Thursday, June 11, 2026
Home Blog Page 708

इन्डोनेसियाका शाही इमामको साथ पोप फ्रान्सिसको साझा सन्देश

0

काठमाडौं: इन्डोनेसियाको भ्रमणमा रहेका पोप फ्रान्सिस र इन्डोनेसियाका शाही इमामले विश्वलाई शान्तिको साझा सन्देश दिएका छन् । पोप फ्रान्सिसले “द्वन्द्व भड्काउन धर्मको प्रयोग” विरुद्ध पनि चेतावनी दिए।

पोपले राजधानी जकार्ताको इस्तिकलाल मस्जिदमा शाही इमामसँग धार्मिक सद्भाव र वातावरण संरक्षणसम्बन्धी घोषणापत्रमा हस्ताक्षर गरे। यहाँ उनले अन्य ६ धर्मका नेताहरुसँग पनि भेट गरे ।

बिहीबार दक्षिण एसियाको सबैभन्दा ठूलो मस्जिदको भ्रमणका क्रममा मानिसहरूलाई सम्बोधन गर्दै पोपले भने, “सबै धर्मका मानिसहरूलाई थाहा हुनुपर्छ कि हामी सबै दाजुभाइ हौं, सबैको एउटै बाटो छ, ईश्वरसम्म पुग्ने।”

उनले युद्ध, द्वन्द्व र वातावरणीय विनाशका कारण आज मानवता ‘महा संकट’मा रहेको बताए ।

पोपले इस्तिकलाल मस्जिदलाई सडकको क्याथोलिक चर्चसँग जोड्ने ९१ फिट लामो सुरुङको पनि भ्रमण गरे।

दुवै धर्मगुरुले यो ‘टनेल अफ फ्रेन्डशिप’को निरीक्षण गरेका थिए ।

यसलाई धार्मिक भाइचाराको प्रतीक भनिन्छ र विभिन्न धार्मिक विश्वासका मानिसहरू कसरी साझा विरासतबाट आउँछन् भनेर देखाउँछ।

इन्डोनेसिया विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुल देश हो र २७.५ करोड जनसंख्या मध्ये तीन प्रतिशत क्याथोलिक धर्मका अनुयायी छन्।

इन्डोनेसियामा छवटा आधिकारिक रूपमा मान्यता प्राप्त धर्महरू छन्: इस्लाम, प्रोटेस्टेन्टवाद, क्याथोलिक, बौद्ध, हिन्दू र कन्फ्युसियनवाद।

८७ वर्षीय पोप एशिया प्रशान्त क्षेत्रको ११ दिने भ्रमणमा छन् र बिहीबार इन्डोनेसियामा उनको अन्तिम दिन थियो । यो उनको कार्यकालको सबैभन्दा लामो विदेश भ्रमण हो ।

यहाँबाट पोप फ्रान्सिस पपुवा न्युगिनी, टिमोर लेस्टे र सिंगापुर जानेछन् ।

सुडानमा बाढीका कारण सात लाखभन्दा बढी मानिस प्रभावितः राष्ट्रसंघ

0

जुबा: बाढीका कारण दक्षिण सुडान र अबेई प्रशासनिक क्षेत्रका ७८ काउन्टीमध्ये ३० काउउन्टीमा करिब सात लाख १० हजारभन्दा बढी मानिस प्रभावित भएको संयुक्त राष्ट्रसघीय राहतसम्बन्धी काम गर्ने संस्थाले बिहीबार जनाएको छ।

मे महिनादेखि सुरु भएको भारी वर्षाका कारण गम्भीर खाद्यान्न सङ्कट, आर्थिक गिरावटजस्ता गम्भीर मानवीय संकट निम्त्याएको छ।

संस्थाले दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाढीले मेदेखि घर, बाली र महत्वपूर्ण पूर्वाधारमा व्यापक क्षति पु¥याएको छ। शिक्षा र स्वास्थ्य सेवाहरू अवरुद्ध भएको र रोगको प्रकोपको जोखिम बढेको छ।’

सोमबार र मंगलबार जुबामा भएको उच्चस्तरीय छलफलमा सन् २०२४ को बाढी र प्रतिकार्य योजनाको पूर्वतयारीका लागि समीक्षा गरिएको छ।

