Thursday, June 11, 2026
Home Blog Page 710

पलेशा बनिन् ऐतिहासिक ओलम्पियन

0

काठमाडौं: पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च बनाउन पाएकीमा खुसी व्यक्त गरेकी छन्। चीनको सांघाइमा आर्किटेक्चर अध्ययन गरिरहेकी पलेशाले रातभरि नसुतिकन मिहेनत गरेकै कारण आज यस सफलता चुम्न पाएको बताइन्। उनले भनिन्, ‘दिनभर कलेज, राति १० बजेदेखि निरन्तर अभ्यासमा लागेकै कारण आज नेपाली इतिहासमा पहिलो पदक हात पार्न सकेकी हुँ ।’

सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनी विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा पहिलो पटक भाग लिँदा १३ वर्षकी थिइन्। काठमाडौंको बागबजारमा सन् २००३ मा जन्मेकी पलेशाको जन्मजात नै बायाँ हातको नाडीभन्दा तल्लो भागको विकास भएको थिएन।

पलेशाले अन्तर्राष्ट्रिय प्रतियोगिता, २०१७ मा दक्षिण कोरियाको छुनचियोनमा भएको तेस्रो एसियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा डेब्यु गर्दै पाँचौँ स्थान हासिल गरेकी थिइन्। त्यसपछि सन् २०१७ मा लण्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा खेल जित्दै सातौँ स्थान हासिल गरेकी थिइन्।

सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो खुला च्याम्पियनसिपमा उनले कास्य पदक जितकी थिइन्। त्यसपछि सन् २०१९ मा जोर्डनको अम्मान र जापानको टोकियोमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा भने उनी पदकविहीन भएकी थिइन्। तर सन् २०२१ को एसियाली युथ पारा गेम्समा भने पहिलोपटक स्वर्ण पदक जित्न उनी सफल भएकी थिइन्।

सन् २०१६ देखि नै पलेशालाई प्रशिक्षण दिँदै आएका पलेशाको मुख्य प्रशिक्षक कविराज नेगीले पलेशाको सफलताले आफूलाई खुसी प्राप्त भएको बताए। उनले पलेशाको मेहनतले नै आज ओलम्पिक्समा कास्य पदक जित्न सफल भएको उल्लेख गरे। प्रशिक्षक नेगीले आफू जिन्दगीभर स्वयंसेवकका रुपमा काम गरेको भन्दै आगामी दिनमा पनि सोहीअनुसारको स्वयंसेवक गर्ने प्रतिबद्धता व्यक्त गरे।

राज्यले खेलाडीलाई खाने, बस्ने व्यवस्था मिलाएर तालिमको वातावरण बनाइदिए ‘पारा’ बाट धेरै खेलाडीले पदक जित्ने सम्भावना रहेको उनले बताए। पारा तेक्वान्दोका प्रशिक्षक नेगीले सन् २०१५ देखि प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन्।

पेरिस पारा ओलम्पिकमा के–४४ विधाअन्तर्गत ५७ किलोमुनि तौल समूहमा नेपालकी पलेशाले कांस्य पदक जितेकी हुन्।

नेपालले यसअघि सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागी जनाउन थाले पनि पदकविहीन रहेको थियो। नेपालले सन् २००४ को ग्रीसको एथेन्स पारा ओलम्पिकदेखि ओलम्पिकमा सहभागिता जनाउन थालेको हो।

पदक विजेता खेलाडी पलेशा र नेगीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, पुतलडीसडक, रत्नपार्क हुँदै त्रिपुरेश्वरसम्म सहर परिक्रममा गराइएको थियो। त्यसैगरी पलेशालाई आज काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डङ्गोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई नगद पुरस्कारसहित सम्मान गरे। महानगरले सम्मानबापत पेलेशालाई रु पाँच लाख लाख तथा प्रशिक्षक नेगीलाई रु तीन लाख प्रदान गरेको छ।

आज नै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, खेलाडी, प्रशिक्षक, खेलप्रमि लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पलेशालाई स्वागत गरेका थिए।

