Thursday, June 18, 2026
Home Blog Page 655

छठका लागि जनकपुरधाममा पाँच करोड बराबरको केरा आयात

0

धनुषा: छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

उहाँले अघिल्लो वर्ष करिब रु चार करोडभन्दा बढीको केरा भित्र्याइएकामा यसवर्ष करिब रु पाँच करोड बराबरका ८५ ट्रक केरा भित्र्याइएको जानकारी दिनुभयो ।

जनकपुरधाममा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिनुभयो । छठ पर्वसँगै अघिल्लो वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले केराको मूल्य बढेको उहाँले बताउनुभयो । “छठ पर्व मनाउनेको सङ्ख्या वृद्धि भएकाले केराको माग पनि बढेको हो । यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष २५–३० ट्रक बढी केरा मगाइएको छ”, सचिव पूर्वेले भन्नुभयो ।

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी केरा आउँछ । प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख
पर्छ । बजारमा प्रत्येक केराको घरीलाई रु पाँच सयदेखि एक हजारसम्म मूल्यमा बिक्री गरिन्छ ।

नेपालमा केरा उत्पादनको प्रचुर सम्भावना भए पनि मागअनुसार उत्पादन नहुँदा हरेक वर्ष भारतबाट आयत गर्नु परिरहेको व्यवसायीको भनाइ छ । साथै देशभित्र उत्पादन हुने केरा भन्दा भारतबाट आउने केराको मूल्य सस्तो पर्ने गरेकाले सीमावर्ती क्षेत्रमा भारतबाट आयात गर्ने गरिएको जानकारहरू बताउँछन् ।

स्पेनमा बाढी: स्पेन सरकारले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सेना पठाउने

0

काठमाडौँ: स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढी प्रभावित क्षेत्रमा थप ५ हजार सैनिक पठाउने घोषणा गरेका छन् । प्रहरी र सिभिल गार्डहरू दक्षिणी र पूर्वी स्पेनमा खटाइने उनले बताए ।

जहाँ हालैको बाढीले ठुलो क्षति पुर्‍याएको छ । मङ्गलबार राति र बुधबार बिहानैदेखि आइसोलेटेड डिप्रेसन एट हाई लेभलबाट परेको मुसलधारे वर्षाका कारण आएको बाढीले यी क्षेत्रहरूलाई नराम्ररी प्रभावित गरेको छ ।

-स्न्ह्विा/न्युज एजेन्सी नेपाल 

केमी बेडनक बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेता निर्वाचित

0

काठमाडौं: केमी बेडनक शनिबार बेलायतको कन्जरभेटिभ पार्टीको नयाँ नेता बनेकी छन् ।

केमी बेडनकले मतदाताको विश्वास जित्नको लागि कन्जरभेटिभ पार्टीलाई आफ्नो मूल सिद्धान्तमा फर्काउने वाचा गरेकी छन्।

४४ वर्षकी केमी बेडनक ब्रेक्जिटको कडा समर्थक हुन् । उनी आप्रवासी मुद्दाहरू र ट्रान्स समुदायका अधिकारहरूमा खुला विचार र कडा अडानका लागि परिचित छन्।

यसअघि यो पद बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकसँग थियो । जसको नेतृत्वमा कन्जरभेटिभ पार्टीले सन् १८३२ को जुलाईयताकै सबैभन्दा खराब प्रदर्शन गरेको थियो।

सन् २०२४ को चुनावमा कन्जरभेटिभ पार्टीले २०० भन्दा बढी सिट गुमाएको थियो ।

नौसेना आक्रमणमा हिजबुल्लाहका वरिष्ठ सदस्य पक्राउ

0

काठमाडौं: इजरायली सेनाले उत्तरी लेबनानी सहर ब्याट्रोनमा हिजबुल्लाहका एक वरिष्ठ सदस्यलाई पक्राउ गरेको जनाएको छ ।

इजरायली सेनाका अनुसार उनीहरूले हिजबुल्लाहका एक वरिष्ठ सदस्यलाई शुक्रबार ब्याट्रोनमा नौसेना आक्रमणमा पक्राउ गरेका थिए।

इजरायली सेनाका एक वरिष्ठ अधिकारीले भने – ‘हामीले विशेष अपरेशनको एक भागको रूपमा हिजबुल्लाह सदस्यलाई पक्रेर इजरायली क्षेत्रमा लगेका छौं।’

हाल हिजबुल्लाहले इजरायली सेनाको दावीमा कुनै प्रतिक्रिया दिएको छैन।

लेबनानको सरकारी मिडियाका अनुसार अज्ञात सैन्य बलहरूले बिहानै समुद्र तट नजिकैको एउटा भवनमा छापा मारेका थिए। भवनबाट बाहिरिने क्रममा उनीहरूले एक व्यक्तिलाई समातेर स्पीडबोटको सहायताले भागे ।