संयुक्त राष्ट्रसंघीय निकायले बढ्दो प्रकोपलाई सम्बोधन गर्न समन्वयात्मक कार्यको लागि आह्वान गरेको छ। मानवीय साझेदारहरूले जीवन बचाउने सहायताको साथ बाढी प्रभावितहरूका तत्कालका आवश्यकतालाई द्रुत रूपमा समाधान गर्ने काम गरिरहेका छन्।

देशको जलस्रोत तथा सिँचाइ मन्त्रालयले अगस्ट २० मा नाइल नदीको तल्लो क्षेत्रका समुदायहरूलाई स्थानान्तरण गर्न तत्काल अपिल जारी गरेको थियो। जुबा काउन्टीको मंगला टेलिमेट्रिक स्टेशनमा पानीको स्तर १४.८५ मिटरको पाँच वर्षको उच्चस्तरमा पुगेको छ।

फेसबुकले पहिले हटाएको बालेनको पोस्ट अहिले फिर्ता

0

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ।

बालेनले एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी पोस्टलाई फेसबुकले केही दिन अघि हटाएको थियो।

बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए। बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियान नै चलाएका थिए।

यस क्रममा बालेन र ओलीका समर्थकबीच डिजिटल लडाइँ नै चलेको थियो।

संक्रमणकालीन न्यायलाई टुंगोमा लगिन्छ, द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन दिइँदैन : प्रधानमन्त्री ओली

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने तर्फ वर्तमान सरकार स्पष्ट रहेको बताएका छन्।

सङ्क्रणकालीन न्यायसँग सम्बन्धित विषयमा आज नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको प्रमण्डलको १९ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिकरुपमा घृणा/द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट गरेका हुन्।

‘जनताले उहिल्यै फाल्नुपर्ने राजतन्त्र आफ्नो रगतसँग साँटेर बल्ल फालेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यो व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्नुछ। त्यसकारण अहिले कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना छैन।’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘कम्तीमा म प्रधानमन्त्री र नेकपा (एमाले)को अध्यक्ष रहुन्जेल अहिले चर्चामा ल्याइए जस्तोा नेपालमा बंगलादेश वा श्रीलंकामा भएका जस्ता घटना हुने स्थिति हुँदैनन्। मेरो अबको २२ महिने कार्यकालभित्र संक्रणकालीन न्यायलाई टुंगोमा लाने गरी काम गरिन्छ।’

प्रधानमन्त्री ओलीले आफू पहिलेदेखि नै इमान्दाररुपमा शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाग्न लागिपरेको र अहिले पनि थप पहल गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक पारित गर्दा पीडितलाई केन्द्रमा राखेर राजनीतिक सहमति जुटेको सुनाए।

आफू सशस्त्र द्वन्द्वकालमा सत्ता पक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर संक्रमणकालीन न्यायलाई टुंगोमा लाने अठोटमा रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विना आशंका यस प्रक्रियामा साथ दिनुपर्ने भनाइ राखे। अध्यक्ष दाहालले हालै प्रतिनिधिसभामा असंसदीय, असभ्य र लाञ्छनायुक्त अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ध्यान भने जसरी पनि पीडितलाई न्याय दिने र मुलुकमा समृद्धि ल्याउनेमा रहेको बताए।

संयोजक डा भट्टराईले दुई ठुला दलको सरकार बनेकाले संक्रमणकालीन न्याय टुंगोमा लाने अवसर भएकाले यसमा आफूहरुको साथ रहने अवगत गराए। सो अवसरमा उक्त पार्टीले ती विधेयकहरु पारित भएकामा स्वागत गर्दै आगामी प्रक्रियामा बृहत् सहमतिका साथ सत्यको अन्वेशण गर्न आग्रह गरेको छ। सो पार्टीले आयोगहरु गठन गर्दा राष्ट्रियअन्तर्राष्ट्रियरुपमा स्वीकार्य व्यक्तिलाई छनोट गर्न, आयोगमा पीडितको प्रतिनिधि राख्न र परिपूरणका विधि र मापदण्डबारे स्पष्ट हुनुपर्ने लगायत माग राखेको थियो।

पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरो खस्दा आवत-जावत अवरुद्ध

0

तनहुँ: तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको हो ।

लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भारतबाट एनडीसी प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न

0

काठमाडौँ: भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६४औँ कोर्षको एक प्रतिनिधिमण्डलले यही भदौ १६ देखि २० गतेसम्म नेपालको दिने भ्रमण सम्पन्न गरेको छ ।

भ्रमण टोलीमा भारतका साथै अष्ट्रेलिया, भुटान, जापान, कजाकिस्तान, ओमान र संयुक्त राज्य अमेरिकाका निजामती सेवा र रक्षा बलका २१ जना वरिष्ठ अधिकारीहरु सम्मिलित हुनुहुन्थ्यो ।

रियर एड्मिरल सन्दीप एस सन्धु, एनएम, सिनियर डाइरेक्टिङ्ग स्टाफ (भारतीय नौसेना)ले नेतृत्व गर्नुभएको भ्रमण टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेटवार्ता गरेको थियो । भ्रमण टोलीले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो ।

टोलीले काठमाडौँस्थित नेपाली सेनाको मुख्यालय र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरी रक्षा सहकार्य प्रवद्र्धन हेतु विभिन्न पक्षमाथि छलफल गरेको यहाँस्थित भारतीय दूताबासले जनाएको छ । उच्च राष्ट्रिय निर्देशन तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा र निजामती सेवा अधिकारीहरूका लागि भारतको राष्ट्रिय रक्षा महाविद्यालय विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक हो ।

विदेशी मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीहरू पनि उक्त कोर्षमा सहभागी छन् । हाल नेपाली सेनाका चार जना अधिकृतहरु यस प्रतिष्ठित कोर्षमा सहभागी छन् भने नेपाली सेनाका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनामा कार्यरत १५ जना अधिकृतहरु यस सम्मानित संस्थाका विशिष्ट पूर्व छात्र हुन् ।

राष्ट्रिय रक्षा महाविद्यालय, नयाँ दिल्लीबाट प्रशिक्षित भएका नेपाली सेनाका अधिकारीहरुले आ–आफ्नो विशेषज्ञताका क्षेत्रमा महत्त्वपूर्ण नियुक्तिहरू पाएका छन् ।

तनहुँमा विद्युत् उपयोग गर्ने ग्राहक बढे

0

दमौली (तनहुँ): तनहुँ जिल्लामा विद्युत् उपयोग गर्ने ग्राहक बढेका छन् । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र मातहत ५१ हजार सात सय १७ ग्राहक पुगेका छन् । आर्थिक वर्ष २०८०/८१ मा एक हजार तीन सय ४५ ग्राहक सङ्ख्या वृद्धि भएको वितरण केन्द्रले जनाएको छ ।

गार्हस्थ्यतर्फ एक हजार दुई सय २५, गैरव्यापारिकतर्फ २१, औद्योगिकतर्फ दुई, सिँचाइतर्फ ४०, खानेपानीतर्फ १८, चार्जिङ स्टेशनतर्फ दुई, सडक बत्तीतर्फ २४, मन्दिरतर्फ आठ र अन्यतर्फ १२ ग्राहक वृद्धि भएको वितरण केन्द्र प्रमुख विजय रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गार्हस्थ्यतर्फ ४९ हजार ३०, गैरव्यापारिकतर्फ पाँच सय ४६, व्यापारिकतर्फ तीन सय ४०, औद्योगिकतर्फ सात सय ७६, सिँचाइतर्फ तीन सय ५६, खानेपानीतर्फ एक सय ८८, चार्जिङ स्टेशनतर्फ दुई, सडक बत्ती एक सय ६९, मन्दिरतर्फ दुई सय तीन, अन्य एक सय सात ग्राहक पुगेका छन् ।

वितरण केन्द्रले सो अवधिमा पाँच करोड ४० लाख ५९ हजार दुई सय १२ युनिट बिक्री गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ५ दशमलव ९३ प्रतिशतले बढी हो । यसक्रममा पाँच करोड १० लाख ३२ हजार चार सय ८९ युनिट विद्युत बिक्री भएको थियो ।

