Wednesday, June 17, 2026
Home Blog Page 680

आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गर्नुभएको छ ।

विजया दशमी २०८१ को अवसरमा उहाँले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहनुभएका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गर्नुभयो । “जो जहाँ छौ, पीडामा परेकाहरुको पिडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दसैँ टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गर्नुभएको छ ।

“विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन”, उहाँले भन्नुभएको छ, “दसैँअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।”

प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो । “प्रकोपले किसानको अन्नबालि नोक्सान भएको छ, त्यसको मूल्याङ्कन गरेर क्षतिपूर्ति उपलब्ध गराउछौँ । भत्किएका घरहरु पुनःनिर्माण गरी हस्तान्तरण गर्नेछौ । यसप्रति आश्वस्त रहँदै, सबैलाई दसैँ मनाउन र मिल्नेहरुले टीका लगाउन म आग्रह गर्न चाहन्छु ।”

उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गर्नुभयो । “सरकारको नेतृत्व गरिरहेका हुनाले मेरो काँधमा थप जिम्मेवारी छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँहरुको आशु पुछ्ने, उहाँहरुको घाउमा मलहम लगाउने, पीडितलाई राहत दिने, पुनःनिर्माणको काम यथाशीघ्र सम्पन्न गर्ने, चाडपर्वमा आवातजावतलाई सहज र सुगम बनाउने समेत उत्तरदायित्वमा लागिरहेको घडीमा सबैलाई धैर्य धारण गर्न पनि आग्रह गर्दछु ।”

राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने भएको छ । उहाँले आज शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिनुहुनेछ । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ ।

राष्ट्रपतिले दाइका हातबाट टीका लाउने

राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउनुहुने भएको छ । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्नुहुने भएको हो । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नुहुनेछ ।

राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नुहुनेछ । सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दसैँ मनाउँदै

0

खोटाङ: बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाइरहेका छन् । यही असोज ११ रु १२ गते आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका–५ पौवासेरास्थित बङ्सिलाघाटमा १४ परिवार विस्थापित भएका छन् ।

सुनकोशी किनारमा पर्ने बङ्सिलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुनकोशीमा आएको बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका उनीहरुका लागि अहिले दसैँ न तिहार भएको छ ।”

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाट र ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा सात÷सात परिवार विस्थापित भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा दुई, रावाबेँसी गाउँपालिका–६ हौँचुरमा एउटा परिवार पहिरोबाट विस्थापित भएका छन् । पहिरोले विस्थापित भएकाहरूमध्ये चन्द्रबहादुर राई छिमेकी सुनिल राईको घरमा, टेकुराम राई छिमेकी भीमबहादुर माझीको घरमा र सुमित्रा राईले काठमाडौँमा दसैँ मनाइरहेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ बहादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

“बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएपछि पीडितका लागि वडासँगको समन्वयमा खाने र बस्ने व्यवस्था मिलाइएको छ । दसैँ, तिहार तथा छठ पर्व सकिएपछि आवास निर्माणको पहल गर्ने योजनामा छौँ”, उहाँले भन्नुभयो ।

बाढीपहिरो पीडितलाई तत्कालका लागि स्थानीय सरकारले सामान्य खाने तथा बस्ने व्यवस्था मिलाए पनि दीर्घकालीन योजना बनाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताउनुभयो । बाढीपहिरो पीडित परिवारका लागि मात्र नभई यस वर्षको दसैँ, तिहार तथा छठ पर्व समग्र जिल्लावासीका लागि खल्लो भएको छ । जागिर तथा अध्ययनका लागि राजधानी काठमाडौँलगायत सहर बजारमा बसोबास गर्दै आएका आफन्त सडक अवरुद्धका कारण धेरैजसो यस वर्षको दसैँ तथा तिहारमा घर फर्कन पाएनन् ।

बाढीले दिक्तेल–गाईघाट सडकमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

बाढी तथा पहिराले अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएको छैनन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल–चखेवाभञ्ज्याङ सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ ।

एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिए

0

काठमाडौँ: एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार उक्त सङ्ख्या आजसम्मको हो । अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले राससलाई जानकारी दिनुभयो ।

“हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन् ।” अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए ।

