Thursday, June 11, 2026
Home Blog Page 707

भारतले गर्यो ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

0

ओडिशा: भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ शुक्रबार सफलतापूर्वक प्रक्षेपण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको हो।

यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ। अग्नि-४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो।

अग्नि-४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ किनभने यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको हिस्सा हो। अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ ।

भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १ हजार देखि २ हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको परमाणु सक्षम अग्नि प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो।

मत्स्यकेन्द्रको १३ बिघा जग्गा अतिक्रमण: माछापालनमा समस्या

0

बागमती: प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाको जग्गा अतिक्रमण हुँदा माछापालनमा समस्या भएको छ ।

केन्द्रका नाममा रहेको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कट्ठा १० धुर जग्गा अतिक्रमण हुँदा माछापालन प्रभावित भएको हो ।

“केन्द्रका नामको जग्गा अतिक्रमणमा परेको छ, सो जग्गामा अनधिकृत रुपमा संरचना निर्माण भएका छन्”, कार्यालय प्रमुख सरोजकुमार यादवले भन्नुभयो, “यसले माछापालन प्रभावित भएको छ ।”

कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कट्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागार्इं, पद्मबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायत संरचना निर्माणगरी भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

अतिक्रमणमा परेको जग्गा खाली गर्न पटकपटक सूचना जारी गर्दा पनि हालसम्म उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्साङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भएपश्चात् केही व्यक्तिहरुले अतिक्रमित जग्गामध्ये छ कट्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ ।

“अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन, मकवानपुर इजलासमा मुद्दा गरेका थिए”, प्रमुख यादवले भन्नुभयो, “त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो । तर पनि अधिकांशले जग्गा खाली गर्नै मानेका छैनन् ।”

अतिक्रमण जग्गामध्ये छ कट्ठा जग्गामा भएका संरचना हटाएपछि उक्त जग्गामा हाल माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाइएको छ । बाँकी जग्गामा निर्माण गरिएका संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष भइसकेको छ ।

“अहिलेसम्म अतिक्रमण गरेको जग्गा खाली गरिदिनुस् भनिरहेका छौँ”, प्रमुख यादवले भन्नुभयो, “तर उहाँहरुले अटेर गरिरहनुभएको छ, खाली गर्न चासो देखाउनुभएको छैन । अब संरचना भत्काउनुको विकल्प छैन ।”

यस विषयमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, नापी कार्यालय, हेभिइक्युपमेन्ट डिभिजन मकवानपुर र नेपाल विद्युत् प्राधिकरण, मकवानपुरलाई जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराउन आवश्यक सहयोग गर्न पत्राचार गरिएको पनि प्रमुख यादवले बताउनुभयो ।

“अनधिकृत रुपमा निर्माण गरिएको घरटहरा गत वैशाखमै हटाउन लागेका थियौँ”, प्रमुख यादवले भन्नुभयो, “त्यतिबेला जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलगायत जग्गा खाली गर्न सात दिनको थप समय दिएका थियौँ ।”

कार्यालयकै नाममा रहेको कित्ता नम्बर ९६ को आठ बिघा १३ कट्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, स्वास्थ्य चौकी र कार्यालयको भवनसमेत निर्माणगरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ । हाल सो जग्गा सङ्घीय, प्रदेश वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिनेगरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताउनुभयो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुुवालले अतिक्रममा परेको मत्स्य कार्यालयको सरकारी जग्गा खाली गराउन पहल भइरहेको बताउनुभएको छ । उहाँले चाडपर्व नजिकिएकाले यतिबेला संरचना हटाउँदा समस्या हुनसक्ने भएकाले चाडपर्व सकिएलगत्तै प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो ।

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित चलचित्र ‘अग्निदहन’ भारतमा प्रदर्शन

0

काठमाडौँ: साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र ‘अग्निदहन’ हालै भारतको विहार राज्यको सीतामढीमा प्रदर्शन गरिएको छ ।

