Thursday, June 18, 2026
Home Blog Page 654

भारतमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

0

देहरादून: भारतको उत्तराखण्डमा सोमबार भएको एउटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या कम्तीमा ३६ पुगेको छ।

प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे दुर्घटना भएको हो। मार्चुला भारतको पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्य हो।

दुर्घटनामा थप केही व्यक्ति घाइते भएका र घाइतेमध्ये गम्भीर चोट लागेका तीन जनालाई हवाइ उद्धार गरी देहरादून लगिएको छ। सरकारी उद्धार टोलीले सार्वजनिक गरेको तस्बिरमा बसको भग्नावशेष बाक्लो झाडीमा देखिएको छ भने गाडीको अगाडिको भागमा पूर्णरूपमा क्षति भएको छ।

उत्तरी राज्य उत्तराखण्डका एक वरिष्ठ अधिकारी दीपक रावतले भने, ‘अहिलेसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाका कारण आफ्ना प्रियजन गुमाएकाहरुप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। प्रधानमन्त्रीको कार्यालयबाट जारी एक विज्ञप्तिमा मृतकका परिवारलाई दुई लाख भारतीय रूपैयाँ र घाइतेलाई ५० हजार भारतीय रूपैयाँ सहयोग स्वरुप दिने जनाएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले अल्मोडा बजार नजिकैको जंगलमा भएको उक्त दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिइसकिएको बताएका छन्।
भारतको पहाडी इलाकामा सडकको दुरावस्था, पूराना यातायातका साधन र चालकको लापर्बाहीका कारण हुने दुर्घटनाका कारण हरेक वर्ष सयौँ व्यक्तिको अकालमा मृत्यु हुने गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दो

0

काठमाडौँ: अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आव २०७८/०७९मा ७२ मेट उत्पादन गरी रु नौ करोड ६० लाखको निर्यात गरिएको थियो । बोर्डले आव २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ ।

आव २०७८/०७९मा देशभर ४५० मेट कफीको आयात गरी रु ३२ करोड खर्च गरिएकामा आव २०७९/०८० मा रु १० करोडको मात्र आयात गरिएको थियो । यो करिब रु २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिनुभयो । उहाँले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताउनुभयो ।

हाल देशभर तीन हजार छ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब तीन सय ९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ ।

यस क्षेत्रमा कार्यरत कृषकको सङ्ख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ । नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको जनाइएको छ ।

यस्तै आव २०७८/०७९मा देशभर चियाको निर्यात रु तीन अर्ब ८० करोड रहेकामा आव २०७९/०८० मा करिब रु १४ करोडले वृद्धि भएको छ । चिया उद्योगको सङ्ख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिनुभयो ।

इरानमा हिजाबको विरोधमा कपडा फुकाल्ने युवती सुरक्षित छिन् ?

0

काठमाडौं: इरान शरिया कानूनमा आधारित देश हो जसले धार्मिक विश्वासहरूलाई कडाईका साथ पालना गर्दछ र लागू गर्दछ। कपडादेखि पूजासम्म, इरानमा धेरै कडा नियमहरू छन् जसले मानिसहरूको सार्वजनिक जीवनलाई नियन्त्रण गर्दछ।

सरकारले यी नियमहरूमा कडा निगरानी राख्छ र उल्लङ्घन गर्नेलाई कडा सजाय दिइन्छ। तर आइतबार यो कट्टरपन्थी देशको एउटा भिडियो सार्वजनिक भयो जसले सबैलाई स्तब्ध बनाएको छ । यो भिडियोले दुई वर्षअघि इरानमा भएको हिजाब क्रान्तिको सम्झना ताजा बनायो।

हातमा किताब र टाउको छोपेका छात्राहरूका बीचमा इरानको एउटा विश्वविद्यालयको क्याम्पसमा एउटी छात्रा आफ्नो भित्री पोशाक मात्र लगाएर हिँडिरहेकी थिइन्। उनले इस्लामिक पोशाकको विरोधमा भित्री पोशाकमा हिँडेको दावी गरिएको थियो ।