पलेशाको सम्मानमा त्रिभुवन विमानस्थलबाट एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राखेपको प्रांगणमा पुगेर ¥याली टुंगिएको थियो।

पेरिस पारा ओलम्पिक–२०२४ अन्तर्गत भएको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन्। पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित हुन पुगिन्। दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाएकी थिइन्। जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनी कास्यपदक नजिक पुगेकी हुन्।

गत चैतमा चीनको ताइवानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन्। मुना कार्की/रासस

१५ वर्षीय बालिका बलात्कृत, एक पुरुष पक्राउ

0

सङ्खुवासभा: १५ वर्षीय बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सङ्खुवासभाबाट एक जनालाई पक्राउ गरेको छ ।

१५वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धर्मदेवी नगरपालिका–८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हरि बहादुरले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बसपार्क बनाउन धानखेत दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

0

गलकोट (बागलुङ) : सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मङ्गलबार दाबगरामा बस पुगेको छ । उहाँसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए ।

लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघि मात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उहाँले बताउनुभयो ।

“धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो”, भण्डारीले भन्नुभयो, “बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ ।”

पहुँचमार्ग बिस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायतका सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् ।

जग्गादाता गोविन्द उपाध्यायले भन्नुभयो, “नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।” उहाँले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताउनुभयो ।

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले रु नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिनुभयो । “बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले जग्गादातालाई बसपार्क उद्घाटनमा सम्मान गरिएको बताउनुभयो ।

विसं २०५८ सालमा स्थानीयले कुल ५९ रोपनी जग्गा नगरपालिकालाई दिएका थिए । उपयोग नभएको जग्गामा हाल पलटिङ भइरहेको छ । दायाँ–बायाँ सडक कट्टा गरेर बाँकी जग्गामा एक सय २७ घडेरी बनाउन नक्शाङ्कन अन्तिम चरणमा पुगेको जनाइएको छ ।बसपार्कमा ७० बस, एक सय वटा कार पार्किङको क्षमता छ । त्यसबाहेक २० वटा व्यापारिक सटर समेत राखिएको छ ।

वन अतिक्रमणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न मुख्यमन्त्री सिंहको निर्देशन

0

धनुषा: मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वन अतिक्रमणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न प्रदेशका डिभिजनल वन अधिकृतहरूलाई निर्देशन दिनुभएको छ ।
जनकपुरधाममा भएको छलफल तथा भेटघाट कार्यक्रममा उहाँले प्रदेशअन्तर्गतका आठवटै जिल्लाका डिभिजन वन कार्यालय प्रमुख एवं डिभिजनल वन अधिकृतलाई वनसम्बन्धी मुद्दाका सन्दर्भमा देखिएका समस्या समाधानका लागि योजनाबद्ध रूपमा अगाडि बढ्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री सिंहले कानुनी रूपमा केही समस्या देखिएकाले त्यसको निरुपणका लागि सरकारले पहल गरिरहेको र हाल आफ्नो क्षेत्राधिकारमा रहेर समस्या समाधानमा केन्द्रित हुन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “देशमा तीन तहका सरकार छन्, कानुनी रूपमा केही समस्या देखिएका भन्दै कर्मचारीले प्रभावकारी काम गर्न नसकेका बारेमा हामी जानकार छौँ । सरकार भनेको देशमा रहेका तीनवटै तहका सरकार हुन्, त्यसैले प्रदेश सरकार मातहतका डिभिजनल वन अधिकृतले पनि नेपाल सरकारलाई प्राप्त अधिकारको अभ्यास र प्रयोग गर्नेतिर लाग्नुपर्छ ।”

मुख्यमन्त्री सिंहले मधेस प्रदेशको प्रशासनिक सीमाभित्र रहेको वनक्षेत्रमा बागमती प्रदेशतर्फबाट अतिक्रमण भइरहेको गुनासा आएकाले त्यसरी बसाइँएका बस्ती तथा अन्य प्रयोजनका लागि बनाइएका संरचना खाली गराउन निर्देशन दिनुभयो ।