विहारको सीतामढीस्थित कमान्डेन्ट अफ एसएसबी–२०औँ बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा चलचित्र प्रदर्शन गरिएको निर्देशक घनश्याम लामिछाने जानकारी दिनुभयो । यो चलचित्र नेपालमा आगामी मङ्सिर ७ गते प्रदर्शन हुँदैछ ।

चलचित्रका परिकल्पनाकार कोविदशरण उपाध्यायले विहारमा आफ्नो चलचित्रको ऐतिहासिक प्रदर्शन भएको जानकारी दिनुभयो । “हामीले त्यहाँ भोजपुरी भाषामा चलचित्र प्रदर्शन ग¥यौँ । निकट भविष्यमै भारतका विभिन्न राज्यमा र विशेष गरी सीमावर्ती क्षेत्रमा चलचित्र प्रदर्शनको तयारीमा छौँ”, उहाँले भन्नुभयो । परिकल्पनाकार उपाध्यायका अनुसार आगामी छठ पर्वका अवसरमा चलचित्र ‘अग्निदहन’को राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतलनिवासमा प्रिमियर हुँदैछ ।

चलचित्रका निर्देशक लामिछानेले एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको बताउनुभयो । “चलचित्रमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ”, उहाँले भन्नुभयो । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले चलचित्र निर्माण गरेको हो । यो संस्था बोक्सी कुप्रथालाई शिक्षा र चेतनाको माध्यमद्वारा अन्त्य गरी नेपाललाई बोक्सी कुप्रथाको अन्धविश्वासबाट मुक्त गर्ने उद्देश्यले २०७१ सालमा स्थापना भएको हो ।

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङलगायतको अभिनय रहेको छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, दीर्घ खड्काको सम्पादन तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ । उक्त चलचित्रले चलचित्र विकास बोर्डले प्रदान गर्ने ‘विशेष चलचित्र अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।

मुस्ताङमा वन्यजन्तुसँगै रमाउन थाले पर्यटक

0

म्याग्दी : मुस्ताङ भन्ने बित्तिकै धेरैले मुक्तिनाथ मन्दिर, कागबेनी, दामोदरकुण्ड, लोमान्थाङ, जोमसोम, लेते, मार्फालगायत स्थान, तालतलैया, हिमाल, मौलिक कला, संस्कृति र अनि पृथक भूगोलको दृश्यको कल्पना गर्दछन् ।

प्रकृति, संस्कृति, उजाड भूूगोल र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल, ऐतिहासिक दरबार, गुुम्बा, नदी, तालतलैया, हिमाली जीवनशैली, तालतलैया र गुफा रहेको मुुस्ताङमा पछिल्लो समय दुर्लभ वन्यजन्तुहरुको सहजै देखिन थालेपछि अर्को आकर्षण थपिएको छ ।

लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका वडा सदस्यसमेत रहनुभएका पर्यटन व्यवसायी छेवाङ रिनजिन गुुरुङले जोमसोम–कोरला सडक आसपासकै क्षेत्रमा दुर्लभ वन्यजन्तु देखिन थालेका बताउनुभयो । लोमान्थाङ–जोमसोम सडकमा यात्रा गर्न क्रममा गुरुङले बिहीबार गाडी र मानिसहरु छेउमै भए पनि नाउरहरु चरिरहेको देखेर पर्यटक दङ्ग परेका बताउनुभयो ।

लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ घाराका पेमाछिरिङ गुरुङले दामोदरकुुण्डदेखि घारा आउने क्रममा बिहीबार पाँच ठाउँमा नाउरको बथान देखेको बताउनुुभयो । “दामोदरकुुण्ड तीर्थयात्राका क्रममा देखिने नाउरका बथानले पाहुनालाई लोभ्याएका छन्,” घोडाबाट तीर्थयात्रीलाई घारादेखि दामोदरकुण्ड लैजाने र ल्याउने गर्दै आउनुभएका पेमाले भन्नुभयो, “दामोदरकुुण्ड पारिको पाखा, सन्ताउन्नको डाडा, खेता क्षेत्रमा नाउरका बथान जहिले पनि भेटिन्छन् ।”

