Wednesday, June 10, 2026
Home Blog Page 715

निजी एयरलाइन्सलाई फाइदा पुर्याउन नेपाल एयरलाइन्सको जहाज मर्मत नगरिएको आशंका

0

काठमाडाैं: रास्वपा सांसद मनिष झाले अन्य वायुसेवालाई फाइदा हुने गरी नेपाल एयरलाइन्सका जहाज समयमा नै मर्मत नगरिएको आशंका व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै झाले नेपाल एयरलाइन्सका जहाज मर्मतका लागि लगिए पनि लामो समयसम्म पनि ल्याउन नसकिएको र अन्य वायुसेवालाई फाइदा पुर्याउन चलखेलका आधारमा यस्तो भएको भन्ने आशंका व्यक्त गरे।

निगमको जहाज सञ्चालन नहुँदा दैनिक पाँच करोड घाटा भएको भन्दै तत्काल यसतर्फ ध्यान दिन उनले आग्रह गरे। उनले निगमको जिम्मेवारी सम्हाल्ने व्यक्ति ज्ञान नभएकाले पनि निगमका धेरै प्राविधिक समस्या आएको हुनसक्ने बताए।

बैठकमा कांग्रेस सांसद राजेन्द्र बजगाईंले नागरिक उड्डययन प्राधिकरणका डिजीलाई जोगाउनका लागि रास्वपा लागेको आरोप लगाए। नयाँ आशा देखाएको पार्टीले नै डबल स्ट्यान्डर्डको काम गरेको भन्दै उनले द्वैध चरित्र नदेखाउन रास्वपालाई सुझाव दिए।

उनले गौरापर्वका अवसरमा टुँडीखेलमा भएको क्रियाकलापप्रति आपत्ति जनाउँदै यसमा प्रतिपक्षी दलका कार्यकर्ताको संलग्नताको आशंका व्यक्त गरे।

अमेरिकामा नेपाली चेली मुना पाण्डेमाथि गोली हान्ने हत्यारा यही हो

0

काठमाडौँ: अमेरिकामा अध्ययनरत नेपाली चेली मुना पाण्डेमाथि गोली हान्ने पुरुषको तस्बिर ह्युस्टन प्रहरीले सार्वजनिक गरेको छ ।

स्थानीय सञ्चार माध्यमका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन । घटना र अभियुक्तबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । अभियुक्त पहिचानका लागि समुदायको सहयोग मागेको छ। चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनिएको छ।

ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीय मुना पाण्डेको गत सोमबार साँझ गोली हानी हत्या गरिएको थियो। पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

पूर्वकप्तान पारसले भारतमा लिजेन्ड लिग क्रिकेट खेल्ने

0

काठमाडौँ: भारतमा आयोजना हुन लागेको द लिजेन्ड लिग क्रिकेट २०२४ मा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि खेल्ने भएका छन् ।

नयाँ दिल्लीमा बिहीबार भएको लिलामीमा खड्कालाई गुजरातले खरिद गरेको हो । लिगका अनुसार खड्कालाई १२.५ लाख भारतीय रुपैयाँमा टोलीले खरिद गरेको हो ।

पारसको टोलीमा जेरोम टेलर, असगर अफगान, लेन्डल सिमन्स, मोर्नी भान विक, लियाम प्लंकेट, सेकुगे प्रशन्ना, कामायु लेभररकलगायत रहेका छन् ।

लिग आगामी सेप्टेम्बर २० देखि जोधपुरको बर्कतुल्लाह खान स्टेडियममा सुरु हुनेछ । ६ वटा टिम सहभागी हुने लिगमा २५ खेल खेलाइनेछ ।

लिगका शीर्ष दुई टोलीले अक्टोबर १६ मा हुने फाइनलमा भिड्नेछन् । फाइनल खेल श्रीनगरको बक्सी स्टेडियममा हुनेछ ।

मधेस प्रदेश सरकारले दूधमती नदीको सीमा यकिन गरी उत्खनन् गर्ने

0

जनकपुर: मधेस प्रदेश सरकारले धार्मिक महत्वको दूधमती नदीको प्राकृतिक बहाव क्षेत्र पहिचान गरी सीमा निर्धारण तथा उत्खनन् गर्ने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा नदीको अतिक्रमण हटाउने विषयमा बुधबार बसेको बैठकले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित दूधमती नदीको उद्गमस्थलदेखि भारतीय सीमासम्मको २९ किलोमिटरसम्म नदी अतिक्रमण हटाउने निर्णय गरेको उहाँको सचिवालयले जनाएको छ ।

बैठकले विसं २०२४/२०२६ मा भएको नापीका आधारमा दुग्धमती नदीको सीमा यकिन गर्ने तथा यस कार्यका लागि आवश्यक प्राविधिक तयारी गर्न प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई जिम्मा दिइएको छ ।