अहिले सामाजिक सञ्जालमा मानिसहरु आहाउ दराइ नामकी ती युवतीको समर्थनमा आएका छन् । दुई वर्षअघि प्रहरी हिरासतमा मृत्यु भएकी महसा अमिनीको पक्षमा पनि सामाजिक संजाल प्रयोगकर्ताहरी यसैगरी उभिएका थिए । उनलाई ‘हिजाब राम्ररी नलगाएको’ भन्दै इरानको नैतिक प्रहरीले पक्राउ गरेको थियो।

इरानमा हिजाब राम्रोसँग नलगाएको कारण जेल हाल्न सकिन्छ । यस प्रकारको विरोध इरानी शासनका लागि प्रत्यक्ष चुनौती हो। यस्तो अवस्थामा यो आन्दोलनपछि आहाउ दराइलाई के भयो र अहिले उनी कहाँ छन् भन्ने प्रश्न उठेको छ । विदेशी सञ्चारमाध्यमका अनुसार युनिभर्सिटीका सुरक्षा गार्डहरूले हिजाब नलगाएको भन्दै हिंसात्मक रूपमा रोकेपछि विरोधमा ती महिलाले लुगा फुकालेकी थिइन्।

यो घटना तेहरानको इस्लामिक आजाद विश्वविद्यालयको शाखामा भएको हो । जानकारीका अनुसार अर्को भिडियोमा सुरक्षाकर्मीले उनलाई घेरेर कारमा धकेलेको देखिन्छ । एक इरानी अखबारलाई उद्धृत गर्दै एबीसी न्यूजले उक्त महिलालाई पहिले प्रहरी चौकीमा लगियो र त्यसपछि मनोचिकित्सक केन्द्रमा पठाइएको बताएको छ ।

विश्वविद्यालयका प्रवक्ताले भने, ‘हामी यस कार्यको पछाडिको ‘वास्तविक उद्देश्य’ पत्ता लगाउने प्रयास गरिरहेका छौं ।’ इरानमा प्रदर्शनकारीहरूलाई मनोचिकित्सा केन्द्रहरूमा पठाउने इतिहास छ। एम्नेस्टी इन्टरनेशनलले अधिकारीहरूलाई तुरुन्तै महिलालाई रिहा गर्न आग्रह गरेको छ ।

ती महिला मानसिक स्वास्थ्य समस्याबाट ग्रसित रहेको युनिभर्सिटीका अधिकारीहरुले बताएका छन् । पोस्टमा प्रहरी प्रतिवेदनलाई उद्धृत गर्दै उनीहरूले विद्यार्थी ‘गम्भीर मानसिक दबाब’मा रहेको र मानसिक विकारबाट पीडित रहेको बताए । सामाजिक सञ्जालमा विभिन्न दाबी गरिँदै छ तर अहिलेसम्म प्राप्त जानकारी अनुसार ती महिला इरानको मनोचिकित्सक केन्द्रमा छिन् भनिएको छ । यद्यपि यो पुष्टि हुन सक्दैन।

भूकम्पपीडित एक वर्षदेखि टिनको टहरामा

0

रुकुम: रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन हुनभएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको टहरामा कटाउनुभएका उहाँलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो की भन्ने डर छ । गतवर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उहाँको परिवार हाल टिनको टहरामा छ ।

“हामीले एक वर्ष कष्टकर बितायौंँ । अब फेरि चिसो बढ्न थालेको छ, यो वर्षको चिसो कसरी कटाउने भन्ने पिर छ”, पुनले भन्नुभयो ।

भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा बसिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामा छन् । कठ्याङ्ग्रिदो चिसोमा त्रिपाल, गर्मीमा टिनको टहरामा बस्न बाध्य यहाँका भूकम्पपीडितले अझै सुरक्षित आवास पाउन सकेका छैनन् ।

“हामीले सरकारबाट समयमै घर निर्माणका लागि सहयोग पाउन सकेनौँ । हाम्रा बालबालिका र बुढापाकालाई कसरी बचाउने भन्ने पिर छ । गतवर्षझैँ यो वर्ष पनि कतिले चिसोको कारण ज्यान गुमाउने हुन्”, सानीभेरी गाउँपालिका–४ का हीरालाल परियारले भन्नुभयो ।

