Wednesday, June 17, 2026
Home Blog Page 728

जर्मनीमा चक्कु प्रहारबाट तीन जनाको मृत्यु, चार जना गम्भीर घाइते

0

सोलिङ्गेन । जर्मनीको पश्चिमी सहर सोलिङ्गेनमा चक्कु प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको समयमा आक्रमण भएको थियो। आक्रमणकारी अझै फरार रहेको बताइएको छ ।

बिल्ड वेबसाइटका अनुसार एक व्यक्तिले अन्धाधुन्ध रूपमा छुरा प्रहार गरेका थिए। आक्रमणकारीको व्यापक रूपमा खोजी भइरहेको छ । प्रहरीको हेलिकप्टरहरू सहर माथि घुमिरहेको देखिएको छ।

बिल्डका अनुसार प्रहरीले छुरा प्रहार गर्ने सन्दिग्धको खोजीमा ४० वटा सवारी साधन परिचालन गरेको छ। सवारी साधनहरू विशेष टास्क फोर्सका अधिकारीहरूले कमान्ड गरिरहेका छन्। सडकहरू अवरुद्ध गरिएको छ भने अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई घर भित्रै बस्न भनेका छन् ।

आक्रमणको समयमा औद्योगिक सहर स्थापना भएको ६५० औँ वर्षगाँठ मनाइँदै थियो । घटनापछि उत्सवका कार्यक्रमहरू रद्द गरिएको छ।

सोलिङ्गेन उत्तर राइनल्याण्ड-वेस्टफालियाको एक सहर हो । यो स्टिल उद्योगको लागि प्रसिद्ध छ । यहाँ लगभग १ लाख ६० हजार बासिन्दाहरू छन्।

चितवनमा अण्डाको माग बढ्यो, मूल्य बढाइयो

0

चितवन: चितवनमा अण्डाको माग बढेको छ । साउनमा ब्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।

दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताउनुभयो । उहाँका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् ।

पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको हो ।

हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताउनुभयो । उहाँले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट रु पाँच, ठूलो र मध्यमको रु १० ले बढाइएको बताउनुभयो । सबै फार्महरुले मूल्य बढाएको उहाँले जानकारी दिनुभयो । लामिछानेले भन्नुभयो “मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।”

अण्डा उत्पादक कृषकहरु नेपाल लेयर्स कुखुरा पालक सङ्घ गठन गरेर बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष समेत रहनुभएका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरु फेरि व्यवसायमा फर्किएको बताउनुभयो । साउनमा बिक्री हुन बाँकी अण्डाहरु बिक्री भईसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाई छ ।

खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रतहरु सकिएको, पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको, चाडपर्व सुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताउनुभयो ।

उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताउनुभयो । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उहाँले जानकारी दिनुभयो । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ कायम गरेका थिए ।

मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यकः प्रदेश प्रमुख भट्ट

0

गण्डकी: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको समृद्धिका लागि सक्षम युवा नेतृत्व आवश्यक हुनेमा जोड दिनुभएको छ । पोखरा जेसीजद्वारा पोखरामा आयोजित चार दिवसीय व्यापार प्रशिक्षण कार्यक्रम ‘जेसीआई नेपाल बिजनेश एकेडेमी’को उद्घाटन गर्दै उहाँले सक्षम युवा नेतृत्वले राष्ट्रको समग्र विकासमा योगदान गर्न सक्ने बताउनुभयो ।

“सक्षम नागरिकको उत्पादन हुन सकेमा समाज र सिङ्गो राष्ट्रको विकास हुनेछ । असल र क्षमतावान व्यक्तित्वले मात्र मुलुकलाई सही नेतृत्व दिनसक्छ”, उहाँले भन्नुुभयो, “यस्ता नेतृत्व निर्माणमा जेसीज जस्ता संस्थाको महत्वपूर्ण हात रहेको छ ।”

कर्मठ युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जेसीजले असल, योग्य युवाहरुको उत्पादन गरी राष्ट्र, राष्ट्रियता र समाजप्रति जिम्मेवार नागरिक निर्माणमा योगदान गरेकोमा उहाँले प्रशंसा गर्नुभयो ।

‘जेसीआई नेपाल बिजनेश एकेडेमी’मा हुुने प्रशिक्षणले युवाहरूलाई व्यवसायको सुरुवात गर्न, व्यवस्थापन गर्न र प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक ज्ञान र सीपहरुको आर्जनमा ठूलो भूमिका खेल्ने विश्वास लिइएको छ ।

कन्सुलर सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने

0

लिस्बन (पोर्चुगल): पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने भएको छ ।

कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा दिन दूतावासको टोली यही अगष्ट २९ मा पोर्चुगल आउन लागेको दूतावासले जनाएको छ । प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई लिस्बनबाटै कन्सुलर सेवा दिने गरी टोली पठाउन लागिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले राससलाई जानकारी दिनुभयो ।

