Thursday, May 14, 2026
Home Blog Page 736

आज २११ औं भानुजयन्ती: राष्ट्रपति पौडेलद्धारा शुभकामना

0
फाइल तस्बिर

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उहाँको भनाइ छ ।

नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्व बुझेर आ–आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले शुभकामनामार्फत आह्वान गर्नुभएको छ । भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।

सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।

 

त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु

0

चितवन: नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराइरहेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी कार्य जारी राखेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार राति काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य स्थगित गरी आज बिहानदेखि पुन: जारी गरिएको हो।
नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।” काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेका थिए ।

काठमाडौँबाट गौर आउँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ जाँदै गरेको बसमा सवार २४ यात्रु बेपत्ता भएका प्रजिअ यादवले जानकारी दिनुभयो । उक्त घटनामा तीन यात्रु पौडी खेलेर बाँचेका छन् ।

 

आज भानु जयन्ती : भानुगृह पुनःनिर्माणको पर्खाइमा चुँदीरम्घा शिखरकटेरी

0

दमौली (तनहुँ): आज भानु जयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घा शिखरकटेरीमा भानुगृह पुनःनिर्माण गर्ने भनेको आठ वर्ष पुगिसक्यो । भानु नगरपालिका–४ शिखरकटेरीमा भानुगृह पुनःनिर्माणका लागि २०७३ चैत २२ गते शिलान्याससमेत भयो । तर आठ वर्ष बितिसक्दा पनि उक्त काम शिलान्यासमै सीमित भयो ।

भानुगृह पुनःनिर्माण गर्ने कुरा चर्चामै सीमित हुँदा अब भने काम अगाडि बढ्नेमा आशा जागेको छ । पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको उक्त भानृगृहको अधुरो काम मञ्चकै सक्रियतामा अगाडि बढ्ने भएको छ ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले भानुगृह पुनःनिर्माणको काम अगाडि बढ्ने चरणमा रहेको बताउनुभयो । भानुगृहको खाका तयार भएको र अब बोलपत्र आह्वानको तयारी गरिएको उहाँको भनाइ छ । कार्यकारी निर्देशक रानाभाटले भन्नुभयो, “विविध कारणले लामो समयदेखि भानुगृह पुनःनिर्माण हुन सकेन । यसबीचमा थुप्रै छलफल ग¥याँै, अब कामले ठोस गति लिनेमा विश्वस्त छौँ ।”

भानुगृहको लागत करिब रु एक करोड दश लाख रहेको छ । विकास मञ्चले आफ्नै लगानीमा भानुगृह निर्माण गर्न लागेको हो । त्यसका लागि मञ्चका पूर्वअध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । विकास मञ्चले काममा ढिलाइ गरेपछि विकास समितिले आफ्नै सक्रियतामा घर निर्माण गर्ने तयारी थालेको थियो । तर विकास मञ्चले नै घर निर्माण गर्ने भएपछि समितिको तर्फबाट आवश्यक सहयोग रहने उहाँले बताउनुभयो ।

विकास समितिले शिखरकटेरीमा तारबार र सिसी क्यामरा समेत जडान गर्दैछ । यही ठाउँमा रामायण भवन निर्माण भइसकेको छ । जङ्गलको बीचमा भएकाले रामायण भवन संरक्षणविहीन अवस्थामा पुगेको छ । भानुगृहको काम सुरु भएपछि यस ठाउँको थप विकास हुनेमा आशावादी रहेको कार्यकारी निर्देशक रानाभाटको भनाइ छ ।

यसअगाडि कच्ची बाटो, पानी र बत्तीको समस्यालगायतका कारणबाट भानुगृहको काम अगाडि बढ्न सकेको थिएन । भानुभक्तको घर पुनःनिर्माणपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ । “आदिकवि भानुभक्तको नाममा देश तथा विदेशमा भव्य कार्यक्रम हुन्छ तर गृह जिल्लामै भानुभक्त उपेक्षित हुनुभयो की भन्ने भान हामीलाई पनि हुन्छ । घर पुनःनिर्माण गर्न सकिए यहाँ धेरैको आगमन हुने विश्वास छ”, उहाँ बताउनुहुन्छ ।