यो घटनापछि लेबनानी प्रधानमन्त्री नजिब मिकातीको कार्यालयले परराष्ट्र मन्त्रालयलाई संयुक्त राष्ट्र सुरक्षा परिषदमा उजुरी गर्न निर्देशन दिएको बताएको छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेना युनिफिल दुवैले छापा मारेर अनुसन्धान गरिरहेका छन्।

लेबनानका यातायात मन्त्री अली हामिदका अनुसार यो कार्य संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ को उल्लङ्घन पनि हुन सक्छ।

आज भाइटीका, बिहान ११: ३७ बजे उत्तम साइत

0

काठमाडौं: यमपञ्चकको पाँचौं दिन आज भाइटीका परेको छ। आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् ।

टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

आइसीसी लिग २ : अमेरिकासँग नेपाल दोस्रो पल्ट पनि पराजित

0

काठमाडौं: नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ। यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुँदै २४४ रन बनाएको थियो। यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २८१ रन बनाएको थियो।

यो जितपछि अमेरिका लिग-२ को शीर्ष स्थानमा उक्लिएको छ। अमेरिकाको १२ खेलमा १६ अंक भएको छ। त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ।

अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ०७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ७९ पैसा र बिक्रीदर ८ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर ३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३ रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १२ रुपैयाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ ।

राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६२ पैसा तोकेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

जकार्ताको तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु, चार घाइते

0

जकार्ता: इन्डोनेसियाको जकार्ता सहर नजिकैको खाना पकाउने तेल कारखानामा आगलागी हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएका एक अधिकारीले शनिबार  बताएका छन् ।

बेकासीको विपद् व्यवस्थापन एजेन्सीको पुनर्निर्माण तथा पुनर्वास एकाइका प्रमुख इधम खोलिदका अनुसार बेकासी सहरको औद्योगिक परिसरमा शुक्रबार आगलागी भएको हो भने हाललाई आगो नियन्त्रणमा आइसकेको छ ।

घाइतेहरू मध्येका  तीन जनासहित अधिकांश हताहतमा पर्नेहरू कारखानाका कामदारहरू तथा एक जना अग्नि नियन्त्रक रहेको जनाइएको छ ।

जकार्ता खोजी तथा उद्धार विभागका प्रमुख अगुङ प्रियाम्बोडोले घाइते व्यक्तिहरू अस्पतालमा उपचार भइरहेको उल्लेख गरेका छन्  ।

ट्रम्प र ह्यारिस स्विङ स्टेट मतका लागि लड्दै गर्दा वयानबाजीमा भिड्दै

0

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र निर्वाचन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले शुक्रबार महत्त्वपूर्ण राज्यहरूमा एक–अर्कामाथि आरोप प्रत्यारोप गरेका छन् ।

उनीहरू अस्थिर राष्ट्रपतीय दौडको अन्तिम दिनहरूमा एक नाटकीय स्प्लिट–स्क्रिन छविका रूपमा रहेको विस्कन्सिनको सबैभन्दा ठूलो शहरमा प्रतिस्पर्धी र्यालीहरूका लागि भेला भए ।

निर्वाचन हुने दिन नोभेम्बर ५ अघि राजनीतिक ताप उच्च विन्दुमा पुग्दै गर्दा ट्रम्पले ह्यारिसका एक उच्च–प्रोफाइल रिपब्लिकन समर्थकलाई लक्षित गरेको हिंसात्मक वाक प्रहारको आलोचनाको सामना गरे । यसका लागि ह्यारिसले उनको आक्रामक आक्रमणको आलोचना गरिन् ।

मङ्गलबारको मतदानअघि सात करोडभन्दा बढी अमेरिकीले पहिले नै मतदान गरिसकेका छन् । यो सन् २०२० को कूल मतको ४५ प्रतिशत हो । जनमत सर्वेक्षणले ट्रम्प र ह्यारिस बराबरीमा दौडिरहेको देखाउँछ । सात स्विङ स्टेटमा कसले जित्छ त्यसमा विजय निर्भर गर्छ ।

दुवैले पूरा दिन अभियान कार्यक्रमहरू गरे । ह्यारिसले विस्कन्सिनमा र्यालीहरू र युनियन हलको भ्रमण गरिन् भने ट्रम्पले छिमेकी महत्त्वपूर्ण राज्य मिशिगनमा मत माग्न प्रचार गरे ।