मधेस प्रदेशको भूगोलमा रहेको बारा र रौतहटमा पर्ने वनक्षेत्रमा बागमती प्रदेशको मकवानपुर जिल्लाअन्तर्गत पर्ने बकैया गाउँपालिकाका तीन वटा वडा दाबी गरिएका छन् । यहाँ बाराको निजगढ नगरपालिकाका– १०, १२ र १३ तथा रौतहटको चन्द्रपुर नगरपालिकाका–२ र ३ मा मकवानपुरस्थित बकैया गाउँपालिकाका—१, २ र ७ रहेका छन् । तीमध्ये वडा नं २ र ७ का कार्यालय मधेस प्रदेशकै वन क्षेत्रमा सञ्चालन भइरहेका त्यस अवसरमा जानकारी दिइयो ।

मुख्यमन्त्री सिंहले चुरे क्षेत्रको वन संरक्षण गर्दै वृक्षरोपणमार्फत हरियाली प्रवर्द्धन तथा त्यसलाई रोजगारीसँग जोड्ने कार्यक्रम तय गर्नसमेत निर्देशन दिनुभयो । छलफलमा वन तथा वातावरणमन्त्री त्रिभुवन साह, डिभिजनल वन अधिकृत धनुषाका विनोद सिंह, महोत्तरीका अजय मिश्र, सिरहाका शैलेन्द्रमोहन मिश्र, सर्लाहीका सन्तोषकुमार झा, रौतहटका हेमन्त साह, बाराका राजीव झा, पर्साका मञ्जुर अहमद र सप्तरीका सुभास दासलगायत उपस्थित हुनुहुन्थ्यो ।

काठमाडौँको तारकेश्वरमा खोलाले बगाउँदा १२ वर्षीय एक बेपत्ता

0

काठमाडौँ: काठमाडौँको तारकेश्वर नगरपालिका–४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

मंगलबार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

मंगलबार साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम

0

काठमाडौँ, १९ भदौः नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञ बताउनुहुन्छ । उहाँहरुका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।

मुटु रोग विशेषज्ञ डा राजेन्द्र कोजु ओपिडीमा आइपुग्ने धेरै जसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाति दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् । स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरै जनाले यसलाई बेवास्ता गरिरहेको उहाँको अनुभव छ । खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ ।

“धेरै चिल्लो र गुलियो खाने तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ । अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ”, डा कोजु भन्नुहुन्छ ।

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन् । जुन विश्वव्यापी रुपमा हुने मृत्युको ७४ प्रतिशत बराबर हो । हरेक वर्ष एक करोड ७० लाख मानिस नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन् । नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन् ।

कार्डियो भास्कुलर रोग (सिभिडी) बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रुपमा ज्यान गुमाउने गरेका छन् । नसर्ने रोगको मुख्य कारक अस्वस्थ्यकर जीवनशैली नै देखिएको छ । सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धुमपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहम भूमिका खेलिरहेका छन् । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनका अनुसार ७१ प्रतिशतभन्दा बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ ।

रोकथाममा ध्यान दिन आवश्यक

एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने दीर्घ रोग, सुक्ष्म जीवाणु माध्यमबाट नहुने रोगलाई साधारणतया नसर्ने रोग भन्ने गरिन्छ । यो रोगबाट जुनसुकै उमेरका व्यक्तिहरु प्रभावित हुन सक्छन् । उपचारात्मकभन्दा रोकथाममा नै सुरुमा ध्यान दिन सके नसर्ने रोगबाट बच्न सकिन्छ ।

मधुमेह रोग विशेषज्ञ डा ज्योति भट्टराई भन्नुहुन्छ, “वंशाणुगतबाहेक जङ्क फुड, व्यायाम नहुनु, दुब्लो देखिँदा पनि कलेजोमा बोसो थुप्रिएको हुन्छ जसलाई हामी ‘फ्याटी लिभर’ भन्छौँ त्यो धेरैमा छ । सन्तुलित भोजनको कमी, गुलियो पेयपदार्थले चिनी रोग बढिरहेको देखिन्छ । यसबाट कालान्तरमा किड्नी फेल, खुट्टा काट्ने अवस्था, हृदयघातजस्ता समस्या आउन सक्छन् ।”

