Thursday, June 18, 2026
Home Blog Page 656

हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित

0

काठमाडौँ: नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै क्वाटर फाइनलमा पुगेको हो । शुक्रबार भएको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा आज बिहान सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा एक सय रनमा समेटियो । अष्ट्रेलियाका लागि ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्काको सहयोगमा अविजित ५५ रन बनाए । त्यस्तै एलेक्स रोसले १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

नेपालका लागि प्रतिशि जिसीले तीन विकेट लिँदा लोकेश बम र विवेक यादवले समान एक एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँदै एक सय ११ रनको योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले १६ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी लोकेश बमले ३३, राशिद खानले र विवेक यादवले समान १२÷१२ रन बनाए । अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक उडले लिए ।

कृषक र उपभोक्तालाई जोड्दै हाटबजार

0

दमौली (तनहुँ) : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित हाटबजारले स्थानीय कृषक र उपभोक्तालाई प्रत्यक्ष रुपमा जोड्ने काम गरेको छ । गाउँपालिकाले सञ्चालन गरेको हाटबजार स्थानीय कृषिउपज बिक्री वितरणका लागि प्रभावकारी थलोको रुपमा विकास भएको छ ।

कृषकले प्रत्येक शुक्रबार आफूले उत्पादन गरेका कृषिउपज बिक्री वितरणका हाटबजारमा ल्याउँछन् । उपभोक्ता पनि कहिले शुक्रबार आउँछ र ताजा कृषि सामाग्री किन्न पाइएला भनेर कुर्छन् । गत वर्षको फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामान बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।

आँबुखैरेनी गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष केसीले हाटबजार आँबुखैरेनीको पहिचान बनिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताहरु कहिले शुक्रबार आउँछ र गाउँबाट आएका ताजा सामग्री किन्न पाइन्छ भनेर बस्नुहुन्छ । हाटबजारले कृषक र उपभोक्तालाई जोड्ने काम गरेको छ ।”

हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लीगान लगायतका दैनिक उपभोग्य वस्तु विक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीका कृषक सुकमाया चेपाङ हाटबजार कृषि सामाग्री बजारीकरणका लागि सहयोगी बनेको बताउनुहुन्छ । “अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा एक रुपैयाँ भए पनि बढी मूल्य पाउने गरेका छौँ । सहज रुपमा वस्तुको बिक्री वितरणका लागि हाटबजार प्रभावकारी बनेको छ । मैले गिठा, भ्याकुर, चिउरीलगायतका कृषिउपज बिक्री गर्ने गरेकी छु”, उहाँले सुनाउनुभयो ।

छिम्केश्वरीकै कृषक सुकबहादुर गुरुङले हाटबजारमार्फत् महले बजार पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मह बिक्रीका लागि बजारको अभाव छैन, हाटबजारमै खोसाखोस हुन्छ । बरु उत्पादन पो बढाउन सकिएको छैन ।”

गाउँपालिकाले सञ्चालन गरेकायो बजार कृषकको सहयोगी बनेको छ । गाउँपालिकाले दश वर्षका लागि जग्गा भाडामा लिएर हाटबजार सञ्चालन गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक रु दश लाख ५० हजार भाडा तिर्ने गरी गाउँपालिकाले जग्गा भाडामा लिएको
थियो । गाउँपालिकाभित्रका जुनसुकै वडाका कृषकले पनि आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बेच्न सक्ने चुमानको भनाइ छ ।

किसानले उत्पादन गरेका सामग्री बिक्री नभए गाउँपालिकाले जिम्मा लिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । यसले गर्दा कृषकलाई कृषि पेसामा लागिराख्न प्रेरणा मिल्ने र गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने चुमानको भनाइ छ ।

नेपाल सम्वतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्नेछः राष्ट्रपति

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वासका व्यक्त गर्नुभयो ।

साथै राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु । “लिच्छवी राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले यस संवत्लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाली समाज सभ्य र सहिष्णु समाज हो, हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन्”, सन्देशमा भनिएको छ ।