समुन्द्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड नजिकैको पाखामा तिब्बती ज्याजल, फ्याउ मुसा, वनखरायो, हिउँ चितुुवा, ब्याँसो, नाउर, रातोभालुलगायत दामोदरकुण्ड नजिकैको पाखामा वन्यजन्तु भेटिने पेमाले बताउनुभयो । दामोदरकुण्डसँगै कोरला नाका, छोसेरको झोङ गुफा, समर, भेनाको पहाड, साङ्ता जाने सडक र पदमार्गको छेउछाउमै वन्यजन्तुु देखिन थालेका छन् । तनहुँका दुुलेगौडाका सुरेश भट्टराईले यात्राकै क्रममा जङ्गली जनावरहरु देख्न पाएकामा दङ्ग परेको बताउनुभयो ।

समुदायमा वन्यजन्तुको चेतनास्तरको विकास, संरक्षण शिक्षा र चोरी–सिकारी नियन्त्रणसँगै वन्यजन्तु बढेका अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालय प्रमुख प्रमोदराज रेग्मीले बताउनुभयो । “विशेष गरेर उपल्लो मुस्ताङका बासिन्दामा संरक्षण क्षेत्रमा आएको जागरण र सचेतनाका कारण बस्ती र सडक छेउछाउमै वन्यजन्तु देखिन थालेका हुन्,” उहाँले भन्नुभयो, “तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा नयाँ नयाँ प्रजातिका जनावर र पक्षीहरु देखिने भएकाले यस क्षेत्रको अध्यताहरुका लागि धेरै सम्भावना छ ।” मुस्ताङमा वन्यजन्तुको संरक्षण र चोरी सिकारी नियन्त्रणका लागि एक्यापले सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

वन्यजन्तुले पर्यटकलाई आकर्षित गराए पनि किसानलाई भने दुःख दिने गरेको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराका किसान लोप्साङ छोप्पेल गुरुङले बताउनुभयो । “ब्वाँसो र हिउँ चितुवाले भेँडाच्याङग्रा मारेर किसानलाई दुःख दिएको छ,” उहाँले भन्नुभयो “घुम्ती गोठमा पालिने भेँडाच्याङग्रा र चौँरीलाई ब्यासो र चितुवाबाट बचाउन चुनौती भएको छ ।” वन्यजन्तुु पीडितलाई राज्यले उपलब्ध गराउने राहत वृद्धि र सहज बनाउनुपर्ने मुस्ताङका किसान बताउँछन् ।

आज चेपाङ समुदायको छोनाम (न्वागी) पर्व

0

मुग्लिन (चितवन): आज चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने यो पर्व हरेक वर्ष भदौ २२ गते मनाउने चलन छ ।

विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भएर न्वागी मनाइएको थियो ।

चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वागी मनाउने गरिएको अध्यक्ष चेपाङको भनाइ छ ।

उहाँका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।

चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।

न्वागीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्र्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको अध्यक्ष चेपाङले बताउनुभयो ।

चेपाङहरूको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङगरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

सञ्चारमन्त्री गुरुङले भने- ‘सामाजिक सञ्जालको पहुँचले नागरिकको मौलिक अधिकार सुदृढ तुल्याउँछ’

0

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूसुचित हुने नागरिकको मौलिक अधिकारलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

औपचारिक रुपमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको सन्दर्भमा प्रेस नोट जारी गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले टिकटकलगायतका सामाजिक सञ्जाल विचार अभिव्यक्त, सार्वजनिक बहस, साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्द्धन र मनोरञ्जनका लागि समेत महत्त्वपूर्ण मञ्च भएको उल्लेख गर्नुभएको छ ।

“अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारशिला हो, लोकतन्त्रको प्राण वायु होे, यी ‘डिजिटल प्लेटफर्म’ पछिल्ला दिनमा लोकतान्त्रिक अभ्यासको उत्तम माध्यम पनि बनिरहेका छन्”, उहाँले भन्नुभएको छ । उहाँले कुनै पनि सामाजिक सञ्जालमाथिको प्रतिबन्धले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतासम्बन्धी अभ्यासमा खलल पुग्न जाने उल्लेख गर्नुभयो ।