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा २०६१ जेठमा आगलागी भएको थियो जसमा करिब रु एक लाख २७ हजारको क्षति भएको थियो ।

भानु नगरपालिका–४ चुँदीरम्घामा १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात हुनुहुन्छ । भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेख्नुभएको छ भने उहाँका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उहाँ नेपाली साहित्यमा चिनिनुभएको थियो ।

भानु जयन्तीमा आज विशेष कार्यक्रम

दुई सय एघारौँ भानु जयन्तीको अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछन् । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ ।

सोही अवसरमा रामायण वाचन तथा कविता वाचन प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।

मेरा इनार, न त सत्तल पाटी केही छन्
जे चिज र धनहरू छन् घरभित्र नै छन्
त्यस घाँसीले कसरी आज दियेछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी कीर्ति । (भानुभक्त आचार्य )

युक्रेन युद्धमा रुसलाई सहयोग गरेको नाटोको आरोपपछि चीनले दियो कडा प्रतिक्रिया

0

काठमाडौं । नेटोले मंगलबार युक्रेन युद्धमा चीनको संलग्नताबारे कडा टिप्पणी गरेको थियो । नेटोले चीनलाई रुसको समर्थक भएको आरोप लगाएको थियो । यसप्रति चीनले कडा प्रतिक्रिया दिएको छ ।

युरोपेली संघमा चीनको मिसनले नेटोलाई तथाकथित चीनको दबदबालाई बढाइचढाइ नगर्न र टकराव र प्रतिद्वन्द्वीलाई नउक्साउन आह्वान गरेको छ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले आज भने, “नेटोले मनगढन्ते सूचना फैलाएर हाम्रो देशलाई बदनाम गरिरहेको छ।”

चीनले नेटोलाई एसिया प्यासिफिक क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।

चीनका छिमेकीसँगको सैन्य र सुरक्षा सम्बन्धलाई सुदृढ गर्ने नेटोको प्रयासले देशको हितका साथै यस क्षेत्रको शान्ति र स्थिरतामा समेत आँच पुर्याइरहेको परराष्ट्रमन्त्रीले बताए ।

चीन र बेलारुसले सँगै सैन्य अभ्यास गरिरहेका बेला यी टिप्पणीहरू आएका हुन्। बेलारुसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा आक्रमण गर्न प्रयोग गरेका थिए।


पाकिस्तानको पेशावरमा अवतरण गर्ने क्रममा २९७ जना सवार यात्रुवाहक विमानमा आगलागी

0

काठमाडौं । पाकिस्तानको पेशावरमा अवतरण गर्ने क्रममा साउदी एयरलाइन्सको यात्रुवाहक विमानमा आगलागी भएको छ ।

उडानमा रहेका सबै २७६ यात्रु र २१ चालक दलका सदस्यलाई स्लाइडमार्फत सुरक्षित रूपमा बाहिर निकालिएको छ ।

बाचाखान अन्तर्राष्ट्रिय विमानस्थलका एयर ट्राफिक कन्ट्रोलरले भने, “साउदी एयरलाइन्सको विमानमा आगो लाग्नुअघि अवतरणका क्रममा टायर नजिकै स्पार्क र धुवाँ देखिएको थियो। त्यसपछि दमकल र उद्धारकर्मी धावनमार्गमा पुगेका थिए।”

साउदी एयरलाइन्सले आधिकारिक विज्ञप्ति जारी गर्दै भनेको छ , “रियादबाट पेशावर जाँदै गरेको फ्लाइट नम्बर एसभी ७९२ को टायरबाट अवतरणका क्रममा धुवाँ निस्कन थाल्यो। त्यसपछि विमानलाई तुरुन्तै रोकेर सम्बन्धित अधिकारीहरूलाई जानकारी गराइएको थियो। सबै पाहुना र चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकालियो।”