राष्ट्रिय विभूतिसाख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा नयाँ संवत् शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।

पर्वतको नागढुङ्गा सहकारीको पाँच करोड हिनामिना

0

पर्वत: फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै रु पाँच करोड हिनामिना भएको छ । ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको रु चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् । तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो ।

सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन् । कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । गाउँलेले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक तथा सञ्चालकले हिनामिना गरेका हुन् । व्यवस्थापक केसी दुई महिना अगाडि नै फरार भएका थिए भने अध्यक्ष गिरीनारायण श्रेष्ठ केही दिन अघिदेखि फरार भएका हुन् ।

प्रहरी नायब उपरीक्षक विष्टले अन्य सञ्चालकविरुद्ध पनि पक्राउ पूर्जी जारी गर्ने तयारी भएको बताउनुभयो । विसं २०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई सञ्चालमा आएको सहकारी डुबेपछि करिब ६५० बचतकर्ता समस्यामा परेका छन् । सहकारी संस्थामा आर्थिक हिनामिना भएको सुनेका गाउँलेले चिनेजानेकै गाउँकै मान्छेले खोलेको सहकारी डुब्ला भन्ने अनुमानसमेत नगरेको स्थानीय बचतकर्ता विष्णुकुमारी क्षेत्रीले बताउनुभयो ।

यो सहकारीले पर्वतको कार्किनेटा, थापाठाना, शङ्करपोखरी खौला र ठूलीपोखरीलाई कार्यक्षेत्र बनाएको थियो । कार्कीनेटाकै तारा कार्कीले सानो चिया पसल चलाएर रु आठ लाख जमा गरेकामा अहिले दिनको भोक र रातको निन्द्रा हराएको बताउनुभयो ।

फलेवास–१ का वडाध्यक्ष चोलाकान्त पाध्याले संस्थामा पैसा डुब्यो भनेर आएपछि सञ्चालकलाई राखेर सहजीकरण गर्ने प्रयास गरेको जनाउँदै बचतकर्ताको रकम जसरी पनि फिर्ता हुनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना४ख ३१६८ नंको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले बताउनुभयो । कामपाले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।

कामपाले दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ ।

कामपाले गत वर्षबाट किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो । किसानलाई सहज होस् भनेर विभिन्न स्थानमा बिक्री स्थान तोकेको छ ।

बागमती प्रदेश सरकारद्वारा १७ हजार ८३१ परिवारको स्वास्थ्य बिमा

0

बागमती: बागमती प्रदेश सरकारले लोपोन्मुख जाती, सिमान्तकृत समूह र अपाङ्ग परिवारलाई लक्षित गरी सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

आर्थिक, सामाजिक, सांस्कृति र राजनीतिक रुपमा पछाडि परेका लोपोन्मुख जाति, सिमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाहरूको परिवारलाई स्वास्थ्य बिमामार्फत गुणस्तरीय औषधोपचार उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित सो कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।

गत आर्थिक वर्ष २०७९/८० देखि सञ्चालन भएको बागमती प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत लोपोन्मुख जाति, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गता र महिला स्वास्थ्य स्वयंम् सेविकाहरूको परिवारका गरी १७ हजार आठ सय ३१ परिवारको स्वास्थ्य बिमा गराएको हो ।

बिमा गराएकाहरूको प्रिमियमबापत हालसम्म बिमा कम्पनीलाई रु छ करोड २५ लाख ९३ हजार पाँच सय ५० भूक्तानी गरिएको बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको सूचना अधिकारी डा रविन भुषालले जानकारी दिनुभयो ।