उहाँले नसर्ने रोग लाग्न नदिन विद्यालयस्तरबाट विद्यार्थीलाई सचेत गराउने र अभिभावकलाई पनि जनचेतना प्रदान गर्न आवश्यक रहने बताउनुहुन्छ । नियमित व्यायाम गर्ने, रेसायुक्त खाना खाने, प्रशोधित खाना नखाने, घरमै पाकेको खाना खानाले चिनी रोगलगायत नसर्ने रोगबाट बच्न सकिने उहाँको सुझाव छ ।

नसर्ने रोग यदी प्रारम्भिक अवस्थामै पत्ता लगाइ सोही समयमै व्यवस्थापन गर्न सकेमा यसले भविष्यमा निम्त्याउने जटिलता र अकाल मृत्यु हुनबाट बच्न सकिन्छ । बाल्यावस्था तथा युवावस्थामा स्वस्थकर जीवनशैली अपनाएमा वयस्क÷वृद्ध अवस्थामा गएर नसर्ने रोग लाग्नबाट बच्न सकिने विज्ञ बताउनुहुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग स्वास्थ्य शाखा प्रमुख डा पोमावती थापाले धुमपान, मद्यपान, शारीरिक निष्कृयता, प्रशोधित खाना नै नसर्ने रोगको प्रमुख कारक रहेको बताउनुहुन्छ ।

उहाँले सरकारले नसर्ने रोगको रोकथामका लागि सबै जिल्लामा पेन प्रोग्राम (प्याकेज अफ इसेन्सियल नन कम्युनिकेबल डिजिज) ल्याएको बताउनुहुन्छ । डा थापा भन्नुहुन्छ, “समुदायस्तरमा नसर्ने रोगको पहिचान, स्क्रीनिङ र उपचार गर्न यो कार्यक्रम ल्याइएको हो । पाठेघर क्यान्सर स्क्रीनिङ तथा एचपिभी खोप पनि सरकारले सुरु गरिसकेको छ । त्यसैगरी जटिल, दीर्घ, बालबालिका र किशोरकिशोरीमा लाग्ने नसर्ने रोगको रोकथाम गर्न पेन प्लस कार्यक्रम पनि ल्याएका छौँ । त्यो छ जिल्लामा लागू भएको छ । “नसर्ने रोगको रोकथाम तथा नियन्त्रण गर्न बहुक्षेत्रीय समन्वयको आवश्यकता रहेको उहाँको भनाइ छ ।”

मुुटरोग विशेषज्ञ डा कोजुले स्वस्थ्य जीवनशैली अपनाउन अभिभावकले आफै पनि अनुसरण गरेर आफ्ना बालबालिकालाई सिकाउनुपर्ने धारणा राख्नुहुन्छ । मोबाइल हेर्ने बानीले एकोहिरने हुन्छ जसले गर्दा स्ट्रेस तह पनि बढ्दै गएको देखिन्छ । स्वस्थ्यकर खाना जस्तै तरकारी, फलफूल खानुपर्छ । गुलियो पेयपदार्थ कम खाने । व्यायाम र धुमपानबाट टाढा रहे धेरै रोगबाट बच्न सकिन्छ”, डा कोजु भन्नुहुन्छ ।

उहाँकाअनुसार मोबाइल टिभीमा लत लगाउनुभन्दा खेलकुदमा अभिभावकले ध्यान दिनुपर्छ । भन्नुहुन्छ, “राज्यले पनि स्कुलको पाठ्यक्रममा वा स्वस्थ जीवनशैलीसम्बन्धी पैरवी गर्नुपर्छ साथै व्यायाम गर्ने ठाउँको निर्माण गर्दिनुपर्छ ।”