“हामीले विगत चार वर्षदेखि लड्दै आएका सबै कुरा अब आउने चार दिनमा निर्भर गर्छ”, ट्रम्पले मिशिगनस्थित वारेनमा समर्थकहरूलाई भने ।

शुक्रबार पछि प्रतिद्वन्द्वीहरूले मिल्भौकीमा केही माइल टाढा र्याली गरे । यहाँ ट्रम्पले गर्जिँदै भने, “म तपाईंहरूको पैसा चाहन्न, म तपाईंहरूको मत चाहन्छु ।”

पूर्वराष्ट्रपति ट्रम्पले उही स्थानलाई सम्बोधन गरिरहेका थिए जहाँ उनले गर्मीयाममा रिपब्लिकन पार्टीको मनोनयन जितेका थिए र पेन्सिल्भेनियामा हत्या प्रयासबाट बचेको केही दिनपछि विजयी स्वीकृति भाषण दिएका थिए ।

राष्ट्रपति जो बाइडेनले आफ्नो घट्दो मानसिक क्षमताको चिन्ताका बीच प्रतिस्पर्धा छोडेपछि जुलाईमा मात्र चुनावी दौडमा प्रवेश गरेकी ह्यारिस उच्च–ऊर्जा कार्यक्रमहरूको शृङ्ंखलामा पछिल्लो पटक स्टार र्यापर कार्डी बीसँग मञ्चमा सामेल भइन् ।

अमेरिकाकी सम्भावित पहिलो महिला राष्ट्रपतिका बारेमा बोल्दै कार्डी बीले भीडलाई सोधे, “के हामी इतिहास बनाउन तयार छौँ ?”

यसअघि ह्यारिसले आफ्ना एक प्रमुख रिपब्लिकन आलोचकको बारेमा छलफल गर्दा ‘हिंसात्मक वाक प्रहार’ प्रयोग गरेकामा ट्रम्पको भत्सर्ना गरिन् ।

ट्रम्पले ‘पूर्वप्रतिनिधि लिज चेनीमाथि राइफल तान्नुपर्ने सुझाव दिनुभएको छ”, ह्यारिसले विस्कन्सिनस्थित मयाडिसनमा पत्रकारहरूलाई भनिन्, “यो अयोग्य हुनैपर्छ । जो कोही… जसले त्यस्तो हिंसात्मक वाक प्रहार प्रयोग गर्छ, स्पष्ट रूपमा राष्ट्रपति बन्न अयोग्य र अनुपयुक्त छ ।”

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना हुँदा स्थानीयमा उत्साह

0

गण्डकी: लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन कार्यालय सञ्चालनमा ल्याइएको छ।

लामो समयदेखि चासो र चर्चामा उक्त नाका गत बुधबारदेखि सञ्चालनमा ल्याइएको हो। कार्यालय उद्घाटनका लागि गृहमन्त्री रमेश लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सुरक्षा निकायका नेतृत्वसहित कोरला पुगेका थिए।

सोही दिन मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेरस्थित नेचुङमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) भवन पनि उद्घाटन गरियो।

सो अवसरमा मन्त्री लेखकले वर्तमान सरकार गठन भएको १०८ दिनमा कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गर्न सकिएको बताए। सरकारले सय दिन समयवधिमा नै कार्यालयको उद्घाटन गर्ने तयारी गरेको थियो।

मन्त्री लेखकले यस नाकाबाट यस अघि दुुई देशका नागरिक मात्र प्रवेश पत्रका आधारमा आवतजावत गर्नुुपर्ने बाध्यता अन्त्य हुँदै यस नाकाबाट चीन र चीनबाट नेपाल आवतजावत गर्नका लागि भिसा सेवा प्रारम्भ भएको बताए।

अध्यागमन कार्यालय सञ्चालन सरकारको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले आगामी दिनमा यसको सहज सञ्चालनका लागि पूर्वाधार विकासका साथै सेवा विस्तारमा जोड दिइने विश्वास दिलाए।

कोरला नाका मुस्ताङका लागि मात्रै नभई गण्डकी प्रदेशकै ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै मन्त्री लेखकले यस नाकालाई नेपालकै महत्त्वपूर्ण नाकाका रुपमा विकास गरिने बताए। नेपाल र चीनबीच व्यापार, पर्यटन, धार्मिक पर्यटन लगायतको गन्तव्यका रुपमा यसको विकास हुने उनले विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नाकाको सुव्यवस्थित सञ्चालनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए। नाकालाई नै लक्षित गरी पोखरा हुँदै म्याग्दी भएर आउने सडक खण्डको स्तरोन्नति तथा विकासका कुरालाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ । नाका गण्डकी प्रदेशको आर्थिक समृद्धिका लागि महत्त्वपूर्ण बन्ने उनले विश्वास व्यक्त गरे।