सूचना अधिकारी भुषालका अनुसार प्रदेश सरकारले बागमती प्रदेशको १३ वटै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा छ । सो कार्यक्रमअन्तर्गत हालसम्म सबैभन्दा बढी दोलखा जिल्लामा तीन हजार ४५२ परिवारको स्वास्थ्य बिमा भएको छ भने सबैभन्दा कम मकवानपुर जिल्लामा १०१ परिवारको स्थास्थ्य बिमा भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत चितवनमा तीन हजार १२७ परिवार, सिन्धुपाल्चोकमा दुई हजार ५९८ परिवार, धादिङमा एक हजार ५९३ परिवार, काभ्रेपलाञ्चौकमा एक हजार ५४९ परिवार, काठमाडौँमा एक हजार २०६ परिवार, रामेछापमा एक हजार २९० परिवार, ललितपुरमा नौ सय ४८ परिवार, नुवाकोटमा नौँ सय ३ परिवार, सिन्धुलीमा ६४९ परिवार, रसुवामा दुई सय २५ परिवार र भक्तपुरमा एक सय ५ परिवारको स्वास्थ्य बिमा गरिएको छ ।

चार जना सदस्य भएको परिवारले रु तीन हजार र सात जना सदस्य रहेको परिवारले रु तीन हजार ५०० बार्षिक प्रिमियम तिर्नुपर्ने हुन्छ । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गराइएकामध्ये महिला स्वास्थ्य स्वयंम् सेविकाहरूको परिवारको बिमा बापतको प्रिमियम रकममा ५० प्रतिशत सङ्घीय सरकारले र बाँकी ५० प्रतिशत प्रदेश सरकारले तिरिदिने व्यवस्था रहेको सूचना अधिकारी डा भुषालले बताउनुभयो ।

लोपोन्मुख जाती, अति सिमान्तकृत समूह, आश्रममा आश्रित, अपाङ्गताको प्रिमियम बापतको सम्पूर्ण रकम भने प्रदेश सरकारले बिमा कम्पनीलाई बुझाउने कार्यविधिमा व्यवस्था रहेको डा भुषालले बताउनुभयो ।

प्रत्येक स्थानी तहको वडामा खटिएका दत्र्ता सहयोगीमार्फत लक्षित परिवारको खोजी गरी स्वास्थ्य बिमा गर्ने गरिएको उहाँको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रम लागु भएका अस्पतालबाट बिमा गराएको परिवारले वर्षमा रु एक लाखसम्मको निःशुल्क औषधोचार पाउने गरेका छन् । आयश्रोत कमजोर भएर बिमाको प्रिमियम बुझाउनै नसक्ने परिवारको स्वास्थ्य बिमा गराएर प्रदेश सरकारले लोकप्रिय काम गरेको स्थानीयको भनाइ छ ।

सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानिज नागरिको उद्धार

0

सोलुखुम्बु: विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए । खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कंदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए ।

पदमार्गबाट अन्दाजी १० मिटर तल लडेर घाइते भएका शिशिडोको प्रहरी र स्थानीयले उद्धार गरेको डिएसपी घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँको टाउको, अनुहार, खुट्टामा सामान्य चोट लागेको छ, हामीले उद्धार गरी दिङ्बुचे क्लिनिकमा उपचार गरायौँ, अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ । घाइते पर्यटकको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ ।”

दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उहाँ काठमाडौँ फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सगरमाथा क्षेत्रमा यस बेलामध्ये पर्यटक सिजन भएकाले फर्कने पर्यटकहरुको चाप धेरै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । चिसो बढ्दै गएकाले भित्रिनेभन्दा बाहिरिने पर्यटकको चाप बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनुभयो ।

लेबनानको बालबेकमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु

0

बेरुत: पूर्वी लेबनानको बालबेक र वरपरका सहरहरूमा भएको इजरायली हमलामा परी ११ जनाको मृत्यु हनुको साथै १४ जना घाईते भएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले बिहिबार जनाएको छ ।

एजेन्सीका अनुसार बालबेक जिल्लाको बुडे गाउँको एउटा घरमा इजरायली आक्रमणले एकै घरका श्रीमान, श्रीमती र उनीहरूका दुई बच्चाहरूको ज्यान गएको हो।

स्रोतका अनुसार अर्को आक्रमणमा मकनेह गाउँमा आमाबाबु र उनीहरूका चार सन्तानसहित छ जनाको परिवारको मृत्यु भएको थियो भने अन्य छ जना घाइते भएका थिए ।