नसर्ने रोगको बढ्दो प्रकोपका कारण विश्व नै आक्रान्त भइरहेका बेला नेपालले यसलाई व्यवस्थित रुपमा रोकथाम र नियन्त्रण गर्न नसर्ने रोगसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना (सन् २०२१–२०२५) बनाएको छ । नेपालले नसर्ने रोगका कारणले अल्पायुमा हुने मृत्यु सन् २०२५ सम्ममा २५ प्रतिशतले घटाउने लक्ष्य लिएको छ । त्यसैगरी दिगो विकास लक्ष्यले समेत एक तिहाइले नसर्ने रोगका कारणले हुने मृत्यु घटाउने लक्ष्य लिएको छ ।

पर्वत अस्पतालमा पाँच वर्षदेखि भेन्टिलेटर र आइसीयू प्रयोगहीन

0

पर्वत: आवश्यक दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शय्य आइसीयू र सातवटा भेन्टिलेटर छन् । तर भेन्टिलेटर आवश्यक परेको बिरामी अस्पतालमा आएमा बिरामीले त्यो सेवा उपभोग गर्न पाउँदैनन् । तत्कालीन कोभिड–१९ को सङ्क्रमण बेला भित्र्याइएका ती भेन्टिलेटर अहिलेसम्म पनि प्रयोगमा आउन नसकेका हुन् । लामो समयसम्म प्रयोगमा नआउँदा उपकरण कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन ।

पाँच वर्षअघि अस्पतालको पुरानो भवनमा आइसीयू कक्ष निर्माण गरिएको थियो । तीनजना डाक्टर र तीनजना नर्सले भेटन्टिलेटर सञ्चालनका लागि पोखराबाट यसको तालिम पनि गरेर आए तर उनीहरूले सिकेको भेन्टिलेटर सीप पनि प्रयोगमा आउन पाएको छैन । पन्ध्र शय्याबाट ५० शय्यामा स्तरोन्नति भएको पर्वत अस्पताल पुरानो संरचनाबाट नयाँ संरचनामा सारिएको छ । सुविधासम्पन्न भवन बनेपछि पुराना भवनका सामग्री र सेवा नयाँ भवनमा सारिएको हो । त्यस क्रममा जडान भएका भेन्टिलेटर पनि निकालेर नयाँ भवनमा सुरक्षित तरिकाले थन्क्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।

भेन्टिलेटर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्ति नभएकै कारण आइसीयूमा प्रयोग हुने सबै सामग्री थन्क्याएर राखिएको उहाँले बताउनुभयो । एउटा भेन्टिलेटर चलाउन छुट्टै डक्टर, एकजना एनेस्थेसियालोजिष्ट, एकजना स्टाफ नर्स र एकजना कार्यालय सहयोगीको आवश्यकता पर्ने उहाँको भनाइ छ ।

सातवटा भेन्टिलेटर चलाउन २८ देखि ३० जनासम्म जनशक्ति आवश्यक हुने भए पनि एकजना पनि नहुँदा समस्या भएको उहाँले बताउनुभयो । “पहिले त यसलाई ५० शय्या क्षमताको अस्पतालका रूपमा सरकारले स्वीकृति दिनुपर्छ । त्यही हिसाबको कन्सल्टेन्ट आउनुहुन्छ । पन्ध्र शय्या अनुमति भएको अवस्थामा यो सञ्चालन गर्न सकिँदैन”, उहाँले भन्नुभयो ।

कोभिड–१९ को सङ्क्रमण चरम अवस्थामा रहेका बेला जिल्लावासीले भेन्टिलेटर खोज्दै पोखरा पुग्न नपरोस् भनेर सहयोगीले पनि तत्कालै सहयोग गरेका थिए । झण्डै रु पाँच करोडभन्दा बढी मूल्यका ती सामग्री थन्क्याएर राखेको भए पनि बेलाबेलामा परीक्षण र मर्मत भने गर्ने गरिएको अस्पतालको दाबी छ । स्वास्थ्य सेवा विभागले छात्रवृत्ति करारका डक्टर पठाइदिए वा प्रदेशले विज्ञापन नै खुलाएर जनशक्ति पठाएका अवस्थामा मात्रै भेन्टिलेटर सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले यसबारेमा प्रदेश सरकारमा पटकपटक कुरा गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताउनुभयो । राज्यको लगानी सही ठाउँमा नहुँदा महँगा सामग्री प्रयोगविहीन भएको र जनताले त्यो सुविधा पाउन नसकेको उहाँको भनाइ छ ।
अस्पतालमा रहेका स्रोत र साधनलाई प्रयोगमा ल्याउन सक्ने जनशक्ति सरकारले दिए यो क्षेत्रका बासिन्दा पोखरा, काठमाडौँ जानुपर्ने अवस्थाको अन्त्य हुने उहाँको भनाइ छ । “हामीसँग स्रोत भएर के गर्नु ? यहाँ रहेका भेन्टिलेटर सञ्चालन गर्ने हो भने मुस्ताङदेखिका बिरामीले पर्वत अस्पतालमै सेवा पाउने थिए तर प्रदेशले यो किन देखिरहेको छैन ?”, गिरीले भन्नुभयो ।