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी हाल देखा परेको समस्यालाई मध्यनजर गरी परराष्ट्र मन्त्रालयसँगको समन्वयमा टोली पठाउने तयारी गरिएको राजदूत भट्टराईले बताउनुभयो । टोलीले कन्सुलर विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट), जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायतका कागजात प्रमाणीकरणका साथै अन्य कन्सुलर सेवा प्रदान गर्ने उहाँले बताउनुभयो ।

राजदूत भट्टराईका अनुसार घुम्ती सेवाका लागि दूतावासका दुई जना कर्मचारी पोर्चुगल आउने तय भएको छ भने टोलीले करिब एक सातासम्म राजधानी लिस्बनमा रहेर कन्सुलर सेवा प्रदान गर्ने बताइएको छ ।

गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको लिस्बनस्थित कार्यालयबाट प्रवाह गरिने घुम्ती सेवा सेप्टेम्बर ३ तारिखसम्म सञ्चालन हुने दूतावासले जनाएको छ । गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाको समन्वय र सहजीकरणमा घुम्ती सेवा सञ्चालन गर्न लागिएको हो ।

टोली आउने भएपछि यहाँको आवास अनुमतिपत्र (रेसिडेन्सी कार्ड) का लागि बायोमेट्रिकको तयारीमा रहेका नेपालीहरु बढी लाभान्वित हुने भएका छन् । दुई साताअघि मात्रै राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

तनहुँ बस दुर्घटनाः मृतकका शवको परीक्षण सुरु

0

चितवन: पृथ्वी राजमार्गको तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो ।

आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । शव परीक्षणपश्चात् भैरहवा हुँदै भारत पठाइने उहाँले जानकारी दिनुभयो ।

सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।

मोदी र जेलेस्न्कीबीच भेटवार्ता

0

काठमाडौँ: युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टले जनाएको छ ।

मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा गरी कीभ पुगेका थिए । जेलेन्स्कीसँगको भेटवार्तामा मोदीले रुससँगको जारी युद्धबारे चर्चा गर्ने बताइएको छ ।

१९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । रुस-युक्रेन युद्ध सुरु भएपछि विश्वका कैयौं ठूला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् ।

मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ ।

च्याम्पियनसिप यु-२०: सेमिफाइनलको समीकरण पूरा, नेपालले भुटानसँग खेल्ने

0

काठमाडौं: राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ।

समूहचरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको हो।

पराजित भएसंगै माल्दिभ्स अंकबिहीन हुदै प्रतियोगीताबाट बाहिरिएको छ भने भारत समूह विजेता बनेको छ। त्यस्तै सोही समूहबाट भुटान तीन अंकका साथ सेमिफाइनलमा पुगेको छ।

अब सेमिफाइनलमा नेपालले भुटानसँग प्रतिष्पर्धा गर्ने छ भने साविक विजेता भारतले साविक उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनलका खेल आइतबार र सोमबार हुनेछन् भने फाइनल खेल आगामी बुधबार हुने एन्फाले जनाएको छ।

मुस्ताङको थासाङमा हिमपहिरो, खोला थुनियो

0

म्याग्दी : मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरिमा खसेको हिमपहिरोले शुक्रबार दिउँसो बोक्सीखोला थुनिएको छ।

बोक्सेखोला कालीगण्डकी नदीको सहायक खोला हो। मुलखर्क भन्ने ठाउँको पहाडको खोँचमा हिमपहिरो थुप्रिँदा बोक्सीखोलामा पानीको मात्रा घटेको थासाङ गाउँपालिका–२ कोवाङका वडा अध्यक्ष गौतम शेरचनले बताए।

‘शुक्रबार दिउँसो करिब १ः३० बजेतिर धौलागिरि हिमालको फेदबाट हिमपहिरो खसेर खोँचमा थुप्रिएको हो,’ उनले भने, ‘हिउँको थुप्रोले खोलामा पानीको मात्रा घटेको छ।’

जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोक्सेखोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। आसपासमा बस्ती नभएपनि बेनी–जोमसोम सडक बोक्सीखोला किनारमा पर्दछ।

कोवाङमा रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले हिमपहिरो थुप्रिएको ठाउँमा सशस्त्र प्रहरीको टोली पठाएको बताए। ‘ड्रोनबाट हिमपहिरो थुप्रिएको ठाउँको अवलोकन गर्दा खोला थुनिएर तलाउ बनेको नदेखिएकाले जोखिम कम हुने अनुमान गरेपनि सतर्कता अपनाउनुपर्ने छ’ उनले भने, ‘बेनी–जोमसोम सडकमा यात्रा गर्नेलाई बोक्सीखोला छेउछाउमा सतर्कता अपनाउन आग्रह गरिएको छ।’

खोलाको छेउछाउ चराउन लगिएका वस्तुभाउ र घाँसदाउरा गर्न गएका किसान पनि सुरक्षित ठाउँतर्फ गएका छन्।

रवि लामिछानेले पुगे संसदीय समितिलाई बयान दिन

0

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय छानबिन विशेष समितिमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिनपुगेका छन् ।

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ र बयानका लागि बोलाएको हो ।

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् । लामिछाने अघि समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको छ ।

आजको मौसम: कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने

0

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।

कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।