नेपाल काभा पुरुष भलिबलको फाइनलमा प्रवेश

0

काठमाडौं: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू-२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

श्रीलंकाको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३-० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो। आजको खेलमा नेपालले पहिलो सेट २५-१४, दोस्रो सेट २५-२१ र अन्तिम सेट २५-२० अंकले जितेको हो ।

जितसँगै नेपालले पाँच खेलबाट १० अंक जोडेको छ । यसअघि नेपालले श्रीलंका र माल्दिभ्सलाई समान ३-० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटमा हार बेहोरेको थियो।

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३-० तथा श्रीलंकालाई ३-१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो । शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ ।

केही नगरी वार्षिक १० करोड रुपैयाँभन्दा बढी कमाउने व्यक्ति…

0

काठमाडौं: कसैलाई रातदिन खटेर काम गर्दा पनि जीविका चलाउन धौधौ पर्छ तर कसैले केही नगरी वार्षिक करोडौंको कमाइ गर्छन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ। जापानमा ‘डु नथिङ गाइ’ भनेर चिनिने शोजी मोरिमोटो वास्तवमा केही नगरी बस्छन् । तर केही नगरे पनि उनले धेरै पैसा कमाउँछन् । उनको काम धेरै अनौठो छ ।

उनी मानिसहरूसँग समय बिताउँछन् । यसवापत उनले ठूलो रकम शुल्क लिन्छन् । मोरिमोटोले यस अनौठो पेशाबाट वार्षिक करिब १० करोड रुपैयाँ कमाउँछन् । उनको कामको लोकप्रियता यति बढेको छ कि मानिसहरु उनको फुर्सदको प्रतीक्षा गर्छन् ।

मोरिमोटोको काम मानिसहरूलाई भावनात्मक सहयोग प्रदान गर्ने र मानिसहरूलाई एक्लोपनबाट बाहिर ल्याउने हो । मानिसहरूले उनीसँग समय बिताउनको लागि सम्झौता गर्छन्।

उनी कहिले कसैसँग खाना खान जान्छन्, कहिले उनीहरुको नजिकै बसेर उनीहरुको कुरा सुन्छन् । उनीहरूसँग बस्दा मोरिमोटोले कुनै सल्लाह दिँदैनन्, कुनै काम गर्दैनन् र कुनै गतिविधिमा भाग लिँदैनन् । मानिसहरूका लागि उहाँको उपस्थिति नै पर्याप्त हुन्छ ।

मोरिमोटोका अनुसार उनको काम केही नगर्नु हो । उनको अद्वितीय सेवाले उनलाई जापानमा एक अद्वितीय र प्रसिद्ध व्यक्ति बनाएको छ । सामाजिक सञ्जालमा पनि उनको चर्चा छ र उनको यो अनौठो कामलाई मानिसहरुले निकै रुचाएका छन् ।

उनले सबै प्रस्ताव स्वीकार गर्दैनन् । उनले धेरै प्रस्ताव अस्वीकार गर्छन् । उनी आफ्ना ग्राहकहरूसँग शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्छन्। उनी पप कन्सर्टहरूमा जान पनि अस्वीकार गर्छन् किनभने उनी संगीतको बारेमा धेरै जान्दैनन्।

जापानमा एक्लोपन एक समस्या हो। एक रिपोर्टका अनुसार जापानमा पछिल्लो १ वर्षमा करिब ४० हजार मानिस घरमै एक्लै मरेका छन् । जीवनको अन्तिम घडीमा उनीहरूलाई साथ दिने कोही थिएन ।

अर्को रिपोर्टले करिब ४ हजार मानिसको शव मृत्यु भएको एक महिनापछि मात्रै फेला पारेको जनाएको छ । संयुक्त राष्ट्रसंघले जापानमा सबैभन्दा बढी वृद्धवृद्धा रहेको जनाएको छ । त्यहाँ एक्लोपन एक गम्भीर समस्या हो।

हवाइजहाज नचढी २७ देशको भ्रमण

0

काठमाडौं: इटालीका टोमासो फारिनम र स्पेनका एड्रियन लाफुएन्टेनामका दुई साथीले विश्वका धेरै देश घुम्ने तर यसका लागि कुनै पनि उडानमा नचढ्ने निर्णय गरे । १५ महिनाको यो यात्रामा उनीहरूले २७ देशको भ्रमण पनि गरे।