रुसमा जेलमा रहेका पुटिनको आलोचकको निवेदन अदालतबाट खारेज

0

काठमाडौं । रुसको एक अदालतले मानवअधिकार कार्यकर्ता ओलेग ओर्लोभको साढे दुई वर्षको जेल सजाय विरुद्धको अपिल खारेज गरेको छ ।

ओलेग युक्रेन विरुद्ध युद्ध सुरु गर्ने राष्ट्रपति पुटिनको निर्णयको प्रमुख आलोचक हुन्। ओलेगलाई सशस्त्र बलको मानहानी गरेको आरोपमा फेब्रुअरीमा जेल पठाइएको थियो।

दोस्रो घटनामा रुसले विपक्षी नेता एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नाभाल्न्यालाई ‘आतंकवादी र अतिवादी’को आधिकारिक सूचीमा राखेको छ ।

युलिया नभाल्न्यालाई पनि यसै साता पक्राउ पुर्जीको सामना गर्नु पर्नेछ। तर, उनी रसिया बाहिर बस्ने भएकाले उनलाई मुद्दा चलाउने सम्भावना छैन ।

‘हामीले किबुट्ज बेरीलाई हमासको आक्रमणबाट बचाउन सकेनौं’- इजरायली सेना

0

काठमाडौं । इजरायली सेनाले अक्टोबर ७ मा हमासको हमलाको सम्बन्धमा आफ्नो अनुसन्धान प्रतिवेदनमा किबुट्ज बेरीलाई आक्रमणबाट बचाउन असफल भएको स्वीकार गरेको छ । यहाँ १०१ मानिस मारिए।

इजरायली रक्षामन्त्री योभ गालान्टले आक्रमणका क्रममा सुरक्षा निकायको तयारीबारे छानबिन गर्न माग गरेका छन् ।

सेनाले आफ्नो आधिकारिक अनुसन्धान प्रतिवेदनमा सेनाले किबुट्ज बेरीको सुरक्षा कसरी गर्ने भन्ने खुलासा गरेको छ ।

रिपोर्टहरूका अनुसार जब हमासले आक्रमण गर्‍यो, अधिकांश हताहतहरू गाजा र इजरायललाई विभाजन गर्ने बारको छेउमा अवस्थित किबुट्जमा भएका थिए।

योभ गालान्टले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलगायत सबै शीर्ष व्यक्तिहरूको कार्यको छानबिन गर्न राष्ट्रिय अनुसन्धानको माग गरेका छन्।

प्रतिवेदनमा १३ जनालाई बन्धक बनाएको एउटा घरमा ट्याङ्कलाई गोली चलाउन आदेश दिइएको एउटा घटना पनि उल्लेख छ।

प्रतिवेदनले निष्कर्ष निकालेको छ, “अनुसन्धान टोलीले किबुट्ज बेरीका बासिन्दाहरूलाई जोगाउने आफ्नो मिशनमा सेना असफल भएको फेला पारेको छ।”

रिपोर्टमा भनिएको छ ‘आक्रमणको दिउँसोसम्म सेनाले परिस्थितिको स्पष्ट र सही मूल्याङ्कन गर्न निकै संघर्ष गर्नुपरेको थियो। सेनाको कमाण्ड र कन्ट्रोल र समन्वयको अभाव थियो ।’

अगाडि भनिएको छ ‘सेना अन्योलको अवस्थामा थियो र किबुट्जको गेटमा पुगेपछि पनि सैनिकहरू तुरुन्तै भित्र पसेनन्, जबकि हमास लडाकुहरूले मानिसहरूलाई मारिरहेका थिए।’

यद्यपि, प्रतिवेदनले धेरै बासिन्दाहरूलाई उद्धार गर्ने सैन्य बल, कमाण्डर र सुरक्षाकर्मीहरूको बहादुरी र साहसको प्रशंसा गरेको छ।

हमासको आक्रमणमा १२०० इजरायली मारिएका थिए र गाजामा हमास लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए।