‘भेन्टिलेटर’ प्राप्त गर्ने र जडान गर्ने बेला अस्पताल विकास समितिको अध्यक्ष रहेका गोविन्द पहाडीले सरकारले जनशक्ति नदिएकै कारण अस्पतालले समस्या भोगिरहेको बताउनुभयो । पहाडीका अनुसार बच्चाका लागि समेत ‘चाइल्ड आइसीयू’ बनाउन ‘पेड्रीयाट्रिक वार्ड’ को निर्माण गर्ने भनेर सरकारले दिएको रु दुई करोडबाट सामग्री किनिएका थिए ।

त्यहीबेला लायन्स क्लबले समेत भेन्टिलेटर दिए भने थप सामग्री अस्पताल आफैँले किनेको थियो । “सबै भयो जनशक्ति भएनन् । यहाँको निजी स्रोतबाट जनशक्ति राख्दा एक महिना त पालिएला, दोस्रो महिनाबाट तलब कसरी खुवाउने ? यसमा खास तीनजना डक्टर चाहिने रहेछन् । एकजना इन्टरनल मेडिसिन पढेको, एकजना एनेस्थेसियोलोजिष्ट, एकजना नेफ्रोलोजिष्ट चाहिने रहेछ”, उहाँले भन्नुभयो, “यी तीनजना नै नभएसम्म डक्टरले रिस्क नलिने रहेछन् ।”

पर्वत अस्पतालमा आइसीयू र भेन्टिलेटरको सुविधा भइदिएको भए पोखरा र काठमाडौँका अस्पतालमा जान सक्ने उतै गए पनि आर्थिक समस्यामा रहेकाहरूले भने जिल्लामा जीवन बचाउने मौका पाउन सक्ने उहाँको गुनासो छ ।

आजको मौसम : देशको केही स्थानमा हल्का, कतै भारी वर्षाको सम्भावना

0

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जारी रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भाग तथा बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले मौसम बुलेटिनमा उल्लेख छ । वर्षा हुने ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

निर्धारित समयमै काठमाडौँ–तराई–मधेस दू्रतमार्ग सम्पन्न गर्न रक्षामन्त्रीको निर्देशन

0

काठमाडौँ: रक्षामन्त्री मानवीर राईले रणनीतिक महत्वको काठमाडौँ–तराई–मधेस द्रूतमार्ग (फास्ट ट्र्याक) तोकिएकै समयमा सम्पन्न हुनेगरी निर्माणलाई तीव्रता दिन नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।

रक्षा मन्त्रालयमा आज आयोजित आथिर्क वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले मुलुकको प्रतिष्ठासँग जोडिएको द्रूतमार्ग जनुसुकै हालतमा पनि निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

“द्रूतमार्ग राष्ट्रियतासँग जोडिएको छ, यससँगै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई पनि तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ”, मन्त्री राईले भन्नुभयो । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रूतमार्गको हालसम्म समष्टिगत भौतिक प्रगति ३५ दशमलव ३८ र वित्तीय प्रगति ३६ दशमलव ६६ प्रतिशत छ ।