विभिन्न धार्मिक ग्रन्थमा समेत पवित्र नदीका रूपमा वर्णन गरिएको यस नदीमा स्नान तथा पूजाआजाको लामो परम्परा रहेको छ । नदी उद्गमस्थलदेखि तीन–चार किलोमिटरसम्म पूर्ण र त्यसभन्दा दक्षिणतिर आंशिक अतिक्रमण रहेको ठहर गर्दै अतिक्रमणमुक्त दुग्धमतीको योजना कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो । त्यसक्रममा नदीको साविक सीमा यकिन गर्ने, उत्खनन् गर्ने र प्रदूषणमुक्त बनाउन प्रदेश सरकारले अग्रसरता लिने निर्णय भएको थियो । प्रदेश सरकारको सो अभियानमा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।

बैठकमा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव, प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साह, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव जक्की अहमद अन्सारी, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, नेपाल प्रहरीका नायब महानिरीक्षक यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक कालीदास धौवजी, सडक डिभिजन कार्यालय जनकपुरका डिभिजन प्रमुख दीपककुमार झा, धनुषाका प्रमुख मालपोत अधिकृत विष्णुप्रसाद सिटौला, धनुषाका नापी अधिकृत कामेश्वर राउतलगायत सहभागी हुनुहुन्थ्यो । बैठक लगत्तै मुख्यमन्त्री सिंहसहित बैठकका सहभागी नदीको उद्गमस्थल र नदी प्रणालीको अवलोकन तथा निरीक्षण गर्नुभएको थियो ।

कोशीमा दुग्धजन्य पदार्थको बिक्रीमा वृद्धि : व्यवसायी उत्साहित

0

झापा: कोशी प्रदेशमा दुग्धजन्य पदार्थको बिक्रीमा वृद्धि हुन थालेपछि दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको हो ।

नेपाल डेरी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले मौज्दातमा रहेका दुग्धजन्य पदार्थको दसैँतिहारसम्म ५० देखि ६० प्रतिशत खपत हुने बताउनुभयो । विगतमा सरकारले दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएसँगै यहाँ उत्पादित सामग्रीले बजार पाएको हो ।

कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानी एक महिनामात्र ‘होल्ड’ गरेर सबै भुक्तानी गर्दै आएको बताउनुभयो । यसका कारण किसान पनि उत्साहित बनेका छन् । छ महिनाअघिसम्म कोशीका डेरी उद्योगमा नौनी घिउ, एसएमपी र छुर्पीको मौज्दात पाँच लाख केजीभन्दा ज्यादा रहेको थियो । भारतीय दूधको आयात घटेसँगै आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने सरकारको निर्णयले हाल व्यवसायमा सुधार आएको उहाँले बताउनुभयो ।

उहाँले कोडिभ महामारीपछि ठूला गाईफार्म धामधम बन्द हुन थालेपछि हाल दूध उत्पादन घटेको बताउनुभयो । “किसान पछिल्लो समय पलायन भएका छन् । इलाम, पाँचथर, झापालगायत स्थानमा सञ्चालित धेरै गाईफार्म बन्द भए”, उहाँले भन्नुभयो, “करिब ३० प्रतिशत उत्पादन घटेसँगै बजारमा यसको बिक्रीमा सुधार आयो ।”

उहाँले यहाँ उत्पादित छुर्पी भने अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा निर्यात भइरहेको बताउनुभयो । छुर्पीजस्तै घिउ, बटर र पाउडर दूध निर्यातमा समेत सरकारले गम्भीर भएर पहल गर्न आवश्यक रहेको उपाध्यक्ष चिमिरियाको भनाइ छ । उहाँका अनुसार देशभर हाल आठ लाख ५० हजार लिटर खुला दूधको दैनिक कारोबार हुँदै आएको छ । यसमध्ये कोशी प्रदेशमा मात्र तीन लाख ५० हजार लिटरको कारोबार हुने गरे तापनि रु ४५ करोड बढीको बटर नौनी अझै मौज्दात रहेको उहाँका भनाइ छ ।

कुलमानलाई हटाउने सरकारको कुनै योजना छैन : ऊर्जामन्त्री खड्का

0

बाह्रविसे (सिन्धुपाल्चोक): नेपाली कांग्रेसका नेता एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताउनुभएको छ ।नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ ले बुधबार बाह्रविसेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कुलमानलाई सरकारसँग जोडेर अनेक प्रचारबाजी गरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्री खड्काले सबै नागरिक सम्पन्न हुँदा मात्र देश समृद्धि हुने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास आवश्यक रहेकाले यसको विकासका लागि स्थानीयवासीको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री खड्काले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् विदेशी मुलुकमा निर्यात गर्ने सरकारको लक्ष्य रहेकाले यसलाई पूरा गर्न सरकार गम्भीर भएर लागेको बताउनुभयो । सरकारले हाल भारतमा मात्र नौ सय ४१ मेगावाट विद्युत् निर्यात गरिरहेको भन्नुहुँदै चाँडै नै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने गरी आश्वयक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले कुनै पनि जलविद्युत् तथा सिँचाइको आयोजनालाई समयमै सम्पन्न गर्नका लागि स्थानीय बासिन्दाको दबाबको खाँचो रहेको समेत बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको विकासका लागि नेपाली कांग्रेस प्रतिबद्ध भएर लागिरहेको बताउनुभयो ।