त्यसपछिको इजरायली सैन्य कारबाहीमा हालसम्म ३८,००० भन्दा बढी प्यालेस्टाइनी मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

किबुट्ज बेरीका बासिन्दाहरूले इजरायली रक्षा बलहरूले सुरक्षा प्रदान गर्न असफल भएको स्वीकार गरेका छन् र अब राष्ट्रिय अनुसन्धानको माग गरिरहेका छन्।

जाँदाजाँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेलाई दिए चेतावनी

0

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा कांग्रेस र एमालेलाई चेतावनी दिएका छन्।
उनले सम्बोधन गर्दैगर्दा रोष र आक्रोश उनको अनुहारमा देखिन्थ्यो ।

प्रधानमन्त्री प्रचण्ड सुरूमै एमाले अध्यक्ष केपी ओलीमाथि खनिए। बहुमत गुमाएपछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने एमालेको मागलाई प्रधानमन्त्री प्रचण्डले पुस ५ गते ओलीले गरेको संसद विघटन स्मरण गर्दै नैतिकताको पाठ नपढाउन भने।

‘अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेका र त्यसको समर्थन गर्नेहरूले नैतिकताको पाठ पढाउने प्रयास गरिरहे,’ उनले भने।

कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको नाउँमा छलछाम गरेको आरोप लगाए। एमाले र कांग्रेसले सहकार्य गर्ने सहमति गरेको समय र ठाउँले त्यो सहमति नभई षड्यन्त्र रहेको दाबी गरे।

संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी रहेको र त्यसलाई कमजोर बनाउन खोजे माओवादीले प्रतिवाद गर्ने चेतावनी दिए।

‘संविधानलाई माओवादीले कमजोर बनाउँदैन बनाउन दिँदैन र दिने पनि छैन,’ उनले भने, ‘दशकौं लामो विद्रोह र त्यसपछिका आन्दोलनका जगमा बनेको संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा सडमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइन्छ।’
प्रधानमन्त्री प्रचण्डले कांग्रेस-एमालेबीचको मध्यरातको सहमति, त्यो सहमति हुनुका कारण र ओलीले झुक्याएसम्मका फेहरिस्त लगाइसकेपछि विश्वासको मत नपाउने टेन्सन नरहेको बताए।

बरू जाँदाजाँदै उनले कांग्रेस र एमालेको सहकार्यमा बन्ने लागेको सरकारलाई संविधान नमिच्न चेतावनी दिए।

साथै आफू नेतृत्वमा हुँदा सरकारले चलाएको भ्रष्टाचारविरूद्धको अभियानलाई आगामी सरकारले कसरी अगाडि बढाउँछ भन्ने कुरालाई निगरानी गर्ने बताए।

उनले दुई तिहाईको बलमा संविधान संसोधनका नाउँमा जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्न पनि कांग्रेस एमालेलाई चेतावनी दिए।

‘अधिकार उपभोग गरिसकेको जनता उपलब्धि खोस्न सजिलो हुने छैन। हिजो निदाएको सिमान्त वर्गमाथि जति शासन भयो भयो। युद्ध आन्दोलन र विद्रोहको भट्टीले जगाएको मात्रै छैन राप र तापसहित स्पात बनाएको छ। प्राप्त उपलब्धिहरूलाई जिस्क्याउने कोसिस नगर्नुहोला। यो प्रयास भयो भने संसद र सडकमा ठूलो प्रतिरोध हुनेछ,’ उनले भने।

उनले प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सिमान्त वर्ग र समुदायलाई जिस्काउने गल्ती नगर्न पनि दलहरूलाई चेतावनी दिए।

‘भुइँमान्छेहरूको प्रतिरोध र विद्रोहको तागत आफ्नै जीवनकालमा तपाईं हामी सबैले देखिसकेको हो। त्यो अवस्था फेरि नतिम्तियोस्,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिट्टै नजन्मिने दाबी गर्दै आगामी सरकारले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रको लागि महँगो पर्न सक्ने पनि बताए।