सो आयोजनामा हालसम्म रु ६४ अर्ब ६२ करोड खर्च भइसकेको छ । रु दुई खर्ब ११ अर्ब ९३ करोड लागत रहेको सो आयोजना २०८३ चैतभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । द्रूतमार्गको निर्माणपछि राजधानी र मधेसलाई सहज सडक सम्पर्कले जोड्ने उल्लेख गर्दै मन्त्री राईले सो आयोजना सम्पन्न भएपछि मुलुकको अर्थतन्त्रमा पनि ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

देशको रक्षा र जनताको सेवा सेनाको प्रमुख जिम्मेवारी रहेको जनाउँदै उहाँले शान्ति स्थापना कार्यमा सेनाको सहभागिता र प्रदर्शन गर्व गर्न लायक रहेको बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवप्रसाद अधिकारीले राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले त्यस्ता आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्ने विषयलाई आयोगले उच्च प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो । अन्तरमन्त्रालय समन्वय प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले प्रविधिको उच्चतम् प्रयोग गर्न सुझाव दिनुभयो ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले बजेट विनियोजनको परम्परागत ढर्रालाई परिवर्तन गर्नुपर्नेमा जोड दिँदै खर्च गर्ने क्षमता हेरेर बजेटको उपयुक्त विनियोजन गर्न योजना आयोगसमक्ष आग्रह गर्नुभयो ।

कामु प्रधान सेनापति अशोकराज सिग्देलले न्यून बजेट विनियोजनका कारण राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारित समयमै सम्पन्न हुनेमा आशङ्का पैदा भएको उल्लेख गर्दै त्यस्ता आयोजनामा पर्याप्त बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव मनमाया भट्टराई (पङ्गेनी), उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव इन्द्रकुमारी थपलिया, वन तथा वातावरण मन्त्रालयका वन अधिकृत खिलानाथ दाहाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मी केसी र अर्थ मन्त्रालयका शाखा अधिकृत रामकुमार श्रेष्ठले गत आवमा रक्षा मन्त्रालयले हासिल गरेका भौतिक तथा वित्तीय प्रगति प्रशंसनीय रहेको बताउनुभयो ।

गत आवमा रक्षा मन्त्रालय र अन्तर्गतको निकायमा रु ५३ अर्ब ७९ करोड ८६ लाख ७३ हजार चालु र रु पाँच अर्ब ५६ करोड ७५ लाख पूँजीगत गरी कुल रु ५९ अर्ब ४६ करोड ९८ लाख ७३ हजार बजेट विनियोजित भएको थियो । त्यसमध्ये गत असार मसान्तसम्म रु ५३ अर्ब ७१ करोड सात लाख चालु र रु पाँच अर्ब ५२ करोड ५२ लाख पूँजीगत खर्च भएको मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए

0

काठमाडौं: अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता र युद्धविराम गर्न पर्याप्त काम नगरेको बताएका छन्।

अमेरिकाले इजरायली प्रधानमन्त्रीलाई अर्को नयाँ “अन्तिम” प्रस्ताव पठाउन सक्ने रिपोर्टहरू आइरहेको बेला बाइडेनले यस्तो बताएका हुन्। राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यस नयाँ प्रस्तावको बारेमा वार्ताकारहरूसँग भेट गरे।

यो सबै यस्तो समयमा भइरहेको छ जब सोमबार इजरायलमा सरकार विरुद्ध प्रदर्शन जारी छ। बन्दीहरूको रिहाइका लागि नेतन्याहु सरकारले हमाससँग सम्झौता गर्न धेरै प्रयास नगरेको प्रदर्शनकारीहरूले बताएका छन्।

गत वर्ष अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि गाजामा सयौं मानिसलाई बन्धक बनाइएको थियो । ती मध्ये ६ जनाको शव गत शनिबार गाजाको रफाहमा रहेको सुरुङमा भेटिएको थियो ।

जब बाइडेनलाई नेतन्याहुले पर्याप्त काम गरिरहेका छन् कि छैनन् भनेर सोधियो, उनले जवाफ दिए, “छैनन्।” उनले अमेरिकाले हार नमान्ने र सहमतिका लागि प्रयास जारी राख्ने बताए ।