टिकटकमाथि प्रतिबन्ध लगाएर नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने र विचार बन्धक बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्दै मन्त्री गुरुङले सरकार सधै संवैधानिक अधिकारलाई सुनिश्चित गर्न लागिपर्ने स्पष्ट पार्नुभयो ।

“हामी कुनै पनि किसिमले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचित गर्ने गतिविधिको विरोधमा छौँ, टिकटकमाथिको प्रतिबन्धले साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्द्धनमा असर परेको थियो, व्यवसायी मारमा परेका थिए, इन्टरनेट प्रदायक कम्पनीको आम्दानीमा गुमेको र सरकारको राजस्वमा पनि असर परेको थियो”, मन्त्री गुरुङका स्वकीय सचिव बिक्रम न्यौपानेद्वारा प्रेस नोटमा उल्लेख छ ।

लामो समयदेखि नेपाल सरकारको सम्पर्कमा रहेको टिकटकको सञ्चालक कम्पनीले नेपाली समाजको मर्यादा तथा सुरक्षा चासोलाई सम्बोधन गर्ने र सोहीअनुसार टिकटकलाई सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि सरकारले टिकटक खुला गर्ने निर्णय गरेको जनाइएको छ ।

यसैगरी मन्त्रालयले टिकटकका सञ्चालकले देशव्यापी साइबर सुरक्षामा प्रतिबद्धता जनाउनुका साथै नेपालको पर्यटन, डिजिटल साक्षरता, युवालाई रोजगारी प्रवर्द्धन गर्ने तथा नेपाली राष्ट्र भाषाको स्रोत परिचालन गरी विषयवस्तु ‘फिल्टरिङ’ र ‘मोडरेसन’लाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको प्रेस नोटमा उल्लेख छ ।

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने

0

धनुषा: चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।

मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेट्नु भएको थियो

सोही क्रममा उहाँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् ।

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च, कसरी बच्ने ?

0

काठमाडौँ : जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ । विभागअन्तर्गतको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले यही भदौ १५ गतेदेखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस रोग सङ्क्रमणको जोखिम उच्च रहेको बताउनुभयो ।

उहाँका अनुसार सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण हुन्छ । “यो ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेले पानी जम्ने ठाउँमा फूल पार्ने समय भएकाले सङ्क्रमणको उच्च जोखिम छ”, उहाँले भन्नुभयो, “लामखुट्टेले सुगुर र हाँसलाई टोकेर आफूमा यो रोग सार्दछन र सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग लाग्छ ।” जापानिज इन्सेफ्लाइटिस मानिसबाट मानिसमा भने सर्दैन ।

डा गौतमका अनुसार सन् २०२४ को जनवरीदेखि हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका ६८० मध्ये ४२ जनामा यो रोगको सङ्क्रमण पुष्टि भएको छ । उहाँका कैलाली, चितवन, सर्लाही र सुनसरी जिल्लामा रोग सङ्क्रमणबाट छ जनाको मृत्यु भइसकेको छ । सामान्यतयाः लामखुट्टेले टोकेको छदेखि १६ दिनमा रोगका लक्षण देखापर्छन् ।

सरकारले सन् २०१६ बाट १२ महिना उमेर पुगेका बालबालिकालाई जापानिज इन्सेफलाइटिसविरुद्धको खोप दिँदै आएको छ । सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिने गरे पनि पछिल्लो समय सबै बालबालिकालाई उक्त खोप दिन सुरु गरिएको हो ।

शाखा प्रमुख डा गौतमले १२ महिनामा खोप लगाउन छुटेका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने बताउनुभयो । जापानिज इन्सेफ्लाटिस धेरै जसो १५ वर्ष उमेर समूहभन्दा मुनिका बालबालिकामा हुने गर्छन् ।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् । विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।

राजनीतिक परिवर्तनप्रति कर्मचारीहरुले गरेको योगदान प्रशंसायोग्य छ – प्रधानमन्त्री ओली