कार्यालयले आव २०८०/८१ मा रु ५३ करोड ९४ लाख ३१ हजार छ सय १३ को विद्युत् बिक्री गरेको छ । आव २०७९/८० मा रु ४८ करोड ७७ लाख ३८ हजार सात सय ७६ को विद्युत् बिक्री भएको थियो ।

केन्द्रले त्यस वर्ष ७ दशमलव ९२ प्रतिशत विद्युत् चुहावट नियन्त्रणको लक्ष्य राखेकामा १२ दशमलव ७९ प्रतिशत विद्युत् चुहावट नियन्त्रण भएको रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्युत् चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखेका छौँ । हुकिङ, मिटर वाइस छैन । वायरलस, लिकेज, रुख हाङ्गा, भोल्टेज ड्रप, ट्रान्सफर्मर लस नियन्त्रणमा आएको छ ।”

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क परिवर्तन, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थपलगायतका कार्य गरेको उहाँको भनाइ छ ।

वितरण केन्द्र तनहुँको कार्यक्षेत्र तनहुँसहित कास्की र लमजुङ जिल्लासमेत पर्दछ । केन्द्रले व्यास नगरपालिकाका सबै वडाहरु, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका सबै वडाहरु, भानु नगरपालिका–९, १०, ११ बाहेक सबै वडा, देवघाट गाउँपालिका–१, २, ३, ४ र ५ वडा, ऋषिङ गाउँपालिकाका सबै वडा, म्याग्दे गाउँपालिकाका सबै वडा, लमजुङको मध्यनेपाल नगरपालिकाका–१, २, ३, ४, ५ र कास्कीको रुपा गाउँपालिका ३ र ४ हो ।

कार्यालयले मुख्य कार्यालयसहित १३ उपवितरण तथा सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ । केन्द्रका अनुसार तनहुँ वितरण केन्द्र चापाघाट कार्यालय तथा काउन्टर, डुम्रे उपवितरण केन्द्र, आँबु उपवितरण केन्द्र, दुईपिप्ले पिप्ले नोलाइट, थर्पु नोलाइट, बन्दीपुर, ऋषिङ, केशवटार, नारेश्वरटार, पुर्कोट, वसन्तपुर, सेपाबगैँचा, चन्द्रावती, पोखरीछाप नोलाइट तथा फिउज सेवा केन्द्रबाट सेवा प्रवाह गरिरहेको छ ।

भत्किएको कल्भर्ट नबन्दा आवातजावतमा सास्ती

0

वेदकोट (कञ्चनपुर): पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन ।

व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना बित्दा पनि नयाँ निर्माण हुन नसक्दा स्थानीय सास्ती भोग्न बाध्य छन् । बाढीले भत्किएको कल्भर्ट भासिएर राजमार्गमै अलपत्र छ । कल्भर्ट भत्किएको ठाउँबाट ‘डाइभर्सन’ निर्माण गरेर यातायात सञ्चालन गरिएको छ ।

“ह्युम पाइपमाथि ग्राभेल राखेर कच्ची वैकल्पिक बाटो बनाइएको छ । लगातार गाडी चलिरहने हुनाले कच्ची बाटोमा धुलो उडेर आवातजावत गर्न समस्या हुन्छ”, स्थानीय डम्बर कार्कीले भन्नुभयो, “कल्भर्ट चाँडै बनाइदिए सजिलो हुुन्थ्यो ।”

गत असार २३ गते राति अविरल वर्षासँगै आएको बाढीले राजमार्गको कल्भर्ट भत्काएको थियो । त्यसपछि सुडाचोकमा राजमार्ग भएर हुने आवातजावत नै ठप्प भएको थियो । कल्भर्ट भत्किएपछि राजमार्ग नजिकैको गाउँको वैकल्पिक बाटोबाट सवारीसाधन चलेका थिए । एक लेनको गाउँको सडकमा सवारीसाधन अत्यधिक चाप हुन थालेपछि दुर्घटनाको जोखिमले स्थानीयले गाउँको वैकल्पिक बाटोबाट गाडी चल्न दिएनन् ।