एक वर्षमा पनि सरकारले पुनःनिर्माण कार्यविधि ल्याउन सकेको छैन । भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको थियो । तर, उक्त रकम पूरा नदिएको भूकम्पपीडितको गुनासो छ ।

तत्काल त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भएपनि पुनःनिर्माण हुन नसकेको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताउनुभयो । सङ्घीय सरकारले पुनःनिर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको उहाँको भनाइ छ ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो । समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुनःनिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङक अनुसार जिल्लाभर ३४ हजार नौ सय ८९ लाभग्राही छन् भने ३२ हजार नौ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन् । दुई हजार दुई जनाले पहिलो किस्ताकै रकम पाएका छैनन् । १६ हजार परिवारका लागि दोस्रो किस्ता निकासा भइसकेको छ ।

एयर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु

0

काठमाडौं: थाई एयर एसियाले काठमाडौंमा पुनः उडान सुरु गरेको छ। उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो।

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एयर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ। यसअघि कुवेतको जजीरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स)ले व्यावसायिक उडान सञ्चालन गरेका थिए।

उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दैछ। यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो। जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ।

यस्तै युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ। हप्ताको सातै दिन फ्लाई दुबईले दुबई-भैरहवा र भैरहवा-काठमाडौं-दुबई उडान गर्न लागेको हो।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ।

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ। सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान सुरु गर्न लागेका हुन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडान विस्तातर हुँदै गएको छ।

विमानस्थललाई पूर्ण व्यावसायिक क्षमतामा सञ्चालन गर्न प्राधिकरण पनि लागिपरेको छ। सरकारको योजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा बढीभन्दा बढी व्यावसायिक उडान सञ्चालन गर्न प्रयास जारी छ।

“उडानहरु क्रमशः थपिँदै गएका छन्। गन्तव्यहरु बढिरेहका छन्। आगामी दिनमा यात्रुको माग र चाप अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान विस्तार गर्ने विश्वास लिएका छौँ”, प्रवक्ता पाण्डेले भने।

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते बुद्धपूर्णिमाको दिन उद्घाटन गरिएको थियो। उक्त विमानस्थलमा नेपाल एयरलाइन्सको वाइड वडी ए३३० विमानले परीक्षण उडान गरेको थियो। अघिल्लो वर्ष नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको थियो।

उडान अनुमति नलिई यही कात्तिक ११ गते काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो। भैरहवाबाट पनि उडान गर्ने शर्तमा प्राधिकरणले एयर एसियाको उडान फुकुवा गरेको थियो।

उडान फुकुवाभएसँगै कम्पनीले यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौं र भैरहवामा एकसाथ उडान सञ्चालन गरेको हो। थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो।

थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौंमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार उक्त एयरलाइन्सले काठमाडौं गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ।

यस्तै भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ। प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्नेछ।

थाई एयर एसियालाई काठमाडौं र भैरहवा दुबै गन्तव्यबाट उडान भर्ने शर्तसहित प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो। कम्पनीले अब काठमाडौंमा चार र भैरहवामा दुई वटा उडान भर्नेछ।

भैरहवाको उडान बन्द गरेमा काठमाडौंको उडान स्वतः रद्द हुने अवस्थासहित उडान फुकुवा गरिएको प्राधिकरणले जनाएको छ। ‘एप्रुभल सेडुल’ अनुसार कम्पनीले काठमाडौं र भैरहवाकोसँगै उडान गर्नुपर्नेछ।

प्राधिकरणले कात्तिक ११ देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ (२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५) सम्मको उडान तालिका बनाएको छ। नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।

काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ

0

काठमाडौँ: प्रहरीले काठमाडौँ महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौँ प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

0

दमौली (तनहुँ): तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ । बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो ।

शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले राससलाई जानकारी दिनुभयो । युवापुस्तामा कफीप्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ । आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं ।”

किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्थासमेत सहकारीले गरिदिने उहाँको भनाइ छ । “हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौँ, कफी उत्पादन भएपछि बिक्रीको जिम्मा समेत लिन्छौँ,” उहाँले भन्नुभयो, “एक किलो होस् वा एक सय किलो बिक्री भएपछि बजारको चिन्ता लिनु पर्दैन ।” गुरुङले सबैभन्दा चाँडो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताउनुभयो ।

शुक्लागण्डकी नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइसराइँ रोक्दै आयआर्जनमा जोड्ने उद्देश्यसहित कफीखेती अभियान थालिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने कफीले युवाहरुको कफीप्रतिको मोहलाई सम्बोधन गर्न सक्नेछ ।”

नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो । यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ । बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रममार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो ।

शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको पण्डितको भनाइ छ । यस अगाडि किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जालगायत जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्षदेखि कृषि बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा किसानको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गरिने उहाँको भनाइ छ ।

बाँदर लगायतको वन्यजन्तुबाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफीखेतीको राम्रो सम्भावना रहेको हुँदा आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्नेगरी तयारी गरिएको छ ।

घुमघामको याम : गण्डकीमा कहाँकहाँ घुम्ने ?

0

गण्डकी: यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन् । यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन् । पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको समय उत्तम मानिन्छ । पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ । कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ ।

कुनैबेला विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ । सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि यो याममा उल्लेख्य हुन्छ । तपाईँ पनि यो शरद्याममा घुमफिरको योजनामा हुनहुन्छ भने गण्डकी प्रदेशमा रहेका पर्यटकीयस्थल यहाँका लागि उपयुक्त
हुनसक्छन् ।

प्रकृति, संस्कृति र साहस (नेचर, कल्चर र एडभेन्चर) लाई गण्डकी प्रदेशको पर्यटनको मूल आधार मानिन्छ । पोखरालाई पर्यटकीय राजधानीसमेत घोषणा भइसकेको स्थितिमा यहाँ हुने पर्यटकीय गतिविधिले मुलुककै पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्छन् । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै बामे सरेको यस क्षेत्रको पर्यटनले पछिल्लो समय फड्को मारेको छ ।

नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै ५० प्रतिशत पर्यटकले गण्डकी प्रदेशको भ्रमण गर्ने गरेको सरकारी तथ्याङ्क छ । यहाँ भित्रिने आन्तरिक पर्यटकको कुनै लेखाजोखा नभए पनि पर्यटकीय सहर पोखरा अधिकांश नेपालीको पहिलो रोजाइ बन्ने गरेको छ । विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्ग, मुस्ताङ उपत्यका, ढोरपाटन सिकार आरक्ष, मनास्लुलगायत गन्तव्यस्थल गण्डकीका पर्यटकीय वैभव हुन् ।

नेपालको पर्यटकीय छविलाई विश्व पर्यटन बजारमा स्थापित गरेका यी गन्तव्यमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक घुमघामका लागि आउने गर्छन् । समुन्द्री सतहदेखि एक सय तीन मिटर उचाइमा रहेको नवलपुरको त्रिवेणीदेखि आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमालसम्म फैलिएको यो प्रदेश प्राकृतिक, भौगोलिक र साँस्कृतिक विविधतायुक्त सौन्दर्यले भरिएको छ ।

प्राचीन धर्म, कला र सभ्यताको पनि जननी मानिन्छ, गण्डकी प्रदेश । मिश्रित जातजाति र धर्मवालम्बीहरुको बसोबास रहेको यो प्रदेश साँस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी गण्डकीका साँस्कृतिक धरोहर हुन् । यहाँ रहेका माछापुछ्रे, अन्नपूर्ण, धवलागिरि, मनाश्लु जस्ता हिमशृङ्खा, नदी, तालतलैया, झरना आदि पर्यटकीय आकर्षणका केन्द्र हुन् ।

संसारकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल, तालतलैयाको सहर पोखरा, शालिग्राम पाइने एकमात्र नदी कालीगण्डकी आदिले गण्डकी प्रदेशको गौरव बढाएका छन् । मुक्तिनाथ, मनकामना, दामोदरकुण्ड, बागलुङ कालिका भगवती, गलेश्वरधाम, देवघाट, सेतीवेणी, त्रिवेणीधामलगायतका पवित्रस्थलले धार्मिक गन्तव्यको चिनारी बोकेका छन् ।