यसै गरी बालबेक सहरको दक्षिणी प्रवेशद्वारमा चारवटा इजरायली हवाई आक्रमणले एक महिलाको ज्यान लिनुका साथै अन्य पाँच जना घाइते भएका छन् भने एउटा घर ध्वस्त भएको छ।

डौरिस सहरको कस्र अल उलुम छिमेकको आवासीय क्षेत्रमा भएको अर्को आक्रमणमा तीन जना घाइते भएका छन् भने विस्फोटबाट नजिकैका दर्जनौं भवन, व्यवसाय र संस्थाहरूलाई क्षति पुगेको छ।

अहिलेसम्म बालबेक–हर्मेल गवर्नरेट र मध्य बेका क्षेत्रमा इजरायलले एक हजार भन्दा बढी आक्रमणको गरेको छ जसको परिणामस्वरूप ६२८ जनाको मृत्यु भएको छ भने एक हजार ६९ भन्दा बढी घाइते भएका छन्।

कमला ह्यारिसको र्‍यालीमा प्रसिद्ध गायिका जेनिफर लोपेज पनि सहभागी

0

काठमाडौं: अमेरिकाको राष्ट्रपति पदकी डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिसको र्‍यालीमा प्रसिद्ध अमेरिकी गायिका जेनिफर लोपेज पनि सहभागी भएकी छन्।

कमला ह्यारिसको स्टेजमा जेनिफर लोपेज उपस्थित थिइन्। र्‍यालीलाई सम्बोधन गर्दै आफुूले अहिलेसम्म भाग लिएको यो सबैभन्दा महत्त्वपूर्ण फोरम भएको बताएकी छन्। जेनिफर लोपेजले भनिन्, ‘म महिलाको शक्तिमा विश्वास गर्छु। “यस चुनावमा परिवर्तन ल्याउने शक्ति महिलामा छ।’

त्यस्तै र्‍यालीलाई सम्बोधन गर्दै कमला ह्यारिशले भनिन्-‘अमेरिका डोनाल्ड ट्रम्पले सिर्जना गरेको विभाजनबाट थकित भएको छ। हामी कठिन संघर्षबाट डराउँदैनौं र जित्नेछौं।

ह्यारिसले आफूले हरेक दिन अमेरिकी अर्थतन्त्रमा ध्यान केन्द्रित गर्ने बताउँदै न्यूनतम पारिश्रमिक बढाउनेछन् र काम गर्ने मानिसहरूका लागि लड्ने बताएकी छन्।

पछिल्ला सर्वेक्षणहरुमा ह्यारिस र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिष्पर्धा देखिएको छ। नोभेम्बर ५ मा हुने निर्वाचन अघि ६० मिलियन भन्दा बढी मतदाताले पोष्टल मार्फत र प्रि-मतदानमार्फत मत दिइसकेका छन्।

जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिनाको जेल सजाय

0

काठमाडौं: जापानमा साइकल चलाउँदा मोबाइल फोन प्रयोग गर्नेलाई ६ महिनासम्म जेल सजाय हुन सक्ने नियम लागु गरिएको छ।

शुक्रबारदेखि लागू भएको नयाँ नियमअनुसार जापानको संशोधित सडक कानूनको उल्लंघन गर्नेहरूलाई अधिकतम छ महिनाको जेल सजाय वा एक लाख जापानी यान जरिवाना हुने भएको छ। जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीको समयमा मानिसहरूले सार्वजनिक यातायातको सट्टा साइकल बढी प्रयोग गर्न थालेका छन्।

त्यसपछि जापानमा साइकल यात्रुको दुर्घटना बढेको छ। जापानमा लागू भएको यो नयाँ नियमअनुसार साइकल चलाउँदा मदिरा सेवन गरेमा तीन वर्षसम्मको सजाय र ५ लाख यान जरिवानाको व्यवस्था गरिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार जापानमा २०२३ मा ७२ हजार भन्दा बढी साइकल दुर्घटनाहरू रेकर्ड भएका थिए, जुन देशमा हुने सबै ट्राफिक दुर्घटनाको २० प्रतिशतभन्दा बढी हो।