इतिहास नबिर्सन पनि चेतावनी

‘तपाईंहरूले कमजोर मानेको र दबाएको थारूले देखाएको सौर्य र वलिदान पनि नबिर्सौं । तपाईंहरूले शताब्दीऔंदेखि हेपेको मधेसी आन्दोलनको बलमा काठमाडौंलाई कसरी झुकाइएको थियो त्यो पनि सम्झी राखौं। जनयुद्ध आँधीले हल्लिएको र भत्किएको इतिहास नबिर्सौं,’ उनले भने।

अन्तिममा प्रधानमन्त्री प्रचण्डले राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा क्रान्तिले गरेको उद्धारप्रति कृतज्ञ हुन नसकेपनि बेइमानी नगरिदिन पनि आग्रह गरे।

यो संविधान जनक्रान्तिको सन्तान र दस्तावेज हो। यो अभिजातहरूले दया गरेर दिएको संविधान होइन। जनताले लडेर बनाएको संविधान हो।यसको महत्व, गरिमा, ऐतिहासिकता र दूरगामीतालाई कसैले पनि अवमूल्यन नगर्नू,’ उनले भने।

दुई ठूला दलहरूले जनमत र नागरिक उन्मुक्तिजस्ता नयाँ दलहरूलाई अस्थिरताको कारक मान्ने सिध्याउने कसरत गरेको तर आफूले सँधै लोकतन्त्रको फूल मानेको प्रधानमन्त्री प्रचण्डको दाबी थियो।

‘पार्टी हुनका लागि पाँच प्रतिशत बढाएर १० प्रतिशत बनाउँदा के हुन्छ स्थिति हामी सबैले सोचेकै हौंला। भोट जतासुकै हाल्नुस् आज तर सिद्धान्ततः कहाँ सहमत हुनुहुन्छ भन्ने मुख्य हो,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले अन्तिममा नयाँ बन्ने सरकारलाई संविधान मिच्नतिर नलाग्न र नयाँ सरकार गठन गर्दा पनि संविधान नमिच्न आग्रह गरे।

उनले संविधानको धारातर्फ इंगित गरेका थिए। एमालेले सरकार समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रले नयाँ बन्ने सरकार संविधानको धारा ७६(३) अनुसार बन्ने दाबी गर्दै आएको छ। उक्त धाराले संसदको सबैभन्दा ठूलो दलका नेता प्रधानमन्त्री बन्ने परिकल्पना गरेको छ।

‘सहकार्यको बधाईसहित यति भन्न चाहन्छु कि संविधान मिच्नतिर नलाग्नुस्। नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला,’ प्रधानमन्त्री प्रचण्डले भने।

कांग्रेसलाई बेग्लै अनुरोध

‘कृपया संसदचाहिँ बचाउनुहोला। दुई-दुई पटक संसद विघटन गरिँदा संविधान च्यात्ने दुष्साहस गर्दा तपाइँहरू सँगै लडेर बचाएको हो भन्ने कुराको महत्वलाई नबिर्सनुहोला। संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन्। हिजो हामी मिलेर जोगाएका हौं। अब पनि जोगाउनुपर्छ। र आफू पनि जोगिनुपर्छ,’ उनले भने।

 

ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न देउवाले बुझाए हस्ताक्षर

0

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाएका छन् ।
आज शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकमा प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारिएको थियो।

कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । लेखकका अनुसार प्रधानमन्त्री दाबीका लागि बहुमत कांग्रेस र एमालेको समर्थन भए पुग्छ । दुई दलको समर्थन पत्र लिएर केपी ओलीजीले दाबी पेस गर्नुहुन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपालगायत दलले मत जाहेर गरेका थिए ।

तर, ओलीलाई प्रधानमन्त्रीमा नियुक्तका लागि कांग्रेस र एमालेको मात्र समर्थन रहने छ । जसपा, जसपा नेपाल, जनमत, लोसपा र नाउपालाई एक–एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने कांग्रेस-एमाले सकारात्मक छन् । उनीहरुले ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा पक्षमा मतदान गर्नेछन् ।