0

काठमाडौँ:: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताउनुभएको छ ।

निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती कर्मचारीलाई बधाई तथा शुुभकामना दिँदै प्रधानमन्त्री ओलीले तानाशाही विरुद्धको सङ्घर्ष, त्यस सङ्घर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेसागत हकहितका भएका आन्दोलन उल्लेखनीय रहेको बताउनुभयो । निजामती सेवाले कानुनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ गते यो दिवस मनाउने गरिएको छ ।

प्रधानमन्त्री ओलीले कर्मचारीहरुले सहभागिता जनाएका र योगदान पु¥याएका आन्दोलनहरु सफल भएका र कर्मचारीका मागहरु क्रमशः पूरा हुँदै गएका उल्लेख गर्नुभएको छ । “आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौँ, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ । यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ”, उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसका लागि आफ्नो दक्षता अभिवृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुनसमेत जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण निजामती कर्मचारीमा उच्च नैतिक आचरण, इमान्दारिता र पेसागत निष्ठामार्फत जनताप्रति उत्तरदायी र असल शासनको व्यावहारिक अनुभूति प्रदान गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको भन्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन तथा व्यापक हुुँदै गएको बताउनुभएको छ ।

“लोकतन्त्रका लाभहरुको वितरण आम नागरिकसम्म पु¥याई जनताको सेवा गर्न, राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुन्छ । निजामती सेवाको यस्तो भूमिकामार्फत नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिन्छ र त्यसैको माध्यमबाट हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्नेछ”, प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

राष्ट्रको यस आकाङ्क्षा पूरा गर्न सम्पूर्ण निजामती कर्मचारीले आफ्नो क्षमता अभिवृद्धि गर्ने ज्ञान, सीप, दक्षता एवं त्यस क्षमतालाई निष्ठा र इमान्दारीपूर्वक व्यवहारमा प्रदर्शन गर्नुपर्ने उहाँको भनाइ छ । निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम गुुनासालाई चिर्दै पेसागत मूल्यमान्यता, व्यावसायिकता र निष्ठालाई आत्मसात् गरी उच्च नैतिक आचरण र व्यवहारमार्फत सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीले आफूलाई समयानुकूल ढङ्गले रुपान्तरण गर्नुपर्ने प्रधानमन्त्री ओलीको सुझाव छ । उहाँले मुलुकमा उत्पन्न हुने प्राकृतिक प्रकोप बाढी, पहिरो, आगलागीजस्ता विपद्जन्य घटनामा राष्ट्रसेवकले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।

केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु

0

काठमाडौं: केन्याको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा १७ विद्यार्थीको मृत्यु भएको छ ।

प्रहरीले यसको पुष्टि गर्दै बिहीबार राति न्यारी काउन्टीस्थित हिलसाइड अन्द्राशा प्राइमरीमा लागेको आगलागीको कारण नखुलेको जनाएको छ ।

धेरै बालबालिका गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यो एक निजी बोर्डिङ स्कुल हो, जहाँ ६ देखि १४ वर्षका बालबालिका अध्ययन गर्छन्।

समाचार एजेन्सी एएफपीका अनुसार यहाँ करिब ८०० बालबालिका अध्ययन गर्छन्।

केन्याका राष्ट्रपति विलियम्स रुटोछवि स्रोत,रायटर
छवि क्याप्शन,केन्याका राष्ट्रपति विलियम्स रुटोले घटनामा संलग्नलाई नछोड्ने बताएका छन् ।
राष्ट्रपति विलियम रुटोले घटनालाई “भयानक” र “विनाशकारी” भन्दै छानबिन गर्न आदेश दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् कि दोषीलाई छाडिने छैन।

उनले भने, ‘अनुसन्धानको आदेश दिइएको छ । गृह मन्त्रालयलाई पीडित परिवारलाई सक्दो सहयोग गर्न भनिएको छ ।”

प्रहरी प्रवक्ता रेसिल्ला ओनयान्गोले समाचार एजेन्सी एएफपीलाई बताइन् कि बरामद गरिएका शवहरू यति जलेका छन् कि पहिचान गर्न गाह्रो छ।

उनले राहत र उद्धार कार्य पूरा नभएसम्म थप शव निकाल्ने सम्भावना रहेको बताए ।