नेपाली कांग्रेस रामेछापका सभापति एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले सिन्धुपाल्चोकमा जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का सभापति एवं बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जलविद्युत् केन्द्रमार्फत देशले समृद्धि हासिल गर्दैगर्दा स्थानीयवासीलाई राहत पुग्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो ।

तीन करोड ६० लाख लागतमा मुक्तिनाथमा प्रहरीलाई सुविधा सम्पन्न कार्यालय भवन

0

म्याग्दी: समुद्री सतहबाट तीन हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ ।

मुक्तिनाथ मन्दिर नजिकै रु तीन करोड ६० लाख ५२ हजार ८८ लागतमा भवन निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयले पाँच रोपनी तीन आना क्षेत्रफल जग्गामा तीन तलाको ब्यारेक भवन, भान्छा कोठा र शौचालय निर्माण गरेको हो । यसअघि रानीपौवाको पुरानो धर्मशालाका चार कोठाबाट कार्यालय सञ्चालन भइरहेको थियो ।

रानीपौवा क्षेत्रको सुरक्षालाई ध्यान दिँदै अब नयाँ भवनबाटै कार्यालय सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताउनुभयो । मुक्तिनाथमा प्रहरी निरीक्षकको नेतृत्वमा १३ प्रहरी कार्यरत छन् ।

अपाङ्गमैत्री भवनको भुई तलामा कार्यालय प्रयोजनका लागि पाँच वटा कोठा निर्माण गरिएका छन् भने पहिलो तलामा महिला र पुरुष कर्मचारीका लागि छुट्टाछुट्टै ब्यारेक छ ।

भुइ तलामा शौचालय सुविधासहितको पुरुष र महिला हिरासत कक्षहरू छन् । माथिल्लो तलामा कार्यालय प्रमुखको आवास, सञ्चार शाखाको कार्यालय र ब्यारेकसहितका कोठाहरू छन् । कार्यालय सञ्चालनका लागि बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भवनको उद्घाटन गरिसक्नुभएको छ । त्यस अवसरमा उहाँले भवन निर्माणपछि मुक्तिनाथ आउने तीर्थालु, पर्यटक र स्थानीयको शान्ति, सुरक्षामा खटिन सहज हुने बताउनुभयो । प्रदेशको शान्ति, सुरक्षाका लागि सरकारले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उद्धार सामग्री, उपकरणसहित क्षमता विकासमा सहयोग गर्दै आएको पनि उहाँले बताउनुभयो ।

जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण भदौ १६ गतेभित्र उपलब्ध गराउन माग

0

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण उपलब्ध गराउन आग्रह गरेको छ । भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन भनिएको छ ।

जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट सोको विवरण माग भएको भन्दै मन्त्रालयले यस्तो परिपत्र गरेको हो ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ (२) बमोजिम निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ । आयोगले यही भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहको विवरण माग गरेको थियो । आयोगको पत्रपछि मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गरेर रिक्त रहेका पद, विसं २०७९ मा निर्वाचित पदाधिकारीको नाम, रिक्त भएको मिति, रिक्त हुनाको कारणलगायत विवरण पठाउन भनेको छ ।

पूर्वी नाका काँकडभिट्टाबाट ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात

0

झापा: पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु ३२ करोडभन्दा बढी मूल्यको सिमेन्ट भारत निर्यात भएको छ ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलकानुसार गत आर्थिक वर्ष २०८०/८१ मा पूर्वी नाका हुँदै रु ३२ करोड ६६ लाख पाँच हजार मूल्य बराबरको ४९ हजार नौ सय ५९ मेट्रिकटन सिमेन्ट निर्यात भएको हो । देशका विभिन्न नाकाबाट विगत तीन वर्षअघिदेखि सिमेन्ट र क्लिङ्कर निर्यात हुँदै आए पनि यस नाकाबाट भने पहिलो पटक निर्यात भएको उहाँले जानकारी दिनुभयो ।

यस नाकाबाट निर्यात भएका सिमेन्ट भने झापामा उत्पादन नभएको सिमेन्ट व्यवसायीले बताएका छन् । जिल्लामा रहेका आठवटा सिमेन्ट उद्योगमध्ये तीन वटा बन्द अवस्थामा रहेका छन् । चालु रहेका पाँच वटा उद्योगसमेत धरासायी अवस्थामा रहेको नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उमेश डालमियाले बताउनुभयो ।