कांग्रेस–एमाले सत्ता समीकरणमा सामेल हुने अन्य दलले ओलीलाई विश्वासको मत मात्र दिने छन् । प्रमुख सचेतक रमेश लेखकले उक्त पत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेका छन् । ‘राष्ट्रपतिमा प्रधानमन्त्रीको लागि दाबी पेस गर्ने पत्र तयार भइसकेको छ । नेपाली कांग्रेसले समर्थन गर्ने र केपी ओलीजीले दाबी गर्ने पत्रमा हाम्रो सभापतिजीले हस्ताक्षर गरेर केपी ओलीजीलाई दिइसक्नु भयो,’ उनले भने ।

 

 

दिगो विकासका लागि बैंकको लगानी बढ्न आवश्यक

0

काठमाडौँ: सरोकारवालाहरूले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभएको छ । नबिल बैंक स्थापनाको ४० वर्ष पुगेको अवसरमा आज यहाँ आयोजित ‘दिगो विकासमा बैंकिङ क्षेत्रको भूमिका’ शीर्षकको प्यानल छलफलमा उहाँहरूले दिगो विकासका लागि ठूलो लगानी आवश्यक भएको र सोहीअनुसार बैंक तथा वित्तीय संस्थाले लगानी केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नबिल बैंकका अध्यक्ष डा उपेन्द्र पौड्यालले दिगो विकासका लागि बैंक तथा वित्तीय संस्थाको लगानी महत्त्वपूर्ण भए पनि लक्ष्य प्राप्तिमा भने सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । मुलुकको अर्थतन्त्रमा ८० प्रतिशत निजी क्षेत्रको योगदान र त्यसमा बैंकको ७० प्रतिशतभन्दा बढी योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले सरकारले पनि नीतिगत तथा व्यावहारिक रूपमा दिगो विकासका लक्ष्य प्राप्तिमा साथ दिन आवश्यक रहेको बताउनुभयो ।

“मुलुकको अर्थतन्त्र कता लैजाने भन्ने विषय बैंकले कुन क्षेत्रमा लगानी गर्छ भन्नेले पनि अर्थ राख्छ, पछिल्लो समयमा बैंकहरूले जलविद्युत् आयोजनामा लगानी बढाएकाले मुलुकको अर्थतन्त्र सोही दिशामा अघि बढेको छ”, उहाँले भन्नुभयो । अबको बैंकिङ क्षेत्र वास्तविक अर्थतन्त्रमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले दिगो विकासका लागि ऊर्जासँगै खाद्य र पानीको सुरक्षा महत्त्वपूर्ण भएकाले सीमसार जोगाउनेदेखिका काममा सबैको ध्यान जानुपर्नेमा आवश्यकता औँल्याउनुभयो । यसका लागि बैंक तथा वित्तीय संस्थासँगै सरकार र अन्तर्राष्ट्रिय समुदायको सहकार्य आवश्यक भएको उहाँको भनाइ थियो ।

अध्यक्ष पौड्यालले नबिलको दिगो बैंकिङको अभ्यासलाई सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । “नबिल बैंकले आफ्ना लागि मात्रै काम गरेको छैन, ग्राहकको आवश्यकतालाई सम्बोधन हुने र दिगो विकासमा सहयोग पुग्नेगरी कार्यक्रम र सेवा प्रवाहलाई केन्द्रित गरेको छ”, उहाँले भन्नुभयो ।

सोही अवसरमा वर्ल्ड वाइड फण्ड फर नेचर (डब्ल्युडब्ल्युएफ)का नेपालका प्रतिनिधि डा घनश्याम गुरुङले हरेक काम आफ्ना लागि हो भन्ने सोचका साथ गर्ने हो भने त्यसले दिगो विकासमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । “दिगो विकास वातावरण जोगाउनका लागि होइन, यो त म आफ्नै लागि हो भन्ने सोचले काम गर्नुपर्छ, वातावरण जोगाउन सकेनाँै भने हामीह नै बाँच्न नसक्ने अवस्था आउँछ”, उहाँले भन्नुभयो ।