उनीहरुको उद्देश्य यो यात्राले वातावरणमा कुनै हानि नहोस् भन्ने थियो । यसका लागि फरिनाम र लाफुएन्टेले उडानको सट्टा डुङ्गा र वातावरणमैत्री साधन प्रयोग गरेका थिए। यो यात्रामा उनीहरूले प्रतिव्यक्ति करिब ११ लाख रुपैयाँ खर्च गरे ।

अटलांटिक महासागर पार गर्ने निर्णय गर्दा उनीहरूका परिवार चिन्तित थिए। उनीहरूका अनुसार पनामाको खाडीमा सुरुका १० दिन निकै कठिन थिए । उनीहरू भन्छन् “हामीले कडा हावा, आँधी र ठूला छालहरूको सामना गर्नुपर्थ्यो। यो सुरुमा डरलाग्दो थियो, हामी डुब्न पनि सक्थ्यौं।”

यी चुनौतीहरूको बावजुद दुवैले आफ्नो उद्देश्यप्रति आफ्नो प्रतिबद्धता कायम राखे। अष्ट्रेलिया पुग्ने आशा लिएर प्रशान्त महासागरको यात्रा जारी राखे । यस क्रममा उनीहरु विभिन्न टापुमा बसेका छन् ।

उनीहरू भन्छन् – “जब हामीले पहिलो पटक हाम्रा साथीहरू र परिवारलाई कुनै अनुभव बिना नै डुङ्गामा एट्लान्टिक पार गर्छौं भन्यौं उनीहरू अलि चिन्तित भए।” उनीहरूले मोनोहल डुङ्गामा प्रशान्त महासागर पार गरेका थिए ।

इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, ११७ घाइते

0

बेरुत। लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणले लेबनानको मध्य बेरुतको रस अल-नाबालाई लक्षित गरेको छ। यसमा कम्तिमा २२ जनाको मृत्यु र अन्य ११७ जना घाइते भएका छन्।

बिहीबार मध्यरातमा कुनै चेतावनी बिना नै भएको आक्रमणले राजधानीको मध्यभागमा रहेका दुईवटा आवासीय भवनलाई निशाना बनाएको थियो।

सेप्टेम्बरको अन्त्यमा इजरायली सैन्य कारबाही विस्तार भएदेखि बेरुतको दक्षिणी उपनगर दहियाह बाहिर यो तेस्रो इजरायली आक्रमण हो। यसअघिका आक्रमणहरूले सेप्टेम्बर २९ मा बेरुतको कोला र अक्टोबर ३ मा बाचौरालाई लक्षित गरेको थियो।

प्रत्यक्षदर्शीहरूले आवासीय ब्लकहरूबाट भवनहरू हल्लिरहेको र धुवाँ निस्किएकोले झन्डै एक माईल टाढाबाट प्रभाव महसुस गरेको वर्णन गरे। लेबनानको जनस्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ बेरुतमा इजरायली आक्रमणमा ११ जनाको मृत्यु भएको र ४८ जना घाइते भएको सामाजिक सञ्जाल एक्समार्फत उल्लेख गरेको छ।

यसैबीच, चिकित्सा स्रोतहरूले गाजा पट्टीमा बिहीबार इजरायली हवाई आक्रमणमा ६३ जनाको मृत्यु भएको जनाएको छ।

बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मतपछि सञ्चालन

0

गोरखा: गोरखाको सहिद लखन गाउँपालिका-३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका-४, चरेस जोड्ने त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको झोलुंगे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ। झन्डै दुई सातापछि सो पुल मर्मत गरी सञ्चालनमा ल्याइएको हो।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार चाडबाडका बेला स्थानीयवासीलाई आउजाउमा समस्या भएपछि गाउँपालिकाले क्षतिग्रस्त झोलुंगे पुल मर्मतका लागि आवश्यक सबै सामग्री खरिद गरेर मर्मत गरिएको हो।

“सस्पेन्सन ब्रिज डिभिजन काठमाडौंबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुल मर्मत गरेको हो”, अध्यक्ष थापामगरले भने।