उहाँले उत्पादनको ४० प्रतिशत सिमेन्ट खपत हुन नसक्दा उद्योगहरू बन्द हुने अवस्थामा पुगेका बताउनुभयो । यहाँ उत्पादित ५० प्रतिशत सिमेन्ट विदेश निर्यात गर्न सके मात्र उद्योग सञ्चालन गर्न सकिने डालमियाको भनाइ छ । “विना अध्ययन उद्योग खोल्न सरकारले अनुमति दियो, उद्योग थपिँदा उत्पादन बढी भयो तर विकास निर्माणका काम विगतभन्दा घटेकाले समस्या भएको छ । बजारमा माग घटेपछि उद्योग बन्द हुने अवस्थामा पुगेका हुन्”, उहाँले भन्नुभयो, “अब यहाँ उत्पादित सिमेन्टको बजार व्यवस्थापनका लागि ठोस् पहल नभएमा सबै उद्योग बन्द हुने अवस्थामा पुग्ने छन् । यसबारे सबै निकाय समयमै सचेत हुन आवश्यक छ ।”

बागलुङको सामाजिक विकास कार्यालय आठ महिनादेखि प्रमुखविहीन, कार्यसम्पादनमा समस्या

0

गलकोट (बागलुङ): बागलुङको सामाजिक विकास कार्यालय आठ महिनादेखि कार्यालय प्रमुखविहीन बनेको छ । यस कार्यालयमा प्रमुखसहित चार जनाको पद रिक्त छ । प्रमुख तथा योजना प्रमुख नै नहुँदा कार्यालय सञ्चालनमै समस्या आएको छ ।

कार्यालय प्रमुखसहित नौ जनाको दरबन्दी रहेको कार्यालयमा हाल चार जनाको पद खाली हुँदा कार्यसम्पादनमा समस्या भएको निमित्त कार्यालय प्रमुख कृष्णहरि शर्माले बताउनुभयो । नौ जनाको दरबन्दीमा रहेको कार्यालयमा हाल दुई जना कार्यालय सहयोगी र फाँट सञ्चालन गर्ने तीन जना कर्मचारी मात्रै रहेकाले समस्या भएको उहाँको भनाइ छ ।

“कार्यालयले गत आर्थिक वर्षमा ६१ योजना सम्पन्न गरेको थियो । चालु आवका लागि एक सय ४२ योजना छनोट गरिएका छन् । तीन जना कर्मचारीले कसरी काम गर्नु”, शर्माले भन्नुभयो,“प्रशासन, लेखा र एक प्राविधिक मात्रै हुँदा योजना कार्यान्वयनमा समस्या छ, बिदा बस्दा कार्यालय सञ्चालनमै समस्या हुन्छ, एउटा प्राविधिकले एक सय ४२ योजनाको इस्टमेट, अनुगमन गर्नलाई कहिले भ्याइन्छ ? त्यसैमा कार्यालयमा चार पाङ्ग्रे सवारीसाधन पनि छैन ।”

कार्यरत प्राविधिक कर्मचारी पनि करारमा नियुक्त गरिएका हुन् । यहाँ आठ महिनादेखि कार्यालय प्रमुखसहित चार जनाको दरबन्दी रिक्त भएका हुन् । “बागलुङका १० वटै पालिकामा चालु आवका लागि एक सय ४२ योजना रहेकोमा एउटा योजनामा कम्तीमा तीन पटक कर्मचारी पुग्नुपर्ने हुन्छ”, निमित्त प्रमुख शर्माले भन्नुभयो, “योजना दुर्गममा छन्, चारपाङ्ग्रे सवारीसाधन नहुँदा मोटरसाइकलमा यात्रा गर्दा कठिन छ, कार्यालय प्रमुखका लागि पटक–पटक गण्डकी प्रदेशमा माग गर्दै आए पनि हालसम्म खटाइएको छैन ।”

यसवर्ष एक सय ४२ योजनाका लागि रु आठ करोड बजेट छुट्याइएको छ । योजना न्यूनतम रु पाँच लाखदेखि अधिकतम रु १६ लाखसम्मका छन् । त्यसमा विद्यालय मर्मत, कक्षाकोठा निर्माण, तारबार, मर्मत सम्भार, मन्दिर जीर्णोद्वार, पुनःनिर्माण तथा संरक्षण, खेल मैदान व्यवस्थापनलगायतका योजना छन् ।

बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जिल्ला प्रशासनले समन्वय गरे पनि समस्या समाधान हुन नसकेको बताउनुभयो । “ कर्मचारी नपठाउँदा सामाजिक विकास कार्यालयको काम ठप्प हुने अवस्था आउने विषयमा सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको छ, अब गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले कर्मचारी पठाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।