मध्यकालीन शाहवंशीय इतिहासको साक्षी गोरखा दरबार, उपल्लो मुस्ताङको प्राचिन लोमान्थाङ दरबार र मुक्तिनाथ क्षेत्रका गुफालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल भइरहेको छ । साहसिक पर्यटन गतिविधिमा पनि गण्डकीको नाम अघि आउँछ । पवर्त र बागलुङमा पर्ने विश्वकै दोस्रो अग्लो बन्जी, प्याराग्लाइडिङ, क्यानोनिङ जस्ता साहसिक खेलले यस क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । देशकै पहिलो पर्यटन गाउँ सिरुबारी पनि यही प्रदेशमा पर्छ ।

स्याङ्जाका रुद्रमान गुरुङले २०५४ मा पहिलोपटक ग्रामिण पर्यटनको अवधारणा नेपाल भित्राउनुभएको थियो । पछिल्लो समय प्रदेशका ११ वटै जिल्लामा विस्तारित घरबास (होमस्टे) कार्यक्रमले ग्रामिण पर्यटनको उत्थानमा महत्वपूर्ण टेवा पुर्याएको छ । जनजाति बाहुल्य समुदायमा घरबास सञ्चालित छन् । गाउँले जनजीवन, खानपान, घुमफिर र मौलिक संस्कृति घरबासका आकर्षण हुन् ।

घुमघामको याम : गण्डकीमा कहाँकहाँ घुम्ने ?

कास्कीमा फेवाताल, बेगनासताल, रुपाताललगायत विश्व रामसार सूचीमा सूचीकृत नौ ताल
छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्वशान्ति स्तुपा, महेन्द्र गुफा, विन्दवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् । घान्द्रुक, धम्पुस, सिक्लेस, ल्वाङलगायतका पर्यटकीय गाउँ लोभलाग्दा छन् । अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, खुमै, कोरी आदि क्षेत्र पदयात्राका लागि प्रसिद्ध मानिन्छन् ।

बागलुङका पर्यटकीय गन्तव्यहरुमा कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत पर्छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष भएको क्षेत्र हो । बर्सेनि दुई याममा उक्त आरक्षमा वन्यजन्तुको वैधानिक सिकार गरिन्छ । साहसिक र रोमाञ्चक सिकार अनुभवका लागि विदेशी सिकारीहरु ढोरपाटन पुग्नछन् । ढोरपाटन उपत्यका, बुकी, भुटानी शरर्णाथी बस्तीलगायतले पनि त्यस क्षेत्रको आकर्षण बढाएका छन् ।

तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाजी जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकीय रोजाइमा पर्ने गर्छ । मनाङ हुँदै थोरङ भञ्ज्याङ पार गरेर पर्यटक मुस्ताङ छिर्ने गरेका छन् । मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदर कुण्ड, लोमान्थाङ दरबार, कोरला नाका, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । मुक्तिनाथ विश्वभरका हिन्दु धर्मवालम्बीहरुमाझ प्रसिद्ध छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मुस्ताङ पदयात्राका लागि पनि उत्कृष्ट गन्तव्य मानिन्छ ।

म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् । पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुप्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ ।

पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँ क्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् । लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता ठाउँले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् ।

व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । प्रदेश सरकारले पाँच वर्षअघि प्रदेशका ११ वटै जिल्लाका दस/दस गरी एक सय १० गन्तव्य पहिचान गरी सूचीकृत गरेको थियो । गत वर्ष चैतमा गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।

आन्तरिक पर्यटकको रोजाइमा ‘चिल्ड्रेन पार्क’

0

दमौली (तनहुँ): तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।

क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन युवाको सक्रियतामा पार्क निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसलाई विशेषगरी टिकटक पार्कको रूपमा विकास गरिएको छ । गाउँमा पर्यटकीयस्थल बनाएर आन्तरिक पर्यटक भित्र्याउने हाम्रो मुख्य उद्देश्य हो ।”