कोरला नाका सञ्चालनमा ल्याउनुपर्ने विषय उठीरहेका अवस्थामा गण्डकी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा अध्यागमन कार्यालय सञ्चालनका लागि ५० लाख रुपैयाँ बजेट बजेट विनियोजन गरेको थियो। उक्त बजेटबाट कोरलामा छ कोठे ‘एसवाई प्यानल’ को भवन निर्माण गरिएको हो।

नेपालतर्फ पूर्वाधार निर्माण कार्य अघि नबढे पनि चीनले भने आफ्नोतर्फ पूर्वाधार निर्माणका धेरै काम सम्पन्न गरिसकेको छ । चीनले कोरला नाकामा आफ्नोतर्फबाट धेरै अत्याधुनिक किसिमका संरचना निर्माण गरिसकेका अवस्थामा नेपालले गरेको अध्यागमन कार्यालयको उद्घाटन लगायतका कामलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

कोरला नाकामा अध्यागमन कार्यालय देख्दा सामान्य भए पनि यहाँबाट सबै किसिमका सुविधा प्राप्त हुुने जनाइएको छ । मन्त्री लेखकले सामान्य भवन सहितको संरचना निर्माण भए पनि यहाँबाट अध्यागमन कार्यालयबाट पाउने सबै किसिमका सुविधा उपलब्ध हुने बताउँदै अनलाइन प्रणालीबाट सेवा प्रवाह हुने जानकारी गराए।

गृहमन्त्री लेखकले लोमान्थाङ गाउँपालिका वडा नं १ छोसेर स्थित नेचुङमा नवनिर्मित २ तलाको ५५ कोठे वातावरणमैत्री प्रहरी बोर्डर आउट पोष्ट(बीओपी) भवन पनि उद्घाटन गरेका थिए। सीमा सुरक्षाका साथै सीमाक्षेत्रमा हुने अवाञ्छित गतिविधि, सम्भावित अपराध तथा चोरी शिकारी र स्थानीय नागरिकको सुरक्षार्थ खट्नका लागि सहयोग पुुगोस् भन्ने उद्देश्यका साथ उक्त भवन निर्माण गरिएको हो।

अध्यागमन कार्यालय सञ्चालनसँगै यहाँका स्थानीयवासी भने उत्साहित भएका छन्। अध्यागमन कार्यालय शुभारम्भ हुनुले जिल्लावासीमा उत्साह थपेको नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली बताए। कार्यालय सञ्चालनसँगै यसको प्रभावकारी व्यवस्थापन हुने मुस्ताङवासीको विश्वास रहेको उनको भनाइ छ।

मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ-लिचीसम्म पास लिएर व्यापार गर्नका लागि नियमित रूपमा आवतजावत गर्दै आएका छन्। हाल पास लिएका व्यक्ति बिहान ९.०० बजे चीनतर्फ छिरेपछि दिउँसो ३.०० बजेमात्र फर्कनुपर्छ।

नाका क्षेत्रको समग्र भौतिक पूर्वाधार विकासका लागि भन्सार, अध्यागमनलगायत सुख्खाबन्दरगाह र एकीकृत सुरक्षा पोस्टको भौतिक पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा सरकारका नाममा लालपुर्जा बनिसकेको छ।

नाकामा पूर्वाधार निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि एक करोड रुपैयाँ विनियोजन भई दुुई वर्ष अघिनै काम अघि बढाइएको थियो। उक्त स्थानमा भौगर्भिक परीक्षण तथा माटो परीक्षणलगायत कार्य भैसकेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले बताए।

बीओपी र अध्यागमन कार्यालय उद्घाटनका अवसरमा गृहमन्त्री लेखक, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दामोहरकुण्ड पुुगी त्यहाँको स्थलगत अवलोकन गरे। हिन्दुहरूको महत्त्वपूर्ण तीर्थस्थलका रुपमा रहेको दामोदर कुण्ड क्षेत्रको प्रवर्द्धन र विकासलाई लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले प्राथमिकतामा राखेको छ।

गाउँपालिकाले दामेदर कुण्ड क्षेत्रमा धर्मशाला निर्माण गरिसकेको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए। उक्त क्षेत्रमा टेलिफोन सुविधा गम्भीर समस्या रहेको बताउँदै उनले विद्युत् सेवा पनि नपुगेको बताए। मुस्ताङको याराघारा भन्ने स्थानबाट पदयात्रीहरू तीन दिनको पदयात्रामार्फत दामोदरकुण्ड पुग्न सक्ने बताउँदै उनले उक्त मार्गस्थित पाच्र्या खोलामा पुल राख्नु आवश्यक रहेको बताए।