स्थानीय समुदायसमेतको सहयोगको पुलको मर्मत गरेसँगै नागरिकलाई पुलबाट आउजाउ सहज भएको छ। “बाढीले पुलको लट्ठामा क्षति पुर्‍याएको थियो,” उनले भने, “टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवातजावत गर्न मिल्नेगरी पुल सञ्चालन गरिएको छ।”

कुल १६१ मिटर लम्बाइ रहेको उक्त झोलुंगे पुललाई यहीँ असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो। मर्मत गरिएको उक्त पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ।

विवादका बीच दुई समूहले ‘एनआरएनए डे’ मनाउँदै

0

काठमाडौँ: आन्तरिक विवादमा रुमल्लिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संस्थाको स्थापना दिवस (एनआरएनए डे) दुई समूहमा मनाउन लागेको छ।

बद्री केसी नेतृत्वको एनआरएनए र आरके शर्मा नेतृत्वको एनआरएनएले शुक्रबार छुट्टाछुट्टै कार्यक्रम गरेर एनआरएनए डे बनाउन लागेको हो ।

एनआरएनए डेको अवसरमा केसी पक्षले शुक्रबार बिहान स्वयम्भू नाथ र पशुपति नाथमा पूजा कार्यक्रमको आयोजना गरेको छ ।

केसीका अनुसार स्थापना दिवसको अवसरमा संघले अक्टोबर पुरै महिना विभिन्न संस्थागत तथा परोपकारी कामका गतिविधि संचालन गर्न संघका राष्ट्रिय समितिहरूलाई आग्रह गरेको छ ।

यसैगरी शर्मा पक्षले भर्चुअल माध्यममार्फत एनआरएनए डे मनाउन लागेको छ । शुक्रबार अपराह्न तय भएको कार्यक्रममा नेपाल सरकारका मन्त्री, एनआरएनएका पूर्वअध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिसहित एनआरएनए अभियन्ताहरूको सहभागिता रहने शर्मा पक्षको भनाइ छ ।

समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा रहेको छ ।

विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पुर्‍याउन सकिने सोचले रसियामा बस्ने नेपालीहरुको सक्रियतामा सन् २००३ अगस्टमा लन्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोबर ११ – १३ तारिखमा काठमाडौँमा पहिलो विश्व सम्मेलन गरेर विधिवतरुपमा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो। जसअनुसार अक्टोबर ११ लाई एनआरएनए डेको रुपमा मनाइँदै आएको छ ।

लण्डन बैठकमा बेलारुसबाट डा उपेन्द्र महतो, रसियाबाट भिम उदास र जीबा लामिछाने, जर्मनीबाट रामप्रताप थापालगायतको उपस्थिति थियो ।

तर, पछिल्लो समय एनआरएनएभित्र विवाद चर्किँदै गएको छ । दसौँ महाधिवेशनबाट बढ्दै गएको विवाद ११ औँ महाधिवेशनमा आइपुग्दा उग्र बनेको छ । विवादकै कारण ११ औँ महाधिवेशनमा उम्मेदवार बनेका आरके शर्मा र महेश श्रेष्ठले नतिजा नै स्वीकार गरेनन् । बद्री केसीले धाँधली गरेर चुनाव जितेको जिकिर गर्दै श्रेष्ठसमेतको समर्थनमा शर्मालाई अध्यक्ष चयन गरिएको थियो । त्यसयता केसी र शर्माले छुट्टाछुट्टै गतिविधि गर्दै आएका छन् ।

उसो त सर्वोच्चले एनआरएनएको १० औँ महाधिवेशनको वैधानिकताको विषयमा गत चैतमा फैसलासमेत गरेको थियो । जसअनुसार सर्वोच्चले २०७८ माघ १ को अवस्थामा फर्किएर पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न फैसला समेत गरेको थियो । जसअनुसार १० औँ र ११ औँ महाधिवेशनको वैधानिकता नरहेको अवस्थामै केसी पक्ष फेरि अदालत गएर अहिले बालुवाटारस्थित सचिवालयबाट काम गरिरहेको छ । बद्री केसी बालुवाटारमा फर्किएपछि आरके शर्मा पक्ष अर्को मुद्दा लिएर अदालत पुगेको छ । आफू आधिकारिक रहेको दाबी गरिएको उक्त मुद्दा अहिले सर्वोच्चमा विचाराधीन नै रहेको छ ।