बानियाँका अनुसार हाल दैनिक तीन सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । “दसैँका बेला यहाँ रोटेपिङ हालेका थियौँ । यसले पनि आन्तरिक पर्यटकलाई लोभ्याएको छ । ३० फिट अग्लो नेपालको झण्डा फहराएका छौँ । विश्रामस्थलसमेत बनाएका छाँै । हरियाली डाँडापाखाको दृश्यले धेरैलाई लोभ्याउँछ”, उहाँले भन्नुभयो ।

ओझेलमा रहेको सम्जुर गाउँको प्रचारप्रसारका लागि यहाँ पार्क निर्माण गरिएको हो । ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने अभियानअन्तर्गत गाउँका युवा र विदेशमा रहेका युवाको लगानीमा पार्क निर्माण गरिएको अध्यक्ष बानियाँले उल्लेख गर्नुभयो । पार्क निर्माणका लागि भानु घर भई विदेशमा रहेकालाई आग्रह गरिएको र यसको निर्माणमा यही रहेका युवाले श्रमदान गरेका थिए । यस ठाउँलाई थप आकर्षक बनाउन अन्य पूर्वाधारसमेत निर्माण गर्ने क्लबको योजना रहेको जनाइएको छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता

0

काठमाडौँ: नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित÷प्रभावित भएका ७७ जना महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनःस्थापना गरेको जनाएको छ । यसैगरी मानव बेचबिखन (नियन्त्रण) ऐन, २०६४ संशोधन विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेस गरेको सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । मन्त्रालयले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८१ को मस्यौदासमेत तयार गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार पीडित÷प्रभावित महिला तथा बालबालिकाको उद्धार, संरक्षण, पुनस्र्थापना, पारिवारिक पुनर्मिलन तथा केन्द्र व्यवस्थापनका लागि सिन्धुपाल्चोक, काठमाडौँ र सुर्खेतमा सञ्चालनमा रहेका तीनवटा पुनस्र्थापन केन्द्रलाई सञ्चालन तथा व्यवस्थापन खर्च शोधभर्ना भुक्तानीसमेत गरेको जनाइएको छ । आर्थिक वर्ष २०७१÷०७२ देखि सञ्चालनमा रहेका यी केन्द्रबाट एक सय ४८ जनाले सेवा प्राप्त गरेको र चालु आवमा १८ जना महिला तथा किशोरीलाई सुरक्षित रूपमा पुनस्र्थापना केन्द्रबाट सेवा प्रवाह गरेको सचिव भट्टराईले जनाकारी दिनुभयो ।

नेपालले मानव बेचबिखनलाई गम्भीर अपराधको रूपमा स्वीकार गरेको छ । यससम्बन्धी नेपालको विद्यमान ‘कानुन मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ ले मानव बेचबिखन तथा ओसारपसारलाई स्पष्ट परिभाषित गरेको छ । मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ सँगै वैदेशिक रोजगार ऐन २०६४, अध्यागमन ऐन २०४९, बाल श्रम (निषेध र नियन्त्रण) ऐन २०५६, श्रम ऐन २०७४, कानुनी सहायता ऐन २०५४ र पारस्परिक कानुनी सहायता ऐन २०१४ को प्रभावकारी कार्यान्वयनमा जोड दिँदै आएको सचिव भट्टराईको भनाइ छ ।

यसैगरी मानव बेचबिखनसँग जोडिएका राहदानी ऐन २०७४, संगठित अपराध निवारण ऐन २०७०, मुलुकी अपराध संहिता, २०७४, संगठित अपराध निवारण ऐन २०७०, कसुरजन्य सम्पति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७० लगाएतका कानुनको समेत प्रभावकारी कार्यान्वयन गर्न जोड दिइएको छ ।

नेपालको संविधान २०७२ ले मानव बेचबिखनलाई एक गम्भीर अपराधको रुपमा पहिचान गर्दै त्यस विरुद्धका प्रावधानलाई मौलिक हक तथा राज्यका नीति अन्तर्गत राखिएको छ । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मानव बेचबिखन रोक्नका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।