दिगो विकासका लागि बैंकिङ क्षेत्रको लगानी जलविद्युत्, पर्यटन र कृषि क्षेत्रमा केन्द्रित हुनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले वातावरण, सामाजिक र शासन (इएसजी)लाई ध्यानमा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक क्षेत्रमा पानी आवश्यक पर्ने भएकाले सबैभन्दा पहिला पानीको सुरक्षा गर्नु दिगो विकासको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो ।

ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा एलिजा स्थापितले दिगो विकास सबै क्षेत्रसँग अन्तरसम्बन्धित भएकाले कुनै एक क्षेत्रको मात्रै अग्रसरता पर्याप्त नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले बैंकहरूले पनि आगामी दिनमा घर कर्जा सिमेन्ट प्रयोग हुने घरका लागि मात्रै दिने कि बाँसबाट पनि निर्माण हुने घरलाई दिने हो त्यसमा विचार गर्नुपर्ने समय आएको बताउनुभयो । आफूहरूले मधेस र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहसँगको सहकार्यमा काम गरिरहेको र दिगो विकासलाई ध्यान दिइएको उहाँको भनाइ थियो ।

सोही अवसरमा हिन्दुकुश हिमालयका मानिसहरूको पक्षमा कार्यरत अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) महानिर्देशक डा पेमा ग्याम्त्सोले पर्यावरण जोगाउन र पूर्वाधार निर्माणलाई वातावरणमैत्री बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । दिगो विकास र वातावरण संरक्षण एक्लो प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उहाँले यसका लागि सबै सरोकारवाला ‘थिङ्क ग्लोबल्ली, एक्ट ग्लोबल्ली’ सोचका साथ अघि बढ्नु जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले कुनै एक स्थानमा उत्पन्न हुने समस्याले समग्र प्रणालीमा असर पार्ने भएकाले सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।

“काठमाडौँमा हुने वायु प्रदूषण अन्यत्रै भएको समस्याका कारण पनि हुनसक्छ, त्यसैले हरेक क्षेत्रमा दिगो विकासलाई ध्यानमा राख्दै काम गर्नु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले दिगो विकासका लागि पानीको सुरक्षाका साथै यातायातका साधनलाई वातावरणमैत्री बनाउन जरुरी रहेको धारणा व्यक्त गर्दै बैंकिङ क्षेत्रले पनि दिगो विकास तथा हरित अर्थतन्त्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो हाल विद्युत्को पहुँच ९९ दशमलव नौ प्रतिशत जनसङ्ख्यामा पुगेको उल्लेख गर्दै ग्यासलाई विस्थापित गर्दै विद्युतीय चुल्होको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो ।

“हुम्लामा खाना पकाउने एलपी ग्यासको मूल्य नै प्रतिसिलिण्डर रु आठ हजारसम्म पर्ने रहेछ, त्यसको साटो स्वदेशी विद्युत्को प्रयोग गर्ने हो भने दिगो विकासमा सहयोग पुग्नुका साथै विदेशी मुद्रा पनि बचत गर्न सकिन्छ”, उहाँले भन्नुभयो । सो अवसरमा उहाँले चिलिमे जलविद्युत् आयोजनाको शेयर स्थानीयलाई वितरण गर्ने क्रममा नबिल बैंकले शाखा स्थापना गरी खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो ।

“दिगो विकासका लागि विकास दशक घोषणा गरौँ । सरकारी स्तरबाट नीति तथा कानुनमा के–कस्ता परिवर्तन गर्नुपर्ने हो त्यसमा काम गरौँ, राजनीतिक प्रतिबद्धताका साथ कार्यान्वयन गर्न सकियो भने दिगो विकासका लक्ष्य हासिल गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले यसका लागि बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुने भएकाले सधैँ साथ र सहयोग आवश्यक भएको उल्लेख गर्नुभयो ।