले भद्रकालीमा आफ्नै नयाँ भवन निर्माण सम्पन्न गरेपछि असार २३ गते आइतबारदेखि उक्त भवनबाट सेवा प्रदान गर्न लागेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकु सरेर सेवा प्रदान गर्दै आएको थियो ।

भद्रकालीस्थित कूल ८० करोड लगानीमा निर्माण गरिएको उक्त भवन आठ तल्लाको रहेको छ । उक्त भवन छ रोपनी क्षेत्रफलमा फैलिएको काठमाडौँ प्रहरीले जनाएको छ ।