त्यसपछि कल्भर्ट भत्किएको नजिकै राजमार्गमै ह्युप पाइपमाथि ग्राभेलिङ भरान गरेर वैकल्पिक बाटो तयार पारिएपछि हाल सोही बाटो भएर यातायातका साधन सञ्चालन भइरहेका छन् । सवारीको चाप अत्यधिक हुनाले वैकल्पिक कच्ची बाटो धुलाम्मे हुने गरेको छ । सदरमुकाम महेन्द्रनगर आवतजावत गर्ने यात्रु र नजिकै बसोबास गर्ने स्थानीय तथा व्यापारी सडक धुलाम्मे हुँदा सास्ती भोगिरहेका छन् ।

चाँडै कल्भर्ट निर्माण नहुँदा धुलाम्मे बाटोमै जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको अटोचालक लालबहादुर विष्ट बताउनुहुन्छ । “सवारी तथा मालवाहक गाडी सबै त्यस्तै बाटो हुइकिन्छन् । गाडीको चाप र धुलो उड्ने हुनाले दुर्घटनाको जोखिम पनि भएकाले डराएर सवारी चलाउनुपरेको छ”, उहाँले भन्नुभयो, “धुलो उडेर राम्रोसँग बाटो नै देखिँदैन ।”

सरकारले महेन्द्र राजमार्गमा भत्किएको ठाउँमा तत्काल कल्भर्ट निर्माण गरेर आवतजावत सहज बनाउनुपर्ने स्थानीयको माग छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलका अनुसार भत्किएको ठाउँमा कल्भर्ट निर्माणका लागि डिजाइन तयार पार्ने काम भइरहेको छ ।

“सर्भे, डिजाइन निर्माण र कागजपत्र मिलान गर्नुपर्दा कल्भर्ट पुनःनिर्माणको काम केही ढिलाइ भएको हो । अहिले प्राविधिक टोलीले डिजाइन दिएका छन्”, उहाँले भन्नुभयो, “त्यसको अध्ययन गरेर भदौ अन्तिमतिर डिजाइनले पूर्णता पाउँछ । त्यसपछि ठेक्का प्रक्रियामा गएर निर्माणको काम अघि बढ्छ ।”

भत्किएको कल्भर्टको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेर अहिले डिजाइनको खेस्रा तयार गरेको छ । विज्ञप्राविधिक टोलीबाट छ–छ मिटर लम्बाइको ‘डबल सेल’ कल्भर्ट निर्माण गर्नुपर्ने सुझावसहित प्रारम्भिक डिजाइन प्राप्त भएको इन्जिनियर सिग्देलले बताउनुभयो । यसअघि भत्किएको कल्भर्ट सात मिटर लम्बाइको एउटै थियो । डिजाइन तयार भएपछि नयाँ कल्भर्ट निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरिने छ ।

“आपत्कालीन अवस्थामा काम गर्न हामीसँग थोरै बजेट हुन्छ । त्यसले नयाँ कल्भर्ट निर्माण गर्न सक्ने अवस्था छैन”, इन्जिनियर सिग्देलले भन्नुभयो, “त्यसैले डिजाइन तयार भएपछि बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पठाउँछौँ ।”

आजको मौसम : बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

0

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागद्वारा आज विहान जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बुलेटिनमा उल्लेख छ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सबै प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले अनुरोध समेत गरेको छ ।

साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

लोसपा कार्यकारिणी समितिको बैठकमा संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग

0

काठमाडौँ: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् ।

बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्ने र त्यसका लागि कानुनविद्को सहभागितामा एउटा कार्यदल गठन गर्न सुझाव दिनुभयो ।

पार्टी प्रवक्ता सुभाष लाभले संविधान संशोधनका साथै पार्टीको सङ्गठन सुदृढीकरण र महाधिवेशनको टुङ्गो लगाउने विषयमा पनि आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो। यसैगरी पार्टीको आर्थिक नियमावली संशोधन, राजनीतिक, आर्थिक, सामाजिक विषयमा थप कार्यक्रम तथा योजना बनाउने विषयमा पनि छलफल भएको छ ।

नेताहरूले बोल्न र नेतृत्वले जवाफ दिन बाँकी रहेकाले भोलि बिहान ८ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ । भोलिको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे छलफल हुने प्रवक्ता लाभले बताउनुभयो ।